+
+
Shares

सत्यमोहन जोशीसँगको चार वर्षे सत्संग

सुरेश राउत सुरेश राउत
२०८२ वैशाख ३० गते २२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्यमोहन जोशीले दोलखाको ऐतिहासिक र सांस्कृतिक महत्वलाई आधार मान्दै अनुसन्धान र संरक्षणका योजनाहरू सुरु गर्न सुझाव दिए।
  • उनले दोलखामा मुद्रा संग्रहालय र सांस्कृतिक नीति जस्ता परियोजनाहरूलाई प्राथमिकता दिएर स्थानीय संस्कृतिलाई संस्थागत गर्न प्रेरित गरे।
  • सत्यमोहन जोशीको योगदानले दोलखाको सांस्कृतिक संरक्षण र विकासमा महत्वपूर्ण भूमिका खेलेको छ, जसले स्थानीय र राष्ट्रिय स्तरमा गर्वको विषय बनाएको छ।

पहिलो भेटको उत्साह (२०७५ पुस १०, मङ्गलबार)

‘कथामा होइन, प्रमाणित कुरालाई आधार मान्नुहोस्,’  सत्यमोहन जोशीका यी ऊर्जाशील वाक्यले मलाई उत्साहित बनायो। उनले थप्नुभयो, ‘तपाईंहरूको निधि यही हो। यसैलाई आधार मानेर दोलखाको अतीत र वर्तमानको इतिहास खोज्नुहोस् । दोलखाको इतिहास गर्विलो बन्यो भने नेपालको इतिहास बलियो हुन्छ ।’

यो पहिलो भेटको पहिलो कोसेली थियो। त्यो बिहानको एक घण्टा दोलखा र भीमेश्वरको प्रमाणित इतिहासको चर्चामा बित्यो ।  बिदा मागेर उठ्ने बेला मैले भीमेश्वर नगरपालिकाको तर्फबाट कृतज्ञता व्यक्त गरेँ। तर, उहाँलाई मेरो कुरा अपूर्ण लागेछ । मलाई बस्न आग्रह गर्दै उनले नगरपालिकाले गर्न सकने योजनाहरू मिठास र गम्भीरतापूर्वक सुनाउनुभयो:

१. मुद्रा अनुसन्धान र सङ्ग्रहालय: दोलखाको मुद्राबाट अनुसन्धान सुरु गर्नुहोस्, सङ्ग्रहालय स्थापना गर्नुहोस् र स्थानीयलाई सहभागी गराउनुहोस् ।

२. सांस्कृतिक अध्ययन: भौगोलिक, भाषिक, आर्थिक–सामाजिक, लोकपरम्परा र इतिहासले दोलखाको संस्कृतिमा पारेको प्रभावको क्रमशः अनुसन्धान गर्नुहोस् ।

३. फेलोसिप व्यवस्था: यस्ता अनुसन्धानका लागि फेलोसिपको व्यवस्था गर्नुहोस् ।

४. प्रकाशन: दोलखाको पहिचान झल्काउने अनुसन्धानमूलक पुस्तकहरू प्रकाशन गर्नुहोस् ।

५. शिक्षामा समावेश: प्राथमिक तहमा स्थानीय लोककथा, जात्रा, पर्व, कला, साहित्य र सङ्गीतलाई पाठ्यक्रममा समावेश गर्नुहोस् ।

यो भेटलाई मूर्त रूप दिने मेरा साथीहरू इन्जिनियर सुशील ब्याञ्जनकार र शान्त शील स्वभावका शान्तराज शाक्य थिए ।

लोकसाहित्य कला परिषद् भवन निर्माण

यो कोभिड अघिको कुरा हो । सत्यमोहन जोशीले स्थापना गर्नुभएको लोकसाहित्य कला परिषदको बैठक बसिरहेको थियो । परिषदको भवनको इन्जिनियरिङ डिजाइन र निर्माण पर्यवेक्षणको जिम्मा मेरो मित्र सुशील ब्याञ्जनकारले लिएका थिए ।

बैठकको विषय भवन निर्माणको प्रगति थियो । म आमन्त्रित सदस्यका रूपमा सहभागी भएँ । लोकसाहित्य र कला संरक्षणमा समर्पित साथीहरूको उपस्थितिमा मैले सत्यमोहन जोशीकै सामुन्ने एउटा प्रस्ताव राख्ने साहस गरेँ । मैले भने, ‘यदि अनुमति पाएँ भने एउटा प्रस्ताव राख्न चाहन्छु ।’  सबैले आदरपूर्वक सहमति जनाए ।

मैले भनेँ,  ‘यो भवन निर्माणका लागि सबैको योगदान आवश्यक छ । म पहिलो सहयोगकर्ता बन्न चाहन्छु । मेरो सानो रकमले भवनको भौतिक संरचना बनाउन ठूलो अर्थ नराख्ला, तर यो भवन बन्नुपर्छ भन्ने भावनाले यसले ठूलो अर्थ राख्छ।’

