News Summary
Generated by OK AI. Editorially reviewed.- प्रशंसा सुवेदीले २०२१ मा राजनीतिक विषयमा टिकटकमा कन्टेन्ट सुरु गरेकी हुन् र बालेन शाहको स्टाटसमा बनाएको भिडियोले १० लाख भ्युज पाएको छ।
- उनी कानुनमा स्नातक पढ्दै छिन् र नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना राख्छिन्, अहिले पढाइ र सीप विकासमा केन्द्रित छिन्।
- प्रशंसाले राजनीतिक र सामाजिक विषयमा सचेत नागरिक भएर बोल्नुपर्ने बताउँदै आगामी चुनावमा जिम्मेवार भए उम्मेदवार बन्ने सम्भावना व्यक्त गरेकी छन्।
झट्ट हेर्दा लाग्छ, उनको उमेर १६ वर्ष नाघेको छैन । कुरा सुन्दा लाग्छ, उनी परिपक्क वयस्क हुन् ।
उमेरको अंक र उनले बोल्ने विषयको अनुपात त्यति मिल्दैन । खाने, खेल्ने, घुम्नेफिर्ने उमेरका उनी राजनीति, समाज र समसामयिक विषयमा तिख्खर शैलीमा कुरा गर्छिन् । त्यो पनि घतलाग्दो पारामा ।
बालेनको स्टाटसको कुरा होस् वा पूर्वराष्ट्रपति विद्या भण्डारीको अभिव्यक्तिबारे । काठमाडौंको सडकमा परेको खाल्डाको कुरा होस् वा विदेश छाड्ने नेपालीको लर्कोको । उनी चित्तबुझ्दो ढंगले आफ्नो तर्क राख्छिन्, टिकटकमा ।
यस्ता यस्तै कुरा गरेर उनले टिकटकमा थुप्रै प्रशंसक कमाएकी छिन् । उत्तिकै आलोचक पनि ।
नाम : प्रशंसा सुवेदी ।
पढाइ : कानुनमा स्नातक पढ्दै ।
सपना : प्रधानमन्त्री बन्ने ।
खासमा कन्टेन्ट क्रिएटर प्रशंसा जेनजी पुस्ताको त्यो प्रतिनिधि हुन्, जसलाई राज्य र राजनीतिप्रति गहिरो चासो छ । नेता र तिनका कार्यशैली, समाज र यहाँका व्यक्तिको मनोविज्ञान, युवा र उसको सपनाबारे जेनजी पुस्ताले के सोच्छन् ? के सोध्छन् ? के खोज्छन् ?
प्रशंसा त्यसैको एक जवाफ हुनसक्छ । अनलाइनखबरकर्मी सुमित्रा लुइटेलसँग प्रशंसाले उनका अनुभव, अनुभूतिहरू यसरी साझेदार गरिन् ।
सबै साथीहरू विदेश गए, एक्लै भएपछि कन्टेन्ट बनाउन थालें
मैले कन्टेन्ट क्रिएसन २०१७ तिर सुरु गरेको थिएँ, जब म्युजिकली आएको थियो, टिकटकभन्दा पहिले । तर यो राजनीतिक विषयमा बोल्ने वाला अकाउन्ट भने २०२१ तिर सुरु गरेको हो ।
त्यतिबेला मेरा सबै साथीहरू बाहिर गएका थिए, म नेपालमै बसिरहेकी थिएँ । मलाई कोसँग कुरा गर्ने, कसले मेरो कुरा सुन्दिन्छ जस्तो लाग्थ्यो । साथीहरू आत्मनिर्भर भइसकेका थिए, मैले भने केही गर्न सकिनँ अनुभव हुन्थ्यो । त्यही भावनाहरू सामाजिक सञ्जालमा सेयर गर्दा मान्छेहरूले राम्रो बोल्ने, राम्रोसँग कुरा सेयर गरेको भने ।
यस्ता सकारात्मक प्रतिक्रियाहरू हेर्दाहेर्दै मेरो कन्टेन्ट क्रिएसनको यात्रा सुरु भयो । बीचमा केही समय रोकियो, फेरि पछि सुरू गरें ।
बालेन शाहको स्टाटसमा भिडियो बनाउँदा भाइरल भएँ
सुरुमा मैले आफ्ना भावना र दैनिक जीवनका कुराहरू साझेदार गर्थेँ । दर्शकहरू मेरै उमेरका थिए, त्यसमा पनि पुरुषहरू बढी थिए । प्रतिक्रिया पनि त्यही उमेरकाबाट आउँथ्यो ।
