ओझेलमा परेको अद्भुत चरा
कोरी बस्टार्ड अफ्रिकाको विशाल सवानाको मैदानमा पाइन्छ । विशाल शरीर, बलियो खुट्टा र फराकिलो पखेटा भएको यो चरा संसारकै सबैभन्दा वजनदार हुनुको बाबजुद उड्न सक्ने चरामध्ये एक हो ।
गज्जबको उड्न सक्ने क्षमता
यसको तौल १८ देखि २० केजी, पखेटाको फैलावट ७ देखि ९ फिटसम्म हुन्छ । जमिनमै हिँड्न रुचाउने यो चरा खतरा महसुस भएमा मात्र आकाशमा उड्छ । उडान भरेपछि निकै स्थिर रहेर लामो दूरीसम्म उड्न सक्षम हुन्छ ।
जमिनमै बित्छ अधिकांश जीवन
अन्य चराझैं रुखमा बस्ने बानी कोरी बस्टार्डमा हुँदैन । यो खुला घाँसे मैदान र सुक्खा सवानामा बस्न रुचाउँछ । दिनभरि जमिनमा हिँड्दै खाना खोज्ने यसको बानी हुन्छ । यसको खुट्टा अत्यन्त बलियो हुन्छन् । र, आवश्यक पर्दा शिकारीलाई शक्तिशाली लात हान्न सक्छ ।
अवसरवादी सर्वाहारी चरा
कोरी बस्टार्ड खानाको मामिलामा निकै अवसरवादी हुन्छ । यसले कीराफट्याङ्ग्रा, दीमक, छेपारो, साना सर्प र अन्य साना जीवहरू खान्छ । कहिलेकाहीँ मरेका जनावरको मासुसमेत खान सक्छ । वनस्पति पनि खाने भएकाले यसलाई सर्वाहारी चरा मानिन्छ ।
प्रेम प्रदर्शनले सबैलाई चकित पार्छ
प्रजनन मौसममा भाले कोरी बस्टार्डको व्यवहार पूर्ण रूपमा बदलिन्छ । पोथीलाई आकर्षित गर्न यसले आफ्नो घाँटी फुलाउँछ, पुच्छर फैलाउँछ र प्वाँख फिजाउँछ । त्यसपछि मैदानमा गर्वका साथ हिँड्दै गहिरो आवाज निकाल्छ । यसको आवाज मानिसलाई स्पष्ट नसुनिए पनि निकै टाढासम्म पुग्न सक्छ ।
बच्चा हुर्काउने जिम्मा आमाको
प्रजननपछि भालेको भूमिका लगभग समाप्त हुन्छ । बच्चा हुर्काउने सम्पूर्ण जिम्मेवारी पोथीले एक्लै सम्हाल्छे । पोथीले जमिनमा सानो गुँड बनाएर अण्डा राख्छे । बच्चा निस्किएपछि आमाले उनीहरूलाई खाना खोज्न सिकाउँछे र सधैं सुरक्षा दिन्छे ।