News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षाको लागि ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर–एडेड डिस्प्याच प्रणाली सुरु गरिएको छ।
- यो प्रणालीले ‘१०० एप’ मार्फत जिल्लाभरका प्रहरी युनिटहरूमा तत्काल सूचना सम्प्रेषण गर्न सकिनेछ।
- स्मार्ट कन्ट्रोल रुमले वास्तविक समय ट्र्याकिङ र पेपरलेस अनुसन्धान प्रक्रियालाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ।
६ जेठ, काभ्रेपलाञ्चोक । सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर–एडेड डिस्प्याच प्रणालीको सुरुवात गरिएको छ ।
नेपालमा जिल्लास्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लागू गरिएको यो पहिलो पटक हो ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल रुमको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार, स्मार्ट प्रहरी कन्ट्रोल रुममार्फत ‘१०० एप’ को प्रयोग गरी जिल्लाभरका मातहत युनिटहरूमा तत्काल सूचना सम्प्रेषण गर्न सकिनेछ ।
यस प्रणालीबाट सम्बन्धित प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरू थप जिम्मेवार बन्ने, डिस्प्याच भएका सूचनाहरू व्यवस्थित रूपमा रेकर्ड हुने तथा सूचना ढिलो प्राप्त भएको बहाना अन्त्य हुने अपेक्षा गरिएको छ ।
‘सिन्धुलीमा कार्यरत नेपाल प्रहरीले आपत्कालीन कलहरू व्यवस्थापन गर्न र फिल्डमा खटिने टोलीहरूबिच समन्वय गर्न प्रयोग गर्दछ । जिल्लाको ‘स्मार्ट कन्ट्रोल रुम’ बाट सञ्चालन हुने यस प्रणालीले परम्परागत रूपमा हातले गरिने रेकर्ड (म्यानुअल लगिङ) लाई विस्थापित गर्दैवास्तविक समयको र्ट्याकिङ (रियल–टाइम र्ट्याकिङ) र स्वचालित स्रोतव्यवस्थापनको सुविधा प्रदान गर्दछ,’ सुवेदीले भने ।
प्रहरीका अनुसार कार्यालय प्रमुखले एक्सेल फर्म्याटमा विभिन्न रिपोर्ट निकालेर डाटा विश्लेषण गर्न सक्ने, दैनिक गतिविधि तथा बन्द–विरोध कार्यक्रमहरूको जानकारी प्राप्त हुने र खटिएका प्रहरी कर्मचारीलाई थप जिम्मेवार बनाउन सहज हुनेछ ।
प्रणालीमार्फत घटनाको फिल्ड रिपोर्ट प्राप्त गर्न सकिने, अपराध अनुसन्धानलाई थप बस्तुनिष्ठ र प्रभावकारी बनाउन मद्दत पुग्ने, स्मार्ट प्रहरी कन्ट्रोल रुमले प्रहरी अनुसन्धानका कागजी प्रक्रियालाई एकरूपता दिँदै “पेपरलेस” अवधारणालाई व्यवहारमा उतार्ने अपेक्षा छ ।
त्यस्तै प्रत्येक कल र चालिएका कदमहरूको समय(टाइमस्ट्याम्प) डिजिटल रूपमा रेकर्ड हुने भएकाले लापरवाही हुनेसम्भावना घट्ने, पहिरो र सडक दुर्घटनाको उच्चजोखिममा रहेको सिन्धुलीमा यस प्रणालीले एउटै इन्टरफेसमार्फत बहु–निकाय (प्रहरी, दमकल, र स्वास्थ्य सेवा) बिच द्रुतसमन्वय गराउन सक्षम बनाउने जिल्ला प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।
कम्प्युटर–एडेड डिस्प्याच प्रणाली जडानका लागि इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसीको सक्रियता तथा स्थानीय पालिकाहरूले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया 4