News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी-२० सिरिजमा ६ खेल खेल्यो।
- सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले विदेशी कन्डिशनमा अभ्यस्त हुने मौका मिलेको बताए।
- नेपाली टोलीको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा सुधार आवश्यक रहेको छ।
१८ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी-२० सिरिज तथा अभ्यास खेलहरू खेलेर मंगलबार स्वदेश फर्किएको छ ।
पहिलोपटक अस्ट्रेलियामा गएर टप एन्डमा सहभागी जनाएको नेपाली टोलीका लागि यस सिरिजले आगामी टी-२० विश्वकप छनोटका लागि हुने तयारीका निम्ति अर्थपूर्ण रूपमा हेरिएको थियो ।
नेपालले यस क्रममा अस्ट्रेलियाको बिग बास लिगका एकेडेमी टोलीहरू तथा अन्तर्राष्ट्रिय अनुभव बोकेका खेलाडीहरू सम्मिलित टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।
टप एन्डमा सहभागी ११ टोलीमध्ये आठौं भएको नेपालका लागि विशेषत: जित्ने भन्दा पनि सिक्ने हिसाबले बढी महत्व रह्यो ।
टोलीका खेलाडी तथा प्रशिक्षकले पनि धेरै नयाँ कुराहरू सिक्ने अवसर पाएको बताए ।
नेपालको प्रदर्शन
नेपालले टप एन्ड टी-२० सिरिजमा ६ खेल खेल्यो । यस क्रममा नेपालले २ जित पनि निकाल्यो । नेपालले मेलबर्न रेनेगेड्स र होबार्ट हरिकेन्स एकेडेमीको टोलीलाई पराजित गरेको थियो ।
त्यस्तै मेलबर्न स्टार्स, नर्थन टेरिटोरी स्ट्राइक तथा दुई अन्तर्राष्ट्रिय टोली बंगलादेश ‘ए’ र पाकिस्तान शाहीन्ससँग पराजित भयो । पाकिस्तानसँग नेपाल जितको नजिक पुगेर पराजित भएको थियो ।
सुरुवाती ३ खेलमा लगातार पराजित भएपछि नेपालले लगातार २ जित निकाल्दा अन्तिम खेलमा १ रनले पराजित भएको थियो ।
कप्तान रोहित पौडेलले सुरुमा त्यहाँको माहोलमा भिज्न समय लागेकाले हारबाट सुरुवात भएको उल्लेख गरे ।
‘सुरुमा त अब त्यहाँको कन्डिशन फरक हुन्छ त्यसकारण पनि अडाप्ट हुन केही समय लाग्यो, तर विस्तारै माहोल बुझ्दै गएपछि अलि सजिलो भयो अनि बीचमा जित निकाल्यौं’ रोहितले भने ।
एक्सपोजरको मौका
यस सिरिजमा सहभागी हुनुको मुख्य उद्देश्य भनेको एक्सपोजर नै थियो । नेपाली खेलाडीहरूलाई विदेशी कन्डिशनमा अभ्यस्त गराउने मुख्य उद्देश्यले यस सिरिजमा सहभागी गराइएको थियो ।
यसका अलावा यो सिरिज नेपालको आगामी टी-२० विश्वकप छनोटका लागि पनि अर्थपूर्ण रूपमा हेरिएको थियो ।
नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले एक्सपोजरका हिसाबले भन्नुपर्दा धेरै राम्रो भएको उल्लेख गरे । ‘अस्ट्रेलियाको कन्डिशनमा अभ्यस्त हुने मौका मिल्यो, कन्डिशनलाई अडाप्ट गर्न सिक्यौं त्यो धेरै राम्रो हो जस्तो लाग्छ’ मल्लले स्वदेश फर्किएपछि भनेका थिए ।
