+
+
Shares
एस्प्रेसो-विशेष शट :

रवि-बालेन एकता : देश विकासको रहर कि लोकरिझ्याइँको लहर ?

रवि-बालेन मिलाउन खोज्दा नतिजा नआएपछि निकटस्थले रविलाई पेलपाल नै गरे, ‘बालेनसँग मिल्नुभयो भने बहुमत आउँछ । मिल्नुभएन भने त्यही २१–२२ सिट हो । कुन रोज्ने रोज्नुस् !’

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ पुष १३ गते २१:३८

दुई महिनाअघि नक्खु कारागारमै रचिएको थियो रवि–बालेन एकताको पटकथा । ७ र १० पुसमा तारन्तार बैठक भए पनि यसले पूर्णता पाउन भने १३ पुसको आइतबार नै कुर्नुपर्‍यो । यसअघि विभिन्न दलका नेता, व्यापारीका घरमा हुने गरेका राजनीतिक वार्ताहरूको शृंखला टुटाउँदै यसपल्ट एउटा फिल्म स्टुडियोमा रास्वपा–बालेन संवाद सफल हुनु आफैंमा पटकथाकै भाग जस्तो हुनगयो ।

एकता वार्तामा सबैभन्दा नजिकबाट गृहकार्य गर्नेमध्येका एक असीम शाहले मसँग हाँस्दै सुनाए, ‘घरीघरी त मलाई आफैं कुनै साउथ इन्डियन सिनेमा पो हेर्दैछु कि जस्तो लागिरहन्थ्यो । शायद अर्को सिनेमाको स्क्रिप्टमा काम गर्न गाह्रो पर्दैन होला । यसपालि भएकै घटनामध्येका कतिपय घटना लिएर राम्रो फिल्म बनाउन सकिन्छ ।’

मैले असीमलाई सोधें, ‘रवि–बालेन एकताको प्रयासमा तपाईं आफैंलाई सर्वाधिक रोचक लागेको अनुभव के हो ?’

उनले सुनाए, ‘लोकेसन चेन्ज ।’ अर्थात् ठाउँ सरी–सरी गरिएका दर्जनौं आन्तरिक बैठकहरू । नत्र त मिडियामै काम गर्ने र पत्रकारसँग राम्रो सम्बन्ध भएका साथीभाइले सबथोक डिस्क्लोज गरिदिइहाल्ने बानीले हैरान पारेछ उनीहरूलाई ।

एकता वार्ता सकिएसँगै खिचिएको फोटोमा १२ भाइ पुरुष ‘घण्टीमित्र’ हरू देखिंदा धेरैजसो जेनजी विद्रोहीको अनुहार देखिन्न । तर उनीहरू यो एकतामा मज्जाले सामेल छन् । तस्बिरमा नपरेका सुदन गुरुङको मन उतिसाह्रो रमाएको छैन भन्ने त फेसबुक पोस्ट पढेपछि थाहा भइहाल्यो । उनी, हर्क साम्पाङ आदिलाई काममा बिजी बनाइराख्ने, धेरै दुःखी नबनाउने उपाय बालेन टिमले निकालेको छ । यसबारे चाहिं अहिल्यै धेरै भनिहाल्न मिल्दैन रे !

यी सब भौतिक, मानसिक उतारचढाव इत्यादिका कारण असीम, उनका दाइ आसिफका लागि यो प्रक्रिया रोचक हुने नै भयो । सिनेमा र संगीत प्रोडक्सनका क्रममा बालेनसँग कस्सिएको सम्बन्ध कामयाव बन्यो । यसअघि रास्वपाको समानुपातिक सांसद रोजाइमा आसिफ परे पनि भाइका लागि उनले गरेको योगदान सम्झनैपर्ने गरी प्रासंगिक बन्यो ।

एकातिर ठाउँ सरेको सर्‍यै, अर्कातिर आफू कुन भूमिकामा उभिने भन्ने द्विविधा । बालेनसँग जति निकट भए पनि असीम अन्ततः रास्वपासँग जोडिएका एक नेता थिए । दुवैका लागि समान रूपले काम गर्न नसक्दा एकताको सन्तुलन मिलाउने ढकपल्ला कतैतिर ढलपल गर्न सक्थ्यो । प्रक्रिया भाँडिन पनि सक्थ्यो । एकपल्ट त नजिकाहरूले रविलाई पेलपाल नै गर्नुपर्‍यो, ‘बालेनसँग मिल्नुभयो भने बहुमत आउँछ ।

मिल्नुभएन भने त्यही २१–२२ सिट हो । कुन रोज्ने रोज्नुस् !’

