
News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको लोकप्रिय सरु संगीत घरले आफ्नो चौथो वार्षिक उत्सवमा 'सरु संगीत राष्ट्रिय पुरस्कार' स्थापना गरी महिला कलाकारलाई पुरस्कृत गर्न थालनी गरेको छ।
- पुरस्कार स्थापना गर्ने निरौला परिवारले अक्षय कोष बनाएर वार्षिक रूपमा ४० वर्ष उमेर पार गरेका महिला कलाकारलाई २५ हजार ५५५ रुपैयाँ पुरस्कार दिने व्यवस्था गरेको छ।
- पुरस्कार प्राप्त गायिका कविता आलेले पुरस्कार राशिको आधा रकम संस्थालाई छाड्ने घोषणा गर्दै निरौला परिवारप्रति आभार व्यक्त गरेकी छिन्।
कार्यक्रमको थालनी पुरस्कृत गायिकाको एउटा गीतबाट गरिने घोषणा हुन्छ। त्यसलाई गाउन मञ्चमा आउँछिन् लोकप्रिय सरु संगीत घरकी शिष्या सानी नानी। उनी निर्धक्कसँग पूर्वेली भाका हाल्छिन् :
वारि वन जल्यो पारि वन जल्यो जलेन रानी वन,
पहरा भए रसिने थियो निष्ठुरी तिम्रो मन।
…. निष्ठुरी तिम्रो मन मेरो लै लै निष्ठुरी तिम्रो मन।
पचास बसन्त पार गरेका पूर्वतिरका आमन्त्रित दर्शक–श्रोताले गीतसँगै आफ्नो किशोरावस्थाको घर–गाउँ सम्झेर मुखामुख गरे, मुस्कुराए र त्यसैत्यसै भित्रभित्रै रमाए भनेर अनुमान लगाउन गाह्रो थिएन। गीतमा लठ्ठ तिनीहरूको विगत विचरण कति सुखद् थियो होला र कति दु:खद् पनि। ती सबैलाई के गरौं कसो गरौं भए जस्तो लाग्थ्यो। झन् सत्तरी बसन्त पार गर्नेहरू त आफ्नो युवावस्थामै फर्कन पुगे। कोही घाँस काट्न जङ्गल पुगे, कोही परेली लगाउन; कोही मेला बजार पुगे त कोही गोठालो बन्न। उमेरको एउटा कालखण्डमा यो भाकामा नबहकिएका पुराना पूर्वेली विरलै होलान्।
कम्तीमा, नेपालमा इलामको परिचय दिइरहनुपर्दैन। विज्ञापनको शैलीमा भन्दा- नामै काफी छ। त्यही इलामको पूर्वी भागमा नामसालिङ भन्ने एउटा गाउँ छ। विक्रम सम्वत् १९०० को उत्तरार्धदेखि २००० को दोस्रो दशकसम्म त्यस गाउँका ढकाल र नेपालहरूको चकचकी थियो, ख्याति चारैतिर फैलिएको। तिनलाई पछ्याउँदै थिए निरौलाहरू। त्यही निरौला परिवारका प्रतिनिधि पात्र हुन् कोमल निरौला। गीतकार, गायक तथा संगीतकारका रूपमा उनको ख्याति राष्ट्रियस्तरसम्मै चुलिएको छ। इलामका त उनी एक जबरजस्त गहना नै हुन्।
