+
+
Shares

२०० वर्षदेखि लोकप्रिय रहेको ‘पोल्का डट’ फेसन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९८८ मा राजकुमारी डायनाले रोयल आस्कटमा पोल्का डट पहिरन लगाएकी थिइन् भने अहिले क्याथरिनले पनि सोही शैली अपनाएकी छिन्।
  • पोल्का डट फेसन १९औं शताब्दीमा नकारात्मक दृष्टिले हेरिन्थ्यो तर अहिले सेलिब्रेटी र डिजाइनरहरूले यसलाई लोकप्रिय बनाएका छन्।

सन् १९८८ मा राजकुमारी डायना जब रोयल आस्कटमा पुगिन्, त्यहाँ उनको पोल्का डट (थोप्ला) भएको पहिरन र आकर्षक टोपीले सबैको ध्यान खिचिरहेको थियो ।

त्यसको करिब तीन दशकपछि सोही घोडा दौड कार्यक्रममा वेल्सकी राजकुमारी क्याथरिनले पनि आफ्नी दिवङ्गत सासूको जस्तै पहिरन लगाएर गएकी थिइन् । त्यसबेला पनि माहोल उस्तै भयो ।

डिजाइनर अलेस्सान्द्रा रिचले बनाएको त्यो लुगाको घाँटी लामो थियो । त्यसमा मुजा परेको डिजाइन पनि थियो । तर खास चैं कहिल्यै पुरानो नलाग्ने थोप्ला (डट) को बुट्टा पनि थियो ।

यी उदाहरण दिनुको कारण, फेसन इतिहासमा पोल्का डटको लोकप्रियता हो । जुन राजपरिवारदेखि सेलिब्रेटीहरूसम्म ठोकिन्छ । अनि त्यसबेला पनि पोल्का डट उस्तै प्रख्यात थियो, अहिले पनि यो उस्तै छ ।

गत जुलाईमा लस एन्जलसमा ‘विपन्स’ फिल्मको प्रिमियरमा अभिनेत्री जुलिया गार्नरले गुच्चीको क्रुज २०२६ सङ्ग्रहबाट एउटा काँधमा मात्र लगाइने सानो पोल्का डट भएको गाउन लगाएकी थिइन् ।

त्यसको एक दिनअघि रोज बायर्नले ‘प्लाटोनिक’ को दोस्रो सिजनको प्रिमियरमा बर्नाडेट नामक ब्रान्डको कालो र सेतो पोल्का डट भएको पहिरन लगाएकी थिइन् ।

यसबाहेक हेली बीबर, रिहाना र एएसएपी रक्कीले पनि हालै पोल्का डट फेसनमा सजिएर खिचेका केही फोटोहरू शेयर गरेका थिए । यता फेसनमाथि लेख्ने चर्चित भोग म्यागजिनले त हालो समयलाई ‘पोल्का डटको ग्रीष्म ऋतु’ भनेर घोषणा नै गरेको छ ।

त्यस्तै सामाजिक सञ्जाल पिन्टरेस्टले यसलाई शरद ऋतु २०२५ को शीर्ष प्रचलनमध्ये एकको रूपमा नाम दिएको छ । सो प्लेटफर्मका अनुसार ‘पोल्का डट पहिरन’ अघिल्लो
वर्षको तुलनामा १,०२६ प्रतिशतले वृद्धि भएको छ । अनि ‘पोल्का डट नङ’ १,२९६ प्रतिशत ले बढेको छ ।

फेसन उद्योगमा यति धेरै प्रख्यात पोल्का डटलाई सुरुवाती समयमा नकारात्म दृष्टिले हेरिन्थ्यो ।

दागयुक्त विगत

राष्ट्रिय सङ्ग्रहालय स्कटल्यान्डमा आधुनिक र समकालीन डिजाइनका प्रमुख क्युरेटर जर्जिना रिप्लेका अनुसार औद्योगिक क्रान्तिका समयमा हातले काम गर्ने तरिकाबाट मेसिनमा सरेपछि पहिलो पटक पूर्णरूपमा गोलो र समान दूरीका थोप्लाहरू बनाउन सम्भव भयो ।

त्यसले गर्दा १९औं शताब्दीमा बुट्टा भएका कपडाहरूको माग बढ्यो । त्यसै समयमा सन् १८४० को दशकतिर युरोप र संयुक्त राज्य अमेरिकाभर चेक पोल्का नृत्यको लहर चल्यो । पोल्का नाम धेरै लोकप्रिय सामानहरूसँग जोडिएको थियो । तर यो कपडाको बुट्टासँग जोडिएर आजसम्म आइपुगेको छ ।

