+
+
Shares

कोशीका तीन जिल्लामा प्रहरीको ‘स्विप अप्रेसन’ : २५४ जना पक्राउ

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले लागुऔषध करोबारी, प्रयोगकर्ता र भरियालाई ‘सोर्ने’ (जसरी भए पनि पक्राउ गर्नू) भनेपछि झापा, मोरङ र सुनसरीबाट २५४ पक्राउ परेका हुन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ वैशाख ११ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा स्विप अप्रेसनमा २५४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकामध्ये १५ जनालाई पुनर्स्थापना केन्द्र पठाइएको र ७६ जनालाई आफन्तको जिम्मा लगाइएको छ।
  • स्विप अप्रेसनमा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको छ।

११ वैशाख, विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा स्विप अप्रेसन सञ्चालन गरी प्रहरीले २५४ जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले लागुऔषध करोबारी, प्रयोगकर्ता र भरियालाई ‘सोर्ने’ (जसरी भए पनि पक्राउ गर्नू) भनेपछि झापा, मोरङ र सुनसरीबाट २५४ पक्राउ परेका हुन् । उनले बुधबार स्विप अप्रेसन चलाउन भनेका थिए ।

‘जिल्ला र मातहतसमेत विगतमा लागुऔषध सम्बन्धमा चलेका सबै मुद्दाहरूको रेकर्ड निकाल्ने, तिनीहरूलाई अहिलेको समयबाट २४ घण्टाभित्र खानतलासी गर्ने, सोर्ने (पक्राउ गरेर ल्याउने),’ उनले भनेका थिए, ‘माथिबाट स्पष्ट निर्देशन आएको छ, २४ घण्टाभित्र रिजल्ट देखिनुपर्छ ।’

उनले खानतलासी गर्दा लागुऔषध भेटिए मुद्दा चलाउन र नभेटिए नियन्त्रणा लिएकाहरूलाई सुधार केन्द्रमा राख्ने सर्तमा मात्रै छाड्न निर्देशन दिएका थिए । त्यसपछि जिल्लाहरूले स्विप अप्रेसन सुरु गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कट्वालका अनुसार जिल्लाको विभिन्न क्षेत्रबाट ७२ जना पक्राउ परेका छन् । वैशाख ९ गते बेलुका ६ बजेदेखि सुरु भएको अभियान मोरङमा वैशाख ११ गते बिहानसम्म चलेका थियो ।

उनका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध प्रयोगकर्ताहरू बढी छन् । बिक्री-वितरण गर्ने र सञ्चय गर्नेसँगै समाजमा अशान्ति फैलाउने, टोलमा गुण्डागर्दी गर्नेहरू पनि पक्राउ परे । त्यस्तै, सार्वजनिकस्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्ने पनि पक्राउ परेका थिए ।

पक्राउ परेका केहीको साथमा लागुऔषध पनि भेटिएको थियो । पक्राउ परेकाहरूको स्क्रिनिङ भइरहेकाले प्रमाण भेटिएकालाई मुद्दा चलाउने उनले बताए ।

सुनसरीमा १२० जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सुनसरीमा १२० जना पक्राउ परे । पक्राउ पर्नेमा ५ जना महिला छन् ।

पक्राउ परेकामध्ये १५ जना लागुऔषध प्रयोगकर्तालाई पुनर्स्थापना केन्द्र पठाइएको छ । जसमा ५ जना महिला पनि छन् । ७६ जनालाई सम्झाइ–बुझाइ आफन्तको जिम्मा लगाइएको छ ।

गम्भीर प्रकृतिको लागुऔषध कारोबारमा संलग्न २ जना र फरार रहेको १ जना प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ । प्रहरीले सो क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस प्रतिबन्धित ट्याब्लेटसमेत बरामद गरेको छ ।

झापामा ६२ जना पक्राउ

झापाका डीएसपी खगेन्द्र कार्कीका अनुसार जिल्लाका विभिन्न स्थानबाट ६२ जना पक्राउ परेका छन् । सो क्रममा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर पनि बरामद भएको छ । चेकजाँचका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गर्ने ६ जनालाई मुलुकी फौजदारी संहिताअनुसार मुद्दा दर्ता गरिएको छ ।

गालीगलोज तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–७ का ३२ वर्षीय सन्तोष सिवाकोटी, बिर्तामोड नगरपालिका–६ का २८ वर्षीय सुरज चौधरी, शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय निर्मल सिटौला, मोरङ उर्लाबारी नगरपालिका–८ का २३ वर्षीय दिवश लिम्बू, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का ३१ वर्षीय रवीन्द्र अर्याल र मेचीनगर नगरपालिका–८ का ४० वर्षीय सुमन न्यौपाने रहेका छन् ।

दमकको ताराबारीमा गरिएको विशेष चेकजाँचका क्रममा ५४ जना चालक तथा सहचालकको ‘किट’ मार्फत लागुपदार्थ सेवन परीक्षण गरिएको थियो । जसमध्ये ३ चालक र २ सहचालकले लागुपदार्थ सेवन गरेको र २ जनाले मादक पदार्थ सेवन गरेको भेटिएको थियो ।

भारतसँगको सीमा क्षेत्र र अन्य विभिन्न स्थानबाट ब्राउन सुगरसहित मदन मिश्र, भीमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बू र सुमन मुखिया पक्राउ परेका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?