बिस्तारै राजनीति र देशका विषयहरूमा बोल्दा राजनीतिमा चासो राख्ने मान्छेहरू आउन थाले । कमेन्टहरू बढे । एउटा भिडियो बालेन शाहको स्ट्याटसबारे थियो, जसले एकै दिनमा १० लाख भ्युज पायो । अनि सबै उमेरका दर्शकहरू जोडिन थाले । अहिले मुख्यरूपमा राजनीतिक र सामाजिक विषयहरूमा चासो राख्ने दर्शकहरू छन् ।
चित्त नबुझेको कुरामा टिकटक बनाउँछु
म पहिलेदेखि नै आफ्नो कुरा खुलेर भनिहाल्ने मान्छे हुँ, जे कुरामा पनि मेरो छुट्टै धारणा हुन्छ । कुनै धारणा आफैँभित्र राख्छु, कुनै सेयर गर्छु । राजनीतिक कुराहरू जनताको विषय हो जस्तो लाग्छ । त्यसैले यो देशको सचेत नागरिक भएका नाताले राजनैतिक विषयमा चासो राख्नुपर्छ भन्ने लाग्छ । राजनीतिक र सामाजिक विषयमा अपडेट रहनका लागि भने अनलाइन समाचाहरू हेर्छु, कहिलेकाहीँ पत्रिका पनि पढ्छु । कानुन पढ्न थालेपछि पत्रिकाहरू पढ्न थालें । अनलाइनमा देखेका कुराबारे थप अध्ययन गर्छु । चित्त नबुझेका कुरामा अपडेट भएर आफ्नो धारणा राख्छु । र, टिकटक बनाउँछु ।
नराम्रो कमेन्टमा ध्यान दिन्नँ
मैले आफ्नो विचार सेयर गरेपछि सबै जना त्यसमा सहमत नै हुनुपर्छ भन्ने छैन । त्यसैले नकारात्मक कमेन्टहरू पनि आउँछन् । एकदम नराम्रो कमेन्ट आएको भए डिलिट गर्छु, नत्र खासै ध्यान दिन्न ।
कलेज र अफिसले गर्दा कमेन्ट हेर्ने टाइम हुँदैन । राम्रो कमेन्ट आए साथीहरूले भन्छन्, हेर्छु । मैले भन्दा पनि कमेन्ट मेरो मामु, बाबाले हेर्नुहुन्छ । राम्रो कमेन्ट आए भने खुसी हुनुहुन्छ, नराम्रो आए ‘तिम्रो कुरामा सबै सहमत हुनुपर्छ भन्ने छैन’ भन्नु हुन्छ ।
सानो उमेरमा राजनीतिको कुरा गर्दा मान्छे चकित हुन्छन्
राजनीतिक कुरा गर्ने सानो उमेरको देखेर धेरैले ‘राजनीतिको बरेमा युवाले कसरी सोच्छन्’ भनेर मेरो कन्टेन्ट सेयर गर्नुहुन्छ । म कानुनको विद्यार्थी हो भन्दा धेरै चकित हुन्छन्, किनकि ब्याचलरमा मात्रै कानुन पढ्न मिल्छ भन्ने धेरैलाई थाहा छ । यसले फाइदा हुन्छ, सानो मान्छेले राम्रो कुरा गरेको भनेर । तर अन्य कन्टेन्ट वा प्रोडक्ट सुटहरूमा भने उमेरभन्दा सानो देखिनाले धेरै अवसरहरू गुमाउनु पनि परेको छ ।
प्रधानमन्त्री निवास देखाएर बाबाले भन्नुभयो, यो घर तिम्रो हुनसक्छ
म सानो हुँदा मेरो मामु बाबा पढाइ र कामको सिलसिलामा अस्ट्रेलिया जानु भएको थियो । बाबा नेपाल फर्केर हाइड्रोपावर गर्न चाहनुहुन्थ्यो । मामु उतै बस्न चाहनुहुन्थ्यो । तर, मामुले छोरी जहाँ बस्ने भन्छे त्यहीँ बस्ने भन्नुभएको थियो ।
बाबाको पढाइ सकिएपछि हामी नेपाल आएका थियौँ । त्यसपछि अस्ट्रेलिया जानुअघि बाबाले मलाई प्रधानमन्त्री भवन देखाएर ‘नेपाल बसेर प्रधानमन्त्री बनेपछि यो घर तिम्रो हुन्छ’ भन्नुभएको थियो । १० वर्षको बच्चालाई यत्रो ठूलो घर देखाएर त्यो घर तिम्रो हुन्छ भनेपछि त अलिकति लोभ लाग्छ नि ।