त्यसपछि मात्रै बल्ल रवि आफ्नो महत्वाकांक्षालाई बिसाउँदै बालेनसँग गला मिलाउन तयार भएका थिए ।

यो समग्र प्रक्रियामा रविसँगै रास्वपाबाट स्वर्णिम वाग्ले, शिशिर खनालले भित्री काम गरेका छन् । बालेनका लागि कुमार बेन, भुपदेव शाहले काम गरेका छन् । यी दुवैलाई जोड्ने काम असीम, आसिफले गरिरहे।

यो लोकेसन चेन्ज गरिराख्ने बानीले नेपाली राजनीतिकै लोकेसन बदल्न पुग्यो । राजनीतिक संवादको साँचो बालुवाटार, सिंहदरबार, बालकोट, खुमलटार, बूढानीलकण्ठ नभई कमलपोखरीको फिल्म स्टुडियोमा रह्यो । केही मिटिङ ज्वागल र लाजिम्पाटमा भए । सहकारी ठगी अभियोगमा रविले कैद सजाय काटी आएको नक्खु कारागारमा आधा दर्जनजति परामर्श भएका थिए । बालकोट, बूढानीलकण्ठ आदि नयाँ-नयाँ ठाउँका नाम चर्चामा आउन थाले ।

यसबीचमा कैदबाट छुटेसँगै रविले संवादलाई बिजुली गतिमा तीव्रता दिए । कुमार बेनको ज्वागल निवासमा दुई दिन बालेनले लगालग मिटिङ गरे । राजनीति न हो, रविले बालेनलाई अनि बालेनले रविलाई दुवैतर्फ काफी प्रेसरमा राखे । एकता सम्झौतापत्रको भाषा हेरौं न, फिल्महरूमा साइन गर्दा लेखिने कानूनी भाषा जस्तै पहिलो पक्षले यसो गर्ने, दोस्रो पक्षले उसो गर्ने भन्ने टाइपको छ ।

रवि र बालेनले बुद्धि पुर्‍याएको खण्डमा यो सहकार्य घण्टी बजाउँदै शुरु हुन सक्छ । थोरै मात्र पनि समझ गुमाएको खण्डमा यो एकता महाभारतको स्वर्गारोहण पर्वमा टुंगिन पनि सक्छ ।

त्यसअघि रास्वपामा गणेश कार्की लगायतले सम्भावित एकताको छलफल अघि बढाउँदै गर्दा खासै गम्भीर मोडमा पुगेको थिएन । त्यसैले त्यसलाई कसैले पनि औपचारिक एजेन्डाका रूपमा अघि बढाउने मनसाय देखाएनन् । तर जब उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वमा उच्च संवाद समिति बन्यो, त्यसपछि भने यसले औपचारिक मान्यता पायो ।

अब बालेन स्थानीय पालिकाको प्रमुखबाट देशकै कार्यकारी प्रमुख हुने अभिलाषा सहित आगामी आम चुनावमा सहभागी हुनेछन् । बालेनको टिमले स्पष्ट भन्यो, ‘उनी झापा ५ बाट लड्नेछन् । केपी ओलीले कथंकदाचित् निर्वाचन क्षेत्र बदले भने उनी जहाँ जान्छन्, बालेन त्यहीं पुग्छन् । यो घोषणामा कुनै दायाँ–बायाँ हुँदैन ।’

तर यो एकताको एकदम सुखद् अध्याय मात्रै लेखिएको छैन; यसलाई कसरी टिकाएर लैजालान् भन्ने चुनौती त्यत्तिकै छ । हामीलाई इतिहासको भूतले वर्तमानमा तर्साइरहन्छ । हरेक आठ-दश वर्षको अन्तरालमा चाहिने-नचाहिने कुरामा आशावादी भइरहनु हामी नेपालीको नियति नै भइसक्यो । २०७४ सालमा ओली र प्रचण्ड मिल्दा सबै वर्ग–विचारका नेपालीले मन खोलेर कम्युनिस्ट पार्टीलाई भोट खन्याइदिए । राजनीतिक स्थिरता र आर्थिक समृद्धिको रोडम्याप ओली र प्रचण्डले यस्तरी भत्काइदिए कि मतदाताको मन त्यसपछि फर्केन ।

