+
+
Shares

फेसबुकमा गाजा बारे लेख्दा जागिर गुमाएकी पत्रकारलाई ७० हजार अष्ट्रेलियाली डलर क्षतिपूर्ति

फैसलापछि एबीसीले गल्तीका लागि सार्वजनिकरूपमा आत्मआलोचना गर्दै माफी मागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अदालतले अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीलाई पत्रकार एन्टोनेट लाट्टोफलाई गैरकानुनी रूपमा बर्खास्त गरेको भन्दै ७० हजार अष्ट्रेलियाली डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
  • एबीसीले गल्तीको स्वीकार गर्दै माफी मागेको छ र आफ्नो मूल्य मान्यता अनुसार व्यवस्थापन नभएको स्वीकार गरेको छ।

११ असार, काठमाडौं । इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रूपमा बर्खास्त गरेको यहाँको एक अदालतले ठहर गरेको छ ।

अदालतले रेडियो पत्रकारलाई गैरकानुनी रूपमा बर्खास्त गरेको भन्दै एबीसीले एन्टोनेट लाट्टोफलाई क्षतिपूर्तिस्वरूप ७० हजार अष्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) तिर्नुपर्ने फैसला सुनाएको छ । फैसलापछि एबीसीले गल्तीका लागि सार्वजनिकरूपमा आत्मआलोचना गर्दै माफी मागेको छ ।

अदालतबाहिर लाटुफले भनिन्, ‘मलाई मेरो राजनीतिक विचारको कारण दण्डित गरियो।’

सङ्घीय अदालतका न्यायाधीश डेरिल रङ्गियाहले आफ्नो फैसलामा भनेको छ, ‘गाजामा इजरायली सैन्य अभियानको विरोधमा राजनीतिक विचार राखेको लगायतका कारण देखाउँदै प्रसारणकर्ताले उनलाई बर्खास्त गरेर रोजगार कानुन तोडेको अदालतको ठहर छ ।’

लाट्टोफले एबीसीसँग पाँच दिने अनौपचारिक सम्झौता गरेको तीन दिनपछि सन् २०२३ को डिसेम्बरमा कानुनी कारबाही अघि बढाउँदै बर्खास्त गर्ने निर्णय एबीसीले गरेको थियो ।

एबीसीले उक्त पोस्टले संस्थाको सम्पादकीय नीति उल्लंघन गरेको तर्क गरेको थियो ।

उनले गाजा द्वन्द्वबारे ह्युमन राइट्स वाचको भिडियो रिपोर्ट इन्स्टाग्राममा पुनः पोस्ट गर्दै लेखेकी छिन्, ‘एचआरडब्लुले भोकमरीलाई युद्धको औजारको रूपमा प्रयोग गरेको छ।’

एबीसीको उच्च व्यवस्थापनले उक्त पोस्टलाई लिएर जनाएको प्रतिक्रियामा पोस्ट ‘आतङ्कको अवस्था’मा परिणत भएको र एक घण्टाभित्रै उनलाई सामग्री हटाउन भनिएको सुनुवाईका क्रममा वादीका तर्फबाट जिकिर गरिएको न्यायाधीश रङ्गियाहले बताए ।

एबीसीका प्रबन्ध निर्देशक हग मार्क्सले भने, ‘सम्प्रेषित सन्देश हटाउने निर्णयलाई लिएर लाट्टोफलाई कसरी हेरियो र सङ्कटले उनलाई कसरी प्रभावित बनायो यो सोचनीय कुरा हो । यसमा हामीबाट केही गल्ती भएको भए हामी त्यस घटनाप्रति खेद प्रकट गर्दछौँ ।’

उनले भने, ‘यो स्पष्ट छ कि यो मुद्दा हाम्रो मूल्य मान्यता र अपेक्षा अनुसार व्यवस्थापन गरिएको छैन।’

उनले थपे, ‘हामीले हाम्रा कर्मचारी र दर्शकहरूलाई पनि निराश पारेका छौँ र यो असफलताले जनता र सङ्गठनभित्र बुझ्नयोग्य चिन्ता पैदा गरेको छ।’ -एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?