+
+
Shares

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशको ढाकामा भारतीय उच्चायोग अगाडि जुलाई युनिटीको ब्यानरमा प्रदर्शन भएको छ।
  • प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतले सुम्पिनुपर्ने र हस्तक्षेप रोकिनुपर्ने माग गरेका छन्।
  • प्रदर्शनमा प्रहरीले ब्यारिकेड लगाएर रोक्दा झडप भएको र हसिनालाई मृत्युदण्ड सुनाइएको छ।

२ पुस, काठमाडौं । बंगलादेशमा भारतीय उच्चायोगको कार्यालय अगाडि प्रदर्शन भएको छ । जुलाई युनिटीको ब्यानरमा भएको प्रदर्शनमा सयौं मानिस सहभागी भएका हुन् ।

जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधामन्त्री शेख हसिनालाई भारतले सुम्पिनुपर्ने, भारतीय हस्तक्षेप रोकिनुपर्ने लगायतको माग गर्दै प्रदर्शन भएको छ ।

ढाकाको गुलशनस्थित भारतीय उच्चायोगतर्फ अघि बढेको प्रदर्शनलाई प्रहरीले ब्यारिकेड लगाएर रोकेको बंगलादेशी समाचार संस्था द डेलीस्टारले जनाएको छ । सो क्रममा ब्यारिकेड पल्टाएर प्रदर्शनकारी अघि बढ्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ ।

बुधबार स्थानीय समय अनुसार दिउँसो ३:१५ बजे प्रदर्शन सुरु हुनु अघि रामपुरा पुल क्षेत्रमा भेला भएका थिए ।

प्रदर्शन अपरान्ह ४ बजे उत्तर बड्डा पुग्दा प्रहरीले ब्यारिकेड खडा गरेर अघि बढ्न दिएको थिएन । प्रहरीले रोकेपछि प्रदर्शनकारी सडकमै बसेर नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले ‘दिल्ली होइन, ढाका ढाका ढाका’ नारा लगाएका थिए ।

ढाकामा प्रदर्शन सुरु हुनुअघि भारतीय विदेश मन्त्रालयले बुधबार नै दिल्लीस्थित बंगलादेशी उच्चायुक्तलाई बोलाएर ढाकामा आफ्नो सुरक्षा चासोबारे अवगत गराएको थियो

बंगलादेशमा भारतीय हस्तक्षेप बढेको भन्दै केही समूहले पछिल्लो समय त्यहाँ विरोध चर्काउन थालेका छन् । बंगलादेशमा सन् २०२४ को अगस्ट–जुलाईमा भएको प्रदर्शनपछि हसिना नेतृत्वको सरकार ढलेको थियो । आरक्षण (कोटा) प्रथाको विरोध गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलन सरकारी दमन बढ्दै गएपछि देशव्यापी बनेको थियो ।

हसिना सत्ताच्युत भएपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको छ ।

जुलाई २०२४ को आन्दोलनमा १४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । तत्कालीन हसिना सरकारले उक्त आन्दोलनमा अत्यधिक दमन गरेको आरोप छ ।

उक्त आन्दोलनपछि हसिना भारतमा निर्वासनमा छिन् । हसिनालाई ढाकाको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ढाका अदालतको आदेशपछि बंगलादेश सरकारले हसिनालाई सुम्पिन भारतसँग आग्रह गरेको थियो । तर, भारतले ढाकामा विकसित घटनाक्रमलाई नोटिसमा राखेको मात्र जवाफ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?