त्यसको ठिक १० वर्ष पहिले २०६४ मा माओवादीको पक्षमा असिना बर्सेसरी मत बर्सियो । संविधानसभाको प्रत्यक्षतर्फका २४० सिटमध्ये १२० सिट माओवादी एक्लैले ल्यायो । एमाले र कांग्रेस त सानातिना पार्टी पो बन्न पुगेथे । माओवादीलाई त्यो झन्डै मिलेको बहुमत भुइँमा न भाँडामा भयो । एकीकृत माओवादी नामको तत्कालीन पार्टी चारभन्दा बढी टुक्रामा टुक्रियो, पाँच वर्षभित्र ।

२०४८ र २०५६ मा कांग्रेसले पाएको बहुमतको त यहाँ सम्झना पनि नगरौं । नेपालमा अहिलेसम्म कसैले पनि बहुमत थामेर खाएको छैन । आगामी चुनावमा असली प्रतिस्पर्धा कस्तो र कुन रूपमा हुने हो, अझै स्पष्ट छैन । रवि र बालेनको एकता ‘इलेक्सन मेसिन’ अर्थात् यसपल्टको चुनावका लागि सबैभन्दा ठूलो समाचार बन्नसक्ने स्पष्ट आकलन गर्न सकिन्छ । पृष्ठभूमिमा जेनजी विद्रोहका बेला उठेको युवा उभार, त्यसले बालेनलाई प्रधानमन्त्री देख्न चाहे पनि उनले गरेको अस्वीकार, त्यससँगै युवामा उत्पन्न वितृष्णा, तर केही ढिलो गरी त्यसलाई सम्हाल्न उनले चाहेको प्रतिज्ञा आदि छन् ।

हाललाई रवि, बालेन बीच वरीयता, कुर्सी आदिको विवाद छैन । सिद्धान्त–फिद्धान्तका नाम भजाएर सिद्धान्तहीन खेलोमेलो गर्नुभन्दा वाद–विचारको नामै नलिने बाटो यिनले समाए जस्तो देखिन्छ । यद्यपि नेता स्वर्णिम वाग्लेले संविधानका आधारभूत प्रस्तावना साथै दुई वर्षअघि रास्वपाले जलेश्वरमा पास गरेको वैचारिक मान्यता नै बालेनसँग एकताको आधार भएको तर्क गरेका छन् । रास्वपामा स्वर्णिम वाग्ले, अरनिको पाँडे, क्रान्तिशिखा धिताल, नन्दन यादवले लेखिरहेको बाचापत्र नै बालेनलाई प्रधानमन्त्री बनाउने नीतिगत मार्गचित्र हुने उनको भनाइ छ ।

नेपालको राजनीतिमा भइरहेको ठूलो परिवर्तन के हो भने पहिले माक्र्सवाद, प्रजातान्त्रिक समाजवाद, उदारवाद जस्ता ‘लेक्सिकन’ वरिपरि पार्टी खुल्ने गरे पनि अहिले आएर पोलिसी, प्रोग्राम र डेलिभरीलाई ध्यान दिँदै पार्टी खोल्ने क्रम सुरु भएको स्पष्ट अनुभूति गर्न सकिन्छ । पार्टी नाम, चिह्न, अनि वरीयता आदिका कारण एकता प्रक्रियामा छुटेका कुलमान घिसिङले पनि त्यस्तै प्रकारको उज्यालो नेपाल पार्टी खोलेका छन् ।

गतिशील लोकतान्त्रिक पार्टी लगायत नयाँ शक्तिहरू पोलिसी, प्रोग्राम, डेलिभरीलाई नै केन्द्रमा राख्दै अघि बढेको देख्न सकिन्छ । अरू पार्टीहरूको पनि अवस्था यस्तै छ । अब राजनीतिको व्याकरण र टेम्प्लेट बदलिएला भन्ने आश गरौं ।

