+
+
Shares

झूटो वाचाले फस्यो एप्पल, आइफोन प्रयोगकर्तालाई तिर्दैछ करोडौं डलर क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले आफ्नो एआई टूल एप्पल इन्टेलिजेन्ससम्बन्धी कानूनी विवादमा २५ करोड डलर क्षतिपूर्ति दिने सम्झौतामा सहमति जनाएको छ।
  • यो क्षतिपूर्ति अमेरिकी ग्राहकहरूलाई दिइनेछ जसले २०२४ जुनदेखि २०२५ मार्चसम्म आइफोन १५ र १६ सिरिजका मोडेलहरू खरिद गरेका थिए।
  • एप्पलले कुनै गल्ती नगरेको दाबी गर्दै कानूनी विवाद समाधान गरेर भविष्यका उत्पादनमा ध्यान केन्द्रित गर्ने बताएको छ।

आफ्नो महत्वाकांक्षी एआई टूल एप्पल इन्टेलिजेन्सलाई लिएर कानूनी विवादमा फसेको दिग्गज प्रविधि कम्पनी एप्पल निकै महंगो सम्झौता गर्न बाध्य भएको छ ।

यदि उक्त सम्झौतालाई अमेरिकी अदालतले स्वीकृत गरेमा अमेरिकाका केही आइफोन प्रयोगकर्ताहरूले एप्पल कम्पनीबाट क्षतिपूर्ति पाउनेछन् ।

यो विवाद एप्पल इन्टेलिजेन्सको मार्केटिङ र त्यसका बारेमा एप्पलले गरेका विभिन्न महत्वाकांक्षी वाचासँग सम्बन्धित छ । सन् २०२४ को वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स कार्यक्रममा एपलले निकै ठूलो हल्लाखल्ला सहित आफ्नो नयाँ एआई सिस्टमको घोषणा गरेको थियो ।

त्यसक्रममा एप्पलले आफ्न नयाँ डिभाइसमा निकै उन्नत स्मार्ट सिरी, राइटिङ असिस्टेन्स, नोटिफिकेशन समरी तथा उत्कृष्ट कन्टेक्स्चुअल टुल्स जस्ता सुविधाहरू उपलब्ध हुने सपना देखाएको थियो ।

तर जब एप्पलका नयाँ डिभाइसहरू बजारमा आए वाचा गरिएका अधिकांश एआई सुविधाहरू प्रयोगकर्ताले देख्न पाएनन् अनि कति निकै ढिलोगरी मात्रै उपलब्ध भए ।

ग्राहकहरूले एप्पलका तिनै लोभलाग्दा विज्ञापनहरूमा विश्वास गरेर अत्याधनिक एआई फिचरका लागि महँगा आइफोन किनेपनि कम्पनीबाट धोका पाएको दाबी अदालतमा गरिएको छ ।

अन्तत: आफूविरुद्धको उक्त मुद्दा मुद्दामा २५ करोड डलर क्षतिपूर्ति दिएर मिलापत्र गर्न एप्पल सहमत भएको छ ।

त्यो क्षतिपूर्ति मुख्य रूपमा ती अमेरिकी ग्राहकहरूलाई दिइनेछ जसले सन् २०२४ को जुनदेखि सन् २०२५ को मार्च महिनाभित्रमा आइफोन १६ तथा आइफोन १५ सिरिजका विभिन्न मोडेल खरिद गरेका थिए ।

एप्पलले गरेको सम्झौता अनार योग्य आइफोन प्रयोगकर्ताहरूले प्रति फोन २५ डलरदेखि ९५ डलरसम्म क्षतिपूर्ति प्राप्त गर्न सक्छन् । तर अन्तिम रकम कति पाउने भन्ने कुरा आवेदकको संख्या तथा दाबी भुक्तानी प्रक्रिया सुरु भएपछि मात्रै एकिन हुनेछ ।

एपलको सफाइ: हामीले कुनै गल्ती गरेका छैनौं

उता करोडौं डलर क्षतिपूर्ति दिन तयार भएको एप्पलले यो मामिलामा कम्पनीले कुनै पनि प्रकारको ठगी वा गलत कार्य नगरेको जिकिर गरेको छ ।

पहिलो घोषणापछि आफ्ना प्लेटफर्महरूमा धेरै एप्पल इन्टेलिजेन्स सुविधाहरू सार्वजनिक गरिसकेको दाबी एप्पलले आफ्नो बयानमा गरेको छ । त्यसैले क्षतिपूर्ति दिएर भएपनि कानुनी विवाद समाधान गर्नुको उद्देश्य भविष्यका उत्पादन र सेवाहरूमा ध्यान केन्द्रित गर्नु रहेको एप्पलले जनाएको छ ।

एप्पलद्वारा प्रस्तावित उक्त समझौतालाई अमेरिकाको नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको जिल्ला अदालतले अन्तिम स्वीकृति दिएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

एआई जगतमा दिग्गज प्रविधि कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा चलिरहेको बेलामा एप्पल चाहीँ यस्तो कानुनी विवादमा फसेको हो । अहिले गुगल माइक्रोसफ्ट तथा ओपन एआईजस्ता  कम्पनीहरूले तीव्र रूपमा आफ्ना  एआई  सुविधाहरूको विस्तार गरिरहेका छन् । यस्तो अवस्थामा एप्पलमाथि आफ्नो अग्रणी स्थान सुरक्षित राख्न ठूलो दबाब परेको छ ।

यसअघि पनि एप्पलले आफ्नो अपडेट गरिएको सिरी प्रयोगकर्तामाझ ल्याउनमा भएको ढिलाइ तथा एआई सिर्जित गलत नोटिफिकेशन समरीका कारण कडा आलोचना झेल्नुपरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?