+
+
Shares

वैदेशिक रोजगारीका नाममा ठगी बढेको भन्दै सचेत रहन विभागको आग्रह

‘ई-७ भिसामा कोरिया पठाइदिन्छु’ भन्दै गैरकानुनी गतिविधिमा विभिन्न कन्सल्टेन्सी, संस्था एवं व्यक्ति संलग्न भएको गुनासो प्राप्त भएकाले सचेत रहन विभागले आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको ई-७ भिसा र युरोपमा रोगजारी नाममा ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।
  • विभाग प्रवक्ता शिवाकोटीले सामाजिक सञ्जालबाट वैदेशिक रोजगारको झुठो प्रचार र पासपोर्ट संकलन गरि ठगी हुने गरेको बताए।
  • वैदेशिक रोजगार ऐन २०६४ अनुसार विभागबाट स्वीकृति नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाइने र गैरकानुनी कार्यमा कारबाही हुने चेतावनी विभागले दिएको छ।

२० पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा ई-७ भिसा र युरोपमा रोगजारीका नाममा ठगी घटना बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

युरोपेली देशमा रोजगारीका लागि पठाइदिने भन्दै सामाजिक सञ्जाल मार्फत ठगीका घटना बढिरहेकाले समेत सचेत रहन आग्रह गरेको हो ।

विभाग प्रवक्ता उपमहानिर्देशक चन्द्रबहादर शिवाकोटीले विज्ञप्ति जारी गर्दै पछिल्लो समय फेसबुक, टिकटक, भाइबर, युट्युब तथा ह्वाट्सएप लगायत सामाजिक सञ्जालबाट युरोपका आकर्षक देश, तलब र कामसहित प्रलोभन देखाइ वैदेशिक रोजगारीका विज्ञापन गर्ने, पैसा उठाउने तथा पासपोर्ट संकलन गरेर झुलाउने गरेकोे पाइएको बताए ।

‘ई-७ भिसामा कोरिया पठाइदिन्छु’ भन्दै गैरकानुनी गतिविधिमा विभिन्न कन्सल्टेन्सी, संस्था एवं व्यक्ति संलग्न भएको गुनासो प्राप्त भएकाले सचेत रहन विभागले आग्रह गरेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सरकारले वैदेशिक रोजगारीमा जान खुला गरेका देशका हकमा विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त संस्था बाहेकले उक्त कार्य गर्न नपाउने कानुनी व्यवस्था छ ।

तर, कानुन विपरीत अनधिकृत संस्था/व्यक्तिमार्फत श्रम स्वीकृति नलिई, अर्को देशको विमानस्थल प्रयोग गरी, गलत सूचना प्रवाह गर्दै भ्रम सिर्जना गरेर विदेश पठाउने/जाने कार्य गैरकानुनी भएको विभागले जनाएको छ ।

यसरी वैदेशिक रोजगारीमा जाँदा श्रमिक विभिन्न जोखिममा पर्न सक्ने, मानव तस्करी, श्रम शोषण र दुर्व्यवहारको खतरा झनै बढ्ने विभागले जारी गरेको विज्ञप्तिमा छ ।

वैदेशिक रोजगारी सुरक्षित मर्यादित र भरपर्दो बनाउन वैदेशिक रोजगार ऐन २०६४ ले तोके बमोजिम तालिम/ओरिएन्टेसन, बीमा, सामाजिक सुरक्षा र स्वास्थ्य जाँचसमेत अनिवार्य गरेर विभागबाट श्रम स्वीकृति लिएर मात्रै जान अनुरोध गरेको छ । त्यसरी जाँदा नेपालकै विमानस्थल प्रयोग गरेर जान अनुरोध गरेको छ ।

गैरकानु जाने वा पठाउने वा सामाजिक सञ्जालमा जथाभावी विज्ञापन गर्ने जो कोहीलाई विभागबाट अनुगमन एवं अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

कुनै पनि संस्था वा व्यक्तिले सामाजिक सञ्जालबाट अनधिकृत तवरले वैदेशिक रोजगारीका लागि गरेका प्रचार र सूचनाको आधिकारिकता सम्बन्धमा सरकारी निकायबाट जाँच गरी अनलाइन श्रम स्वीकृति भएपछि मात्र आर्थिक कारोबार गर्नसमेत विभागले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?