यद्यपि धेरै शताब्दीअघि कुनै पनि प्रकारका थोप्लाहरूलाई शङ्काको दृष्टिले हेरिन्थ्यो । प्राय: नकारात्मक दृष्टिले । उनै रिप्ले पनि प्लेग, कुष्ठरोग, बिफर, सिफिलिस र दादुरा जस्ता रोगहरूबाट हुने घाउहरूसँग मिल्दोजुल्दो भएकाले थोप्लाहरूलाई खराब स्वास्थ्य, सङ्क्रमण र अस्वच्छतासँग जोडेर हेर्ने गरिन्थ्यो ।

यो सोच १९औं शताब्दीको सुरआततिर मात्र फेरिएको थियो । किनकि प्रविधिमा आएको विकासले बुट्टाको अझ राम्रो प्रस्तुतीकरण भएको थियो । जसले गर्दा यस डिजाइन भएका कपडालाई आधुनिकतासँग जोडेर हेरिन थालियो ।

मान्छेहरूको स्वभाव नै सबैभन्दा नयाँ फेसनको लुगा लगाउन चाहने हुन्छ । यही कारण मेसिनले बुनेका पोल्का डट भएका कपडाहरू समाजका धनी महिलाहरूमाझ लोकप्रिय बन्न पुगेको थियो ।

त्यसमा अन्य केही घटनाहरूको भूमिका छ ।

जस्तो: सन् १८२७ मा न्यु योर्कको एक म्युजिमको फेसन प्लेट नामक कार्यक्रम एउटी महिलाले गुलाबी र कालो पोल्का डट भएको फ्रक लगाएकी थिइन् । त्यसले पनि तत्कालीन समाजमा पोल्का डटको प्रभाव छाडेको थियो ।

सन् १९२६ की मिस ओक्लाहोमा र सोही वर्षको मिस अमेरिका प्रतियोगिताकी विजेता नोर्मा स्मलवुडले प्रतियोगितामा पोल्का डट भएको स्विमसुट लगाएकी थिइन् । अनि त्यसको दुई वर्षपछि अर्थात् सन् १९२८ मा वाल्ट डिज्नीले मिन्नी माउसलाई रातो पोल्का डट भएको लुगा र मिल्दो रिबनमा देखाएको थियो ।

यीकारण १९२० को दशकमा पोल्का डट प्रख्यात हुन गयो । त्यसपछिका हरेक दशकको पप संस्कृतिमा पोल्का डट देखिँदै आइरहेको छ ।

उदाहरणका लागि, सन् १९४२ को फिल्म ‘वुमन अफ द इयर’मा क्याथरिन हेपबर्नको कालो र सेतो पोल्का डट भएको पेन्टसुट चलचित्रको सबैभन्दा यादगार फेसन पलहरूमध्ये एक थियो । त्यस्तै १९५० को दशकमा मर्लिन मुनरो, १९६० को दशकमा ट्विगी, १९८० को दशकमा राजकुमारी डायना र प्रिटी वुमन (१९९०) फिल्म आदिले पनि पोल्का डटलाई आजको स्थानमा ल्याउन ठूलो भूमिका खेले ।

त्यससँगै ब्रान्डहरूले पनि यसलाई लोकप्रिय बनाउन भूमिका खेले ।

उदाहरणका लागि, जापानी डिजाइनर रेई कावाकुबोले स्थापना गरेको कम डेस गार्कोंस प्लेले पोल्का डट भएको टिसर्ट र जुत्तालाई लोकप्रिय फेसन वस्तुमा परिणत गरेको छ । त्यसमाथि जापानी कलाकार यायोई कुसामाले त आफ्नो जीवनभर पोल्का डटलाई लिएर काम गरिन् । जसले उनलाई जीवित कलाकारमध्ये सबैभन्दा धनिमध्येको एक बनायो ।

हालको अवस्था

अहिले पनि पोल्का डट फेसनमा आउने जाने गरिरहेको छ । विशेष गरी यसलाई अहिले सेलिब्रेटीहरूले प्रख्यात बनाउने काम गरिरहेका छन् । अनि फेसन डिजाइनरहरूले समेत यसमा विभिन्न फरकफरक डिजाइन ल्याइरहेका छन् । यसमा भिन्नभिन्न तरिकाले डिजाइन गर्न सकिन्छ ।

मुलत: पोल्का डट लुगाले लुक्सलाई ग्राफिकल र आकर्षक बनाउँछ । यसले सन्तुलन देखाउँछ । यसका भिन्नता र आकारहरूले मान्छेहरूलाई सजिलै प्रभाव पार्न सक्छ । यी विशेषताका कारण पोल्का डट फेसनमा व्यापक परिचित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?