अनि त्यही भएर म त अस्ट्रेलिया जाने बेलामा पनि नेपाल नै फर्कने हो प्रधानमन्त्री बन्ने हो भन्ने सोचेर गएकी थिएँ । अनि उता गएको केही समयपछि मामुले नेपाल फर्कने कि नफर्कने भनेर सोध्नुभयो । मैले म त नेपाल नै फर्कन्छु भनें ।
नेपाल आइसकेपछि पनि म पछिसम्म पनि ‘पोलिटिकल साइन्स’ पढ्छु भन्ने थियो । तर पछि हेर्दाखेरि पोलिटिकल करियर त्यस्तो धेरै राम्रो देखिनँ । पछि राजनीति फोहोरी खेलजस्तो लाग्यो । त्यसपछि न यताको न उताको त्यही झोले बनेर हिँड्नलाई त म पोलिटिक्स पढ्दिन भन्ने भयो ।
मलाई त करियर चाहिन्छ भन्ने लाग्यो त्यसैले कानुन पढ्न थाले । पछि बिस्तारै महसुस भयो कि, नेताहरू हाम्रै हातमा छन् । जिम्मेवार नागरिक भएर राजनीतिक विषयमा पनि बोल्नुपर्छ । सोसल मिडिया प्लेटफर्म छ, यसमार्फत गरेको राम्रो कुरा पाँच जनाले सुने पनि समाजमा सकारात्मक असर हुन्छ भन्ने लाग्यो । सानै देखिको देशका लागि केही गर्ने सोच अहिले सक्रिय भएको जस्तो लाग्छ ।
स्क्रिप्ट लेख्दिनँ, मनमा आएको कुरा जस्ताको तस्तै बोल्छु
मैले स्क्रिप्ट अहिलेसम्म लेखेको छैन । आफूलाई बोल्न मन लागेको कुरा म बोल्दै जान्छु । कुनै कुरा विवादित हुन्छ जस्तो लाग्यो भने त्यसलाई छाडेर अर्को बनाउँछु । बोल्दै गएपछि दिमागमा यो पछि यो बोल्छु भनेर आफैँ आउँछ । कहिले-कहिले समाचार हेर्छु घरमै बसेर । अनि, त्यो हेर्दाहेर्दै अब यस्तो भयो भनेर त्यही कन्टेन्ट बनाउन थाल्छु । लाइटिङ एडिटिङ केही मतलब पनि गर्दिनँ ।
त्यो जुन आरजुजी वाला कुरा गरेको थिएँ नि मैले त्यो चाहिँ म कलेज जाने बेलामा समाचार देखेँ, त्यो बेला ठ्याक्क प्रि-बोर्ड परीक्षा चलिरहेको थियो । अनि त्यसपछि मलाई बाटोभरि कलेज पुग्ने बेलासम्म त्यो कुराले सताइरह्यो । कलेज पुग्दा र परीक्षा सकेर फर्कँदा बाटोमा नै यो बोल्छु भनेर सोचेको थिएँ । त्यसैले परीक्षा सकेर घर आएर भिडियो बनाइहालें ।
त्यसरी नै बनाउँछु भिडियोहरू स्क्रिप्टेड हुँदैन । दिमागमा जे आउँछ मनमा जे आउँछ त्यही बोल्छु एडिटिङ पनि त्यस्तो गर्दिनँ खासै । धेरै बोलेजस्तो लागे काट्छु, नत्र जस्ताको तस्तै अपलोड गर्छु ।
बेलुकी समाचार पढ्ने, भिडियो बनाउने गर्छु
मेरो दैनिकीको कुरा गर्दा अहिले कानुन पढ्दै छु, त्यसैले बिहान कलेज जान्छु । ६:३० देखि कलेज भएकाले बिहान ६ बजे घरबाट निस्कन्छु । १२ बजेसम्म कलेज, त्यसपछि १२ देखि ५ सम्म एउटा एनजीओमा काम गर्छु । ५ बजेपछि घर फर्कन्छु । त्यसपछि बेलुका समाचारहरू हेर्छु, भिडियो बनाउँछु, पढ्छु त्यस्तै नै हो ।
अबको निर्वाचनमा हामीले निर्णयक मत दिनुपर्छ
