News Summary
Generated by OK AI. Editorially reviewed.- चोभार डाँडो काटिएको पौराणिक कथा अनुसार मञ्जुश्रीले खड्गले र श्रीकृष्णले सुदर्शन चक्रले पानी निकास गरेको बताइन्छ।
- भूगर्भीय अध्ययनले काठमाडौं उपत्यका करिब ३० हजार वर्षअघि विशाल ताल थियो र पानी निकास प्राकृतिक प्रक्रियाबाट भयो भनी देखाउँछ।
- लेखले विद्यालय पाठ्यक्रममा मिथक र विज्ञान छुट्याएर प्रस्तुत गर्नुपर्ने र वैज्ञानिक तथ्यमा आधारित शिक्षा आवश्यक रहेको उल्लेख गरेको छ।
कात्तिकको चौथो शनिबार । चोभारस्थित जलविनायक मन्दिर नजिकै बागमती किनारमा एक वृद्ध घाम तापिरहेका थिए । अनायासै उनलाई जलविनायक मन्दिर कति पुरानो हो भनेर सोधें । उनले मलाई एकछिन पुलुक्क हेरे र निधार खुम्च्याउँदै ‘धेरै पुरानो हो । उहिले भगवान मञ्जुश्रीले त्यो चोभार डाँडो खड्गले काटेर पानी बाहिर पठाएपछि नै यो मन्दिर बनेको हो’ भने ।
उनको कुरा सुनेपछि करिब ४५/४६ वर्षअघि कक्षा–८ को पाठ्यपुस्तकमा मञ्जुश्रीले चोभार डाँडो खड्गले काटेर काठमाडौं उपत्यकाको पानी बाहिर निकास दिलाएको किंवदन्ती सम्झन पुगें । पछि कतै श्रीकृष्णले सुदर्शन चक्रले त्यही डाँडो काटेको कथा पनि पढेको थिएँ ।
केहीबेरमा चोभारको पुलतर्फ लागें । त्यो पुलले ललितपुर र काठमाडौं जिल्ला छुट्याउँछ । त्यहाँ तस्बिर खिच्दै गर्दा विद्यार्थीको एक समूह आइपुग्यो । करिब ३५ वर्षका एक शिक्षकले बागमतीको साँघुरो खोंच देखाउँदै मञ्जुश्रीले त्यो डाँडो काटेको बताएको सुनें । अचम्म लाग्यो, आज पनि विद्यालयमा उही कथा भनिंदो रहेछ ।
झण्डै आधा शताब्दी बितिसक्दा पनि हाम्रो चेतनामा खासै परिवर्तन देखिन्न । तर, यसबीच प्रविधिमा क्रान्ति नै भइसकेको छ । इन्टरनेट सहितको मोबाइल हातहातमा छ । त्यो पनि एआई सहितको स्मार्टफोन । सोधेको कुरा तुरुन्त थाहा पाइन्छ, एआईबाट । तर हाम्रो चेतनामा चोभारको डाँडो मञ्जुश्रीबाट काटिएको भन्ने अझै कायम छ ।
चोभार डाँडो करिब ३०० मिटर फराकिलो छ र पानी करिब ६०–७० मिटर गहिराइबाट बग्छ । त्यक्रो चौडाइ र गहिराइ केही हजार वर्षअघि कुनै एक व्यत्तिले काटेर पानी बाहिर फाल्न सक्ने अवस्थाको होइन । भूगर्भ–अध्ययन अनुसार प्राग्–ऐतिहासिक कालमा काठमाडौं उपत्यका एक विशाल ताल थियो ।
चोभारबाट करिब ३० हजार वर्षअघि बाहिर बग्न शुरु भएको थियो र करिब १२ हजार वर्षअघि उपत्यकाको ताल सुक्यो । यो लेखमा श्रीकृष्ण र मञ्जुश्रीका पौराणिक कथाहरू कहिले लेखिए, ती कथाको ऐतिहासिक–पाठकीय पृष्ठभूमि के हो, र चोभार बारेको भूगर्भीय अध्ययनले के भन्छ भन्ने संक्षिप्त रूपमा चर्चा गरिंदैछ ।
श्रीकृष्ण र मञ्जुश्री
