News Summary
Generated by OK AI. Editorially reviewed.- ताजिकिस्तानमा सुरु भएको एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह के को पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ४-० ले पराजित भएको छ।
- ताजिकिस्तानका लागि अजिजबोएभ मुहम्मदालीले ३८औं र ५८औं मिनेटमा गोल गरेका थिए भने रहमात्जोदा र सारिपोभले खेलको अन्त्यतिर गोल थपे ।
- नेपालले सेप्टेम्बर ६ मा सिरियासँग दोस्रो खेल खेल्नेछ।
१८ भदौ, काठमाडौं । ताजिकिस्तानमा आज देखि सुरु भएको एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूहको के को पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
डुसानबेस्थित रपपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ४-० ले पराजित भएको हो ।
ताजिकिस्तानका लागि अजिजबोएभ मुहम्मदालीले दुई गोल गरे भने रहमात्जोदा रहमात्सोह र एक-एक गोल गरे । खेल अवधीभर नै नेपाललाई दबाबमा राखेको ताजिकिस्तानले पहिलो हाफमा एक गोल गरेपनि दोस्रो हाफमा तीन गोल थपेको थियो । त्यसमा पनि घरेलु टोलीले अन्तिम समयमा दुई गोल गरेको थियो ।
अजिजबोएभले ३८औं मिनेटमा गोल गर्दै ताजिकिस्तानलाई अग्रता दिलाएका थिए भने ५८औं मिनेटमा दोस्रो गोल गरे । उनले दुवै गोल नेपाली डिफेण्डरको गल्तीमा गरेका थिए ।
यस्तै रहमात्जोदाले ९०औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे । यस्तै सारिपोभ डालेरले इन्जुरी टाइमको पहिलो मिनेटमा एक गोल थपे ।
नेपाल यू२३ टिमका कप्तान आयुष घलान एएफसीको एक खेल निलम्बनका कारण ताजिकिस्तान विरुद्धको खेलमा मैदान उत्रन पाएनन् । राष्ट्रिय टिमका सदस्य समेत रहेका उनले भिआईपी बक्समा बसेर खेल हेरेका थिए । आयुषको अनुपस्थितीमा सुमित श्रेष्ठले नेपालको कप्तानी सम्हालेका थिए ।
नेपाली यू२३ टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रिम्याचमा आफ्नो टिम तयार रहेको र हार्न नभई जित्नका लागि आएको बताएका थिए । तर नेपाल पहिलो खेलमै पराजित भएको छ ।
समूह के मा नेपालले आप्नो दोस्रो खेल सेप्टेम्बर ६ मा सिरियासँग खेल्नेछ । बुधबारै भएको पहिलो खेलमा सिरियाले पिलिपिन्सलाई २-१ ले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।
प्रतिक्रिया 4