सबै खुसी भए । सत्यमोहन जोशीले मलाई बोलाएर धन्यवाद दिँदै आफ्ना दुई कृति हस्तलिखित शुभकामनासहित उपहार दिनुभयो ।  त्यो क्षण मेरो जीवनको अविस्मरणीय पल बन्यो । म भवन निर्माणमा सहयोग गर्ने पहिलो व्यक्ति बन्न पाएँ । पछि, भवन उद्घाटन समारोहमा परिषदले मलाई निम्त्याएर सम्मान गर्‍यो ।

ज्येष्ठ नागरिक कल्याण कोष

सत्यमोहन जोशी राज्यका लागि ज्येष्ठ नागरिकभन्दा पनि अमूल्य सम्पत्ति थिए । तथापि, उहाँको हेरचाहका लागि कोही न कोही चाहिन्थ्यो ।

मैले ज्येष्ठ नागरिक कल्याण कोषका अध्यक्ष बसन्तराज कार्कीलाई सम्झिएँ । उहाँसँग मेरो चिनजान थियो र दोलखाली भएकाले यो कुरा उपयुक्त लाग्यो । मैले सुशीलसँग सल्लाह गरेँ र बसन्तराज कार्कीलाई फोनमा भनेँ, ‘हामी सत्यमोहन जोशीज्यूलाई भेट्न जाऔँ। ज्येष्ठ नागरिक कल्याण कोषका अध्यक्षको हैसियतले तपाईंको भेटले ठूलो अर्थ राख्छ।’

पहिलो कुराकानीमा उहाँलाई यस्तो प्रस्ताव राख्ने व्यक्ति म नै हुँ भन्नेमा शङ्का भएछ । पछि, मेरा भाइ अमृत राउतले सुनाए, ‘बसन्त दाइले मलाई फोन गरेर सोध्नुभयो, ‘यो प्रस्ताव राख्ने सुरेश राउत हाम्रै इन्जिनियर हो त ?’  मैले सम्झाएँ, ‘हो, सुरेश दाइले ठिमीको भेटघाटमा सधैँ सत्यमोहन जोशीको कुरा गर्नुहुन्छ ।’

पछिल्लो कुराकानीमा बसन्तराज कार्कीले भेटको प्रस्ताव सहर्ष स्वीकार गर्नुभयो । त्यो दिन मेरो मेलुङबासी सानोबा रविन्द्र कार्की पनि साथमा थिए । भेटको व्यवस्था सुशीलले नै गरे । भेट अत्यन्त उत्साहजनक भयो । रविन्द्रले भन्नुभयो, ‘बा त ६५ वर्षको जस्तो देखिनुहुन्छ, अनि अघिल्लो कोष अध्यक्ष रामकृष्ण कर्माचार्यको नाम कसरी सम्झनुभयो होला ?’

उक्त भेटमा सत्यमोहन जोशीले भन्नुभयो, ‘दोलखा दुई दृष्टिकोणले महत्त्वपूर्ण छ। पहिलो, यसको धार्मिक महत्त्व ५,००० वर्ष पुरानो महाभारतकालसँग जोडिन्छ । तपाईंहरूले यसलाई चिनाएर धार्मिक पर्यटनमार्फत स्थानीयको जीवनस्तर उकास्न सक्नुहुन्छ ।

दोस्रो, नेपालको पहिलो मुद्रा दोलखामा बनेको हो । यो तपाईंहरूको आधुनिक नेपालको धरोहर हो । यसलाई आधार बनाएर अन्य ऐतिहासिक पक्षहरू खोज्नुहोस् ।’

सत्यमोहन जोशीले पहिला अरूको कुरा ध्यानपूर्वक सुन्नुहुन्थ्यो र अन्तिममा मात्र आफ्नो कुरा राख्नुहुन्थ्यो । उहाँका हरेक वाक्य मन्त्रजस्ता थिए । उहाँको स्मरणशक्ति र वाचनशैली मन्त्रमुग्ध बनाउने खालको थियो । भेटपछि हामीले समीक्षा गर्‍यौँ । बसन्तराज कार्की अत्यन्त खुसी देखिनुभयो । त्यसपछिका वर्षहरूमा उहाँ र सत्यमोहन जोशीबीच सौहार्दपूर्ण सम्बन्ध कायम भयो। बसन्तराजले हरेक तरिकाले उहाँलाई सहयोग गर्नुभयो ।

दोलखामा मुद्रा सङ्ग्रहालय

प्रदेश सरकारले दोलखामा मुद्रा सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने निर्णय गर्‍यो । दोलखाको पुरानो टक्सार घर व्यक्तिको नाममा थियो । पूर्वमेयर भरतबहादुर केसीले त्यो घरलाई सरकारी स्वामित्वमा ल्याउने प्रयास गर्नुभयो, तर अन्तिम समयमा घरधनीहरू सहमत भएनन् । त्यसपछि सङ्ग्रहालय राजकुलेश्वर र तलेजु भवानीको घरको तल्लो भागमा बनाउने निर्णय भयो ।

