
१८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय गरेलगत्तै विवाद भएको छ ।
नवीन राप्रपा कार्ययोजनाको मोडलअनुसार आन्तरिक प्रारम्भिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने संसदीय समितिले मंगलबार निर्णय गरेको थियो ।
उम्मेदवार चयनमा नयाँ पद्धति लागु हुने केन्द्रको निर्णयलाई बहिष्कार गर्ने चेतावनी तल्लो तहका समितिले दिएका छन् ।
प्रारम्भिक मतदानबाट उम्मदेवार चयन गर्ने निर्णयविरुद्ध धारणा बनाउन केन्द्र तोकेका प्रतिनिधिसहित बुधबार रूपन्देहीमा बैठक बस्यो । यो पद्धतिमा निर्वाचन क्षेत्रका नेता-कार्यकर्ता असन्तुष्ट रहेपछि संवादका लागि पार्टीले नेता ध्रुवबहादुर प्रधानलाई खटाएको छ ।
प्रधान निर्वाचन परिचालन समितिका संयोजक समेत हुन् । प्रधानले बिहीबार क्षेत्रमा पुगेर छलफल गर्ने भएका छन् ।
लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयले संसदीय दलले गरेको निर्णय प्रक्रियामा समेत आपत्ति जनाएका छन् । प्रारम्भिक मतदान वा उम्मेदवार तय गर्ने निर्णय गरेलगत्तै लुम्बिनीका अध्यक्ष उदयलाई पार्टी विधानबारे नेतृत्वलाई जानकारी गराएका छन् ।
संसदीय समितिको बैठक आह्वान गर्दा आफूलाई खबर नगरिएको उदयले अनलाइनखबरलाई बताए ।
राप्रपाको विधानमा ‘सम्बन्धित प्रदेश कार्यसमितिको अध्यक्ष सम्बन्धित प्रदेशभित्र उम्मेदवारको छनोट गर्ने प्रयोजनको लागि पदेन सदस्य हुने’ उल्लेख छ । रुपन्देही-३ को उम्मेदवार छनोट प्रक्रियाबारे निर्णय लिंदा लुम्बिनीका पार्टी अध्यक्ष उदयलाई बोलाइएको थिएन ।
राप्रपाको विधानअनुसार प्रारम्भिक मतदानको व्यवस्था गरिएको छैन । यद्यपि, पार्टीले प्रारम्भिक मतदानको नीति लिने निर्णय गरेको राप्रपाका नेताहरूले जानकारी गराएका छन् ।
प्रारम्भिक मतदानको विधि नभएको अवस्थामा अकस्मात पार्टी निर्णय गर्दा त्यसले क्षति पुग्ने नेताहरूको विश्लेषण छ ।
प्रारम्भिक निर्वाचन गरेर उम्मदेवार छान्न भए सुरुदेखि नै त्यही विधि अवलम्बन गर्नुपर्ने तर्क नेताहरूको छ ।
राप्रपाका एक केन्द्रीय सदस्यले भने, ‘प्रारम्भिक मतदानबाट उम्मदेवार चयन गर्ने भए नाम सिफारिस गर्न भन्न हुँदैनथ्यो । नाम आएर अब टुंगो लगाउने बेलामा प्रारम्भिक मतदान गर्दा त्यहाँका नेता/कार्यकर्ताको मनोविज्ञान कस्तो हुन्छ ?’
राप्रपाबाट उम्मेदवार हुन लागि गौरव बोहरा, प्रज्ज्वल बोहरा, स्वाति थापा, बसन्तविक्रम शाही लगायत ६ जना उम्मेदवारका आकांक्षी छन् । आकांक्षी यी जनाले जसलाई उम्मदेवार बनाए पनि एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । गौरव, प्रज्ज्वल र स्वाति यसै क्षेत्रबाट निर्वाचित पूर्वसांसद दीपक बोहराका परिवारका सदस्य हुन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको रोहवरमा चारजनामा जसले टिकट प्राप्त गरे पनि एक अर्कामा समर्थन गर्ने लिखित सहमति गरेका थिए । पार्टी केन्द्रले गरेको निर्णयले बोहरा परिवारका तीन आकांक्षीहरूमै वैमनस्यता ल्याउने कार्य गरेको नेताहरूको विश्लेषण छ ।
प्रारम्भिक निर्वाचन लागू हुँदा बोहरा पारिवारिक विभाजन ल्याउने आशंका लुम्बिनी अध्यक्ष उदय व्यक्त गर्छन् । ‘दीपक बोहरा सबैको नेता भएर बसेको व्यक्ति हो । उहाँको निधन हुँदा उपचुनाव हुन लागेको छ । यो अवस्थामा उहाँकै दुईवटा छोरा र नातिनीले ‘उम्मेदवार मलाई बनाउनू’ भन्दै एउटै बाकस थाप्नु राम्रो भएन ।’
प्रारम्भिक मतदानको निर्णय गरेलगत्तै त्यसलाई बहिष्कार गर्ने चेतावनी सहितको विज्ञप्तिहरू धमाधम प्रकाशित गरिएको छ । पार्टी केन्द्रको निर्णयले कार्यकर्ताबीच फुट ल्याउने कार्य गरेको क्षेत्रीय तहका नेताहरूको निचोड छ ।
रुपन्देही-३ का राप्रपा शंकर सुतार कार्कीले प्राइमरी चुनावको नाममा रुपन्देही-३ मा पार्टीभित्र विभाजन नै हुने अवस्था देखिएको बताए ।