गाउनमा हरे राम र बजाउनमा ताली बाहेकका विधामा मठ्ठु यो पंक्तिकारले समवयी कोमलहरूसँग किशोरावस्थादेखि नै संगत गर्ने अवसर पाएका कारण ऊ पनि संगीतमा रुचि राख्ने भयो। गृह जिल्लामा हुने अधिकांश सांगीतिक आयोजनामा हामी साथसाथै रह्यौं। वरिष्ठ संगीतकार तथा गायक अम्बर गुरूङलाई इलाम आमन्त्रण गरेर सार्वजनिक अभिनन्दन गर्दाको खुसी हामीसँग अझै कायम छ। गुरूङको त्यस प्रकारको अभिनन्दन शायद त्यो पहिलो थियो।
हामीले जिल्ला सदरमुकाममा सगौरव कोमल साँझ आयोजना गर्यौं। वर्षमा एकाध पटक हामी घरमा कोठे सांगीतिक सन्ध्यामा पनि जम्ने गर्थ्यौं। जागिरका क्रममा अन्यत्रबाट इलाम पुगेका संगीतमा रुचि भएका केही मित्रहरूलाई सीमित संख्यामा सहभागी गराउँथ्यौं। यसरी छेउमै बसेर कोमलले गाएका गीत सुन्नुको मजा बेग्लै हुन्थ्यो।
कोमलको सांगीतिक सक्रियतामा उनका सन्तान- डेनी, भीषण र झुमाले पनि लय मिलाउन थाले र समयक्रममा आ-आफ्नै परिचय बनाउन सफल भइरहेका छन्। यसै क्रममा राजधानीमा रहेर विभिन्न विद्यालयमा संगीत विषय शिक्षणरत डेनीले आफ्नी स्वर्गीय आमा सरस्वतीको नाममा ‘लोकप्रिय सरु संगीत घर’ नाम राखेर संगीत विद्यालय स्थापना गर्न पुगे। त्यस संगीत घरको चौथो वार्षिक उत्सव गत शनिवार सम्पन्न भयो।
त्यस वार्षिक उत्सवको मुख्य आकर्षण थियो ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ हस्तान्तरण। यसबीचमा कोमलको परिवारले आफ्नी स्वर्गीय धर्मपत्नी तथा आमाका नाममा एक अक्षय कोष स्थापना गरी त्यसबाट आएको ब्याज रकमबाट संगीत साधनामा लागेका चालीस वर्ष उमेर पार गरेका महिला कलाकारहरूमध्ये एकलाई वार्षिक रूपमा पुरस्कृत गर्ने तय गरे अनुरूपको थालनी कार्यक्रम थियो त्यो।
इलामको पश्चिममा पर्छ अर्को एउटा गाउँ एकतप्पा जसको नाम बसन्त बस्नेतको पछिल्लो उपन्यास ‘सिमसारा’ मा पनि उल्लेख भएको छ। त्यही एकतप्पाकी एउटी चेली पूर्वीय लोकलय गायनमा पाँच दशकयता स्थापित छन् मुलुकमा। उनी भन्छिन्, मेरो मावली पाँचथर हो। आमाको साथ लागेर मावल जाँदा माथि डाँडातिर पुग्दा चुथ्रो पहेंलै फुलेको हुन्थ्यो। त्यसको रस चुस्न भँमरा भुनभुनाइरहेका हुन्थे। उभिएर हेरिरहूँ जस्तो ! तर आमा हतार लगाउनुहुन्थ्यो, “यता डाका लाग्छ, छिटो आइज् !”
