
१८ भदौ, काठमाडौं । प्रतिनिधिसभामा हाल २७४ जना सदस्य रहेका छन् । ४ मंसिर २०७९ मा रुपन्देही–३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएपछि उक्त स्थान रिक्त छ ।
बाँकी २७४ जना प्रतिनिधि सभामा छन् । तर, बुधबार प्रतिनिधि सभाले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ अगाड बढाउन सकेन । कारण विधेयक अगाडि बढाउन आवश्यक एक चौथाइ सांसद अर्थात् ६९ जना समेत सभामा भेटिएनन् ।
प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपुरक संख्या यकिन गर्न माग गरे ।
सभामुखले तीन मिनेट घण्टी बजाएर गन्दा जम्मा ४९ जना सांसद मात्रै भेटिए । ४९ जना पनि सबै सभाकक्षमा थिएनन् । सभामुखले घण्टी बजाएपछि सभाकक्षमा प्रवेश गरेका थिए ।
‘तीन मिनेट घण्टी बजाइ गणपुरक संख्या यकिन गर्दा यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपुरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ४९ रहेकोले गणपुरक संख्या नपुग भएको देखिएकोले आजको कार्यसूचीको बाँकी कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँदछु,’ सभामुख घिमिरेले सभामै भने । यति भनेर सभामुख घिमिरेले बिहीबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित गरिदिए ।
नेपालको संविधानको धारा ९४ मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।
संविधानको धारा ९४ मा गणपूरक संख्यासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘…संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’
प्रतिनिधिसभा २७५ सदस्यीय छ । यसको एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित भए विधेयक अगाडि बढ्छ । तर, यति संख्या संसदमा नदेखिने समस्या पटकपटक देखिन्छ ।
यो व्यवस्था अनुसार सरकारले कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा गणपुरक संख्या नपुग्ने समस्या पटकपटक दोहोरिँदै आएको हो । यसअघि साउन ३० गतेको बैठकमा समेत गणपुरक संख्या पुगेको थिएन ।
प्रतिनिधि सभामा सत्तापक्ष दुई तिहाइ बहुमतमा छ । ६ साउन २०८१ मा सोही प्रतिनिधि सभामा विश्वासको मत लिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले १८८ मत पाएका थिए । प्रतिनिधि सभामा कांग्रेसको ८८ र एमालेको ७९ जोड्दा १६७ जना सांसद संख्या छ । यसबाहेक सरकारमा रहेका जनता समाजवादी पार्टीका ७, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र सांसद अमरेश कुमार समेत जोड्दा प्रतिनिधि सभामा सत्तापक्षमा रहेका सांसदहरूको संख्या १८९ पुग्छ । तर, सभामा एक चौथाइ सांसद् पनि उपस्थित नभएर कार्यसूची प्रभावित भएका उदाहरण छन् ।
गत साउन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गरेका थिए । प्रधानमन्त्रीको सम्बोधनपछि सभामा गणपुरक संख्याको प्रश्न उठेपछि गन्दा ६९ जना उपस्थित नरहेको यकिन भएपछि त्यसदिनको प्रतिनिधि सभाको बैठक समेत स्थगित भएको थियो ।
सांसदको मुख्य काम कानुन निर्माण गर्ने हो । सरकारले गरेका कामकारबाहीमा निगरानी गर्ने र गलत हुन लागे खबरदारी गर्ने हो । जनताका कुरा सदनमा उठाएर सरकारलाई सुनाउने र सम्बोधनका लागि पहल लिने हो ।
किसानले मल पाइरहेका छैनन् । मधेशमा पानी नपर्दा रोपाइँ हुनमा ढिलाइ भएको छ । चाडपर्वको समय सुरु भएसँगै कालोबजारी सलबलाएका छन् । कारागार र बाल सुधार गृहमा झडपका घटना भइरहेका छन् । बेरोजगारी बढ्दो छ । मुलुकमा रहेका यी यावत् समस्याबारे घोत्लिन छाडेर सांसद्हरू संसदीय गतिविधिमा कम उपस्थित देखिन्छन् ।
प्रतिक्रिया 4