चोभारको पानी निकासबारे श्रीकृष्ण र मञ्जुश्री भगवानको पौराणिक कथा शुरुमा केमा लेखिएको थियो भनेर थाहा पाउन निकै समय बिताएँ । काठमाडौं उपत्यका सम्बन्धी धार्मिक ग्रन्थहरू पढ्दा, सुन्दा चोभारबारे केही भेटिन्छ कि भनेर ध्यान दिन्थें । यो क्रम निकै वर्षसम्म चल्यो । मेरो चासो केही वर्षअघि मात्र माइतीघरमण्डलमा फेला परेको नेपालमाहात्म्यम् शीर्षक पुस्तकबाट पूरा भयो ।
नेपालमाहात्म्यम् को अध्याय १० को श्लोक ६९ मा चोभारको डाँडो सुदर्शन चक्रले काटिएको वृत्तान्त छ । तर, उक्त श्लोकमा कृष्ण नभनी हरि अर्थात् विष्णु भगवानबाट काटिएको उल्लेख छ । त्यसमा लेखिएको छ– काठमाडौं उपत्यका विशाल ताल थियो । भगवान विष्णुले मानिस र ऋषिमुनि बस्न मिल्ने बनाउन तिनको दिव्य अस्क्र ‘सुदर्शन चत्र’ प्रयोग गरी चोभारको पहाड चिरेर पानी बाहिर निकाल्न निकास दिए । पहाड चिरेपछि तालको पानी त्यही बाटो भएर बगेर गएको र त्यसपछि उपत्यकामा बस्ती बस्न योग्य भयो ।
पुस्तकमा धेरै ठाउँ हरिलाई कृष्ण लेखिएको छ । पौराणिक कथामा नारदले मथुरामा गएर चन्द्रागिरिमा एक राक्षसको परम सुन्दरी छोरीसँग कृष्णको छोरा प्रद्युम्नसँग विवाह हुने उहिले तय भएको बताउँछन् । तर, कन्याका पिता अर्थात् राक्षसलाई नमारी विवाह हुन नसक्ने बताउँछन् ।

नारदले विवाहका लागि मथुराबाट कृष्णका छोरालाई लिएर चन्द्रागिरि आउँछन् । त्यो युद्ध हेर्न कृष्ण भगवान पनि गरुडमा चढेर चन्द्रागिरि आइपुगेका हुन्छन् । युद्ध पश्चात् कृष्णले चोभारको डाँडो सुदर्शन चक्रबाट चिरेर पानी निकास गर्छन् ।
यो पुस्तक प्रभावकारी कम्पनी वाराणसीबाट पहिलो पटक सन् १९०१ मा संस्कृत भाषामा प्रकाशित भएको थियो । मैले पाएको पुस्तक चाहिं यसैको हिन्दी संस्करण वि.सं. २०७१ मा चौखम्बा कृष्णदास अकादमीबाटै प्रकाशित भएको हो ।
यता नेपालमा नेपालमाहात्म्यम् २०२८ सालमा मुक्तिनाथ खनालले अनुवाद गरेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संस्कृति विभागबाट प्रकाशित भएको थियो (२९२ पृष्ठ) । यस्तै, पं. चिरञ्जीवी शर्मा पोखरेलले पनि नेपालमाहात्म्यम् कवितात्मक शैलीमा नेपालीमा भावानुवाद गरेका छन् । पोखरेलले अनुवाद गरेको नेपालमाहात्म्यम् काठमाडौं जिल्लाको कीर्तिपुरस्थित जनसेवा माध्यमिक विद्यालयबाट २०७६ सालमा प्रकाशित भएको हो ।
पछि थाहा पाइयो कि नेपालमाहात्म्यम् कुनै बेला स्कन्दपुराणको एक अध्यायको रूपमा समावेश थियो । यसले नेपाललाई देवभूमि र तीर्थभूमि घोषणा गर्दै काठमाडौं उपत्यकाको उत्पत्तिदेखि पशुपतिनाथ, स्वयम्भू, चाँगुनारायण, बूढानीलकण्ठ, गुह्येश्वरी, दक्षिणकाली, चार विनायक जस्ता प्रमुख तीर्थहरूको धार्मिक महिमा वर्णन गरेको छ । पुस्तकभरि शिव–पार्वती, विष्णु, नारद, व्यास आदि पात्रहरूले संवाद मार्फत नेपालका देवालय, नदी, पहाड, वन, शक्तिपीठ र ऋषिमुनिका आश्रमहरूको व्याख्या समावेश छ ।
