११ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तोकिएको मितिमै चुनाव भयो भने अबको तीन/चार महिनापछि देशले नयाँ प्रधानमन्त्री पाउने छ । तर, प्रश्न अनुत्तरित नै छ– देशले अब कस्तो प्रधानमन्त्री पाउला ?
लोकतान्त्रिक देशहरूमा प्रायः चुनावअघि नै भावी प्रधानमन्त्री वा राष्ट्रपतिको सम्भावित उम्मेदवार थाहा हुन्छ । राजनीतिक दलहरूले चुनावमा जाँदाखेरि नै फलाना नेता सरकार प्रमुख बन्नेछन् भनेर जनतासँग भोट माग्छन् ।
जस्तो– छिमेकी भारतमा बीजेपीले गत वर्ष पनि नरेन्द्र मोदीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव लडेको थियो । भारतीय कंग्रेसले राहुल गान्धीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागेको थियो । जापानमा हालै सम्पन्न चुनावमा को नेता प्रधानमन्त्री बन्दैछ भन्ने जनतालाई लगभग पूर्वानुमान थियो ।
नेपालमा ०५१ सालको मध्यावधि चुनावमा एमालेले मनमोहन अधिकारीलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्ताव गरेको थियो । एमाले ठूलो दल बन्यो र ९ महिना अल्पमतको सरकार चलायो । मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्न सफल भए । केपी ओली त्यसबेला गृहमन्त्री बनेका थिए ।
आफ्नै सरकार ढलेर मध्यावधि चुनावमा गएपछि गिरिजाप्रसाद कोइराला अलोकप्रिय बने । ०५१ सालको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दलमा खुम्चियो । अन्ततः ०५६ को चुनावमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेर जनतासँग मत माग्यो र बहुमतको सरकार बनाउन सफल भयो ।

पहिलो संविधानसभा चुनावमा माओवादीले प्रचण्डलाई भावी प्रधानामन्त्री मात्र होइन, भावी राष्ट्रपतिकै रूपमा प्रचार गर्यो र होडिङ बोर्डहरू बनायो । यही कारण माओवादीका आलोकचकहरू कहिलेकाहीँ ‘भित्ते राष्ट्रपति’ भनेर प्रचण्डलाई जिस्क्याउँछन् । भलै, त्यसयताका सबै चुनावमा माओवादीले प्रचण्डलाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर चुनाव लड्दै आएको छ ।
नेकपा एमालेले पनि करिब १० वर्षदेखि अध्यक्ष केपी शर्मा ओलीलाई नै ‘भावी प्रधानमन्त्री’का रूपमा अगाडि सारेर चुनाव लड्दै आएको छ । कांग्रेसले यसअघि शेरबहादुर देउवालाई ‘भावी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि ०७९ सालको चुनावमा गठबन्धन गरेका कांग्रेस–माओवादीले भावी प्रधानमन्त्री आलोपालो गर्ने भनेर भोट मागेका थिए ।
अब को बन्ला प्रधानमन्त्री ?
आगामी चुनावमा कुन पार्टीले कसलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेर जनतामा भोट माग्लान् ? यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ ।

नेपाली कांग्रेसले शेबहादुर देउवालाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्छ या अरू कोही व्यक्तिको नाम अगाडि सार्छ ? कि कांग्रेस अझै पनि नेतृत्वको सवालमा अस्पष्ट नै बनेर चुनावमा जान्छ ?
अहिले युवाको हस्तक्षेप बढेका बेला कांग्रेसले गगन थापाको पुस्ताका नेतालाई ‘भावी प्रधानमन्त्री’ गर्न सक्छ ? अथवा, शेरबहादुर या पूर्णबहादुरलाई प्रधानमन्त्री बनाउनका लागि मत देऊ भनेर जनतालाई अपील गर्छ ?
हुन त कांग्रेसमा पार्टी शेखर कोइरालाले चलाउने, सरकार गगन थापाले चलाउने गरी छलफलसमेत चलिरहेको नेताहरू बताउँछन् । डा. शेखर कोइराला आफैं पनि प्रधानमन्त्रीका दाबेदार हुन् ।
नेकपा एमालेमा निरपेक्षरूपमा भावी प्रधानमन्त्री केपी शर्मा ओली नै अगाडि सर्ने निश्चित छ । तर, ओलीको नाम लिएर चुनावमा जाँदा भोट घट्छ भन्ने मत पनि एमालेभित्र छ । यदि ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि नसार्ने हो भने एमालेले देखाउने भावी प्रधानमन्त्री को ? विद्या भण्डारी ? ईश्वर पोखरेल ? या अरु नै कोही ?

