
महिला सशक्तिकरणको मुद्दा नयाँ होइन । सदियौंदेखि अहिलेसम्म यस विषयमा चर्चा–परिचर्चा भइरहेको छ । यसबारे कति लेख लेखिए, कति सेमिनार गरिए, कति सडक प्रदर्शन गरिए । र, अहिले नयाँ भाष्य स्थापित गरिएको छ, ‘पुरुष र महिला बराबर ।’
तर, के वास्तविकतामा यस्तो छ । युग बद्लियो, जीवन पद्धति बद्लियो तर महिलालाई दबाउने जुन किसिमको परिपाटी छ, त्यो बदलिएको छैन । त्यसको स्वरुप र भाषा बदलिएको होला । तर, यर्थातमा महिलामाथि पुरुष नियन्त्रण अझै उस्तै छ ।
त्यसैले त कुनै महिलाले घरमा होस् वा कार्यलयमा आफूलाई अग्रसर देखाउन थाल्दा, अधिकारको कुरा गर्न थाल्दा उनलाई ‘घमण्डी’, ‘जिद्दी’, ‘शिलस्वभाव नभएका’ भनेर उडाउने गरिन्छ ।
जबकि कुनै पुरुषले त्यस्तै व्यवहार गरेमा उनलाई नेता वा हिरो बनाइन्छ । हो, पुरुष र महिलाबीच यही भेद छ । यदि पुरुषहरू बलियो हुन सक्छन् र नेतृत्व गर्ने गुणहरू हुन सक्छन् भने, महिलाहरू किन त्यस्तो हुन सक्दैनन् ?
किन महिलाहरूलाई नियन्त्रणकारी स्वभाव भनिन्छ ?
२०१४ मा, फेसबुकका सीओओ शेरिल स्यान्डबर्गले ‘ब्यान बोसी’ अभियान सुरु गरेकी थिइन् । उनलको अभियानमा विश्व प्रसिद्ध महिला नेतृ र विद्वानहरूले समर्थन गरेका थिए ।
अभियानको तर्क थियो सानै उमेरदेखि केटीहरूलाई शान्त र आज्ञाकारी हुन तालिम दिइन्छ । यदि उनीहरूले यी लैङ्गिक मान्यताहरू तोड्ने हिम्मत गरे भने, उनीहरूको प्रायः आलोचना हुन्छ । जसले उनीहरूलाई हुर्केर नेता बन्नबाट निरुत्साहित गर्छ वा रोक्छ ।
के महिलाले आफ्नो आवाज आफैँ उठाउन सक्दैनन् ? के समाजमा महिलाका गुणहरूलाई कमजोरीको रूपमा प्रस्तुत गर्नु ठिक हो ?
महिलाका गुणहरूलाई समाजमा उनीहरूको कमजोरीको रूपमा प्रस्तुत गरिन्छ । किनभने यदि कुनै केटालाई उसको प्राथमिकताको केटीको बारेमा सोधियो भने, उसलाई त्यस्ता केटीहरू मनपर्छ जो हेरचाह गर्ने, घरायसी काम गर्ने र शान्त स्वभावका हुन्छन् ।
उनीहरूले बलियो महिलालाई प्रेमिका त बनाउँछन् र विवाह गर्दा नरम स्वभावका महिलासँग नै गर्छन् । हरेक पुरुषले आफूलाई महिलाभन्दा बलियो ठान्छ र बलियो रहन चाहन्छ । तर धेरै महिलाहरू पुरुषहरू भन्दा बलिया र बुद्धिमान पनि हुन्छन् ।
महिलालाई नियन्त्रण गर्नु कमजोर मानिसहरूको लक्षण
जसले महिलालाई नियन्त्रण गर्न खोज्छन् उनीहरू कमजोर, असहाय र अरूमा निर्भर हुन्छन् तर यसलाई स्वीकार गर्न चाहँदैनन् । यी मानिसहरूमा आफैँले केही गर्ने शक्ति हुँदैन, त्यसैले तिनीहरू महिलालाई दबाएर र उनीहरूमाथि आफ्नो बल प्रयोग गरेर आफ्नो पुरुषत्व प्रमाणित गर्ने प्रयास गर्छन् । यस्ता पुरुषलाई दबिएका, बिन्ती गर्ने, गरिब र असहाय महिलाहरू मन पर्छन् जो उनीहरूमाथि निर्भर रहन्छन् ।
कस्ता महिलालाई बोसी भनिन्छ ?
