
२० भदौ, काठमाडौं । बसन्तपुर दरबार परिसरमा इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कन्याहरुको सामूहिक पूजा गरिएको छ । विहीबार विधिपूर्वक लिंगो ठड्याएपछि शुक्रबार बिहान कुमारीको प्रतीकको रुपमा कन्याहरुको सामूहिक पूजा गरिएको हो ।
नेपालमा जीवित देवी कुमारीहरूलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेकाले हरेक वर्ष साना नानीहरुलाई सम्मान तथा पूजा गरिन्छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । सोही विश्वासका साथ स्थानीय आफ्ना सन्तानहरुलाई कुमारीको जस्तै पहिरनमा सजाएर पूजास्थलमा लगेका थिए । कन्याहरुलाई पूजा गरी दानदक्षिणा गरिएको थियो ।
नेवारी समाजमा वेलविवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानी कन्या पूजा गरिन्छ ।
इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान गरिन्छ । कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मनाइन्छ । ती रथहरुलाई तल्लो टोल (कोहने), माथिल्लो टोल (ठहने) र बिचको टोल (नानिचा) मा रथ परिक्रमा गराइन्छ । नानिचाको दिन लिङ्गो ढालेर बागमतीमा सेलाएपछि इन्द्रजात्रा समापन हुन्छ ।
प्रतिक्रिया 4