‘भाग्य’ के हो ?
यसबारे व्यक्ति अनुसार फरक-फरक दृष्टिकोण र बुझाइ रहेको पाइन्छ । सामान्य अर्थमा परिस्थिति आफ्नो अनुकुल हुनुलाई भाग्य मान्ने गरिएको छ भने प्रतिकूल हुनुलाई दुर्भाग्य ।
नेपाली समाजमा जन्मको समयमा ग्रह, राशि, नक्षत्र लगायतको अवस्थालाई भाग्यलाई निर्देशित गर्छ भन्ने मान्यताको गहिरो प्रभाव छ। यस्तो मान्यताको कुनै न कुनै स्वरुप करिब विश्वव्यापी नै छ भन्न सकिन्छ । यो विषय एवं ‘फेनोमेना’ लाई विज्ञानले पनि आफ्नो कसिमा पोख्ने, बुझ्ने र व्यख्या गर्ने कोसिस गरेको छ।
आँफूलाई भाग्यमानी र भाग्यहीन सम्झिँने सयौँ व्यक्तिहरू अध्ययनका आधारमा वैज्ञानिकहरू ‘भाग्य’ मूलतः व्यक्तिको चेतन-अवचेतन विश्वास, सोच र व्यवहारको परिणाम हो भन्ने निष्कर्षमा पुगेका छन् । र, उनीहरूका अनुसार भाग्यमानी बन्ने कला सिक्न सम्भव छ ।
भाग्य विषयका प्रख्यात अनुसन्धानकर्ता ‘रिचर्ड वाइजमेन’ ले आफूलाई भाग्यमानी सम्झिने र भाग्यहीन सम्झिने दुई समूहका व्यक्तिहरूलाई विशेष अवसरका जानकारीहरू रहेको पत्रिका सीमित र समान समयका लागि पढ्न दिएर हेरे । आफूलाई भाग्यमानी सम्झिने व्यक्तिहरूको त्यस्ता अवसरहरूमा छिटो नजर वा ध्यान पुग्ने गरेको र त्यस्ता अवसरको भरपुर सदुपयोग गर्ने गरेको पाइयो ।
यसको विपरीत आफूलाई भाग्यहीन सम्झिने व्यक्तिहरू त्यस्ता सजिलै भेटिन सक्ने अवसरहरू समेत भेट्न चुक्ने वा भेटे पनि सही सदुपयोग गर्नमा अत्यन्त पछि रहने नतिजा सामने आयो ।
यसैगरी, अनुसन्धानमा बाटोमा खसालिएको पैसा भेट्न होस वा जागिर एवम् व्यापारको प्रस्ताव दिने व्यक्तिसँग भेट भएको परिस्थितिलाई सदुपयोग गर्ने सन्दर्भमा होस, आफूलाई भाग्यहीन सम्झिने व्यक्तिहरू तुलनात्मक रुपमा अत्यन्त पछाडि रहे ।
‘पजल’ समाधान गर्नुपर्ने अर्को परीक्षणमा आफूलाई भाग्यमानी मान्ने व्यक्तिहरू केही उपाय त हुनुपर्छ भन्ने सोची लामो समय प्रयास गर्ने र सफल भई छाड्ने प्रवृत्ति देखा पर्यो । अर्कोतर्फ, आफूलाई भाग्यहीन सम्झिने व्यक्तिहरू सोही पजललाई समाधान गर्न असम्भव छ भन्ने निष्कर्षमा अत्यन्त छिटो पुग्ने र प्रयास गर्न पनि छिटै छाड्ने गरेको पाइयो ।
यस्ता कयौँ परीक्षणहरूका आधारमा मनोवैज्ञानिकहरू ‘भाग्मानी व्यक्तिले जीवनमा अरु भन्दा स्वतः बढी अवसर पाउने नभई उनीहरू स्वयं अवसर सिर्जना गर्ने क्रियाकलाप र व्यवहार गर्दछन् साथै समान किसिमका अवसरलाई समेत अरुले भन्दा बढी प्रभावकारी रुपमा सदुपयोग गर्ने गर्छन्’ भन्ने निष्कर्ष पुगेका छन् ।
कुनै समयमा प्रख्यात ‘लक स्कुल’ नै सञ्चालन गरेका ‘रिचर्ड वाइजमेन’ ‘म्याथ्यु स्मिथ’ लगायतका मनोवैज्ञानिकहरूले अध्ययनहरूका आधारमा भाग्यमानी बन्नका लागि केही प्रमाणित उपायहरू सुझाइएका छन्।
१. सकारात्मक सम्भावनाहरू यसरी बढाउने
