News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ह्वाइट हाउसका दूत स्टिभ विटकफले मियामीमा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग इरान युद्ध अन्त्य गर्ने सम्झौतामा छलफल गरेका छन्।
- कतारले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न मध्यस्थता गर्दै पाकिस्तान, इजिप्ट, टर्की र साउदी अरबसँग मिलेर काम गरिरहेको छ।
- अल-थानीले मियामीमा साउदी विदेशमन्त्रीसँग फोनमा वार्ता गरेका थिए र युद्ध अन्त्य गर्ने समझदारी पत्र तयार गर्ने प्रयास भइरहेको छ।
२७ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ह्वाइट हाउसका दूत स्टिभ विटकफले इरान युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने प्रयासस्वरूप शनिबार मियामीमा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग भेटवार्ता गरेका छन्।
अमेरिकी सञ्चार माध्यम एक्सियोसले दुई स्रोतहरूको हवाला दिँदै उक्त खबर प्रकाशन गरेको छ ।
दुवै पक्षले अमेरिका र इरान युद्ध अन्त्य गर्न र थप विस्तृत वार्ताको रूपरेखा तयार गर्न एक पृष्ठको मेमोमाथि वार्ता गरिरहेका छन्। दुई पक्षबीच मध्यस्थता गर्न कतारले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
शनिबार दिउँसोसम्म अमेरिका इरानको पछिल्लो जवाफको पर्खाइमै थियो।
युद्ध सुरु भएदेखि नै अमेरिका र इरानबीच पाकिस्तान आधिकारिक मध्यस्थकर्ता रहँदै आएको भए तापनि कतारले भने पर्दापछाडि रहेर काम गरिरहेको छ।
अमेरिकी अधिकारीहरूका अनुसार ह्वाइट हाउसले इरानसँगको वार्तामा कतारलाई विशेष रूपमा प्रभावकारी मान्ने गरेको छ।
अल-थानीले हिजो वासिङ्टनमा उपराष्ट्रपति जेडी भान्ससँग भेट गरेका थिए। उनी तुरुन्तै दोहा फर्कने कार्यक्रम तय भएको थियो, तर उनले आफ्नो योजना परिवर्तन गरेर मियामी गएको एक स्रोतले बतायो।
मियामीमै रहँदा उनले मध्यस्थता प्रयासबारे छलफल गर्न साउदी विदेशमन्त्रीलाई फोन गरेका थिए।
अमेरिकी विदेश मन्त्रालयले यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया नदिएको एक्सियोसले जनाएको छ ।
स्रोतहरूका अनुसार यस भेटवार्ता युद्ध अन्त्य गर्न समझदारी पत्र तयार गर्ने बाटो तय गर्नमा केन्द्रित थियो।
एक स्रोतलाई हवाला दिंदै एक्सियोसले लेखेको छ, कतार, पाकिस्तान, इजिप्ट, टर्की र साउदी अरब सम्झौतालाई अगाडि बढाउन एकसाथ मिलेर काम गरिरहेका छन्। ‘मध्यस्थकर्ताहरूले दुवै पक्षलाई तनाव कम गर्न र सम्झौता गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरिरहेका छन्,’ खबरमा भनिएको छ ।
प्रतिक्रिया 4