यही पुस्तकमा रामायण महाकाव्यमा वर्णित भारतको उत्तराखण्डस्थित अल्मोडा जिल्लाको कोशी उर्फ कौशिकी नदीको चर्चा समावेश छ । त्यहाँको पौराणिक कथालाई नेपालमा एक अर्को पौराणिक कथामा जोडिएको छ । तर, यता लेखिएको पौराणिक कथामा कौशिकी नदीसँग काभ्रेको रोशी नदी मिसिएको वर्णन छ ।
सुनकोशी नदीलाई कौशिकी नदी अर्थात् कोशी भनिएको छ । त्यति मात्र होइन, ती दुई नदीको दोभान नजिक रामायणमा वर्णित विश्वामित्र ऋषि तपस्या गर्थे भनिएको छ (पाँचौं अध्याय, श्लोक ९ र १०, पृष्ठ ३२) । विश्वामित्र ऋग्वेद लेख्ने ऋषिहरूमध्ये एक हुन् । संभवतः यही कुरा थाहा पाएर, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक भाषणमा कोशी किनारतिर नै वेद रचना गरिएको थियो भनेका हुन सक्छन् ।
पुस्तकको सार भनेको नेपालमा तीर्थयात्रा, व्रत, दान, स्नान तथा पूजा–पाठ गरे महान् पुण्य प्राप्त हुन्छ भन्ने छ । त्यति मात्र होइन, पुस्तकमा स्थानीय परम्परा र धार्मिक किंवदन्तीलाई हिन्दू तीर्थ–नक्शामा जोडिएका छन् । यसको अर्थ, यहाँ स्थानीय परम्परालाई हिन्दूकरण वा हिन्दू धर्ममा समायोजन गरिएको छ ।
तर, हिजोआज बजारमा पाइने स्कन्दपुराण मा नेपालमाहात्म्यम् खण्ड वा अध्याय पाइन्न । स्कन्दपुराण स्वयं शताब्दीयौंसम्म विभिन्न स्थानका पण्डितले कथाहरू थप्दै बनाएको विशाल संग्रह भएकाले धेरै क्षेत्र–माहात्म्य (स्थानीय तीर्थको महिमा) पछि जोडिएका सामग्री हो । यसो हुँदाहुँदै भारतीय पण्डितहरूले नेपाल महात्म्य लाई स्कन्दपुराणबाट हटाए ।
स्कन्दपुराण करिब दुई हजार वर्षअघि लेख्न शुरु गरिएको थियो । यता, नेपालमाहात्म्यम् चाहिं कहिले लेखिएको थियो भन्ने अर्को गहन प्रश्न जिउँदै थियो । त्यो कुरा यसको अंग्रेजी अनुवाद, जयराज आचार्य लिखित द नेपालमाहात्म्यम् शीर्षक पुस्तक पढेपछि अनुमान लगाउन सकिने भइयो ।
द नेपालमाहात्म्यम् को पृष्ठ ५ मा लेखिए अनुसार नेपालमाहात्म्यम् सन् ८५२ वा ८५५ ताका भारतबाट आएका पण्डितहरूबाट नेपालमा लेखिएको हो । यो नेपालमा लेखिएको सबैभन्दा प्राचीन सामग्री हो । त्यसबेला नेपालमा बौद्ध धर्म निकै प्रचलनमा थियो र नेपालभित्र हिन्दू–तीर्थको विस्तार गर्न हिन्दू लिच्छवि राजाहरूले भारतीय ब्राह्मणहरूलाई नेपाल भित्र्याउने काम गरेका थिए ।
हिजोआज नेपालमा पहाडे ब्राह्मण र तराई ब्राह्मण सूचीकृत छन् । पहाडे ब्राह्मण पूर्वीया र पश्चिमा ब्राह्मण विभक्त छन् । पश्चिमा ब्राह्मण कुमाई भनेर चिनिन्छन् । तराईका झा, त्रिपाठी, मिश्र, उपाध्याय, शुक्ला, दुबे, तिवारी र केही ठाकुर तराई ब्राह्मण हुन् ।
