
१८ भदौ, काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसा मार्फत नेपाली श्रमिक पठाउनेबारे भ्रम फैलिएको भन्दै सचेत रहन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ।
विभागले एक विज्ञप्ति जारी गर्दै ई- ७ भिसामार्फत काेरिया पठाइदिन्छु भनी गैरकानुनी रूपमा प्रचार गरी रकम असुली भइरहेकाे सूचना आइरहेकाे भन्दै सचेत रहन आग्रह गरेकाे हाे ।
विभागका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरियाबीच भएको सहमति अनुसार सिपयुक्त श्रमिक पठाउने प्रक्रिया अझै प्रारम्भिक चरणमै छ।
हालसम्म कुनै पनि श्रमिकलाई ई–७ भिसामा पठाउने सम्बन्धी कार्यविधि स्वीकृत भइनसकेको विभागले जनाएको छ । यसबारेमा कोरियास्थित नेपाली राजदूतावासले १७ भदाैमा प्रेस विज्ञप्ति जारी गरी आवश्यक कार्यविधि कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको स्पष्ट पारेको थियो ।
विभागले दक्षिण कोरियामा ई–७ भिसामार्फत श्रमिक पठाउने विषयमा भ्रम छर्ने वा कपोलकल्पित प्रचार गर्ने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, यसबारेमा आधिकारिक जानकारी विभाग वा सम्बन्धित निकायबाट मात्रै लिन आग्रह गरिएको छ।
प्रतिक्रिया 4