+
+
Shares

आठौं पटक समातिएका अनुप : सेनाको पाइलट र पूर्वराजाको भान्जा बनेर करोडौं ठगी

पूर्वराजाको भान्जा, सेनाको क्याप्टेन, पाइलट, हिमानी ट्रस्टको व्यक्ति बनेर श्रंखलाबद्ध ठगी धन्दामा संलग्न अनुप सिंह आठौं पटक समातिएका छन् । यसअघि उनीविरुद्ध किर्ते, ठगीदेखि हातहतियारको कसुरसम्म मुद्दा चलेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा ४८ युवाले बेलायत पठाइदिने भन्दै करिब ६ करोड रुपैयाँ ठगी भएको उजुरी दिएका छन्।
  • झापाबाट पक्राउ परेका अनुप सिंहले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको भान्जा भन्दै युवाबाट ठगी गरेको प्रहरीले जनाएको छ।
  • सिंहविरुद्ध २०५७ सालदेखि सात पटक मुद्दा चलेको र हाल पनि ठगीको आरोपमा प्रहरी हिरासतमा रहेको छ।

२९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा केही दिनअघि ४८ जना युवाको समूह पुग्यो । सबैको एउटै स्वर थियो- बेलायत पठाइदिने भनेर करोडौं ठगियो, कारबाही गर्नुपर्‍यो ।

४८ जना युवाहरू एकै पटक आएपछि अपराध अनुसन्धान कार्यालयले विशेष चासोका साथ अनुसन्धान अघि बढायो । सो क्रममा ठगी गरेर भाग्दै गरेको अवस्थामा झापाबाट पक्राउ परे अनुप सिंह नामका व्यक्ति । आफूलाई पूर्वराजाको भान्जा बताउँदै उनले करिब ६ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

सुरुमा ४८ जना र पछि १३ जनाले सिंहविरुद्ध उजुरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए । उनीहरूले अहिलेसम्म करिब ६ करोड रुपैयाँ ठगी भएको उजुरी दिएका छन् । पीडित र ठगी रकमको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।

सिंहले पछिल्लो पटक बेलायत पठाउने भन्दै ठगी गरेका थिए । बेलायतमा होटल खोलेको र त्यसमा कामदार चाहिएको भन्दै युवाहरूलाई प्रलोभन देखाएर ठगी गरेको प्रहरीको भनाइ छ । विश्वास दिलाउन उनले ज्ञानेश्वरमा भव्य कार्यालय खोलेको र सो सम्बन्धी कागजात समेत देखाउने गरेको पाइएको छ ।‍

यसरी विश्वास दिलाएपछि प्रतिव्यक्ति २० लाख रुपैयाँ लाग्ने भन्दै डिल गरेर रकम उठाउने गरेको खुलेको छ । उनै सिंह अहिले प्रहरी हिरासतमा छन् । उनले आफूलाई हिमानी ट्रस्टको व्यक्तिदेखि पूर्वराजा ज्ञानेन्द्रको भान्जा बताउने गरेको प्रहरीले बताए ।

यसअघि उनले आफू हिमानी ट्रस्टको व्यक्ति भएको विश्वास दिलाउनका लागि खेलाडीहरूलाई कपडा समेत बाँडेको खुलेको छ । हेलिकप्टरमार्फत काठमाडौंबाट पोखरा गएर हिमानी ट्रस्टमार्फत भन्दै उनले खेलाडीहरूलाई कपडा बाँडेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरी अनुसन्धानको क्रममा सिंहको पूर्वराजासँग भने केही सम्बन्ध नदेखिएको प्रहरीले बताएको छ । अहिले पक्राउ परेका सिंह यसअघि पनि सात पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।

यसअघि उनी एकै व्यक्तिबाट सवा करोड रुपैयाँ ठगीको आरोपमा समातिएका थिए । गत वर्षको फागुनमा जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेर त्यतिबेला किर्ते र ठगीको कसुरमा अनुसन्धान गरेको थियो ।

एक महिलाको परिवारलाई नै अमेरिका लैजाने भन्दै उनले त्यतिबेला सवा करोड रुपैयाँ ठगी गरेका थिए ।

ती महिलासँग सिंहले आफूलाई नेपाली सेनाको विमान चालक क्याप्टेन बताएका थिए । विमान चालक क्याप्टेन रहेको भन्दै सिंहले आर्मी पोशाकमा खिचाएको तस्वीरसमेत देखाएको दाबी महिलाले गरेकी थिइन् ।

विश्वास दिलाउन सिंहले अमेरिकाको नक्कली भिसासमेत बनाएका थिए । प्रहरीले नक्कली भिसा बरामद गरेको थियो ।

यसअघि सिंहले केही व्यक्तिलाई भने पारस शाहकी छोरीको इन्गेजमेन्ट कार्यक्रम अमेरिका हुने तय भएकाले त्यही समारोहमा लैजाने भन्दै ठगी गरेका थिए ।

कसैलाई नेपाली सेनाको क्याप्टेन दर्जामा रहेको विमान चालक बताएका सिंहले केही व्यक्तिलाई भने पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा समेत बताउने गरेका थिए । राज खानदानसँग राम्रो सम्बन्ध रहेको, दूतावासको मान्छेसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै उनले विश्वासमा दिलाउने काम गरेका थिए ।

सिंह पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको थियो । सो क्रममा उनीविरुद्ध यसअघि ७ वटा कसुरमा मुद्दा चलिसकेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता आचार्यले बताए ।

सीआरएसअनुसार उनीविरुद्ध सुरुमा २०५७ सालमा सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको थियो । सार्वजनिक (हाल अभद्र) कसुरबाट अपराधको दुनियाँ छिरेका उनी अहिले नामुद ठगीको सूचीमा छन् ।

२०५७ सालपछि १ वर्षसम्म उनी कुनै अपराधमा मुछिएका थिएनन् । २०७३ सालमा आएपछि भने उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगीको कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रिपोर्टमा देखिन्छ ।

त्यसपछि २०७७ सालमा उनीविरुद्ध परिसर काठमाडौंमा दुई पटक दुई वटा मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजाना र ठगीको कसुरमा दुई वटा मुद्दा चलेको थियो ।

त्यसपछि २०८० सालमा काठमाडौंबाटै ठगीको मुद्दा चलेको भेटिएको छ । २०८१ मा ठगीकै कसुरमा ललितपुरमा पक्राउ परेका थिए । अहिले २०८२ मा अर्को ठगीमा उनी समातिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?