जंगबहादुर राणाले सन् १८५४ मा जारी गरेको मुलुकी ऐनको अंग्रेजी संस्करण वज्र बुक्सले सन् २०२४ मा प्रकाशित गरेको छ । उक्त पुस्तकमा लेखिए अनुसार जंगबहादुर राणाका पालासम्म नेपालमा उपाध्याय ब्राह्मण, देभाजु ब्राह्मण (नेवार ब्राह्मण), र विदेशी ब्राह्मणमा विभक्त थिए ।
विदेशीमा तिरहुत, भट्ट, मरहट्टा, नगरा, गुजराती, महाराष्ट्रिय, तैलंगा, द्रविड, मधेश आदि ब्राह्मण थिए । भारतका विभिन्न भागबाट आएका ब्राह्मणहरूले भारतका विभिन्न ठाउँका संस्कारहरू नेपाली संस्कारमा भित्र्याए । यस्तै, दोस्रो दर्जाका स्वदेशी ब्राह्मणमा असल जैसी, जैसी, डोटेली जैसी, जुम्ली जैसी, दुईलिंगे जैसी, तिलिंगे जैसी थिए (पृष्ठ ३२) ।
अब कुरा गरौं मञ्जुश्रीबाट चोभारको डाँडो खड्गबाट काटिएको सन्दर्भ । काठमाडौं उपत्यकाको मुख्य बासिन्दा नेवार समुदाय दुई धार्मिक समूहमा विभाजित थिए, छन् । हिन्दू धर्म मान्नेहरूले चोभार डाँडो श्रीकृष्णको सुदर्शन चक्रबाट चिरिएको हो भनेर विश्वास गर्छन् ।
बौद्ध धर्मको एक धार्मिक ग्रन्थ स्वयम्भु–पुराण हो । यो पनि हिन्दू पुराणहरू जस्तो एकै व्यक्तिबाट लेखिएको सामग्री होइन । विज्ञहरूको मत अनुसार, यसको पुरानो अंश सम्भवतः १०–१२ औं शताब्दीको आसपासमा लेखिएको थियो । अहिले स्वरुपमा रहेको स्वयम्भु–पुराण भने १४–१६औं शताब्दीमा लेखिएको हो ।
नेवारी बौद्ध धर्म ग्रन्थहरू अनुसार मञ्जुश्री भक्तपुरका ऋषिहरूलाई भेट्न चीनबाट आएका थिए । यसबारे वृत्तान्त कमलप्रकाश मल्लले अंग्रेजीमा अनुवाद गरेको र रत्नपुस्तक भण्डारले सन् २०२१ मा प्रकाशन गरेको स्वयम्भू–पुराण मा पढ्न पाइन्छ ।
स्वयम्भू–पुराण मा मञ्जुश्रीबाट चोभारको डाँडो खड्गबाट चिरेर पानी निकास गरेको वृत्तान्त अध्याय ३ मा उल्लेख छ । मञ्जुश्रीले चोभार डाँडो काट्नुअघि आकाशमा तीन पटक खड्गलाई घुमाएका थिए । पानी बगेर जान जम्मा ३ दिन लागेको थियो (पृष्ठ २१–२२) । स्वयम्भू पुराण ले काठमाडौंलाई बुद्धधर्मको उच्च केन्द्र थियो भनेर जोड दिन सहयोग गरेको छ ।
प्राग–ताल
काठमाडौं उपत्यका कहिले बनिएको थियो भन्ने प्रशस्त अध्ययन अनुसन्धान भएका छन् । यसको आकार, जुन आकाशबाट हेर्दा कचौरा जस्तो आकृतिमा देखिन्छ, यसको सुरुआत करिब २५ लाख वर्षअघि भएको थियो । विक्रम श्रेष्ठले हिमालयको उत्पत्तिः सागरदेखि सगरमाथासम्म शीर्षक पुस्तकमा ‘त्यसैबेला हिमालयसँगै चुरे पर्वतहरू पनि विस्तारै अग्लिन थालेका थिए’ भनेर लेखेका छन् (२०७९, पृष्ठ १८१) ।
