
१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ ।
असार १९ मा कार्यसम्पादन समितिको बैठकले भदौको दोस्रो साता केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो ।
कार्यसम्पादन समितिले गरेको समय अनुसार केन्द्रीय समिति बैठक बस्न सकेन भने नयाँ मिति पनि सार्वजनिक गरिएको छैन ।
बैठक बस्न नसकेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट पक्ष रुष्ट बनेको छ । महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनका निर्णय विरुद्ध चरणवद्ध वक्तव्य निकाल्दै आएको छ ।
अध्यक्ष लिङ्देनले नेताहरूलाई पदमुक्त गरेपछि त्यस विषयमा छलफलको लागि असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गरिरहेको छ ।
महामन्त्री राणाले कार्यसम्पादन बैठकको समेत माग गरेर अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए ।
पार्टीभित्रका समस्याहरू समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउन उनको माग थियो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्षबाट कुनै प्रतिक्रिया प्राप्त भएन । समस्याहरू सम्बोधन हुन सकेन । जबकी पार्टीभित्रको प्रजातन्त्र, विधिवत संचालन, परिचालन, एकता र भविष्यलाई लिएर देशव्यापी चिन्ता र चासो बढ्दो छ ।’
पार्टीभित्र संकट रहेको जिकिर गर्दै असन्तुष्ट पक्षले बैठकको माग गरेपनि अध्यक्ष लिङ्देनले तत्काल बैठक आव्हान नगर्ने भएका छन् । पार्टी महाधिवेशनउन्मुख भएकाले पूर्व निर्धारित समयमा केन्द्रीय समितिको बैठक बस्न नसकेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए ।
‘असोज मसान्तसम्म जिल्ला अधिवेशन गरिसक्ने भनेर कार्य सम्पादन समितिले निर्णय गरेको छ । जिल्ला अधिवेशनको तयारी, स्थानीय तहको अधिवेशन, सक्रिय सदस्यता वितरण गर्ने काममा पार्टी लागेको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने,‘सबै केन्द्रीय सदस्यहरू अधिकांश यतिखेर जिल्ला तिर हुनुहुन्छ । कार्यसम्पादनमा बैठकमा उहाँहरू पनि बसेर निर्णय भएको हो । तर आवश्यकता पर्यो भने बिचमा बस्न सकिहाल्छ नि ।’
राप्रपाले नियमित समयमा महाधिवेशन गर्दा मंसिरभित्र नयाँ समिति ल्याउनुपर्ने हुन्छ । तर, त्यस अवधिमा महाधशिवेन नहुने नेताहरूले बताउँदै आएका छन् ।
तल्लो तहको अधिवेशनको क्रममा पार्टी सक्रिय रहेकाले छिट्टै बैठक बस्ने अवस्था नरहेको संस्थापन पक्षका नेताहरूले जानकारी गराएका छन् ।
बैठक छल्न र टार्न पर्ने कारण नरहेको बताउँदै प्रवक्ता श्रेष्ठले भने,‘अब अधिवेशन तिर लाग्न पर्यो । तल्लो तहको अधिवेशन समयमा सकिएन भने निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्नै पर्दछ ।’
संस्थापन पक्षको भनाइ अनुसार असोज मसान्त अघि केन्द्रीय समितिको बैठक बस्ने अवस्था छैन । पार्टीले बनाएको कार्यतालिका अनुसार तल्लो तहको अधिवेशनमा समयमा सकिएन भने म्याद थपको निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष लिङ्देन पक्षका नेताहरूको भनाइ छ ।
पार्टी बैठक अनिश्चित बनेपछि अर्को पक्षका नेताहरू असन्तुष्ट बनेका छन् । महामन्त्री राणाले पार्टी बैठक बोलाउन पटक पटक अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएपनि आव्हान नगरेको भन्दै गुनासो पोखे । राणाले अनलाइनखबरसँग भने,‘बैठक बोलाउन भनिरहेका छौं । नबोलाएपछि के गर्ने त?’
अनुशासन समितिमा संयोजकबाट नवराज सुवेदीलाई हटाएपछि विकसित हुँदै आएका घटनाक्रमले राप्रपामा विवाद चुलिएको छ ।
राजसंस्था पुर्नस्थापना समितिको संयोजक रहेका सुवेदीले नेतृत्व गरेको अनुशासन समितिको संयोजकबाट उनलाई हटाएर अध्यक्ष लिङ्देनले रोशन कार्कीलाई नियुक्त गरेका छन् । अध्यक्ष लिङ्देनले उपसभापति मुकुन्दश्याम गिरी र प्रवक्ता सगुन लावतीलाई पनि पदमुक्त गरेका छन् ।
राप्रपामा विवादको अर्को कारण युवा संगठनको काठमाडौंको अधिवेशन बनेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको २८ साउनमा हुन लागेको काठमाडौं अधिवेशन भाडिएको थियो ।
अधिवेशनमा हो हल्ला भएपछि अध्यक्ष लिङ्देनले स्थगित गर्न निर्देशन दिएका थिए । तर, अर्को पक्षले नयाँ समिति गठन गरेको थियो । उक्त घटनामा एकले अर्को पक्षलाई दोषारोपण गर्दैै आएका छन् ।
अधिवेशनमा हुलदंगा गरेको भन्दै चार जनालाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया सुरु गरिएको छ ।
केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, काठमाडौं ४ का अध्यक्ष रिद्धिप्रताप राणा र असन्तुष्ट पक्षले युवा संगठन काठमाडौंको जिल्ला अध्यक्ष बनाएका ज्योति लामालाई स्पष्टीकरण सोधिएको छ । उनीहरूले स्पष्टीकरण दिइसकेका छन् ।
अर्कोतर्फ, पदमुक्त उपाध्यक्ष गिरीको गृहजिल्ला सुर्खेतमा पार्टीहित विपरीत कार्य गरेको भन्दै थप चार नेतालाई पनि स्पष्टीकरण सोधिएको छ ।
सुर्खेतमा पार्टी कार्यालय तालाबन्दी गर्न उक्साएको आरोपमा केन्द्रीय सदस्य जनक सिंह, भिमबहादुर शाही र नेता प्रेम बिसीलाई स्पष्टीकरण सोधिएको छ ।
सुर्खेतमा लक्ष्मी कुमारी सार्कीले अनधिकृत रुपमा कार्यसमितिको बैठक राखेको कारण देखाउँदै उनलाई पनि स्पष्टीकरण सोधिएको छ ।
पार्टी महाधिवेशन उन्मुख भएसँगै दुई कित्तामा नेताहरू देखिएका छन् । दुई समूहमा रहेका नेताहरूको छुट्टा छुट्टै बैठक समेत बस्न थालेको छ ।
प्रतिक्रिया 4