+
+
Shares
कविता :

‘नार्सिसिस्ट’ ऐंठनले अनिंदो शालिक !

त्यो त यस्तो शालिक हो, जो चाहँदैन देशले इन्द्रेणी सपना देखोस् ।किनभने, उसलाई उज्यालो मन पर्दैन ।

सुरेश प्राञ्जली सुरेश प्राञ्जली
२०८२ पुष १३ गते १७:५७

प्रोलगः

हिजो राती सपनीमा
कवि ल्याङ्सटन ह्युजले
एउटा निर्मम कथा सुनाए:
अहंकार र दम्भको माटोले बनेको
एउटा महामहिम शालिकको कथा

शालिक, शालिक बन्नु अघि
उसले मच्चाएको नरसंघारको कथा
उसले मासेको एउटा सिंगो पुस्ताको महाकथा
र, उसैले रचेको बर्बरताको मृत्यु–आख्यान ।

फ्ल्यासब्याक:

हुन त त्यही शालिक हो क्यार !
खुन पिएर उन्मत्त भएको
जसको निधारमा
खुनको मसीले खुनैको हरफ लेखिएको छ :
यो एउटा  ज्याद्रो शासकको शालिक हो ।’

कठैबरा !
कसैले ‘अबिच्योरी’ लेखेर
शब्द खर्चिन चाहेनछ सायद !

हेर्दा टाढैबाट देखिन्छ —
उसको पाउको बिजोर जुत्ता
खुन लत्पतिएको, अबोध अनि बेनामे
त्यही जुत्ता पहिरिने थुप्रै गोडाधनीका छातिमा
उसैले दागेको थियो गोली
हेर्दा टाढैबाट देखिन्छ –
उसको निधारमा कट्कटिएको कलंकको खत पनि
उसले रुवाएका थुप्रै आमाहरुको आँशुले पनि पखालेनछ सायद !

एउटा निरंकुश शालिक-
जसको अनुहार युगान्डाका बुचर ‘इदी अमिन’सित दुरुस्तै मिल्छ ।
एउटा चिसो शालिक —
जो बेलाबेला ‘अट्टिला द हुन’ जसरी हाँस्न खोज्छ ।
एउटा निरंकुश शालिक —
जो ‘इभान द टेरिबल’ र ‘हिटलर’ हाराहारीकै नरसंघारी छ ।

ल्याङ्सटन ह्युज सुनाउँदै थिए-
त्यो शालिकले त कुनैबेला
सत्ताको बुट पहिरिएको थियो रे !
त्यही बुटले जनताका कलिला सपनामाथि
निर्मम परेड खेलेको साँझ
ऊ आफ्नै छाँयासित पनि झस्किएको थियो ।

त्यो त यस्तो शालिक हो
जो चाहँदैन देशले इन्द्रेणी सपना देखोस् ।
किनभने,
उसलाई उज्यालो मन पर्दैन
उसलाई मन पर्ने त
अधिनायकवादको चिसो दरबार हो
अफसोच !
ऊ ढलेको श्रीपेच पहिरिन चाहन्छ ।

चोकभरि हल्ला छ-
अचेल उसलाई हिटलरले लगाउने गरेको
‘ज्याकबुट’ लगाउने रहर पलाएको छ रे !
सायद,
लोकतन्त्रको छाति कुल्चिन सजिलो होस् भनेर होला ।

कठैबरा !
हुन त उसलाई अचेल
हर रात ऐंठन हुन्छ रे निन्द्रामा
उति सञ्चो पनि नभएर होला !
निस्लोट भएर बर्बराउन थालेको छ
ऊ ‘स्किजोफ्रेनिया’ले ग्रसित छ
‘नार्सिसिस्ट डिसअर्डर’ले थलिएको छ

विचरा शालिक !
उसलाई सोधियो भने उसको गर्भको नाम
उसले सजिलै भन्ने छ- लोकतन्त्र ।
उसले सजिलै भन्ने छ- गणतन्त्र ।
तर उसलाई सत्ताको नाम सोधियो भने
उसले बिर्सिने छ आफ्नै आमाको नाम
र स्वयंले ढाल्नेछ आफ्नै शालिक
आफ्नै अहंकारको खन्तीले खनेर !

एपिलगः
‘फ्रिडम वील नट कम टूडे,
दिस इयर,
नर एभर थ्रु कम्प्रमाइज एन्ड फिअर ।’

कवि ल्याङ्सटन ह्युजले यी हरफ पढिरहँदा-
तानाशाह बेनिटो मुसोलिनीले जसरी
शालिक ‘फासिजम्’को मादल बजाइरहेको हुँदो हो
रोम शासक निरो क्लाउडियसले जसरी
रोम जलिरँदा पनि बाँसुरी फुकिरहेको हुँदो हो ऊ
अथवा खमे रुज नेता पोल पोटले जसरी
शासकीय आतंकको जाली तमसुक लेखिरहेको हुँदो हो !

भ्वाइस ओभर:
भायोलिनको धुनसँगै
ह्युजले ‘अ न्यु सङ्’को रिभाइज्ड भर्सन सुनाइरहे…
‘आखिर शालिक कसको थियो ?
एउटा बेनामे शालिक !
जो प्रतिशोधको बर्दी पहिरिएर
वर्षौदेखि दम्भको टेकोमा अनिँदो उभिइरहेको छ ..।’

लेखक
सुरेश प्राञ्जली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?