यही क्रममा शिवपुरी, नागार्जुन, फुलचोकी, चन्द्रागिरि जस्ता पहाडहरू क्रमशः माथि उठ्दै गएका थिए । यी पहाडहरूले चारैतिरबाट ढोका जस्तै बन्द चक्र बनाइदिए, जसले उपत्यकालाई प्राकृतिक कचौरा जस्तो आकार बनायो । त्यसबेला, हिमालय क्षेत्रमा विभिन्न पहाडी पर्वतहरूमा ठूला–साना उपत्यकाहरू निर्माण भए । त्यस्ता उपत्यकाहरूमध्ये कुनैमा पानीका मुहान थनिएर जलमग्न भई ताल बने भने कुनै कुनैमा गिट्टी–बालुवाहरू जस्ता ग्रेगर मात्र भरिए । काठमाडौं उपत्यकामा विशाल मात्रामा पानी भरिन पुगेको थियो ।
हरुतका साकाई (Harutaka Sakai), रिए फुजिई, मिसा सुगिमोतो, योको सोतो गुची र मुकुन्दराज पौडेल लिखित एक लेख सन् २०१६ मा अर्थ, प्लानेट्स एन्ड स्पेस शीर्षक जर्नलमा प्रकाशित छ । यस अनुसार, करिब ४८ र ३८ हजार वर्षअघि ठूलो भूकम्प आएको थियो । त्यसबखत, उपत्यकाको प्राकृतिक बनावटलाई भूकम्पले कमजोर बनाउँदा तालको पानी अचानक घटेछ । केही हजार वर्षपछि पुनः पहिलेकै अवस्थामा पानीको सतह वृद्धि हुन पुग्यो ।
३० हजार वर्षअघि काठमाडौं उपत्यकाको वर्षात् कालमा तालमा नअटाएको पानी निकास हुनसक्ने ठाउँ साँगा १५२० मिटर, तिनपिप्ले १४६५ मिटर उचाइमा थियो । जुन तालको वास्तविक सतहभन्दा निकै माथि थिए ।
काठमाडौंको प्राग–ताल बारे निकै वटा अध्ययनमा के कति गहिराइ र चौडाइका थिए भन्ने थोरै फरक तथ्यांकहरू प्रकाशित छन् । एक लेख अनुसार, ३० हजार वर्षअघि काठमाडौं उपत्यकाको लम्बाइ करिब २५ किलोमिटर र चौडाइ २० किलोमिटर थियो । गहिराइ ३०–१०० मिटरसम्म थियो ।
कियोशी साइजो (Kiyoshi Saijo) र काजुओ किमुरा (Kazuo Kimura) को काठमाडौं उपत्यकाको प्राग तालबारे एक लेख सन् २००७ मा हिमालय जर्नल अफ साइन्स, भोलम ४ अंक ६ मा प्रकाशित छ । यो लेख अनुसार, करिब ३० हजार वर्षअघि काठमाडौं उपत्यकामा पानीको सतह करिब १४००–१४४० मिटर उचाइमा थियो ।
आजको काठमाडौं, ललितपुर, भक्तपुर, थिमि, गोकर्ण, कीर्तिपुर आदि क्षेत्रका धेरैजसो भाग पानीमुनि थिए । किनभने चन्द्रागिरि, नागार्जुन, शिवपुरी, फुलचोकीका फेदमा भेटिने दलदले अवसाद र त्यसमाथि देखिने रातो माटो तथा हजारौं वर्ष पानीमुनि रहेको र पानी बाहिर भएपछि मौसमका कारण रूपान्तरित भएका चट्टानहरूले तालको किनारा त्यहींसम्म पुगेको पुष्टि गर्दोरहेछ । यस्ता अवसादहरू नदी, दलदल र पहिरोबाट आएका तत्वहरूसँग मिसिएर रहेको अवस्थामा भेटिन्छन् । यसले ताल विस्तार, किनाराको उतारचढाव र पानीको स्थिरतालाई देखाएको साइजो र किमुराको लेखमा उल्लेख छ ।