कप्तान रोहित पौडेलले अस्ट्रेलियामा राम्रो अनुभव भएको र धेरै सिक्ने अवसर मिलेको बताए । ‘यो सिरिजले राम्रो एक्सपोजर प्राप्त भएको छ । समग्रमा राम्रो भयो, सबैजनाले आ-आफ्नो तर्फबाट राम्रो गरे’ रोहितले बताए ।
यस्तै विभिन्न टोलीहरूको प्रशिक्षण गरिसकेका सिनियर प्रशिक्षक जगत टमाटाले पनि यो सिरिजले विदेशी भूमिमा विशेषत: कठिन परिस्थितिमा खेल्नका लागि अभ्यस्त बनाउने र त्यसमा खेलाडीहरूले आफ्नो तर्फबाट राम्रो गरेको उल्लेख गरे ।
एक्सपोजरका साथै नेपाली टोलीले भिन्न परिवेश र भिन्न किसिमका बलर/ब्याटरविरुद्ध आफ्नो स्तर जाँच्ने अवसरसँगै धेरै कुराहरू सिक्ने अवसर पनि पायो ।
सुरुवात र फिनिसिङमा कमजोर
नेपाली क्रिकेट टोलीमा पछिल्लो समय ब्याटिङको अस्थीरता पनि समस्याका रूपमा देखिएको छ । टप एन्ड सिरिज अनि त्यसपछिको अभ्यास खेलमा पनि नेपालको उक्त समस्या दोहोरियो ।
ब्याटिङमा राम्रो सुरुवात पाउँदा फिनिस गर्न नसक्नु वा सुरुवात र फिनिस दुवैमा कमजोर हुनु पनि एउटा समस्याका रूपमा छ ।
सुरुमा चाँडै केही विकेट गुमाएर बीचमा सम्हालिने अनि खेल जित्ने अवस्थामा पुर्याएर फेरि लय गुमाएर झिनो अन्तरको हार बेहोर्ने नेपाली टोलीको अर्को रोग हो । बलिङ गर्दा पनि अन्तिमका विकेट लिन नसकेर पराजित हुने अवस्थाहरू देखिएका थिए ।
टप एन्ड सिरिजमा पाकिस्तान शाहीन्सविरुद्ध १ रनले पराजित भएको नेपाल साउथ अस्ट्रेलियासँग अभ्यास टी-२० मा ३ विकेट र ३ रनले पराजित भएको थियो ।
कप्तान रोहितले फिनिसिङको काम सजिलो नहुने बताउँदै यसमा मेहेनत गर्नुपर्ने जरुरी रहेको बताए । ‘जुनसुकै पनि टिमलाई फिनिसिङको समयमा गाह्रो हुन्छ, आउने दिनमा सुरुवात र फिनिसिङको समस्या हल गर्नुपर्छ। गेम स्टार्ट र फिनिस कसरी गर्ने भन्ने कुरा सिकेर आएका छौं’ रोहितले भने ।
प्रशिक्षक टमाटाले पनि टिममा धेरै अलराउण्डर रहेकाले म्याच जिताउने क्षमता भएका खेलाडीले त्यही मानसिकताले खेल्नुपर्ने कुरा औंल्याए ।
‘हामीसँग टिममा धेरै अलराउण्डर खेलाउन मिल्ने अवस्था छ, पावरप्लेमा रनरेट बढाउने अनि फिनिसिङमा रन बनाउन सक्ने हुने हो भने अझै राम्रो हुन्छ’ टमाटाले भने।
‘अवस्था अनुसार आफूलाई त्यसमा मजबुत बनाउनुपर्छ अनि कुन अवस्थामा कसरी खेल्ने भनेर एड्जस्टमेन्ट गर्न सक्यो भने बेस्ट हुन्छ, जित्ने मानसिकताको पनि विकास हुन्छ’ टमाटाले थपे ।
तीनवटै पक्षमा सुधार आवश्यक
