News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमतिमा पार्टी एकता भएको छ, जसमा राजनीतिक मुद्दा समावेश छैन।
- पूर्वी नेपालका पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र महेन्द्र लावतीले राजनीतिक मुद्दा नसमेटिएको भन्दै पार्टी एकताप्रति असन्तुष्टि जनाएका छन्।
- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको छ र लावतीको नाम समानुपातिक उम्मेदवार सूचीमा राखिएको छ।
१५ पुस, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकतापछि पूर्वी नेपालका पहिचानवादी नेता बिलखबन्दमा परेका छन् । पहिचान सहितको संघीयताको मुद्दा लिएर उज्यालो नेपाल पार्टीमा जोडिएका पूर्वी नेपालका पहिचानवादी नेता बिलखबन्दमा परेका हुन् ।
पहिचानको आन्दोलन कमजोर भइरहेका बेला प्रदेश-१ पुन: नामाङ्कन अभियान समिति संयोजक डकेन्द्रसिंह थेगिम र पहिचानवादी नेता डा. महेन्द्र लावती कुलमान घिसिङले गठन गरेको उज्यालो नेपाल पार्टीमा जोडिएका थिए ।
सोमबार राति रास्वपा र उनेपाबीच सात बुँदे सहमति गर्दै पार्टी एकता भएको थियो । पार्टी एकतामा राजनीतिक मुद्दा उल्लेख छैन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको छ ।
एकता गर्दा राजनीतिक मुद्दा छाडेको भन्दै पूर्वी नेपालका पहिचानवादी नेता डेकेन्द्रसिंह थेगिम र महेन्द्र लावती लगायतका नेता अन्योलमा परेका छन् । पार्टी एकतापछि रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा लावतीको नाम १२ नम्बरमा छ । यो नाम पनि आफ्नो सहमति बिना नै राखिएको लावतीको गुनासो छ ।
पहिचानवादी नेताहरूको बुझाइमा रास्वपा पहिचान विरोधी पार्टी हो ।
इलामको माङसेबुङमा रहेका उज्यालो नेपालका केन्द्रीय सदस्य थेगिमले पार्टी एकतापछि आफू अलमलमा परेको बताए । उनका अनुसार उज्यालो नेपाल पार्टीले संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामुदायिक समाजवाद, बहुसांस्कृतिकतावाद र धर्मनिरपेक्षता जस्ता मुद्दालाई आफ्नो मूल एजेन्डा बनाएको थियो ।
रास्वपाले गत निर्वाचनमा प्रदेश संरचनामा उम्मेदवारी नदिएका कारण उसलाई ‘संघीयता विरोधी’ र ‘पहिचान विरोधी’ शक्तिका रूपमा थेगिमले बुझेका छन् ।
‘कुलमानजीले सबै अस्तित्व र पहिचान मेटेर कसरी मिल्न सकिन्छ भन्दै आउनुभएको थियो,’ उनले भने, ‘अहिले कसरी सहमति भयो, त्यो उहाँहरूले नै जान्ने कुरा हो । यदि हाम्रो मूल एजेन्डा नै छोडेर एकता गरिएको हो भने त्यहाँ गम्भीर प्रश्न उठ्नेछ।’
पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकपछि मात्रै यो एकताले उज्यालो नेपालको एजेन्डालाई स्थापित गर्छ वा बिलय गराउँछ भन्ने कुराको टुङ्गो लाग्ने उनले बताए ।
‘हाम्रो अगाडिको कुरा चुनावी गठबन्धन, कार्यगत एकता र सहकार्यको मात्र थियो, तर एकैचोटि पार्टी नै बिलय भएको र आफ्नै चिह्न र नामसमेत नरहेको कुरा सुन्दा आफैँ अलमलमा परेको छु,’ उनले भने, ‘रास्वपा हिजो संघीयता विरोधी भन्ने बुझिएकै हो, किनभने प्रदेशमा क्यान्डिडेट नै नउठाएपछि र पटकपटक प्रदेश चाहिँदैन भनेपछि संघीयता र पहिचान विरोधी भन्ने नै बुझिन्छ ।’
तत्कालीन प्रदेश-१ ले १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राखेको थियो । त्यसपछि पहिचानवादीले चित्त दुखाए । प्रदेशको नाम पहिचानको आधारमा पुन: नामाङ्कन गर्नुपर्ने भन्दै पहिचानवादी दल र संगठनले मोर्चाबन्दी गरेर आन्दोलन सुरु गरे, जसको नेतृत्व थेगिमले गरे ।
पहिचानको मुद्दा १५ वैशाख २०८१ मा इलाम-२ को उपनिर्वाचनसम्म आइपुग्दा अस्वीकृत भयो । उपनिर्वाचनमा पहिचानवादी मोर्चाको साझा उम्मेदवार बनेका थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका थिए ।
महेन्द्र पनि अलमलमा
पार्टी एकतापछि रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा लावतीको नाम छ । पञ्चायतकालीन नेता पद्मसुन्दर लावतीका छोरा महेन्द्रले पूर्वी नेपालमा पहिचानवादी नेताको छवि बनाएका छन् ।
उनले आफूसँग सल्लाह नै नगरी समानुपातिकको सूचीमा नाम समावेश गरेको भन्दै असन्तुष्टि जनाएका छन् । रास्वपासँगको एकतामा पनि उनको बिमति छ । राजनीतिक मुद्दा बिनाको एकताको अर्थ नहुने उनको भनाइ छ ।
‘पार्टी एकता मुद्दाको आधारमा हुनुपर्छ । नत्र एकताको नौटङ्कीले केही हुँदैन,’ उनले भने, ‘हामीले हाम्रा मुद्दाहरू प्रष्टसँग राखेका छौँ, ती मुद्दा सम्बोधन हुने ग्यारेन्टी भयो भने मात्र एकता दिगो हुन्छ ।’
गणतन्त्र, धर्मनिरपेक्ष राज्य, संघीयता र समानुपातिक बटमलाइन रहेको उनले बताए । रास्वपासँगको एकतामा कुनै राजनीतिक मुद्दा उल्लेख गरिएको छैन ।
‘राजनीतिक मुद्दा सम्झौतामा आएन, अब घोषणापत्र आदि-इत्यादिमा ल्याउँछौँ भन्दैछन्,’ उनले भने, ‘राजनीतिक मुद्दाको ग्यारेन्टी हुनुपर्यो भन्ने हाम्रो भनाइ हो । हेरौँ भरेसम्म के हुन्छ ।’
आफू पदका लागि राजनीतिमा नआएको बताउँदै लावतीले आफूलाई सांसद पदको लोभ नभएको बताए । ‘म सांसद बन्नका लागि मात्र मुद्दा बोकेर हिँडेको मान्छे होइन । यहाँ मन्त्री त खाइएको छैन,’ उनले भने । पार्टी एकताको विषयमा थप स्पष्टताका लागि आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।
प्रतिक्रिया 4