+
+
Shares

‘आमा, म नआउने बेलासम्म तपाईंलाई केही नहोस् है’ दुनियाँलाई रुवाउने एक संवाद

मनिषा थापा मनिषा थापा
२०८२ भदौ १८ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरेक दिन करिब ३५०० युवा रोजगारको खोजीमा विदेश जान्छन् र यसले नेपाल वृद्धहरूको देश बन्ने चिन्ता बढाएको छ।
  • सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा नातीले हजुरआमालाई \'म टन्नै कमाएर आउँछु\' भन्दै विदा लिएको दृश्यले धेरैलाई भावुक बनाएको छ।

लाउनेखाने र रमाउने उमेरका नाति रुँदै भन्छन्, ‘आमा म नआउने बेलासम्म तपाईंलाई केही नहोस् है । म टन्नै कमाएर आउँछु ।’

यतिबेला उनले बुढ्यौली उमेरकी हजुरआमालाई अंगालो हालेका छन् । केस सेतै भएकी, शरीर कुप्रो परेकी हजुरआमा मायालु भावमा भन्छिन्, ‘बाँची बस्छु अब म, भगवान मेरो नातिसँग भेट होस् ।’

एक कारुणिक भिडियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल छ । कलिलो उमेरको नाती घर छाड्दैछन् । जीवनका आखिरी दिनहरू बिताइरहेकी हजुरआमा ‘नाती फर्केर आउने बेलासम्म पर्खी बस्ने’ आश्वसन दिँदैछिन् ।

थाहा छैन, नाती फर्केर आउँदा के उनलाई सञ्चो–सुविस्ता होला ? परदेशमा पसिना बगाएर फर्किएका नातीले हजुरआमालाई उसैगरी अंगालोमा बाँध्ने मौका मिल्ला ? यो निरुत्तर विछोडको भिडियोले धेरैलाई रुवाएको छ । त्यसैले त धेरैले कमेन्टमा लेखेका छन्, ‘कस्तो दुःखलाग्दो, कति विवश !’

कमेन्टमा धेरैले मन छुने भावुक पोस्ट भनेका छन् । कतिले यो भिडियोको जस्तै व्यथा आफूले भोगेको भनी सुनाएका छन् । कतिले यस्तो बाध्यता बनाउने नेताहरू हुन भन्दै गाली गरेको देखिन्छ ।

जसमा एउटा कमेन्ट छ, ‘ कस्तो असल नाति । हजुर आमालाइ कतिधेरै माया गरेको। म नआइनजेल मेरो हजुआमालाई केही नहोस् । म धेरै पैसा कमाएर आउछु ल । न रोइ बस्नु भनेर विदेश लाग्छ । यस्तै माया गर्ने सबैका नातिहरू हुन भन्ने चाहन्छु ।’

अर्को कमेन्ट छ, ‘ देशको नेतृत्व ठिक नभएपछि गरिब जनताले दु:ख पाउनुपर्ने बाध्यता ।’

यो कहानी एउटा परिवारको मात्र होइन । घर-घरको कहानी भएको छ । हजारौं नेपाली युवाहरूको दशैं हरेक वर्ष परदेशमै बिचल्लीमा बित्छ ।

महंगी, राजनितिक अस्थिरता, रोजगारको अवसर नहुनु, महंगी, न्यून आम्दानी राजनीतिक अस्थिरता र भविष्यप्रतिको अनिश्चितता जस्ता कारणले दिनहुँजसो सैयौं युवाले घर छाड्दैछन् । युवाको ठूलो संख्या बढिरहँदा नेपाल वृद्धहरूको देश हुने चिन्ता बढेको छ । तथ्यांक भन्छ, ‘हरेक दिन ३५00 हाराहारी युवा विदेशिदैछन् ।

अहिले जतिबेला जाँदा पनि विमानस्थलको प्रस्थान कक्ष बिहानैदेखि भरिभराउ नै देखिन्छ । कतार, दुबई, मलेसिया र जापान जाने विमानका लागि युवाहरू लामबद्ध छन् । भारी झोला, अपार आशा र आँसुमा भिजेका अनुहार हेर्दा यिनको मनको कथा सजिलै बुझ्न सकिन्छ ।

विमानस्थल पुग्दा प्रायः एउटै दृश्य देखिन्छ-युवाहरू उत्साह र डर मिसिएको भावनामा विदा हुन्छन्, आमाबुबा र नातेदारले अश्रुपूर्ण प्रार्थना गर्छन् । ‘सावधानीका साथ काम गर, छिट्टै फर्कनू’ भन्ने वाक्य विमानस्थलमा हरेक दिन दोहोरिन्छ ।

यसरी देशको श्रमशक्ति र भविष्य बोकेका युवाहरू निरन्तर बाहिरिँदा गाउँहरू खाली हुँदै गएका छन् । खेतबारी बाँझिन थालेका छन्, वृद्धवृद्धा र बालबालिका मात्र गाउँमा छन् । अब शहर पनि उस्तै अवस्थामा पुगेको छ ।

पहिला छोराछोरी विदेशबाट भेट्न आउथे भने अहिले उनीहरूलाई भेट्न भिसा लगाएर वर्षौं कुरेर जानुपर्ने अवस्था छ ।

विदेशमा दुःख बेग्लै

वैदेशिक रोजगारीले कयौँ नेपालीको घरमा धन भित्र्याए पनि यसको अर्को पाटो अत्यन्तै भयावह छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार २५५ नेपालीले वैदेशिक रोजगारी क्रममा ज्यान गुमाए । यो वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता प्रदान गरेकाहरूको तथ्यांक मात्रै हो । जसमा श्रम स्वीकृति लिएर गएका र मृत्युपछि शव नेपाल ल्याइएका मात्र समेटिएका छन् ।

यसरी मृत्यु हुनुको कारण जसमा सबैभन्दा बढी नेचुरल डेथ अर्थात् प्राकृतिक मृत्यु थियो । त्यसपछि कार्डियाक एरेस्ट, ट्राफिक एक्सिडेन्ट, सुसाइड, वर्कप्लेस एक्सिडेन्ट, हर्ट एट्याकजस्ता कारण विदेशमा नेपालीको मृत्यु हुने गरेको देखिन्छ ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?