नेपाली टोलीको पछिल्लो समय अर्को मुख्य समस्या भनेको एकैप्रकारको प्रदर्शनलाई निरन्तरता दिन नसक्नु हो । कहिले ब्याटिङ राम्रो हुँदा बलिङ कमजोर हुनु र कहिले बलिङ बलियो हुँदा ब्याटिङमा निरिह बन्नु वा दुवै कुरा नेपाली क्रिकेटको पुरानै रोग हो ।
अस्ट्रेलिया टुरमा भने नेपाल तेस्रो पक्ष अर्थात् फिल्डिङमा पनि चुकेको देखियो । नेपालको सबैभन्दा बलियो पक्ष नै फिल्डिङलाई मानिन्छ । मैदानमा चुस्त फिल्डिङका साथै अद्भुत क्याचहरू लिनमा नेपालका अधिकांश खेलाडीहरू निकै सफल देखिँदै आएका छन् ।
तर टप एन्ड सिरिजका दौरान नेपाली खेलाडीहरूले क्याच मिस गर्नेदेखि मिसफिल्ड पनि धेरै मात्रामा गरेका थिए । प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि केही कमजोरीहरू स्वीकारे ।
‘हाम्रो स्ट्रेन्थ अनुसार जति राम्रो गर्नुपर्ने थियो त्यो भएन, तर पनि खेलाडीहरूले राम्रै गरेजस्तो लाग्छ’ मल्लले भने, ‘ब्याटिङमा सुरुवात अझैपनि सोचेजस्तो भएको छैन । बलिङमा ठीक छ । फिल्डिङ हाम्रो बलियो पक्ष भएपनि कमजोर देखियो, यी सबै कुराहरू सुधारेर जानुपर्छ विश्वकप छनोटमा जाँदा’ मल्लको भनाइ थियो ।
टमाटाले पनि नेपालले तीनवटै पक्षमा काम गर्नुपर्ने जरुरी रहेको बताए । ‘ब्याटिङमा अलिकति परिपक्कता र डेथ बलिङमा त राम्रो गर्नुपर्ने नै छ, अर्को चाहिँ मैले नि देखिरहेको भने फिल्डिङमा ब्रिलियन्ट रनआउटहरू अनि क्याचहरू लिएको हुन्थ्यौं तर यो सिरिजमा अलि कमजोर नै देखियो, त्यसमा पनि सुधार गर्नुपर्छ’ टमाटाले भने ।
अस्ट्रेलिया टुरमा खेलेका ११ खेलहरूबाट सिकेका कुराहरू र पाएका अनुभवहरू आगामी दिनका लागि प्रदर्शन सुधार गर्न मुख्य भूमिका खेल्ने आधार बन्न सक्छ ।
अबको यात्रा
अस्ट्रेलियाको अनुभव बोकेर आएको नेपाली क्रिकेट टोलीले अब केही दिनको आरामपछि सेप्टेम्बरको अन्तिममा वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी-२०आई शृंखलाको तयारी थाल्नेछ ।
प्रशिक्षक टमाटाले अहिले बाहिर गएर बटुलेको अनुभव र सिकेको कुरालाई अब आगामी दिनमा लागु गर्नुपर्नेमा जोड दिए । ‘अब सिकेका कुराहरूलाई आगामी दिनमा हामीले कसरी लिएर जान्छौं, त्यो अनुसारको प्रदर्शन त हुनुपर्यो नि त सिकिसकेपछि। पर्फर्मेन्स भन्ने कुरा यतिकै हुने पनि होइन’ टमाटाले भने ।
वेस्ट इन्डिजसँगको शृंखला सकिएको एक सातामा टी-२० विश्वकप छनोट रहेकाले वेस्ट इन्डिजसँग खेल्ने खेलाडी नै टी-२० विश्वकप छनोटको टोलीमा रहने उच्च सम्भावना छ ।
वेस्ट इन्डिजसँग हुने खेलका लागि हाल अस्ट्रेलिया गएर फर्केको टिमबाट केही परिवर्तन गर्ने कुरा प्रशिक्षक स्टुअर्ट लको निर्णयमा भर पर्नेछ ।
प्रतिक्रिया 4