माथिमा माथि त्यो काली लेकमा केसरी फुलेको
फूल मात्र हो कि रस पनि छ कि भमरा भुलेको
…. भमरा भुलेको मेरो लै लै भमरा भुलेको।
त्यस भव्य समारोहमा पुरस्कृत हुनलागेकी कलाकारको गायकीको चर्चा गर्दै अर्की संगीतकर्मी गायिका लोचन भट्टराई भन्दै थिइन्, “पूर्वको लोकभाका गायकीमा दिदीको विशिष्ट स्थान छ। हिजोआज चर्चामा रहेको ‘फकाउँछ काफ्ले’ भन्ने गीतमा पनि दिदीको गायन शैलीको प्रभाव देखिन्छ। सुन्दा सरल सुनिने उहाँको स्वरमा एक प्रकारको विशेष माधुर्य छ, गलामा के हो के हो विशेषपन छ। म उहाँको गायनमा पूर्वेली लोकसंगीतको जननीको रूप पाउँछु।”
मधेशै ज्यानको लहरे पिपल भुइँ छोयो टुप्पैले,
न हाँस्न दियो न रुन दियो त्यो तिम्रो रुपैले,
…. त्यो तिम्रो रूपैले मेरो लै लै त्यो तिम्रो रूपैले।
बडो भावुक मुद्रामा प्रसिद्ध गायिका भट्टराईले भनिन्, “आफ्नो देशका कलाकारहरूको यस्तो सम्मान त राज्यको तर्फबाट सरकारले गर्नुपर्ने हो। तर थाहा छैन हामी कस्तो अवस्थामा आइपुग्यौं।” अनि लगत्तै आक्रोश पनि पोखिन्, “उता सरकारमा त आफ्नो बढाइँ गर्दै पहिले निवेदन चढाउनुपर्छ। धेरैको स्वाभिमानले त्यसो गर्न दिंदैन। यस्तो अवस्थामा कलाकारको सम्मान गर्ने एउटा परिवारको यस्तो पवित्र कार्यको म हृदयबाट सराहना गर्दछु, धन्यवाद दिन्छु।”
कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध संगीतकर्मी भरत जङ्गमबाट प्रशंसा पत्र र पुरस्कार ग्रहण गरेपछि भावुक हुँदै सरु संगीत पुरस्कारबाट पुरस्कृत पहिलो गायक कलाकार कविता आलेले भनिन्, “म त जानी–नजानी गाउँथें मात्रै तर मेरो गायनका बारेमा यहाँ बहिनी लोचनले गरेको व्याख्या सुनेर मैले मन थाम्न सकिनँ र रोएँ।”
उनले पनि राज्यका तर्फबाट सरकारले गर्नुपर्ने काम एउटा परिवारले गरेकोमा पुरस्कार स्थापना गर्ने निरौला परिवारप्रति आभार व्यक्त गर्दै भनिन्, “त्यसैले पुरस्कार राशिको आधा म यही संस्थालाई छाड्छु र आधा मात्रै लान्छु।”
उनको यो घोषणाको सम्मानमा दर्शक श्रोताले निकै बेर ताली बजाए। पुरस्कार राशि हाल २५ हजार ५५५ रहेको र आगामी दिनमा त्यसलाई बढाउँदै लैजाने सोच रहेको पुरस्कार स्थापना गर्ने परिवारले जनाएको छ। पुरस्कार व्यवस्थापनका लागि हाल तीन लाख रुपैयाँको अक्षय कोष स्थापना भएको र त्यसलाई पढाउँदै लगिने कोष संस्थापकका तर्फबाट जानकारी गराइएको थियो।
पुरस्कार वितरण समारोह औपचारिक रूपमा शुरु हुनु तीन घण्टा पहिलेबाटै लोकप्रिय सरु संगीत घरका प्रशिक्षार्थी कलाकारहरू आफ्ना सांगीतिक प्रस्तुतिले कार्यक्रमका निम्तारुलाई मनोरञ्जन गराइरहेका थिए। प्रशिक्षार्थीहरू सातदेखि सत्तरी वर्षसम्मका रहेको जानकारी दिइयो। बाल कलाकारहरूको लगन र वयस्कहरूको उत्साह प्रशंसायोग्य थियो।