अहिलेसम्म एमालेले केपी ओलीको भरपर्दो विकल्प दिन सकेको देखिँदैन । तर, भर्खरै सत्ताबाट बाहिरिएको एमालेका लागि केपी ओलीकै ‘फेस’ लिएर चुनावमा जाँदा सजिलो भने देखिँदैन । केपी ओलीलाई मन पराउनेहरू धेरै छन् तर थपिएका ८ लाख मतदातामा ओली अलोकप्रिय बनेका छन् । उनको लोकप्रियता ०७४ र ०७९ सालको जस्तो छैन ।
कतिपय मानिसहरूको अनुमान के छ भने आगामी चुनावमा कांग्रेस र एमाले मिलेर अघि बढ्ने सम्भावना छ । घोषित गठबन्धन नगरे पनि गुम्न लागेको शक्ति बचाउनका लागि चुनावमा एकले अर्कालाई सघाउने र चुनावपछि कांग्रेस–एमालेकै सरकार बनाउने तयारीमा पनि ओली र देउवा लागिरहेको सूत्रहरूको दाबी छ । तथापि दुवै पार्टीमा ओली–देउवाले सोचेको जस्तो नहुन पनि सक्छ ।

माओवादी भन्ने पार्टी यतिबेला छैन । माधव नेपाललगायतका दलसँग मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेको छ । यो पार्टीका नेता प्रचण्ड ‘भावी प्रधानमन्त्री’का अर्का दाबेदार हुन् । तर, यो दलमा प्रचण्डसँगै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावलजस्ता नेताहरू पनि छन् ।
प्रधानमन्त्रीमा नयाँ अनुहार खोजिरहेका जनतालाई यो पार्टीले अब नयाँ प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नेछ या उनै प्रचण्डको नाममा चुनाव लड्ने छ ? यो स्पष्ट भइसकेको छैन । के नेपाली कम्युनिस्ट पार्टीले भावी प्रधानमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठ, भीम रावल वा अरु कसैलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर भोट माग्न सक्ला ? कि प्रचण्डलाई नै विकल्प मानेर चुनावमा जाला ? यो प्रश्न पनि अनुत्तरित नै छ ।
तर, जनताले शेरबहादुर, ओली र प्रचण्डलाई एउटै डालोमा हालेर आलोचना गरिरहेको तथ्य पनि अविस्मरणीय नै छ ।

गत चुनावमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावमा भाग लिँदैछ । यो पार्टीले जेलमै रहेका रवि लामिछानेलाई नै भावी प्रधानमन्त्रीका रूपमा भोग माग्ने छ या डा. स्वर्णिम अथवा अरु कसैलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने छ ? यो पनि स्पष्ट भइसकेको छैन ।
विगतमा के पनि चर्चा चल्ने गरेको थियो भने बालेन र रवि लामिछाने मिल्नेछन् । तर, अहिलेसम्म त्यस्तो दृश्य अगाडि आइसकेको छैन । जेनजी आन्दोलनपछि बालेन शाहको अलोकप्रियता शुरु भएको छ । तैपनि उनी राजनीतिको खेलभन्दा बाहिर छैनन् ।
भदौ २४ पछि सुशीला कार्कीको ठाउँमा बालेनलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज पनि नसुनिएको होइन । आगामी चुनावपछि ‘बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ’ भन्ने आवाज पनि सुनिन सक्छ, तर यो आवाज कुन दलले उठाउँछ, स्पष्ट छैन । रास्वपाले बालेनलाई बोक्छ या बोक्दैन, त्यो पनि खुलिसकेको छैन । रवि लामिछाने कहिले जेलमुक्त होलान्, त्यो पनि स्पष्ट छैन ।

