
News Summary
Generated by OK AI. Editorially reviewed.- गढवा गाउँपालिका दाङ पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरियो।
- जिल्ला समन्वय समितिका प्रमुखले यसलाई ऐतिहासिक उपलब्धि भने।
- गाउँपालिकाले ६७३ बालबालिका मध्ये ४ छुटेका बताइयो।
- खोप अभियान सफल बनाउन सबै पक्षको योगदान उल्लेखनीय रहेको अध्यक्षले बताए।
४ जेठ, दाङ । दाङको देउखुरी क्षेत्रमा रहेको गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका बनेको छ ।
आइतबार एक विशेष समारोहबीच गढवा गाउँपालिकालाई औपचारिक रूपमा ‘पूर्णखोप सुनिश्चित गाउँपालिका’ घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले घोषणा–पत्र सार्वजनिक गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा यो उपलब्धि ऐतिहासिक भएको बताए । उनले नेपाल सरकारले तय गरेको राष्ट्रिय लक्ष्यअनुसार सबै स्थानीय तहहरूलाई पूर्णखोप सुनिश्चित गराउने कार्यलाई अभियानका रूपमा अगाडि बढाइएको जानकारी दिए ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खोप अभियान सफल बनाउन सबै पक्षको योगदान उल्लेखनीय रहेको बताए । ‘स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधिहरूको समन्वय र कठोर परिश्रमले यो सम्भव भएको हो,’ अध्यक्ष पोख्रेलले भने ।
उनले खोप कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको सबैभन्दा सफल र प्रभावकारी कार्यक्रमको रूपमा चिनाउँदै आगामी वर्षहरूमा पनि यसलाई सूक्ष्म रणनीतिका साथ निरन्तरता दिनुपर्नेमा जोड दिए ।
गढवा गाउँपालिकामा हाल जन्मेदेखि १५ महिनासम्मका ६७३ बालबालिका तथा १६ महिनादेखि ५९ महिनासम्मका १,८२२ बालबालिका छन् । तीमध्ये जम्मा ४ जना बालबालिका मात्र खोप अभियानबाट छुटेका छन् । उनीहरू रोजगारको सिलसिलामा अभिभावकसँगै पालिका बाहिर रहेकाले उनीहरू छुटेका हुन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर आचार्यले खोप अभियान सञ्चालनका क्रममा अपनाइएका विभिन्न चरणबारे जानकारी गराएका थिए । उनका अनुसार, पहिलो चरणमा तथ्यांक संकलन, दोस्रोमा सचेतनामूलक कार्यक्रम, तेस्रोमा घरदैलो कार्यक्रम र अन्तिम चरणमा छुटेका बालबालिकालाई लक्षित पुनःखोप अभियान सञ्चालन गरिएको थियो ।
गढवा गाउँपालिकाको यो उपलब्धिले अन्य पालिकाहरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ । पूर्णखोप सुनिश्चित अभियान बालबालिकाको स्वास्थ्य, भविष्य र समाजको समृद्धिसँग गाँसिएको महत्वपूर्ण कार्यक्रम भएकाले यसको निरन्तरता र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको सरोकारवाला पक्षहरूले बताएका छन् ।
नेपाल सरकारको स्वास्थ्य नीति अनुसार, प्रत्येक बालबालिकाले उमेर अनुसारको सबै खोप समयमा प्राप्त गर्न पाउनु पर्नेछ ।
प्रतिक्रिया 4