+
+
Shares

फेसबुक मनिटाइजेसन अब नेपालबाटै, कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते २१:५७

१८ भदौ, काठमाडौं । गीतकार लोकराज अधिकारीले नेपालमा फेसबुकले मनिटाइजेसनको सुविधा दिनासाथ प्रक्रिया चाले ।

त्यसअघि नै स्टार मनिटाइजेसनको सुविधा प्रयोग गरेका उनले आफ्नै कन्टेन्टबाट आम्दानी हुने अपेक्षाले कन्टेन्ट मनिटाइज गरे । स्टार मनिटाइजेसनमा अरूले गिफ्ट दिएपछि मात्र कमाई हुन्छ भने यसमा आफ्नै कन्टेन्टबाट आम्दानी गर्न सकिन्छ ।

त्यसैले उनले आफ्नो प्यान र बैंक खाताको विवरण अपलोड गरेर फेसबुकले मागेको प्रक्रिया पूरा गरे ।

त्यसपछि फेसबुकबाट अग्रिमेन्ट लेटर प्राप्त भयो र विवरण भरेपछि तुरुन्तै मनिटाइजेसन सुरु भयो । उनको अनुभवअनुसार अहिले भिडियो, टेक्स्ट, फोटो र रिल्स सबै प्रकारका कन्टेन्टबाट आम्दानी हुन थालेको छ । विशेषगरी, फोटोबाट सबैभन्दा धेरै कमाई भएको छ, त्यसपछि टेक्स्ट र रिल्सबाट पनि आम्दानी भएको उनले बताए ।

मनिटाइज गरेको दुई दिनमा ८८ सेन्ट डलर आम्दानी अधिकारीको भएको छ । यो रकम उनको कन्टेन्टको भ्यूज र हेर्ने समयका आधारमा प्राप्त भएको हुनसक्ने अनुमान छ ।

यो सुविधा पहिले उपलब्ध नभएको र अब नेपालमा मनिटाइजेसन सुविधा दिने फेसबुकको नीतिले आफ्नै कन्टेन्टबाट आम्दानी गर्न सहज भएको उनको भनाइ छ । साथै, उनका अन्य साथीहरूले पनि यो सुविधाबाट कमाई सुरु गरेको उनले बताए ।

यसरी अहिले नेपालमा फेसबुक मनिटाइज गर्ने ट्रेन्ड नै चलेको छ । अधिकांशले ‘कसरी मनिटाइज गर्ने वा कति जोखिम छ’ भन्दै चासो व्यक्त गरिरहेको पनि देख्न सकिन्छ । कतिपयले आम्दानी पनि गर्न थालेको भन्दै सामाजिक संजालमा पोस्ट राखिरहेका छन् ।

फेसबुकले नेपाललाई मनिटाइजेसन प्रोगाममा सामेल गराउन अरू देशको तुलनामा निकै ढिला गरेको हो ।

विश्वका धेरैजसो देशलाई मनिटाइजेसनका लागि योग्य देशको सूचीमा सुरुमै समेटेको फेसबुकले एशियाका नेपाल, माल्दिभ्स, भुटान, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, अफगानिस्तानलाई भने समेटेको थिएन ।

पछिल्लो पटक थाइल्यान्डलाई योग्यको सूचीमा राख्दा समेत फेसबुकले मनिटाइजेसन एलिजीबल देशको सूचीमा नेपाललाई समेटेन । तर, गत सोमबारबाट भने फेसबुकले नेपाललाई पनि फेसबुक मनिटाइजेसन एलिजीबल कन्ट्रिको सूचीमा राखेको छ ।

मनिटाइजेसनका लागि योग्यता

फेसबुकले मनिटाइजेसनका लागि योग्य देशको सूचीमा नेपाललाई राख्नेबित्तिकै सबै प्रयोगकर्ताले पैसा आर्जन गर्छन् भन्ने होइन ।

यसका लागि फेसबुकको मनिटाइजेसन प्रोग्रामको सामेल हुन केही मापदण्ड बनाएको छ । जसका लागि तपाईंको प्रोफाइल वा पेजमा कम्तीमा ५ हजार फलोवर्स पुगेको हुनुपर्छ । साथै ती प्रोफाइल वा पेजमा अपलोड भएका भिडियोहरूमा पछिल्लो ६० दिनभित्र ६० हजार मिनेट वाच टाइम पुगेको हुनुपर्छ ।

अर्थात् तपाईंले अपलोड गरेका भिडियोहरूमा आएको भ्यूजमा कतिले कति बेर हेरेका छन् भन्ने कुराले अर्थ राख्छ । भ्यूज भन्दा पनि कति मिनेट हेरियो भन्ने वाच टाइमलाई फेसबुकले गणना गर्छ । प्रमुखत: यी दुई कुरा पूरा गरेको हकमा फेसबुकले तपाईंलाई मनिटाइजेसनका लागि आमन्त्रण गर्छ ।

महत्वपूर्ण कुरा के पनि हो भने, यदि तपाईंले पहिल्यै आफ्नो प्रोफाइल वा पेजमा यौन, हिंसा, अपराधजन्य फेसबुकको कम्युनिटी गाइडलाइन्स विपरीतका सामग्री पोस्ट गर्नुभएको छ भने पनि मनिटाइज हुँदैन ।

यस्तो अवस्थामा ५ हजार फलोवर्स वा सो भन्दा बढी र वाच टाइम पुगेको छ भने पनि त्यसको अर्थ हुँदैन ।

आफ्नो पेज वा प्रोफाइलमा कुनै समस्या भए नभएको हेर्न प्रोफाइल स्टाटसमा गएर जाँच गर्न सकिन्छ । मनिटाइजेसन भएपछि पनि फेसबुकको कम्युनिटी गाइडलाइन्स विपरीतका सामग्री पोस्ट गर्नुभयो भने मनिटाइजेसन गुम्न सक्छ र भएको आम्दानी समेत रोकिन सक्छ ।

कसरी गर्ने मनिटाइज ?