जेनजी आन्दोलनपछि राजनीतिमा आएको ध्रुवीकरणबाट केही नयाँ पार्टीहरू बनेका छन् । यसै सिलसिलामा माओवादीबाट अलग बनेका जनार्दन शर्मा, राम कार्की र सुदन किरातीहरूले डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन् ।
सम्भवतः यो दलले डा. बाबुराम भट्टराईलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने सम्भावना देखिन्छ । तर, यहाँ पनि बाबुराम नै किन ? जनार्दन शर्मा या अरु कसैलाई विकल्पमा रूपमा अघि सार्दा के हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ अहिलेको परिस्थितिमा ।
जेनजी आन्दोलनपछि पनि जेनजीहरूको दल यही नै हो भनेर स्पष्ट भइसकेको छैन । नयाँ–नयाँ पार्टीहरू त खुलेका छन् तर आगामी चुनावमा जेनजीको आधिकारिक प्रतिनिधित्व कुन दलले गर्ला ? यो स्पष्ट छैन ।
तथापि कुलमान घिसिङले बिजुलीको चिम चुनाव चिन्ह राखेर खोलेको ‘उज्यालो नेपाल पार्टी’ नै जेनजीको असली प्रतिनिधि पार्टी बन्ने सम्भावना देखिन्छ । त्यो अवस्थामा कुलमान घिसिङको नाम ‘भावी प्रधानमन्त्री’ का रूपमा अगाडि आउने सम्भावना देखिन्छ ।
चुनावमा जान निर्वाचन आयोगमा दल दर्ताको लागि ४ दिन समय थप गरिएको छ । रास्वपा र उनेपाबीच चुनावी सहकार्यदेखि पार्टी एकतासम्म हुने गृहकार्य अझै नरोकिएको खबरहरू पनि आइरहेका छन् ।
यस्तोमा लामिछानेलाई एकीकृत पार्टीको अध्यक्ष र घिसिङलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा अगाडि सार्ने सम्भावना पनि अझै सकिएको छैन ।

आगामी चुनावले कस्तो शक्ति सन्तुलन बनाउने छ भन्ने स्पष्ट छैन । कांग्रेस र एमालेले फेरि पनि आफूहरू नै ठूलो दल बन्ने सोचेको देखिन्छ । कसैको पनि बहुमत आउँदैन भनेर विश्लेषण गर्नेहरू पनि उत्तिकै छन् । तर, पुरानाहरू कमजोर हुने र नयाँ शक्तिको उदय हुने अनुमान पनि गरिँदैछ ।
यो स्थितिमा नेपाली जनताको परिवर्तनको चाहनालाई आगामी चुनावलेअनुमोदन गर्यो भने सिंहदरबारमा प्रधानमन्त्रीको कुर्सीमा विगतको भन्दा बेग्लै अनुहार नआउला भन्न सकिँदैन ।
पुरानै पार्टीबाट आइहाले पनि नयाँ व्यक्ति आउन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन । ओली, देउवा वा प्रचण्ड नै पो फेरि पनि आउने हुन् कि ? चुनावपछि नै थाहा हुनेछ ।
आखिर, जोसुकै आए पनि राजनीतिक दलहरूले जनतासँग भोट माग्न जाँदा दुईवटा चिज कोसेलीका रूपमा लिएरै जानुपर्ने हुन्छ– एउटा नीति, अर्को नेतृत्व ।
चुनावमा जाँदा घोषणापत्र लिएर जानैपर्ने हुन्छ । आगामी चुनाव जितेर के–के गर्ने ? देशलाई कुन बाटोमा लैजाने ?मतदानअघिदलको प्रतिवद्धतासहितको घोषणापत्र हेर्नुपर्ने हुन्छ ।
र, अर्को हो– नेतृत्व । जनतासँग भोट माग्ने पार्टीको नेतृत्व कस्तो छ ? उसले प्रत्यक्ष र समानुपातितर्फ कस्ता उम्मेद्वारहरू, कसरी छानेको छ ? ‘नेपोबेवी’ प्रयोग गरेको छ या योग्य एवं इमान्दारलाई उम्मेद्वार बनाएको छ ?अनि चुनावपछि सरकारको नेतृत्व कसले गर्नेवाला छ ? यी विषयहरू नेतृत्वसँग जोडिएका छन् ।
अब दलहरूको नीति र नेतृत्व दुवै हेरेरजनताले मतदान गर्ने छन् ।
प्रतिक्रिया 4