+
+
Shares

पूर्वराजाको ज्वाईं भन्दै करोडौं ठग्ने सिंहसहित ११ जनाविरुद्ध मुद्दा दर्ता

नेपाली सेनाको पाइलटदेखि पूर्वराजाको ज्वाईं भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका अनुपकुमार सिंहसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाको पाइलट र पूर्वराजाको ज्वाईं भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा अनुपकुमार सिंहसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको छ।
  • सिंहले बेलायत पठाउने भन्दै ६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ र उनी सात पटक पक्राउ परेका व्यक्ति हुन्।
  • सिंहले आफूलाई नेपाली सेनाको क्याप्टेन र पूर्वराजाको भान्जा बताउने गरेको र नक्कली भिसा बनाएको प्रहरीले खुलाएको छ।

२२ पुस, काठमाडौं । नेपाली सेनाको पाइलटदेखि पूर्वराजाको ज्वाईं भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका अनुपकुमार सिंहसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सिंहसहितका व्यक्तिविरुद्ध ठगी र लिखत कीर्तेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा उनीहरुको पेसी परेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटी, तथा साधारण तारेखमा छुट्ने वा पुर्पक्षमा कारागार पठाउने मध्ये एक आदेश आउने छ ।

सिंहसहित लङ बहादुर श्रेष्ठ, विनोद श्रेष्ठ, रन्जिता कुमारी चौधरी, प्रमित श्रेष्ठ, सिरिष चन्द, तुलसी गजुरेल, गोविन्द कुमार बम्जन, सरु शाही, बिना सुनवार, अनिता सुनुवारविरुद्ध मुद्दा दायर भएको छ ।

यो समूहले ६ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा केही दिनअघि ४८ जना युवाको समूह पुगेर बेलायत पठाउने भन्दै करोडौं ठगी भएको बारे उजुरी दिएको थियो ।

त्यसपछि झापाबाट ठगीका मुख्य नाइके सिंह पक्राउ परेका थिए । सिंहको योजनामा पछिल्लो पटक बेलायत पठाउने भन्दै ठगी भएको थियो । बेलायतमा होटल खोलेको र त्यसमा कामदार चाहिएको भन्दै युवाहरूलाई प्रलोभन देखाएर ठगी गरेको प्रहरीको भनाइ छ । विश्वास दिलाउन उनले ज्ञानेश्वरमा भव्य कार्यालय खोलेको र सो सम्बन्धी कागजात समेत देखाउने गरेको पाइएको छ ।‍

यसरी विश्वास दिलाएपछि प्रतिव्यक्ति २० लाख रुपैयाँ लाग्ने भन्दै डिल गरेर रकम उठाउने गरेको खुलेको छ । सिंहले आफूलाई हिमानी ट्रस्टको व्यक्तिदेखि पूर्वराजा ज्ञानेन्द्रको भान्जा, नेपाली सेनाको पाइलट बताउने गरेको प्रहरीले बताएको छ ।

यसअघि उनले आफू हिमानी ट्रस्टको व्यक्ति भएको विश्वास दिलाउनका लागि खेलाडीहरूलाई कपडा समेत बाँडेको खुलेको छ । हेलिकप्टरमार्फत काठमाडौंबाट पोखरा गएर हिमानी ट्रस्टमार्फत भन्दै उनले खेलाडीहरूलाई कपडा बाँडेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरी अनुसन्धानको क्रममा सिंहको पूर्वराजासँग भने केही सम्बन्ध नदेखिएको प्रहरीले बताएको छ । अहिले पक्राउ परेका सिंह यसअघि पनि सात पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।

यसअघि उनी एकै व्यक्तिबाट सवा करोड रुपैयाँ ठगीको आरोपमा समातिएका थिए । गत वर्षको फागुनमा जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेर त्यतिबेला किर्ते र ठगीको कसुरमा अनुसन्धान गरेको थियो ।

एक महिलाको परिवारलाई नै अमेरिका लैजाने भन्दै उनले त्यतिबेला सवा करोड रुपैयाँ ठगी गरेका थिए । ती महिलासँग सिंहले आफूलाई नेपाली सेनाको विमान चालक क्याप्टेन बताएका थिए । विमान चालक क्याप्टेन रहेको भन्दै सिंहले आर्मी पोशाकमा खिचाएको तस्वीरसमेत देखाएको दाबी महिलाले गरेकी थिइन् ।

विश्वास दिलाउन सिंहले अमेरिकाको नक्कली भिसासमेत बनाएका थिए । प्रहरीले नक्कली भिसा बरामद गरेको थियो । यसअघि सिंहले केही व्यक्तिलाई भने पारस शाहकी छोरीको इन्गेजमेन्ट कार्यक्रम अमेरिका हुने तय भएकाले त्यही समारोहमा लैजाने भन्दै ठगी गरेका थिए ।

कसैलाई नेपाली सेनाको क्याप्टेन दर्जामा रहेको विमान चालक बताएका सिंहले केही व्यक्तिलाई भने पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा समेत बताउने गरेका थिए । राज खानदानसँग राम्रो सम्बन्ध रहेको, दूतावासको मान्छेसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै उनले विश्वासमा दिलाउने काम गरेका थिए ।

सिंह पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको थियो । सो क्रममा उनीविरुद्ध यसअघि ७ वटा कसुरमा मुद्दा चलिसकेको खुलेको छ ।

सीआरएसअनुसार उनीविरुद्ध सुरुमा २०५७ सालमा सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको थियो । सार्वजनिक (हाल अभद्र) कसुरबाट अपराधको दुनियाँ छिरेका उनी अहिले नामुद ठगीको सूचीमा छन् ।

२०५७ सालपछि १ वर्षसम्म उनी कुनै अपराधमा मुछिएका थिएनन् । २०७३ सालमा आएपछि भने उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगीको कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रिपोर्टमा देखिन्छ ।

त्यसपछि २०७७ सालमा उनीविरुद्ध परिसर काठमाडौंमा दुई पटक दुई वटा मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजाना र ठगीको कसुरमा दुई वटा मुद्दा चलेको थियो ।

त्यसपछि २०८० सालमा काठमाडौंबाटै ठगीको मुद्दा चलेको भेटिएको छ । २०८१ मा ठगीकै कसुरमा ललितपुरमा पक्राउ परेका थिए । अहिले २०८२ मा अर्को ठगीमा उनी समातिएका उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?