+

छोरीको पहिलो महिनावारी, के सिकाउने ?

सामान्यतया महिनावारी सुरु हुने उमेर १३ वर्ष हो । तर खानपान, बदलिंदो जीवनशैली र वातावरणका कारण अहिले ११-१२ वर्षकै उमेरबाट बालिकाहरुमा महिनावारी सुरु हुने गरेको छ ।

सर्वप्रथम महिनावारी जुनसुकै समयमा हुन सक्ने भएकाले प्याडको प्रयोग गर्ने तरिका सिकाउनुपर्छ । महिनावारी सुरु हुने उमेरमा प्रवेश गरेपछि ब्यागमा प्याड राखिदिने गर्दा राम्रो हुन्छ ।

Advertisement

महिनावारी भएपछि लामो अवधिसम्म प्याड लगाउँदा कीटाणुको संक्रमण हुन सक्ने हुँदा दुई-दुई घण्टामा फेर्नुपर्छ भनेर सिकाउनुपर्छ ।

राम्रो प्याड, ट्यापुन र महिनावारीकपका बारेमा पनि जानकारी दिनुपर्छ । ती सामग्रीहरु घरमै ल्याएर राखिदिनुपर्छ ।

कहिलेकाहीं रगतको स्रावले प्याडदेखि अण्डरवेयरसम्म भिज्ने हुन सक्छ । त्यसैले, स्कुल पठाउँदा अर्को एउटा अण्डरवेयर पनि साथमा लैजान सिकाउनुपर्छ ।

अत्यधिक पेट दुखेको छ भने सहेर बस्न हुँदैन भनेर सिकाउनुपर्छ । यसको समाधानको लागि पेनकिलर खान सकिन्छ यसले दुखाइ कम गर्छ र कहिलेकाहीं खाँदा खासै फरक पर्दैन । तातो, झोलिलो र पोषिलो खानेकुरा खानमा जोड दिने र हट वाटर ब्यागले पेटमा सेक्न पनि सकिन्छ ।

यौनसँग सम्बन्धित परिवर्तन सामान्य हुन् । आफूमा भइरहेको परिवर्तनबारे खुलेर भन्न सिकाउने, त्यसको अर्थ बुझाउने र संकोच मान्न हुँदैन भन्ने जस्ता कुरा सिकाउँदा उनीहरुमा सचेतना र सहजता आउँछ ।