मलाई लाग्छ, २०८४ मा राम्रो नेता छान्न सकेनौँ भने नेपाल बनाउनै नसकिने गरी बिग्रिन सक्छ । अहिले नै हामीले खराब अवस्था देखिसकेका छौँ, थप खराब हुन दिनुहुँदैन । हामीले सधैँ निर्वाचनमा विभिन्न प्रयोग गर्दै आएका छौँ-कहिले के, कहिले के । संघीय प्रणालीपछि पनि यस्तै प्रयोग जारी छन् । यसले गर्दा नेपाल प्रशासनिक रूपमा स्थिर हुन सकेको छैन । यो राम्रो नेतृत्वको अभाव हो कि सक्षम सल्लाहकारहरू नभएको हो, यो सोचनीय छ ।
सरकारमा यस्ता व्यक्ति चाहिन्छन् जो ‘म नै देशको राजा हो’ जस्तो घमन्ड नगरोस्, जनताको सोच र आवश्यकता बुझ्ने, नेपालको आवश्यकता पहिचान गर्ने र महेन्द्रको पालाको जस्तो अन्तर्राष्ट्रिय सम्मान फर्काउन सक्ने हुनुपर्छ । यसका लागि डिप्लोमेसी र विदेश सम्बन्धलाई मजबुत बनाउने योजना चाहिन्छ । तर अहिलेका राजनीतिज्ञहरूले नियम, कानुन, नीति र आफ्नो भूमिकाको सम्मान गर्दैनन् । सपथ लिने बेलामा समेत यसलाई हल्का रूपमा लिन्छन् ‘त्यो पर्दैन’ भन्छन् ।
आफ्नो भूमिकाको सम्मान नगर्नेहरूबाट देश बन्ने आशा गर्न सकिँदैन । साथै, नेपाली जनता पनि जिम्मेवार हुनुपर्छ-एउटै पार्टीको पछि लागेर मात्र हुँदैन, जनताले नै देश बिगारेको जस्तो लाग्छ कहिलेकाहीँ ।
युवा पुस्ताका रूपमा हामी जिम्मेवार भएर नेपाल बचाउन सक्छौँ । हामीलाई दूरदर्शी नेता चाहिन्छ, जसको दृष्टिकोण व्यावहारिक होस् । ठूला–ठूला कुरा होइन, सम्भाव्य लक्ष्य राख्ने-जस्तो कि नेपाललाई स्विजरल्यान्ड बनाउछु भन्ने होइन, तर हर्क साम्पाङजस्ता साधारण र प्रभावकारी लक्ष्य भएका । त्यस्तो नेता छान्नुपर्छ, जसको दृष्टिमा देशको भविष्य स्पष्ट देखियोस् ।
सानैदेखि पहिलो महिला प्रधानमन्त्री बन्ने सपना थियो
मलाई सानैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना थियो, यसकै लागि म नेपालमै बसेकी हुँ । तर अहिले पहिलो महिला प्रधानमन्त्री बन्नेमा मात्र केन्द्रित छैन, बरु कुनै नेतृत्वको पदमा पुगेर आफूले के गर्न सक्छु भनेर हेर्न चाहन्छु । मैले ठूला कुरा गरे पनि, पदमा पुग्दा प्रभावकारी काम गर्न सक्छु कि सक्दिनँ भनेर जाँच्न मन छ ।
मानिसहरूले मलाई राम्ररी चिन्नुहोस्, तर प्रसिद्धि वा नकारात्मक प्रचारका लागि होइन, बरु यो व्यक्तिमा दृष्टिकोण छ र प्रभाव सिर्जना गर्न सक्छ भन्ने गरी मेरो छवि बनाउन चाहन्छु । ममा सम्भावना छ भन्ने मान्यता पाउन मन छ ।
अहिले चुनाव लड्ने तयारी छैन, तर भविष्यमा के हुन्छ भन्न सकिँदैन । अहिले मेरो प्राथमिकता पढाइ, सीप विकास, विषयवस्तुको ज्ञान र नेपालबारे जानकारी बढाउनु हो । यदि कुनै पदमा पुगेँ भने पनि, त्यसलाई सम्मान गर्दै जिम्मेवार भएर काम गर्नेछु, नत्र ठूला कुरा मात्र गर्ने भन्ने आरोप लाग्न सक्छ । यदि मलाई जिम्मेवार महसुस भयो भने, आगामी चुनावमा उम्मेदवारको रूपमा देख्न सक्नुहुन्छ ।
फोटो–भिडियो : शंकर गिरी
प्रतिक्रिया 4