भाग्यमानी व्यक्तिहरूलाई पटक-पटक राम्रो संयोग परिरहेको अर्थात ‘लकी ब्रेक्स’ पाइरहेको देखिन्छ । ‘वाइजमेन’का अनुसार वास्तवमा उनीहरू अरुभन्दा चुस्त एवं जीवनप्रति कृतज्ञ भाव वाला हुने कारण अवसर देख्नमा अगाडि हुन्छन् । जीवन र जगतप्रति गुनासोले भरिएका व्यक्तिको मन र मष्तिष्क समस्यामा नै रुमल्लिइरहेको हुन्छ यसकारण अवसरहरूमा ध्यान नै पुग्न सक्दैन ।
जीवनका परिस्थिति एवम् घटनाहरूलाई सकारत्मक दृष्टिकोण दिन कोसिस गर्नु उनका अनुसार भाग्यमानी बन्ने अर्को उपाय हो ।
भाग्यमानी व्यक्तिहरू असजिलो र दुःखद् परिस्थितिमा यो भन्दा धेरै नराम्रो पनि त हुन सक्थ्यो भन्ने सोची स्वीकार्यताको भावमा छिटो फर्किन सक्ने गरेको पाइएको छ । अर्थात उनीहरू भावनात्मक रुपमा बढी ‘रेजिलियन्ट’ हुन्छन् ।
नयाँ-नयाँ व्यक्तिको सम्पर्कमा रहन कोसिस गर्नु एवम् सिक्ने प्रकृया र नयाँ अनुभवका लागि उत्सुक रहनु पनि भाग्यमानी बन्ने उपाय मानिएको छ । भाग्य वा राम्रो अवसरका सम्भावनाहरू प्रायः अरु व्यक्तिहरू मार्फत आउने गर्दछन् । यसकारण रीस, इर्श्या वा घमण्ड जस्ता भावना छोडर अरुले सँगै रहन वा सँगै काम गर्न मन पराउने व्यक्ति बन्नु भाग्य वृद्धि गर्ने अर्को उपाय हो ।
यसरी, हँसमुख उत्सुक र सकारात्मक स्वभाव, एवम् बलियो सम्पर्क सञ्जाललाई भाग्य वा अवसर बढाउने सहायक सिद्धान्तहरू मानिएको छ ।
२. अन्तरआत्माको कुरा सुन्ने
‘किन’ भन्ने स्पष्ट नभएरै पनि बारम्बार सही निर्णय लिन सफल हुनु भाग्यमानी व्यक्तिहरूमा पाइने अर्को विशेषता हो । मानिसको जीवन प्रक्रिया एवम् मष्तिष्कको कार्य सम्पादनमा अवचेतन मनको विशाल भूमिका रहेको हुन्छ ।
चेतन मन एवम् तर्कबाट निष्कर्षमा पुग्न नसकेका कतिपय कुरामा अवचेतन मन सहज र उत्तम निर्णयमा पुग्ने गर्दछ । कतिपय वैज्ञानिक एवम् सफल व्यक्तिका अद्भूत विचारहरू स्वप्न वा अवचेतन मनको उपज हुन भन्ने कुराका कयौँ रोचक उदाहरणहरू छन् ।
पेशा, सम्बन्ध, नयाँ कार्यको सुरुवात लगायतका महत्वपूर्ण निर्णयहरूमा पुग्नका लागि तर्कका साथ अन्तरआत्माको कुरा सुन्नु भाग्य वृद्धि गर्नका लागि अती उपयोगी मानिएको छ। यस शताब्दीकै प्रभावशाली मानिने स्टिभ जब्सदेखि इलोन मस्कसम्मका व्यक्तिहरूले अन्तरआत्माको कुरा सुनेर निर्णय लिने सल्लाह दिने गरेका छन् ।
हरेक दिन सुत्नुअगाडि दशदेखि बीस मिनेट मेडिटेसन अर्थात ध्यानको साथै ‘ग्रेटफुलनेस प्राक्टिस’ को आदत अन्तरआत्माको पूर्णसहयोग पाउनका लागि अत्यन्तै प्रभावकारी हुने पाइएको छ ।
३. भाग्यले साथ दिनेछ भन्ने अपेक्षा र विश्वास गर्ने
अनुसन्धानका क्रममा भाग्यमानी व्यक्तिहरू आफूलाई भाग्यले साथ दिनेछ भन्ने कुरामा अन्तःस्करण देखि नै भरपुर अपेक्षा र विश्वास गर्ने एवम् त्यसको प्रभावस्वरुप प्राप्त हुने आत्मविश्वास कारण उनीहरू सफलता आकर्षित गर्नसक्ने चुम्बकीय व्यक्तित्व जस्तो बन्ने गरेको नतिजा सामने आयो ।