केन्द्रको निर्णयप्रति आपत्ति जनाउँदै कार्कीले तल्लो तहले गरेको सिफारिसअनुसार उम्मेदवार चयन गर्नु नै उपयुक्त हुने धारणा राखे ।
रुपन्देही-३ ‘ख’ का अध्यक्ष प्रेमबहादुर कुँवरले बुधबार विज्ञप्ति निकालेर प्रारम्भिक मतदान बहिष्कार गर्ने घोषणा गरेका छन् ।
साथै, रुपन्देही जिल्ला कमिटी सदस्य ज्ञानेश श्रेष्ठले प्रारम्भिक मतदान प्रणाली पार्टी विधानमा नभएको उल्लेख गर्दै बहिष्कार गर्ने जनाए । उम्मेदवार छनोट प्रक्रिया पहिलेकै पद्धतिअनुसार हुनुपर्ने मातहतका पार्टी संरचनाले जोड दिएका छन् ।
प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने विषयमा मातहतका संरचनामा छलफल नगरिएकोप्रति नेताहरूले आपत्ति जनाएका छन् । क्षेत्रको वस्तुस्थितिको अध्ययन नगरी अकस्मात् निर्णय गरिएको भन्दै लुम्बिनी अध्यक्ष उदयले आश्चर्य प्रकट गरे ।
रूपन्देहीको वस्तुस्थिति, भौगोलिक अवस्थिति, जिल्ला नेता/कार्यकर्ताको मानसिकता प्रारम्भिक चुनावबाट उम्मेदवार छान्न नहुने रहेको उदयले जानकारी गराए । पार्टी केन्द्रले निर्णय गरेलगत्तै जिल्ला, क्षेत्र, नगर, पालिका समितिले विरोध गरेको उदयले बताए ।
तल्लो तहका नेताहरूको मनोविज्ञानबारे उदयले भने, ‘जिल्ला, वडा, नगर, क्षेत्रका नेता/कार्यकर्ताले प्राइमरी चुनाव गरे बहिष्कार गर्ने भन्नुभएको छ । जिल्लाकै सबैले यो अहिले ठिक हुँदैन भनेपछि केन्द्रले मान्नुपर्छ । केन्द्रले भन्दा यहाँको वस्तुस्थिति मैले बढी बुझेको हुन्छु । यो अहिले नगरौं भनेपछि गर्नुहुँदैन ।’
प्रारम्भिक मतदानको आवश्यक प्रबन्ध रुपन्देही उपचुनाव परिचालन समितिले गर्ने राप्रपाले निर्णय गरेको छ । प्रारम्भिक मतदानका मतदाता केन्द्रले निर्धारण गरेको छ । संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा कार्यसमिति सदस्य पदाधिकारी तथा सदस्य मतदाता हुनेछन् ।
यही क्षेत्रमा रहेका उपमहानगर, नगर, गाउँपालिका र वडा समितिका पदाधिकारी तथा सदस्य प्रारम्भिक मतदाता हुनेछन् । रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला र केन्द्रीय सदस्यहरू मतदाता बन्न पाउने छन् ।
पार्टीले प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णयसँगै यो पद्धतिका अवगुणमा राप्रपाका नेता/कार्यकर्ताले बहस सुरु गरेका छन् ।
केन्द्रीय सदस्य जनकराज पाठक प्रारम्भिक मतदान प्रणाली खर्चिलो पद्धति हुने दाबी गर्छन् । उम्मेदवारहरूले पहिलो चरणमै (प्राइमरीमा) ठूलो प्रचार र लगानी गर्नुपर्ने उल्लेख गर्दै पाठकले प्रतिस्पर्धामा उत्रन ठूलो धनराशि खर्च गर्नुपर्ने धारणा राखे । पार्टी सदस्यहरूबीच तीव्र प्रतिस्पर्धा हुँदा विभाजन ल्याउने उनको तर्क छ ।
केन्द्रीय सदस्य पाठकको विश्लेषण छ, ‘एउटै पार्टीका सदस्यहरूबीच तीव्र प्रतिस्पर्धा हुन्छ । यसले दलभित्र गुटबन्दी, वैमनस्य र लामो समयसम्मको विभाजन निम्त्याउन सक्छ ।’
प्राइमरी इलेक्सनमा मतदाताको रुचि खासै नहुँदा अधिक चरमपन्थी विचारधारा बोकेका उम्मेदवार विजय हुने विश्लेषण पाठक गर्छन् । प्राइमरीमा उम्मेदवारले नीतिभन्दा प्रचार र आफ्नो छविमा ध्यान केन्द्रित गर्दा वैचारिक वैचारिक नीति, सिद्धान्त छायामा पर्ने नेताहरू यो पद्धतिको अवगुण रहेको बताउँछन् ।
लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवार चयन र मातहतका संरचनालाई थप बलियो बनाउने उद्देश्यले प्रारम्भिक मतदानबाट छनोट गर्ने निर्णय गरिएको राप्रपा प्रवक्ता गोपाल दाहाल बताउँछन् ।
‘जिल्ला तहलाई अधिकार दिएर स्वच्छ प्रतिस्पर्धा गर्न लागिएको हो । आन्तरिक मतदान हुँदा वैमनस्य राख्नुपर्ने कारण छैन’ दाहाल भन्छन्, ‘केन्द्रको निर्णय स्वीकार नगरी केन्द्रले बनाउने उम्मेदवार नै चाहनुहुन्छ भने त के भन्न सकियो र ?’
प्रतिक्रिया 4