करिब ३० हजार वर्षदेखि चोभारबाट पानी बाहिर जान शुरु भयो । पहिले थोरै निकास हुन थाल्यो । त्यसपछि क्रमशः चोभारको डाँडो खिइँदै गयो । यही क्रम चलिरहँदा करिब १२ हजार वर्षअघि अहिलेको अवस्थामा आइपुग्यो । तर पनि त्यसबेला कतै–कतै गहिरा खाडल र ठूल्ठूला दलदलहरू पनि थिए । विस्तारै, पुरिंदै गयो र मानिस बस्न योग्य बन्न पुग्यो ।
संसारभर, अन्तिम हिमयुग करिब ११ हजार ७०० वर्षअघि अन्त्य भयो । त्यसपछि संसारभर खेतीपाती तथा पशुपालन शुरु भयो । यही क्रममा उपत्यकाको उत्तरी पहाडतर्फ तिब्बततिरबाट घुम्दैफिर्दै मानिस आइपुगे । उनीहरू उपत्यकामा सुकेको कतै दलदल भएको ठाउँमा बस्न रुचाएनन् । उनीहरू अग्लै ठाउँमा बसे । शायद उनीहरू तामाङका पूर्वजहरू थिए ।
पूर्व उत्तरतिरबाट ४–५ हजार वर्षअघि मानिस आए । उनीहरू होचो पहाड र समथरमा पनि बस्थे । तिनीहरू कालान्तरमा किरात समुदाय भनेर चिनिए । गोपालराज वंशावलीमा लेखिएको किरातभन्दा अघिको गोपाल र महिषपाल वंश कपोलकल्पित हो । ती दुई वंश प्राचीन कालमा काठमाडौं उपत्यकामा थिए भन्ने भाषिक, सांस्कृतिक र आनुवंशिक रूपमा पुष्टि हुँदैन । हिन्दूहरूले १४औं शताब्दीमा वंशावली लेख्दा कल्पना गरेर लेखेको हुनुपर्छ । करिब २ हजार वर्षअघि दक्षिणतिर भारततर्फका मानिस आए । पश्चिमबाट भने बाह्रौं शताब्दी ताकाबाट मात्र काठमाडौं उपत्यकामा आएका हुन् ।
कसरी चिरियो चोभार डाँडो ?
हिजोआज काठमाडौं उपत्यकाको क्षेत्रफल ६६५ वर्ग किलोमिटर छ । त्यसमध्ये करिब ५८५ वर्ग किलोमिटर क्षेत्रको पानी चोभारबाट बाहिरिन्छ । चोभार डाँडोको उचाइ १३२०–१३३० मिटर छ । चोभार खोंचमा पानी बग्ने सतह समुद्रबाट १२६० मिटर जति उचाइमा छ ।
पानी बग्ने खोलो चट्टान चिरिएर बनेको जस्तो देखिन्छ । यसको चौडाइ कम्तीमा २५–३० मिटर र बढीमा ४०–५० मिटर जति होला । पूर्वतर्फको चट्टानी ठाडो पहरामा परेवा प्रशस्त मात्रामा बस्ने गरेका छन् । तिनीहरूले गुँड लगाएर बचेरा कोरल्छन् कि कोरल्दैनन्, थाहा पाउन सकिएको छैन । उत्तरतिर भने नदी निकै साँघुरिएको छ ।
दशौं हजार वर्ष तालमा पानी थुनिंदा पानीले बाहिर निस्कन सबभन्दा कमजोर ठाउँ चोभार डाँडो रोज्यो । चोभार डाँडोमा जहाँ बागमती नदी बगेको छ, त्यहाँ हेर्दा कडा देखिने तर भित्री रूपमा कच्चा ढुंगा जस्तो फिलाइट (Phyllite), क्वार्टजाइट (Quartzite), शेल (Shale) आदि नाम गरेका ढुंगाहरू छन् ।
पानीका लागि यी ढुंगाहरू कमजोर संरचना हुन् । हजारौं हजार वर्ष तालमा पानी थुनिंदा तालमा यसै हाइड्रोलिक दबाब (Water pressure) अत्यधिक बढ्छ । जसबाट पानी ढुंगाको दरारहरू भित्र प्रवेश गर्छ । यसरी, पानी लगातर दरारभित्र पस्ने, दबाब बढाउने र चट्टानलाई भित्रैबाट चर्काउँदै लैजाने प्रक्रिया चोभार डाँडोमा दशौं हजार वर्षसम्म चलिरह्यो ।