परीक्षामा, प्रतिस्पर्धामा, अन्तरवार्तामा र जोखिमपश्चात सफल भइने क्रियाकलापहरूमा नतिजा आफ्ना लागि सकारात्मक बन्ने अपेक्षा र विश्वास उनीहरूलाई कुनै पनि कुरामा लामो समय डटी राख्न वा टिक्न मद्दत र अन्ततः त्यो सफलताको कारण बन्ने गरेको पाइयो ।
यसको विपरीत, आफूलाई भाग्यको साथ रहँदैन भनि विश्वास गर्ने व्यक्तिहरू कुनै पनि कार्य गर्दा दुविधा र शंकाका साथ गर्ने गरेको पाइयो । नकारात्मक नतिजाको सम्भावना बढी देख्ने कारणले प्रयासहरू नै आधा र अधुरो रहनु उनीहरू असफल हुने एक प्रमुख कारण हो भन्ने कुरा तुलनात्मक अनुसन्धानहरूबाट स्पष्ट भएको छ ।
यसरी राम्रो भाग्यको अपेक्षामार्फत खट्न एवम् खप्न सक्ने व्यक्तित्व (ग्रिट)का साथै परिस्थितिप्रतिको सहज अनुकुलनताको खुबी भाग्य बढाउने अन्य सहायक उपायहरू हुन् । विश्वास यथार्थतामा बदलिन सक्छ भनी मान्ने ‘सेल्फ फुलफिलिङ प्रोफेसी’ ‘प्लेसिबो इफेक्ट’ जस्ता स्थापित मनोवैज्ञानिक सिद्धान्तहरूले समेत यस्तो सम्भावनाको समर्थन गर्छन् ।
४. प्रतिकूल भाग्यलाई अनुकूल बनाउन प्रयास गर्ने
भाग्यमानी व्यक्तिहरू जीवन अनियमित घटना र आकस्मिकताको पूर्ण अधिन नभई केही सिद्धान्तमा आधारित हुन्छ भन्ने मान्छन् । धेरै हदसम्म व्यक्ति स्वयंले नै जीवनलाई निश्चित दिशा प्रदान गर्न सक्छ भन्ने विश्वास गरी उनीहरू अनुकूल र प्रतिकूल दुवै परिणामको जिम्मेवारी स्वीकार गर्ने गर्छन् ।
परिणाम आफ्नो नियन्त्रणमा छ भनी मान्ने यस प्रकारको सोचलाई मनोविज्ञानमा ‘इन्टर्नल लोकस अफ कन्ट्रोल भनिन्छ’ । जीवनका असहज परिस्थितिहरूलाई जीवनमा परिपक्व र सबल बन्दै जाने अवसर एवं त्यसका लागि नियतीले लिएको चरणबद्ध परीक्षाका रुपमा स्वीकार गर्ने स्वभावका कारण उनीहरू प्रतिकूल भाग्यलाई पनि अन्ततः आफू अनुकूल बनाउन सफल हुन्छन् ।
यसको विपरीत, आफूलाई भाग्यहीन सम्झिने व्यक्ति अनुकूल र प्रतिकूल परिणाम मूलतः परिस्थितिको उपज मानी जीवनमा आफ्नो भूमिका र नियन्त्रण गुमाउँछन् । उनीहरू आफ्नो जीवन आफूबाट नभई बाह्य नियन्त्रण अर्थात ‘एक्सटर्नल लोकस अफ कन्ट्रोल’ बाट सञ्चालित छ भन्ने सोची प्रायः पीडित र असहायको मनोदशामा रहन्छन् ।
मानिसको जीवनमा अप्रत्यासित जस्तो देखिने सकारात्मक अवसर एवम् नकारात्मक परिस्थितिहरूको ठूलो प्रभाव पर्दछ भन्ने कुरा नकार्न सकिँदैन । तर, मनोविज्ञानका अनुसार त्यस्तो संयोग के भयो भन्दा पनि त्यो संयोगरुपी अवसर वा समस्यामा व्यक्तिले के गर्यो भन्ने कुराले भाग्यको प्रभावको निर्धारण गर्दछ ।
यी अध्ययनहरूले व्यक्तिलाई भाग्यको सीमावद्धतामा सीमित निरीह र पीडित महसुस गर्न आवश्यक नरहेको कुरा स्पष्ट संकेत गरेको बुझ्न सकिन्छ ।
प्रतिक्रिया 4