१२ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले बिहीबार भएको पहिलो अभ्यास टी-२० खेलमा साउथ अस्ट्रेलिया (एसए)सँग पराजित भएको छ ।
नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गरेको हो । टी ब्राउनले अन्तिम बलमा चौका प्रहार गरेपछि साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो ।
ओपनर निक विन्टरले ३६ रन बनाए भने अर्का ओपनर तथा कप्तान म्याकेन्जी हार्भेले २७ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए । रोहित पौडेलले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन तथा ओपनर आसिफ शेखले २२ रन बनाए ।
साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले २-२ विकेट लिए भने जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १-१ विकेट लिए ।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको छ ।
टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया 4