+
+
Shares

युद्धविरामको स्वागत गर्दै कतारले भन्यो : आक्रमण रोक

पाकिस्तानको मध्यस्थतामा बुधबार बिहान सबेरै घोषणा गरिएको अमेरिका-इरान युद्धविरामलाई कतारको मन्त्रिपरिषद्ले स्वागत गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारको मन्त्रिपरिषद्ले अमेरिका-इरान युद्धविरामलाई स्वागत गर्दै क्षेत्रीय स्थिरता र समुद्री मार्गको सुरक्षामा जोड दिएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई आधार मान्दै दुई हप्ताको युद्धविराम घोषणा गरेका छन्।
  • इरानले आणविक कार्यक्रमसँग सम्बन्धित प्रतिबन्ध फुकुवा, आर्थिक राहत, वित्तीय क्षतिपूर्ति र अमेरिकी लडाकु सेनाको फिर्ता माग गरेको छ।

२५ चैत, काठमाडौं । पाकिस्तानको मध्यस्थतामा बुधबार बिहान सबेरै घोषणा गरिएको अमेरिका-इरान युद्धविरामलाई कतारको मन्त्रिपरिषद्ले स्वागत गरेको छ।

मन्त्रिपरिषद्ले एक विज्ञप्ति जारी गर्दै ‘क्षेत्रीय स्थिरतालाई कमजोर बनाउने सबै प्रकारका शत्रुतापूर्ण कार्य र गतिविधिहरूलाई तत्काल रोक्नुपर्ने आवश्यकता, राज्यको सार्वभौमसत्ताप्रतिको सम्मान, र समुद्री मार्गको सुरक्षा, जलयात्राको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय व्यापारको सुनिश्चितता’ मा जोड दिएको छ।

युद्धविराम घोषणा भएको केही घण्टापछि बुधबार पनि बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतविरुद्ध आक्रमणहरू जारी रहेकै अवस्थामा कतारको यो विज्ञप्ति आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई आधार मान्दै दुई हप्ताको युद्धविराम घोषणा गर्दै इरानमाथि हुँदै आएका बमबारी र आक्रमण अभियान तत्कालका लागि स्थगित गरेको घोषणा गरेका छन्।

इरानले जारी गरेको १० बुँदे प्रस्तावमा विश्वकै महत्त्वपूर्ण तेल निर्यात बिन्दु मानिने हर्मुज स्ट्रेटमा अमेरिकी हस्तक्षेपबिना इरानको निरन्तर नियन्त्रण हुनुपर्ने सर्त राखिएको छ।

इरानको प्रस्तावको सबैभन्दा महत्त्वपूर्ण बुँदा यसको आणविक कार्यक्रमसँग सम्बन्धित छ, जुन लामो समयदेखि दुई राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबीच विवादको मुख्य केन्द्रबिन्दु बन्दै आएको छ।

तेहरानले आणविक कार्यक्रमलाई लिएर लगाइएका सम्पूर्ण प्रतिबन्धहरू फुकुवा गर्नुपर्ने र तत्काल आर्थिक राहत दिनुपर्ने माग गरेको छ। वर्षौंदेखिको अमेरिकी प्रतिबन्धले इरानको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ।

यसैगरी, द्वन्द्वका क्रममा भएको क्षतिको पूर्तिस्वरूप अमेरिकाले वित्तीय क्षतिपूर्ति तिर्नुपर्ने इरानको अडान छ। साथै, आफ्नो क्षेत्रबाट अमेरिकी लडाकु सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने र लेबनानसहितका मध्यपूर्वी क्षेत्रमा भइरहेको युद्ध अन्त्य हुनुपर्ने सर्त पनि इरानले राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?