त्यतिबेला दोलखाली पार्वत गुरुङ ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्री र योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्थ्यो । सुशीलले प्रस्ताव राखे, ‘सत्यमोहन जोशीलाई दोलखा ल्याऔँ ।’

मैले सोचेँ, उहाँको उमेरलाई ध्यानमा राखेर हेलिकप्टरको व्यवस्था गर्न सकियो भने यो सम्भव  छ। सङ्ग्रहालयको शिलान्यास सत्यमोहन जोशीबाट गराउने र दायाँ–बायाँ दुवै मन्त्रीलाई सहभागी गराउने योजना बन्यो ।

मैले उत्साहित भएर मन्त्री गुरुङसँग कुरा राखेँ, तर स्पष्ट जवाफ पाइएन । मेयर र नगरपालिकाको टिमसँग पनि छलफल भयो । मन्त्री गुरुङलाई पटक–पटक सन्देश पठाएँ, तर मन्त्रिपरिषद् हेरफेरको समयमा हाम्रो प्रस्ताव प्राथमिकतामा परेन । अन्ततः सत्यमोहन जोशीलाई दोलखा ल्याएर नेपालको पहिलो मुद्रा सङ्ग्रहालयको शिलान्यास गर्ने सपना अधुरै रह्यो ।

सांस्कृतिक नीति र ऐन

त्यतिबेला मानबहादुर (एमबी) खड्का भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । उहाँ कवि पनि हुनुहुन्थ्यो र सरल स्वभावका असल व्यक्ति । उहाँसँग हामी मनका कुरा सजिलै साझेदार गर्थ्यौँ ।  उहाँको आगमनले नगरको साहित्य क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको थियो । साहित्यिक कार्यक्रमहरूले गति लिए, पुस्तक प्रकाशनहरू तीव्र भए। तर, मेरो मनमा प्रश्न थियो– यो माहोललाई कसरी संस्थागत गर्न सकिन्छ, ताकि एमबी सरको सरुवापछि पनि निरन्तरता रहोस् ?

२०७८ को पहिलो दिन म चितवनबाट काठमाडौँ फर्किंदै थिएँ। एमबी सर, वृष क्रान्ति र म सितापाइलामा भेट्यौँ । नयाँ वर्षमा के गर्ने भन्ने छलफल भयो । मैले सत्यमोहन जोशीको संरक्षकत्वमा रहेको लोकसाहित्य कला परिषद्सँग दोलखामा कार्यक्रम गर्न भीमेश्वरले समन्वय थाल्नुपर्ने प्रस्ताव राखेँ। बजेट व्यवस्था भइसकेकाले यो कार्यको जिम्मा वृष क्रान्तिलाई दिइयो ।

तर, मलाई साहित्यमा मात्र सीमित रहँदा अपूर्ण लाग्यो। साहित्य, कला, भाषा, इतिहास र संस्कारलाई समेटेर समग्र संस्कृतिलाई संस्थागत गर्नुपर्छ भन्ने ठानेँ । भोलिपल्ट वृष क्रान्ति र म सत्यमोहन जोशीसँग भेट्न पाटनको इटुबाहल गयौँ। भेटको व्यवस्था सुशीलले नै गरे। लोकसाहित्य कला परिषदका सदस्यहरूबीच सत्यमोहन जोशी हाम्रा कुरा ध्यानपूर्वक सुन्नुभयो । अन्तमा उहाँले प्रश्न गर्नुभयो, ‘तपाईंहरूको साहित्य, कला, भाषा, इतिहास र संस्कारको कुरा सुनेँ, खुसी लाग्यो। तर, भीमेश्वर नगरपालिकासँग सांस्कृतिक नीति छ ?’

यो प्रश्न हाम्रा लागि गुरुमन्त्र बन्यो। नीति बनेपछि ऐन, ऐन बनेपछि प्रतिष्ठान । तब मात्र सांस्कृतिक धरोहरहरू संस्थागत हुन्छन् । यो कार्यमा वृष क्रान्ति र एमबी सरको ठूलो योगदान रह्यो।

हामीले धेरै बिहानहरू छलफलमा बितायौँ । आज भीमेश्वर नगरपालिकामा सांस्कृतिक नीति र ऐन दुवै छन् । हामीलाई गर्व छ कि हामीले सांस्कृतिक ऐन बनाएर साहित्य, कला, भाषा, इतिहास र संस्कारलाई संस्थागत गर्ने पहिलो पालिका बनेका छौँ ।

यसले दोलखाको समग्र संस्कृतिलाई नेतृत्व गर्न  ‘दोलखा सांस्कृतिक प्रतिष्ठान’ गठन गरेका छौँ । साथै, साहित्य र भौगोलिक क्षेत्रलाई समेट्ने ‘भानु–विद्यापति साहित्यिक प्रतिष्ठान’ स्थापना गरी वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । साहित्य, कला, भाषा, इतिहास र संस्कारलाई भीमेश्वर नगरपालिकामा संस्थागत गर्न सत्यमोहन जोशीको अतुलनीय योगदान छ ।

भीमेश्वर नगरपालिका–३, तार्थली, चरिकोट, दोलखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?