+
+
Shares

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते ६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पिटर मग्यारले २७ वैशाखमा हङ्गेरीको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।
  • टिस्जा पार्टीले २०२६ को चुनावमा दुईतिहाइ बहुमतसहित ऐतिहासिक जित हासिल गरेको छ।
  • मग्यारले भ्रष्टाचार अनुसन्धान गर्न विशेष निकाय बनाउने र लोकतान्त्रिक सन्तुलन कायम गर्ने वाचा गरेका छन्।

२७ वैशाख, बुडापेस्ट । हङ्गेरीको टिस्जा पार्टीका नेता पिटर मग्यारले शनिबार देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।

मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टीमाथि आश्चर्यजनक जित निकाल्दै संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । टिस्जा हङ्गेरीको इतिहासमा कुनै पनि अन्य पार्टीको तुलनामा संसद्मा बढी मत र सिट प्राप्त गर्ने दल बनेको छ । 

यसले पूर्वप्रधानमन्त्री ओर्बानका अति दक्षिणपन्थी र अधिनायकवादी भनी आलोचित धेरै नीतिहरू खारेज गर्न नयाँ सरकारलाई सहज बनाउनेछ ।

हङ्गेरीको संसद्मा शपथपछि सांसदहरूलाई सम्बोधन गर्दै मग्यारले आफ्नो पदको प्रयोग शासन गर्न नभई मातृभूमिको सेवा गर्नका लागि गर्ने स्पष्ट पारे ।

‘म यहाँ देशका अरू कुनै नेताभन्दा फरक भएर उभिएको छु,’ उनले भने, ‘लाखौँ हङ्गेरीवासीले परिवर्तनको पक्षमा निर्णय गरेका छन् । म उनीहरूको परिवर्तनको वाहक हुनेछु ।’

जनताले दिएको विश्वास नैतिक दायित्वका साथै एउटा अद्भुत भावना भएको उनले बताए । मग्यारले निर्वाचन अभियानका क्रममा लोकतान्त्रिक संस्थाहरू तथा सरकारी नियन्त्रण र सन्तुलन पुनर्स्थापना गर्ने वाचा गरेका थिए ।

ओर्बानको १६ वर्षे शासनकालमा भ्रष्टाचारले व्यापकता पाएको आरोप लाग्दै आएको थियो ।

मग्यार नेतृत्वको नयाँ सरकारले युरोपेली सङ्घभित्रको राजनीतिक गतिशीलतासमेत परिवर्तन गर्ने अपेक्षा गरिएको छ । पूर्वप्रधानमन्त्री ओर्बानले छिमेकी युक्रेनको समर्थनबारे महत्त्वपूर्ण निर्णयहरूमा बारम्बार ‘भिटो’ प्रयोग गरेर युरोपेली सङ्घको एकतामा व्यवधान खडा गर्दै आएका थिए । 

को हुन् पिटर मग्यार ?

पिटर मग्यार हङ्गेरीका वर्तमान प्रधानमन्त्री तथा मध्य-दक्षिणपन्थी टिस्जा पार्टीका अध्यक्ष हुन् । सन् १९८१ मार्च १६ मा बुडापेस्टमा जन्मिएका उनी पेसाले वकिल हुन् । 

सन् २०२६ मे महिनामा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानको १६ वर्षे शासनको अन्त्य गर्दै उनी हङ्गेरीको राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएका हुन् ।

कुनै समय मग्यार पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानकै राष्ट्रवादी फिडेज पार्टी नजिक थिए भने राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारी पनि थिए । उनी हङ्गेरीकी पूर्वकानुनमन्त्री जुडित वर्गाका पूर्वपति पनि हुन् ।

सन् २०२४ को फेब्रुअरीमा एउटा ठुलो राजनीतिक काण्ड (राष्ट्रपति क्याटलिन नोभाक जोडिएको माफी प्रकरण) पछि मग्यारले सरकार र पार्टीभित्रको संस्थागत भ्रष्टाचारको कडा आलोचना गर्दै सबै सरकारी पद र फिडेज पार्टी छाडेका थिए ।

फिडेज छाडेको केही समयमै उनले टिस्जा पार्टीको नेतृत्व सम्हाले । करिब दुई वर्षको छोटो अवधिमै उनले युवा, सहरी मतदाता र ओर्बानको नीतिबाट असन्तुष्ट रूढिवादी मतदाताहरूलाई गोलबद्ध गर्दै सन् २०२६ को चुनावमा दुईतिहाइ बहुमतसहित ऐतिहासिक जित हासिल गरे ।

उनको प्रमुख राजनीतिक एजेन्डा ओर्बानको शासनकालमा फस्टाएको चरम भ्रष्टाचार र आसेपासे पोस्ने प्रवृत्तिलाई निर्मूल पार्नु हो । यसका लागि उनले राज्यको ढुकुटीको दोहन अनुसन्धान गर्न विशेष निकाय बनाउने घोषणा गरेका छन् ।

ओर्बान सरकारका कारण युरोपेली सङ्घ (ईयू) सँग बिग्रिएको सम्बन्धलाई सुधार गर्दै हङ्गेरीमा लोकतान्त्रिक संस्थाहरूको सन्तुलन कायम गर्ने उनको वाचा छ ।

उनी युरोपेली सङ्घ र प्रजातान्त्रिक मूल्यमान्यताको पक्षमा वकालत गर्छन् तर आप्रवासी नीतिलगायतका कतिपय विषयमा भने उनी अनुदारवादी र परम्परावादी सोच राख्छन् ।

उनले सन् २०१० देखि एकछत्र शासन गरिरहेका ओर्बानको शक्तिलाई भत्काएर हङ्गेरीलाई युरोपेली लोकतान्त्रिक धारमा फर्काउने वाचा गरेका छन् ।

(समाचार संस्था एपीको सहयोगमा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?