
News Summary
Generated by OK AI. Editorially reviewed.- सामसुङले आफ्नो एस सिरिजको नयाँ प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस २५ एज सार्वजनिक गरेको छ, जुन पातलो र हलुका छ।
- यस स्मार्टफोनमा २०० मेगापिक्सेलको शक्तिशाली क्यामेरा, ६.७ इन्चको डिस्प्ले र टिकाउ टाइटेनियम फ्रेम प्रयोग गरिएको छ।
- फोनको मूल्य सुरुमा १०९९ डलर तोकिएको छ र यसमा दुईवटा भेरिएन्ट उपलब्ध छन्, जसमा विभिन्न र्याम र स्टोरेज विकल्पहरू छन्।
काठमाडौं । स्मार्टफोन निर्माता सामसुङले आफ्नो एस सिरिजको नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङ ग्यालेक्सी एस २५ एज मोडेलको उक्त स्मार्टफोन पातलो र हलुका छ । यसको मोटाइ जम्मा ५.८ एमएम तथा वजन १६३ ग्राम रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ एज सामसुङको ग्यालेक्सी एस सिरिजको सबैभन्दा पातलो अर्थात् स्लीम स्मार्टफोन हो । कम्पनीले यो फोनलाई विश्व बजारभरका लागि लञ्च गरेको छ ।
यो मोडेलका लागि कम्पनीले २०० मेगापिक्सेलको शक्तिशाली क्यामेरा स्लिम साइजमा तयार गरेको छ । फोनमा टाइटेनियमको फ्रेम प्रयोग गरिएको छ, जसले यो ह्याण्डसेटलाई टिकाउ बनाउन मद्दत गर्नेछ । यसमा प्रयोगकर्तालाई प्रिमियम लुक्स, शक्तिशाली क्यामेरा तथा अत्याधुनिक फिचर्स उपलब्ध छन् ।
विशेषता के छ ?
यो फोनको सुरुवाती मूल्य १०९९ डलर तोकिएको छ । फोनको प्रि अर्डर सुरु भैसकेको छ । यो मोडेलमा कम्पनीले दुईवटा भेरिएन्ट उपलब्ध गराउनेछ, जसमा १२ जिबी र्याम र ५१२ जिबी स्टोरेज भएको एउटा र अर्को चाहिँ समान र्याममा २५६ जिबी स्टोरेज अप्सन उपलब्ध छ ।
सामसुङ ग्यालेक्सी एस२५ एजमा ६.७ इन्चको क्यूएचडी डाइनामिक एमोलेड टु एक्सको डिस्प्ले रहेको छ । जसमा १२० हर्ज, एचडिआर १० प्लस तथा २६०० निट्सको पिक ब्राइटनेस उपलब्ध छ । स्क्रिनको सुरक्षाका लागि कोर्निंग गोरिल्ला आर्मर टु राखिएको छ । यो फोनमा क्वालकोम स्नापड्रागन ८ एलिट चिपसेटको प्रयोग गरिएको छ ।
क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप छ । जसमा २०० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १२ मेगापिक्सेलको दोश्रो क्यामेरा रहेको छ । मुख्य क्यामेरामा रात्रीकालीन फोटोग्राफी तथा सामसुङ लग भिडियो फिचर उपलब्ध छ । यसका अतिरिक्त यो फोनमा एउटा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि रहेको छ ।
यो फोनमा प्रयोगकर्ताले फोटोग्राफी गर्दा पृष्ठभूमिमा रहेको अनावश्यक दृश्यहरुलाई हटाउने फिचर प्राप्त गर्नेछन् । यो फिचर केवल फोटोमा मात्र नभएर भिडियोमा पनि उपलब्ध हुनेछ । फोनमा इमेल आदि लेख्नका लागि ग्यालेक्सी एआईको सहयोग लिन सकिनेछ भने फोनको सुरक्षाका लागि कम्पनीले Knox दिएको छ ।
यो फोनमा ३९०० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ, जसले २५ वाट फास्ट चार्जर सपोर्ट गर्दछ । ग्यालेक्सी एस२५ एजमा एन्ड्रोइड १५ मा आधारित OneUI 7 अपरेटिङ्ग सिस्टम रहेको छ ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4