+

शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

२०८२ मंसिर  १८ गते १५:३६ २०८२ मंसिर १८ गते १५:३६
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ।
  • शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए।
  • पोखरा एभेन्जर्सले २० ओभरमा १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।

१८ मंसिर, काठमाडौं । शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।

बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले प्लेअफमा स्थान पक्का गरेको छ । साथै काठमान्ठुले शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ ।

लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । लिगको बाँकी खेलको नतिजापछि काठमान्डु शीर्ष दुईमा रहने/नरहने पक्का हुनेछ ।

उता ६ खेलमा चौथो हार व्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ ।

काठमान्डु गोर्खाजे दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका शाहब आलमले २०औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए । यस सिजन उनी ६ विकेट लिने पहिलो खेलाडी समेत बने ।

पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरेपनि पर्याप्त भएन । उनले ३१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन जोडे ।

५५ रनमा ४ विकेट गुमाएको पोखराका लागि धवन र धनन्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए । तर यो साझेदारी ब्रेक भएपछि पोखराको रन गति पनि घटेको थियो ।

लक्षनले २७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३० रन जोडे । कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे ।

बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । कप्तान करण केसी र सन्नी पटेलले दुई/दुई विकेट लिए ।

त्यसअघि ओपनर बेन चार्ल्सवर्थ र भिम शार्कीको अर्धशतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

ओपनर चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । एक छेउबाट निरन्तर विकेट जाँदा पनि अर्को छेउबाट काठमान्डुको इनिङ्स सम्हालेका उनले १९औं ओभरसम्म क्रिजमा बिताएका थिए । चार्ल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आक्रमक ब्याटिङ गरेका भीम शार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए ।

७९ रनमा ५ विकेट गुमाएको काठमान्डुका लागि चार्ल्सवर्थ र भीम शार्की मिलेर छैटौं विकेटका लागि ७६ रनको साझेदारी गरे ।

अर्का ओपनर आकाश त्रिपाठी खाता नखोल्दै धनन्जय लक्षनको बलमा बोल्ड भए । त्यसपछि आएका रासिद खान ७ रन जोडेर आउट भए । चार्ल्सवर्थ र मिलिनकुमार मिलेर काठमान्डुको इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर ३३ रनको साझेदारी पछि मिलिन्द कुमार १३ रन बनाएर दशौँ ओभरमा आउट भए । विकेटकिपर जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट हुँदा काठमान्ठुले ७९ रनमै ५ विकेट गुमाएको थियो ।

तर, सातौं नम्बरमा ब्याटिङ गरेका भिम शार्कीले ओपनर चार्ल्सवर्थसँग राम्रो साझेदारी गर्दै इनिङ्स बिल्ड गरे ।

बलिङमा पोखराका लागि धनन्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए ।

एनपीएल काठमान्डु गोर्खाज नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय