News Summary
Generated by OK AI. Editorially reviewed.- आम आदमी पार्टीका प्रभावशाली नेता र राज्यसभा सांसद राघव चड्ढाले पार्टी छोडेर भारतीय जनता पार्टीमा प्रवेश गर्ने घोषणा गरेका छन्।
- चड्ढाले १५ वर्षसम्म सिँचेको पार्टी अहिले निजी स्वार्थका लागि काम गरिरहेको भन्दै पार्टीबाट अलग भएको बताए।
- उनसहित सात जना सांसदले 'आप' छोडेर भाजपामा सामेल हुने निर्णय गरेका छन् र चड्ढालाई मन्त्री पदको जिम्मेवारी दिइन सक्ने अड्कलबाजी सुरु भएको छ।
११ वैशाख, काठमाडौं । आम आदमी पार्टी (आप) का प्रभावशाली नेता तथा राज्यसभा सांसद राघव चड्ढाले पार्टी परित्याग गरी भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्ने घोषणा गरेका छन्।
शुक्रबार सन्दीप पाठक र अशोक मित्तलसँगै आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा चड्ढाले आफूहरू राज्यसभामा ‘आप’ का दुई-तिहाइ सदस्यहरूको समूहसहित संवैधानिक प्रावधान अनुरूप भाजपामा विलय हुन लागेको जानकारी दिए।
यस महिनाको सुरुमा ‘आप’ ले राज्यसभामा पार्टीको उप-नेताको जिम्मेवारीबाट राघव चड्ढालाई हटाएर अशोक कुमार मित्तललाई दिएपछि पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको थियो। चड्ढाले पार्टीको उक्त निर्णयप्रति कडा आपत्ति जनाउँदै आफूले जनहितका मुद्दा उठाउँदा पार्टीलाई के नोक्सान भयो भनी प्रश्न गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै चड्ढाले भने , “जुन पार्टीलाई मैले आफ्नो रगत-पसिना दिएर १५ वर्षसम्म सिँचेँ, त्यो पार्टी अहिले आफ्नो सिद्धान्त र नैतिक मूल्य-मान्यताबाट पूर्ण रूपमा विचलित भइसकेको छ। अब यो पार्टी राष्ट्रहितका लागि नभई निजी स्वार्थका लागि काम गरिरहेको छ।”
राघव चड्ढाका साथमा सन्दीप पाठक, अशोक मित्तल, हरभजन सिंह, स्वाति मालीवाल, राजेन्द्र गुप्त र विक्रम साहनी गरी कुल ७ जना सांसदहरूले ‘आप’ छोडेर भाजपामा सामेल हुने निर्णय गरेका छन्। चड्ढाले आफूलाई धेरैले पहिलेदेखि नै ‘सही मान्छे तर गलत पार्टीमा’ रहेको बताउने गरेको स्मरण गर्दै अब जनताको सेवाका लागि नयाँ बाटो रोजेको बताए।
यो घटनालाई आम आदमी पार्टीका लागि ठूलो धक्का र भारतीय राजनीतिको एक महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। भाजपामा सामेल भएपछि चड्ढालाई मन्त्री पदको जिम्मेवारी दिइन सक्ने अड्कलबाजी समेत सुरु भएको छ।
प्रतिक्रिया 4