७ वैशाख, चितवन । चितवनको सौराहामा पर्यटकहरू जंगल सफारी गर्न मात्रै होइन, एउटा ‘घरपालुवा जस्तो भइसकेको’ एकसिङ्गे गैँडा भेट्न पनि पुग्छन् । त्यो गैँडाको नाम हो, ‘राम’ ।
बाघमारा सामुदायिक वनमा माउसँग छुट्टिएर बाघको आक्रमणमा घाइते भएको अवस्थामा करिब एक महिनाको हुँदा उद्धार गरिएको राम अहिले तीन वर्षको भइसकेको छ । सुरुवातमा कमजोर र डराएको जस्तो देखिने यो गैँडाको केटो अहिले भने मान्छेसँग घुलमिल हुने, खेल्ने र पर्यटकसँग रमाउने बानी बसाइसकेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष परिसर वरपर दिनभर चर्दै हिँड्ने राम बिहान सबेरै करिब ५:३० बजे खुला छाडिन्छ । साँझ ६:३० बजेतिर भने फेरि खोरमा फर्काइन्छ । दिनभर हरियो घाँस र वरपरको वनस्पति खान रमाउने राम बेलुका भने मकैको च्याख्ला खान रुचाउने उसलाई स्याहार गरिरहेका लालबहादुर महतरा बताउँछन् ।
रामसँगै हुर्किएको उसको साथी ‘देव’ पनि थियो । तर गत पुसमा देवको मृत्यु भएपछि राम अहिले एक्लै छ । त्यसयता उसलाई हेर्ने र स्याहार गर्ने जिम्मा सम्हालिरहेका छन् लालबहादुर महतराले ।
महतराका अनुसार राम अहिले पनि बाघको आक्रमणको चोट बोकेर हिँडिरहेको छ । उसको खुट्टा अलि खोच्चिन्छ । ज्यान ठूलो हुँदै जाँदा यो समस्या अझ बढ्न सक्ने हो कि भन्ने चिन्ता उनी व्यक्त गर्छन् ।
तर यी सबैबीच, राम पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । उसको नजिकै गएर तस्वीर खिचाउने, उसको गतिविधि नियाल्ने र केहीबेर ‘जंगलको साथी’ जस्तै अनुभव गर्ने अवसर यसले पर्यटकहरुलाई दिएको छ ।
पर्यटनको दृष्टिले गैँडा चितवनको मुख्य आकर्षण हो । जंगल सफारीमा निस्किँदा नजिकैबाट गैँडा अवलोकन गर्ने अनुभव धेरैका लागि अविस्मरणीय हुन्छ । यसैकारण गैँडा संरक्षण र पर्यटनबीच सन्तुलन कायम गर्नु अहिलेको प्रमुख चुनौतीका रूपमा पनि देखिन्छ ।

प्रतिक्रिया 4