
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर कारोबारी दीपेन्द्र अग्रवालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएर सेयर बजारमा अनावश्यक गतिविधि गरेको अनुसन्धानले देखाएको छ।
- बोर्डको अनुसन्धानले देखाएको छ कि उनले फेसबुक, टिकटक, र क्लब हाउस जस्ता प्लेटफर्म प्रयोग गरी सेयर खरिद र बिक्रीको हल्ला फैलाएका थिए।
- अग्रवालको गतिविधि र बजारमा विकृति फैलाउने कार्यलाई कडाइका साथ कारबाही गरिने धितोपत्र बोर्डका अध्यक्षले बताएका छन्।
१ जेठ, काठमाडौं । सेयर कारोबारी दिपेन्द्र अग्रवालले आफ्नो फेसबुक पेजमा एउटा सर्ट सेयर गरेका छन् । त्यसमा लेखिएको छः आईएम एम ए नेप्से बुल (म नेप्से बुल हुँ) । उनको यो घोषणा सन् १९९१ आसपास भारतीय सेयर बजारमा एक ठूला स्पेकुलेटर हर्सद मेहतासँग मिल्दोजुल्दो छ । (हुन त यो एउटा ह्विस्कीको विज्ञापन हो जुन गर्न मिल्दैन)
हर्सद मेहताले त्यसबेला सस्तोमा सेयर किन्ने, बजारमा कृत्रिम अभाव सृजना गरी मूल्य बढाउने र महँगोमा बेची जनतालाई फसाउने गर्दथे । तर, उनले जुन सेयर किन्यो, त्यसले आकाश छुने भएपछि लगानीकर्ताबीचमा उनको ठूलो क्रेज थियो । उनलाई भारतीय सेयर बजारको ‘बिग बुल’ भन्ने गरिन्थ्यो । २ सय रुपैयाँमा किनेको एउटा सेयर एक महिनामै ९ हजार रुपैयाँसम्म पुर्याउने काम उनले गरेका थिए ।
हर्सदले गरिरहेको ठगीको पर्दाफास भएपछि उनी पक्राउ परे, हिरासतमा रहँदा नै उनले आत्महत्या गरेका थिए ।
भारतमा सेयरबजार नियामक सेबी स्थापना नै नभएको बेला हर्सद मेहताले जुन तरीका अपनाएर सेयरको मूल्य बढाउँथे, ठ्याक्कै अहिले अग्रवालले त्यही गरिरहेको धितोपत्र बोर्डले गरिरहेको अनुसन्धानले देखाएको छ ।
मेहताको पालामा सामाजिक सञ्जाल थिएन । नेपालमा अहिले सेयर कारोबारी अग्रवालले भने जनतालाई भ्रामक सूचना सम्प्रेषण गरी फसाउने नियतले फेसबुक, क्लबहाउस तथा टिकटकको समेत सहारा लिने गरेको धितोपत्र बोर्डको अनुसन्धानले देखाएको छ ।
अग्रवाल आफूले सेयर खरिद गरेर एकीकृत गरेपछि महँगोमा बिक्री गर्न सामाजिक सञ्जाल मार्फत हल्ला फैलाउने गरेको कुरालाई नेपाल प्रहरीले पनि पुष्टि गरेको छ ।
उनले भ्रामक सूचना लेखेर वा बोलेर अन्य लगानीकर्तालाई सेयर खरिद गर्न उक्साउने र आफूले बिक्री गरेको पाइएको हो ।
अग्रवालले सेयर बजारबारे भ्रम फैलाउनका लागि सामाजिक सञ्जाल फेसबुक, क्लब हाउस (हाल बन्द भइसकेको) र टिकटक मार्फत कम्पनीको नाम तोकेर किन्न र बिक्री गर्न सुझाउँछन् । त्यसमा आफूले पहिले नै पर्याप्त मात्रामा सेयर खरिद गरिसकेपछि अरूलाई खरिद गर्न प्रेरित गर्छन् ।
त्यसका लागि उनले सम्बन्धित कम्पनीको नयाँ प्रोजेक्ट, हकप्रद सेयर, लाभांशका विषयमा भ्रम फैलाउने गरेको अनुसन्धानले देखाएको छ । धितोपत्रको दोस्रो बजारको कारोबार समयमै उनले फेसबुक मार्फत लेखेरै हल्ला फैलाउने गरेका छन् ।
तर, कारोबार समय सकिएपछि फेसबुकबाट पोष्ट डिलिट गर्ने गरेको समेत पाइएको छ ।
उनले सेयर कर्नरिङ र म्याचिङ गर्ने तथा सर्वसाधारणलाई फसाउने क्रियाकलाप गरेपछि धितोपत्र बोर्डमा परेको उजुरीलाई बोर्डले पुष्टिका लागि प्रहरीको सहयोग मागेको थियो । बोर्डको अनुसन्धानलाई सहयोग गर्ने क्रममा प्रहरीले पनि उनको भ्रामक सूचनाहरु फैलाउन प्रयोग भएको फेसबुक आइडीहरु उनकै भएको पुष्टि गरेको छ ।
बोर्डले ‘लभ्ली महाराज’ र ‘दीपेन्द्र अग्रवाल’ फेसबुक पेजको प्रयोगकर्ता पुष्टिका लागि बोर्डले अनुरोध गरेको थियो । बोर्ड अनुरोधका आधारमा प्रहरीले प्रहरीले अनुसन्धान गर्दा ती एकाउन्टमा प्रयोग भएको फोन नम्बर दीपेन्द्र अग्रवालको ४९६५३ नम्बरको नागरिकताका आधारमा जारी भएको भन्दै जवाफ पठाएको छ । त्यसैरी उक्त एकाउन्टमा प्रयोग भएका sukanthabandu1@gmalil.com , sukantha.bandhu@gmali.com इमेल पनि अग्रवालकै रहेको प्रहरीले पुष्टि गरिसकेको छ ।