मनिटाइजेसनका लागि फेसबुकको ‘पार्टनर मनिटाइजेसन पोलिसी/कन्टेन्ट मनिटाइजेसन पोलिसी’को पालना गर्नुपर्छ । मौलिक, विश्वसनीय कन्टेन्ट उत्पादन गर्ने, कम्युनिटी गाइड्लाइन्स विपरीतका गतिविधि नगर्नेजस्ता नैतिक आचरणको पालना गर्नुपर्छ ।

मनिटाइजेसनका लागि योग्य फेसबुक अकाउन्ट र पेजलाई फेसबुकको सिस्टमले स्वत: सूचना पठाउँछ ।

तपाईं आफ्नो प्रोफाइललाई पेजमा रुपान्तरण गरेर पनि फेसबुकको मनिटाइजेसन प्रोग्राममा सामेल हुन सक्नु हुन्छ ।

प्रोफाइलमा प्रोफेसनल मोड एक्टिभेट गर्नुभएको छैन भने आफ्नो प्रोफाइल खोलेर थ्री डट आइकनमा क्लीक गरी प्रोफेसनल मोड अन गर्न सकिन्छ ।

त्यसपछि कन्टेन्ट मनिटाइजेसन ट्याबमा गएर प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । फेसबुक पेजका हकमा पनि प्रक्रिया पूरा गर्न प्रोफसनल ड्यासबोर्डमा गएर मनिटाइजेसन सेक्सनमा जान सकिन्छ । वा फेसबुककै मेटा बिजनेसमा गएर मनिटाइजेसन सेक्सनमा जान सकिन्छ । मनिटाइजेसन सेक्सनमा तपाईं पेज योग्य छ वा छैन समेत देखिन्छ ।

योग्य भए एलिजिबिलिटीमा क्लीक गरी त्यहाँ भनेअनुसार गर्नुपर्छ । अप्लाइ गर्दा नै फेसबुकले बैंक अकाउन्ट लगायतका विवरण माग्छ त्यो भरेर सेटअप गर्न सक्नुहुन्छ ।

नेपाली क्रिएटर्सले आफ्नो कमाइ सिधै स्थानीय बैंक खातामा प्राप्त गर्न सक्छन् । तपाईंले मोनेटाइजेशन सेटअप गर्दा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक विवरण भर्नुपर्छ ।

यद्यपि, केही क्रिएटर्सले सेटअपको क्रममा भुक्तानी निष्क्रिय भईरहेको गुनासो गरेका छन्, त्यसैले विवरण सही राख्नु महत्त्वपूर्ण छ ।

फेसबुकले मनिटाइजेसनका लागि नेपाललाई पनि योग्यको सूचीमा राखेसँगै अब नेपाली क्रिएटर्सले आफ्ना भिडियो, रील्स, लाइभ, टेक्स्ट स्ट्याटस, फोटो वा स्टोरीबाट कमाइ गर्न सक्छन् । र, त्यो रकम सिधै आफ्नो स्थानीय बैंक खातामा प्राप्त गर्न सक्छन् ।

स्क्यामरले झुक्काउन सक्छन्

अहिले सबैजना मनिटाइज गर्ने लोभमा रहेकाले स्क्यामरले उत्तिकै फाइदा उठाउनसक्ने जोखिम रहेको साइबर सुरक्षा विज्ञहरू बताउँछन् ।

स्क्यामरहरूले फेसबुकको आधिकारिक अकाउन्ट वा मेटाको नाममा मनिटाइजेसनका लागि प्रक्रिया चाल्न वा पेज जोखिममा रहेको भन्दै नक्कली म्यासेज, इमेल पठाएर तपाईंको फेसबुक अकाउन्टको लगइन विवरण माग्न सक्छन् ।

यस्ता म्यासेजहरूमा ‘तपाईंको पेज मनिटाइजेसनका लागि योग्य भएको छ’ भन्दै लिंक पठाइने र त्यसमा क्लिक गर्न प्रेरित गर्ने सम्भावना हुन्छ । यसले तपाईंको व्यक्तिगत जानकारी, जस्तै : इमेल, पासवर्ड वा बैंक खाता विवरण स्क्यामरले लिनसक्छ ।

त्यस्तै, स्क्यामरहरूले फेसबुकको लोगो र नामको दुरुपयोग गरी नक्कली पेज बनाएर मनिटाइजेसनका लागि आवेदन दिन लगाउँन सक्छन् ।  मनिटाइज गर्न बैंक खातादेखि प्यानजस्ता व्यक्तिगत विवरण माग्ने भएकाले प्रयोगकर्ता झुक्किन सक्ने जोखिम रहेन्छ ।

यसबाहेक यसरी मनिटाइज एक्टिभ गर्ने वा अन्य बहानामा लोभ देखाई व्यक्तिगत जानकारी माग्नसक्ने सम्भावना उत्तिकै रहन्छ । त्यसैले यस्ता विषयमा सचेत रहन र मेटाको आधिकारिकता पहिचान गरेर मात्र यो प्रक्रिया चाल्न साइबर विज्ञहरूको सुझाउँछन् ।

यसबारे कलाकार मनोज गजुरेलले पनि एउटा तस्वीर राख्दै लेखेका छन्- नेपालमा फेसबुक मनिटाइज इनेबल भएपछि स्क्यामररह्याकरहरूको बिगबिगी बढ्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?