सरु संगीत घरका शिष्यमा गृहिणी, सेवानिवृत्त सैनिक अधिकृत, चिकित्सकदेखि वडा सदस्यसम्म रहेछन्। तिनले आजको अति व्यस्त जीवन जिउन बाध्य मानिसको मानसिक दबाबलाई सहज निकास दिन संगीत सहायक हुने बताए। अनेक प्रकारका रोगको उपचारमा संगीत सहयोगी हुने चर्चा गरे।
त्यस कार्यक्रममा सहभागी भइरहँदा म अधिकतर विगत विचरण गरिरहेको थिएँ। कोमलले ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा’ भन्ने गीत सदरमुकाममा पहिलो पटक गाएर मनग्य चर्चा बटुलेको ६ दशक पुग्न लागेछ। उनी अझै सक्रिय छन् संगीत साधनामा। अरू व्यवहारका कुरा भए छोराछोरीले पालो दिएपछि विश्राम गर्दा पनि हुन्थ्यो।
२०२४/२५ सालतिर बच्चु कैलाश, नारायण गोपाल, अम्बर गुरुङ, दीप श्रेष्ठ आदिका चर्चित गीतहरू रेडियो नेपालले शनिवार दिउँसो फर्मायसी गीत कार्यक्रममा प्रसारण गर्थ्यो। स्कूल विदा हुने भएकाले हामी त्यो कार्यक्रम सुन्न पाउँथ्यौं। तर सुन्ने कहाँ ? घरमा रेडियो थिएन। सधैं अरूका घरमा गएर सुन्ने कुरा पनि भएन।
इलाम बजारको मालापथमा गुरूङ ठूल्दाइको चियापसल थियो। जसोतसो चना–चिउरा र चिया खाने पैसा जोहो गरेर खाजा खाने निहुँले ठीक समयमा हामी त्यस दोकानमा पुग्थ्यौं र खाजा खाँदै त्यहाँको रेडियोमा गीत सुन्थ्यौं। यसरी गीत सुन्ने मेरो सधैंको साथी हुन्थे अशोक देवान। उनी आफैं पनि राम्रो गाउँथे।
यसरी गीत सुनिरहेको एक शनिवार दिउँसो नारायण गोपालको गीत बजिरहेको थियो- जीवनदेखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर….। ठ्याक्क त्यही बेला सामने सडकमा एउटा लाश लिएर मानिस घाटतिर जाँदै गरेको देखियो। बुझ्दा थाहा भयो लाश बजारका एक राम्रो फूटबल खेलाडी दाइको रहेछ। तीन चार दिन पहिले उनी गोल खेलिरहेको देखेको ! पानीमा रुज्दै खेलेकाले ज्वरो आएर निमोनियाँले च्यापेपछि उनले यस संसारबाट विदा लिएका रहेछन्।
हामी स्कूलतिर गीति नाटक गर्ने गर्थ्यौं। एकछिन अलमल भयौं- त्यो कतै त्यस्तै गीति नाटक त होइन ? बजारतिरका साथीभाइ थिए मलामी जानेमा। हामी पनि उठ्यौं र तिनका पछि लाग्यौं। त्यो घटना पनि झल्झल्ती आइरह्यो। अरू त्यस्तै धेरै प्रसङ्ग सम्झनाको तरेलीमा देखिंदै हराउँदै गए।
औपचारिक कार्यक्रम सकिएपछि पनि कलाकारहरूको प्रस्तुति जारी थियो। घडीले ६ बजेको संकेत गर्यो। आयोजक परिवारसँग विदा मागेपछि पुरस्कृत गायिका कवितासँग पनि विदा माग्ने मेसोमा बधाई दिएँ। इलामेका नाताले मसँग भन्दैथिइन्- यसलाई मैले माइतीको दाइजोको रूपमा लिएकी छु। अनमोल गलाकी धनी कविता, तिमीले यसो भनेको सधैं सुन्न पाइरहूँ, शुभकामना !
बाटाभरि कानमा कविताको सुरिलो स्वर गुञ्जिरहेको थियो:
नर्कटे बेसी रमिते ढुङ्गा थकाइ मेटौंला
आजलाई भैगो दिन पनि गैगो सोमवारै भेटौंला।
….सोमवारै भेटौंला मेरो लै लै सोमवारै भेटौंला।
…. अर्को साल भेटौंला मेरो लै लै अर्को साल भेटौंला !
प्रतिक्रिया 4