जतिसुकै हाइटेक स्वरुपमा पार्टी ल्याए पनि विगतमा कांग्रेस, एमाले र माओवादीहरूको सत्तास्वार्थकेन्द्रित गठजोडभन्दा रवि-बालेन एकता पनि पूरै भिन्न भने छैन । एकता प्रक्रियामा सामेल नेताहरूले खुलाए अनुसार रवि–बालेन बीच सुरुमै रविलाई पार्टी सभापति, बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको थियो । तर दलभित्र विभिन्न अभिरुचि भएका व्यक्तिहरूले पदीय आसक्ति देखाउँदै, स्वयं रवि–बालेनलाई पनि त्यो खिचातानीको हिस्सेदार बनाउँदा कुरो अड्केको थियो । अब त एकता नै पो नहुने हो कि भन्ने डर समेत पैदा भइसकेको थियो ।

विगतमा ओली र प्रचण्डले बनाएको सत्तास्वार्थको गठजोडलाई वाम एकताको सैद्धान्तिक बुट्टेजामा पहिर्‍याएका थिए । कम्युनिस्ट नहुने मान्छे नेपाली नै हो कि होइन झैं गरी अहंकार पलाएको थियो कार्यकर्तामा । अचेल जो–कोहीमा देश बनाउने धुन सवार भए जस्तो देखिन्छ । बाटोमा हिंड्दै गरेको जो–कोही यतिबेला क्षेत्रप्रताप अधिकारी र कञ्चन पुडासैनीका पञ्चायतकालीन राष्ट्रवादी गीतबाट प्रभावित भए झैं लाग्छ । देश विकासभन्दा सानो कुरो त कोही गर्दैन यार !

यथार्थ के हो भने लोकप्रिय बन्ने रहरमा पपुलिज्मको लहर आउने हो कि भन्ने चिन्ता जगजाहेर छ । कतिले त उग्रराष्ट्रवादको लहरमा बहेर नेपाली जेलेन्स्की आउने हो कि भन्न भ्याइसके । अहिले चलिरहेका कतिपय लफडाहरू विषयान्तर पनि गर्नुपर्नेछ ।

एकता क्रममा याद गर्नुपर्ने के छ भने रविसँग अझै पनि कानूनी उल्झन बाँकी छन् । बालेनका बाहुबली शब्दले उनी र्‍यापर पृष्ठभूमिको भएको सम्झना दिलाउँछन् । अनि रास्वपासँग मिलेसँगै ग्रेटर बालेन बनेका उनको शैलीमा परिष्कार अविलम्ब चाहिएको छ । हिजोकै उत्ताउलो पाराले अब त राजनीतिदेखि भूराजनीतिसम्म बिझाउँछ । राष्ट्रियता बोलीभन्दा बढ्ता व्यवहार हो । बालेन र रवि दुवैले मनन गर्नुपर्ने के हो भने फगत चर्का कुराले चिउरा भिज्दैन ।

हिमालयभन्दा अग्लो इगो भएका दुई व्यक्ति रवि र बालेन दुवैको ‘औरा मेन्टेन’ गर्नु अहिले सोचे जस्तो सजिलो हुने छैन । यी दुईमध्ये कुनै पनि एकको महत्वाकांक्षा व्यवस्थापन गरिराख्न हर दिन हर विषयमा कुमार बेन, असीम शाह, स्वर्णिम वाग्ले आदिको हस्तक्षेपले पार लाग्नेवाला पनि छैन ।

रवि बालेनले बुद्धि पुर्‍याएको खण्डमा सत्ता र शक्तिको यो सहकार्य घण्टी बजाउँदै सुरु हुन सक्छ । राजनीतिक स्थिरताको आडमा देश विकास हुन पनि सक्छ । आर्थिक उन्नति गराउन सके रोजगारी लगायत समस्या समाधान होलान् । एकता सम्झौतापत्रमा सामाजिक न्यायको शब्दांश पर्नु आफैंमा रोचक छ ।

तर यी दुई भाइले व्यक्तिगत महत्वाक‌ांक्षाका लागि अर्को पात्रको तेजोबध गर्न लागेमा खति निम्तिने छ । यिनले थोरै मात्र पनि समझ गुमाएको खण्डमा यो एकता महाभारतको स्वर्गारोहण पर्वमा टुंगिन पनि सक्छ । आशावादी नेपालीहरू फेरि कारुणिक आशावादका उपभोक्ता बन्न पुग्नेछन् । यतिका लागि त ओली प्रचण्ड छँदै थिए । अरु किन चाहियो ! अब फेरि यस्तो नहोस् ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?