हुनसक्छ, ३० हजार वर्षभन्दा अघिबाट चोभार क्षेत्रबाट पानी अलिअलि बगिरहेको थियो होला । यही क्रममा चोभार डाँडोबाट पानी बगेर चोभारको ढुंगाको सतहलाई घिसार्दै-घिसार्दै विस्तारै कटान गर्दै लग्यो । पानी बग्दा आफैं मात्र बग्दैन । यसले बालुवा, ढुंगा आदि पनि बगाउँछ । संसारभरिका तालबाट पानी यही प्रक्रिया भएर बाहिरिन्छ र नदी उद्भव हुन्छन् । यो प्रक्रियालाई अब्रेसन (Abrasion) भनिन्छ । मानसरोवरबाट पानी यसरी नै निस्केको हो ।
पानीसँगै बगिरहेका बालुवा, कङ्कड र गिट्टीले ढुंगाको सतहलाई करोडौं पटक ठक्कर दिंदै घिसारेर पानी बग्ने बाटो बनाइरहन्छ । यो प्रक्रियामा पानीले चट्टानको तल्लो/तलतिरको भागलाई बढी छिटो काटेर हटाइदिन्छ, जसले माथिल्लो भाग हावामा झुन्डिएको जस्तो देखिन्छ, त्यो पनि पछि भत्किन्छ वा गुरुत्वाकर्षणबाट खस्छ र बग्छ । यो प्रक्रियालाई अन्डरकटिङ भनिन्छ । चोभारमा करिब १८ हजार वर्षसम्म निरन्तर कटानबाट आजको गहिरो चोभार खोंच बनिएको हो ।
चोभारमा यति चाँडै यस्तो स्वरुप बन्नुमा अर्को पनि कारण छ । यो समुद्री सतहबाट करिब साढे १२०० मिटर उचाइमा छ । यो ठाउँको विशेषता भनेको जाडोमा जाडो हुने, हिउँ पर्ने, जम्ने र गर्मीमा गर्मी नै हुन्छ, कछाड जस्तो छ । यसलाई जाडो–गर्मी चक्र (Freeze-thaw effect) भनिन्छ । अझ, प्राग्–ऐतिहासिक कालमा तापक्रम एकदमै परिवर्तनशील थियो ।
पानी जम्दा यसको आकार औसत ९ प्रतिशतसम्म बढ्छ । यसरी, पानी बरफ बनिंदा दरारलाई भिक्रबाट नै धक्का दिंदै ढुंगामा रहेको त्र्याक (Crack) लाई चौडा बनाउँदै लैजान्छ । दिउँसो पानी पग्लेर दरारभित्र पस्ने र राति फेरि जमेर फुल्दा दरारमा धक्का पर्दै जान्छ । यसले एकदमै छिटोछिटो दरारको आकार बढाउँदै लैजान्छ । यस्तो प्रक्रिया हजारौं वर्ष चलिरहँदा कडा ढुंगा पनि कमजोर बिन्दुबाट चर्कंदै जान्छ र अन्ततः चिरिन्छ, फुट्छ ।
भौतिक विज्ञान अन्तर्गत विशेषगरी तरल–यान्क्रिकी (Fluid mechanics) र हाइड्रोलिक इन्जिनियरिङ (Hydraulic engineering) मा क्याभिटेसन (Cavitation) भन्ने शब्द प्रयोग हुन्छ । यो भनेको तरल पदार्थमा दबाब घट्दा बुलबुला बन्ने र फुट्ने भौतिक प्रक्रिया हो ।
जब भारी वर्षा हुन्छ, वा ताल फुटे जस्तो धेरै तेज गतिमा पानी बग्छ, छिटो बग्दाखेरि पानीभित्र स–साना हावाका बुलबुला बन्न थाल्छन् । ती हावाका बुलबुल वा फोका तुरुन्तै फुट्छन् र फुट्ने बेला चट्टानको सतहमा सानो विस्फोट जस्तै बलियो झट्का दिन्छन् ।
अचम्म लाग्दो चाहिं के हुँदोरहेछ भने यसबाट पानी बगेको ढुंगामा असर पर्दोरहेछ । पानी मुनिको चट्टान कमजोर हुँदोरहेछ । त्यो त एक किसिमको माइक्रो–विस्फोट नै भन्न मिल्दो रहेछ । यो क्रम निरन्तर चलिरहन्छ । यसबाट चट्टानहरू कमजोर हुने र छिटो कटान हुन पुग्छ ।
