News Summary
Generated by OK AI. Editorially reviewed.- धरानमा नेपालमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिज प्रतियोगिता वैशाख २५ गतेदेखि २८ गतेसम्म जारी रहनेछ।
- प्रतियोगितामा नेपाल र भारतका ३२ खेलाडी सहभागी छन् र कूल पुरस्कार राशि ६ लाख २५ हजार रुपैयाँ रहेको छ।
- कोशी प्रदेश सरकारले प्रतियोगिताको सम्पूर्ण खर्च बेहोर्ने र आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ।
२५ वैशाख, सुनसरी । धरानमा शुक्रबारदेखि प्रथम प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिज प्रतियोगिता सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा सुरु भएको एक्युरेसि सिरिज प्रतियोगिता वैशाख २८ गतेसम्म जारी रहनेछ ।
धरान–४ छोटीमोरङको डाडामा सुरु भएको उक्त प्रतियोगितामा नेपाल र भारतका प्याराग्लाइडर खेलाडीहरु सहभागिता जनाएका छन् ।
संघका केन्द्रिीय अध्यक्ष भूपाल राईकाअनुसार थाउजेण्ड्स विग बुद्ध नजिकैको डाडाबाट प्रतियोगिहरुले प्याराग्लाइडिङ गर्दै धरान–१४ मा पर्ने खत्रीधारा आसपासको मैदानमा अवतरण गर्ने छन् ।
प्रतियोगितामा चार महिलासहित ३२ जनाले सहभागीता जनाएका छन् । चार समूहमा विभाजित उक्त प्रतियोगिताको कूल पुरस्कार राशी ६ लाख २५ हजार रुपैयाँ रहेको छ ।
एक्युरेसी ओभरअलमा प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ, दोश्रो हुनेले १ लाख रुपैयाँ र तेश्रो हुनेले ७५ हजार रुपैयाँ हात पार्नेछन् ।
यसैगरी एक्युरेसी वुमेन इन्डिभिजुअल समुहमा प्रथमले ४० हजार रुपैयाँ, दोश्रोले २५ हजार रुपैयाँ र तेश्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । एक्युरेसी मेल टिममा प्रथमले ५० हजार रुपैयाँ, दोश्रोले ३० हजार रुपैयाँ, तेश्रोले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । एक्युरेसी नेश्नल मेल तथा फिमेलमा प्रथमले (महिला र पुरुष ) दुवैले जनही ३० हजार रुपैयाँ, दोश्रोले जनही २० हजार रुपैयाँ र तेश्रोले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपालमा पहिलो पटक सुरु भएको प्याराग्लाइडिङको एक्युरेसी प्रतियोगिताले साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अध्यक्ष भूपाल राईले बताए ।
‘नेपालमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ खेलको इतिहास चार दशकभन्दा पुरानो भए पनि व्यवस्थित रूपमा एक्युरेसी लिग प्रणाली अन्तर्गतको प्रतियोगिता पहिलो पटक धरानबाट सुरु गरिएको हो,’ उनले भने ।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा नेपालले प्याराग्लाइडिङमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ । १८ औँ एसियाली खेलकुदमा नेपाली पुरुष टिमले रजत पदक जित्दै २० वर्षपछि ऐतिहासिक सफलता हात पारेको थियो ।
संघले कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल नागकि उड्यन प्राधिकरणको सहयोगमा पहिलोपटक आयोजना गरिएको एक्युरेसी लिग प्रतियोगिताले खेलाडी उत्पादन, व्यावसायिक विकास तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । उनले प्रतियोगितामा सहभागी भारतीय खेलाडी पाइलटहरूलाई स्वागत गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उनले प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्याराग्लाइडिङ र माउन्टेनियरिङ जस्ता खेलले साहसिक खेल पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
‘प्याराग्लाइडिङ प्रतियोगिताको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने छ । साथै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्याराग्लाइडिङलाई विशेष प्राथमिकता दिएर अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गरिने छ,’ उनले भने ।
एक्युरेसी लिग प्रतियोगितामा १८ औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरू पनि सहभागी छन् ।
प्रतिक्रिया 4