अग्रवालले २ फागुन २०८० मा जोशी हाइड्रो पावर कम्पनीले सुरुमा ६५ प्रतिशत र त्यसपछि एक बराबर २ कित्ता हकप्रद सेयर जारी गर्ने भनी फेसबुकमा लेखेका थिए । साथै उनले जोशीले ५३ मेगावाटको अर्को हाइड्रोपार किन्ने तयारी गरेकाले कम्पनीको सेयर मूल्य एक हजार पुग्ने हल्ला समेत गरेका थिए । उनले टिकटकमा समेत यो विषय उल्लेख गरेका थिए ।
उक्त सुचनालाई धितोपत्र बोर्ड प्रमाणीकण गर्दा ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति माग्दै निवेदन दिएको बाहेक बाँकी सुचना मिथ्या रहेको पाइएको थियो ।
यो विषय अग्रवालकै फेसबुकबाट लेखिएको हो भनेर पुष्टि पनि बोर्डले गरिसकेको छ । त्यसैगरी पोखरा फाइनान्सको सेयरमा सकारात्मक सर्किट लाग्ने भनेर अग्रवालले फेसबुकमा लेखेको पनि बोर्डको अनुसन्धाले पुष्टि गरेको छ । उनले गोर्खाज फाइनान्सको सेयर बढाउने गरी क्लब हाउसमा बोलेको अडियो समेत पुष्टि भएको बोर्डले जनाएको छ ।
अग्रवालका विषयमा बोर्डले अनुसन्धान गरिरहेको र दोषी देखिए कडाभन्दा कडा कारबाही गर्ने बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बताए । ‘दीपेन्द्र अग्रवालको सेयर कारोबारका सन्दर्भमा भएको अनुसन्धान अन्तिम चरणमा छ,’ श्रेष्ठले भने ।
त्यसबाहेक धितोपत्र बजारमा अनावश्यक गतिविधि गर्ने कारोबारीलाई गहन निगरानीमा राखेको उनले बताए ।
धितोपत्र बजारमा भएका अन्य धेरै विकृतिमा केन्द्रित भएर पनि अनुसन्धान गरिराखेको श्रेष्ठले जानकारी दिए । ‘अनुसन्धानबाट दोषी देखिएका जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही हुन्छ,’ श्रेष्ठले भने, ‘बजारमा विकृति फैलाउने तथा कानुन विपरीत काम गर्नेमाथि बोर्डले निर्मम भएर कारबाही गर्छ ।’
अग्रवालको अस्वाभाविक गतिविधिमा ब्रोकरको समर्थन
सेयर कारोबारी अग्रवालले १५ जनाको नामबाट कारोबार गर्न धितोपत्र ब्रोकरको सहयोगविना असम्भव हुने ब्रोकरहरु नै बताउँछन् । ब्रोकरले अरूको नामको कारोबार व्यवस्थापन प्रणाली चलाउन अग्रवाललाई कसरी दिए भन्ने प्रश्न उठ्छ ।
त्यसैगरी एक लगानीकर्ताको निक्षेप खाता २ वटासम्म मात्र खोल्न सक्ने व्यवस्था छ । तर, अग्रवालले कारोबार गर्ने खाताको सन्दर्भमा १५ जनाको नामबाट दुईभन्दा धेरै निक्षेप खाता सञ्चालन गरेको देखिन्छ ।
दुईभन्दा वढी खाता नभई ती ब्रोकर कम्पनीबाट कारोबार सम्भव हुँदैन । त्यसका साथै स्वामित्व परिवर्तन नहुने गरी सेयर कारोबार गर्न पनि सम्भव नभएको हुनाले निक्षेप सदस्यको खाता खोल्दा पनि अग्रवाललाई ब्रोकरको सहयोग भएको देखिन्छ ।
धितोपत्र दलाल कम्पनी भनेको धितोपत्र बजारको पहिलो तह तथा कारोबारको मध्यस्थता गराउने संस्था हो । ब्रोकर कम्पनीले नै कानुन विपरीत भएका गतिविधि संरक्षण गर्दा पनि अग्रवालजस्ता सेयर कारोबारीलाई सहज भएको हो ।
बोर्डको अध्ययनमा अग्रवाललाइ कारोबार प्लेटफर्म दिने सिप्ला सेक्युरिटी, श्रीकृण सेक्युरिटी र हातेमालो फाइनान्सियललाई सम्पत्ति शुद्धीकरणको कसुरमा आर्थिक जरिबाना गर्न सिफारिस गरेको छ ।
तर, अग्रवालले अन्य धितोपत्र दलालबाट पनि कारोबार गरेको हुन सक्ने सन्दर्भमा बोर्ड अनुसन्धानमा चुकेको छ । त्यसैगरी बोर्डले चाहेको खण्डमा ती १५ जनाको नामबाट कारोबार भएको सम्पूर्ण विवरण लिई संलग्न सबै पक्षलाई कारबाही गर्नुपर्ने देखिन्छ ।
धितोपत्र दलाल कम्पनी अग्रवाललाई संरक्षण मात्र नगरी आफूहरू पनि सेयर कर्नरिङ र म्याचिङमा संलग्न भई लाभ लिन सक्रिय भएको देखिने बोर्ड स्रोतले बतायो ।
प्रतिक्रिया 4