फेल्डस्पार (Feldspar) पृथ्वीको बाहिरी सतहमा सबैभन्दा धेरै मात्रामा पाइने खनिज समूह हो । यो प्रायः सबै किसिमका चट्टानको मुख्य हिस्साका रूपमा रहेको हुन्छ, जुन सेतो–गुलाबी–फुस्रो रंगको देखिन्छ ।
मिका (Mica) पातलो पात जस्ता आकृतिमा पाइने खनिज हो । यी सहित ढुंगामा रहेका कार्बोनेट–युक्त खनिजलाई पानीले विस्तारै रासायनिक रूपमा विघटन गराउँछ । यसलाई रासायनिक मौसमीकरण वा रासायनिक क्षरण (Chemical weathering) भनिन्छ ।
जब ढुंगा रासायनिक रूपमा पनि कमजोर बन्दै जान्छ, नदीले त्यसलाई अझ सजिलै काट्छ । यस्तो ढुंगाहरू नदी बगेको ठाउँमा देखिन्छन् । चोभारमा त प्रशस्त छन् ।
माथि उल्लिखित सबै प्रक्रियाहरू हजारौं वर्षको अवधिमा हाइड्रोलिक दबाब, घर्षण, अन्डरकटिङ, जाडो–गर्मी विस्तार, क्याभिटेसन, रासायनिक विघटनका कारण चोभारको ढुंगारुपी पहाडलाई पानीले काटेर आज देखिने गहिरो पानी–निकास हुने चोभार घाँटी वा चोभार खोंच बनेको हो ।
अन्त्यमा, शिक्षा मुलुकको भविष्य निर्माण गर्ने आधार हो । विद्यालयमा पढाइने विषयवस्तु वैज्ञानिक तथ्य, प्रमाण र आधुनिक अनुसन्धानमा आधारित हुनुपर्छ । विशेषतः भूगोल, वातावरण–विज्ञान, इतिहास र सामाजिक अध्ययन जस्ता विषयमा पुराण–आधारित मिथकीय कथाहरूलाई ‘वास्तविक ऐतिहासिक घटना’ जस्तै प्रस्तुत गरिनाले विद्यार्थीमा भ्रम उत्पन्न हुन्छ ।
मिथक नेपाली सांस्कृतिक सम्पदाको महत्वपूर्ण हिस्सा भए पनि, विद्यालयस्तरीय पाठ्यक्रममा विज्ञान र मिथकलाई स्पष्ट रूपमा छुट्याएर प्रस्तुत गर्नुपर्छ, ताकि विद्यार्थीले मिथक र विज्ञान दुवै बुझुन् ।
चोभार खोंच कसरी बनेको हो भन्ने वैज्ञानिक प्रमाणहरू विद्यालय तहमा सरल भाषामा राखिनुपर्छ । यसको सांस्कृतिक व्याख्या— जस्तै मञ्जुश्रीको पौराणिक कथा—सांस्कृतिक अध्ययन वा नेपाली सभ्यता अध्यायमा ‘लोक–कथा वा मिथकीय स्मृति’ को रूपमा समावेश गरिनुपर्छ ।
मिथकलाई वैज्ञानिक व्याख्यालाई प्रतिस्थापन गर्ने रूपमा होइन । हामीले अहिले पनि चोभार डाँडोलाई मञ्जुश्रीले खड्ग वा श्रीकृष्णको खड्गबाट चिरेर पानी निकास भएको भन्नु चाहिं विज्ञानलाई पुराणले विस्थापन गर्नु हो ।
हामीकहाँ इतिहासमा समेत पुराणका कुरा छ्यासमिस गरेर लेख्ने चलन छ । यद्यपि; इतिहास, मिथक र विज्ञान तीन वटैका आ–आफ्ना स्थान छन् । वैज्ञानिक दृष्टिकोणलाई केन्द्रमा राखेर पाठ्यक्रम सुधार गरियो भने, विद्यार्थीलाई तथ्यमा आधारित शिक्षा, आलोचनात्मक सोच, वैज्ञानिक चेतना र विश्वस्तरीय ज्ञानको स्तरमा अगाडि बढाउन योगदान हुनेछ ।
तस्बिरहरू: कमल मादेन
प्रतिक्रिया 4