आफ्नो निर्णयमा विश्वास गर्ने महिलालाई बोसी भनिन्छ किनभने उनीहरूलाई कुनै पनि निर्णय लिन कसैको सल्लाहको आवश्यकता पर्दैन । अरूबाट सल्लाह लिए पनि उनीहरू निर्णय आफैँ गर्छन् ।
१. आफ्नो अधिकारका लागि लड्ने
बोसी महिलाहरूलाई आफ्नो अधिकारका लागि कसरी आवाज उठाउने भन्ने थाहा हुन्छ । उनीहरू कसैसँग डराउँदैनन् । उनीहरूलाई आफ्नो अधिकार कसरी प्रयोग गर्ने भनेर पनि राम्ररी थाहा हुन्छ ।
२. आफ्नो इच्छासँग सम्झौता नगर्ने
यस्ता महिलाहरू पहिले आफ्ना लागि बाँच्छन् र आफ्नो बारेमा सोच्छन् । उनीहरूलाई आफूलाई कसरी खुसी राख्ने भन्ने थाहा हुन्छ । त्यसैले आफ्ना सपनाहरूलाई दबाउँदैनन् र ती सपनाहरू प्राप्त गर्न कडा परिश्रम गर्न डराउँदैनन् ।
३. खुसी बाँड्ने कुरामा विश्वास गर्ने
बोसी महिलाले आफ्नो खुसीलाई मात्र प्राथमिकता दिँदैनन्, आफ्नो खुसीमा अरूलाई पनि समावेश गर्ने कुरामा विश्वास गर्छन् । अरूको भावनाको सम्मान पनि गर्छन् । उनीहरू जीवनभर टुटेको सम्बन्ध र नराम्रो सम्झनाको बोझ लिएर बस्नुपर्छ भन्ने कुरा मान्दैनन् । अगाडि बढ्नुमा विश्वास गर्छन् ।
४. आफ्नो सुरक्षाका लागि सक्षम
यस्ता महिलाले आफ्नो सुरक्षा आफैँ गर्न सक्छन् । कुनै पनि समस्याको समाधान गर्न उनीहरूले आत्मरक्षा तालिम लिन्छन् । नकारात्मक परिस्थितिबाट बाहिर निस्कने उपाय खोज्छन् ।
५. आत्मविश्वासको स्तर उच्च
यस्ता महिलाहरूमा उच्च आत्मविश्वास पनि हुन्छ । कुनै पनि कामका लागि अरूमा भर पर्दैनन् । कुनै कुरा आउँदैन भने त्यसलाई सिक्छन् । आफ्नो बाटो आफैँ रोज्छन् त्यसलाई पछ्याउँछन् ।
६. काम गर्ने राम्रो क्षमता
यस्ता महिला आफ्नो सपना पूरा गर्न जुनसुकै हदसम्म जान सक्छन् । आफ्नो लक्ष्यमा नजर राख्नु र अगाडि बढ्नु यी महिलाहरूको व्यक्तित्वको महत्त्वपूर्ण भाग हो ।
७. सकारात्मक सोच
सकारात्मक सोचले नै उनीहरूलाई अरूभन्दा फरक बनाउँछ । हरेक चीजलाई हेर्ने उनीहरूको दृष्टिकोण अलि फरक हुन्छ । यही कारणले गर्दा उनीहरू असफलतामा निराश हुँदैनन्, फेरि साहसका साथ दोस्रो प्रयास गर्छन् ।
८. आफ्नो हेरचाह कसरी गर्ने ज्ञान
यस्ता महिलाहरूले अरूको मात्र हेरचाह गर्दैनन् आफ्नो पनि हेरचाह गर्छन् । आफ्ना लागि समय निकाल्छिन्, आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिन्छन् ।
९. आफूलाई प्राथमिकता दिने
यस्ता महिला जे छ त्यसमा खुसी हुन्छन् । उनीहरूलाई हेर्दा राम्रो, उचाइमा छोटो वा कालो, गोरो हुनुले केही फरक पार्दैन । उनीहरूसँग जे छ त्यो पूर्ण छ भनेर सोच्छन् र आफ्ना कमजोरीहरूलाई आफ्नो शक्तिमा परिणत गर्छिन् ।
१०. अरुका लागि प्रेरणा बन्ने
यी महिलाहरूले आफ्नो जीवनमा यस्तो काम गर्छन्, जसले गर्दा उनीहरू अरूका लागि पनि उदाहरण बन्छन् । उनीहरूको जीवन हेरेर मानिसहरूले धेरै कुरा सिक्छन् । साथै अरूलाई अगाडि बढ्न प्रोत्साहित र मद्दत गर्छन् ।
११. प्रतिकूल परिस्थितिसँग नडराउने
हाम्रो जीवनमा आउने समस्याहरूलाई हामी कसरी लिन्छौँ भन्ने कुरा हाम्रो मानसिक अवस्थामा निर्भर गर्छ । यस्ता महिलाहरूले हरेक कठिनाइको साहसपूर्वक सामना गर्छन् । प्रतिकूल परिस्थितिसँग डराउँदैनन् ।
१२. श्रीमान भन्दा बढी काम गर्ने
यस्ता महिलाहरूले घर र बाहिरको काम दुवैलाई राम्रोसँग व्यवस्थापन गर्छन् । श्रीमानभन्दा धेरै गुणा बढी काम गर्छन् र तैपनि ताजा महसुस गर्छन् । किनभने उनीहरू जे गर्छन्, त्यो पूरा हृदयले गर्छन् । जब मन खुसी हुन्छ, कुनै पनि काम बोझ जस्तो लाग्दैन ।
बलियो महिला बन्न यी कुरामा ध्यान दिनुपर्छ
– आफ्ना गुण र कमजोरीहरू थाहा पाउनुपर्छ र तिनीहरूलाई व्यवस्थापन गरेर बाँच्न सिक्नुपर्छ । आफ्ना कमजोरीहरूलाई आफ्नो शक्तिमा परिणत गर्नुपर्छ ।
– आफू गलत छैन भन्ने निश्चित भएको कुरामा शीर झुकाउनु हुँदैन ।
– आफ्नो सीमा आफैँ तोक्नुपर्छ, अरुको विचार लिने तर हरेक कुरामा सोचेर आफैँले निर्णय गर्नुपर्छ ।
– आफ्नो स्वास्थ्यको पूर्ण ख्याल राख्नुपर्छ । त्यसैले, आफ्नो खानपान र नियमित स्वास्थ्य जाँचको ख्याल राख्नुपर्छ ।
–कसैको दबाबमा आउनु हुँदैन । आफूलाई जे ठिक लाग्छ त्यही गर्नुपर्छ । ठिक नलाग्ने कुनै पनि कुरालाई नाइँ भन्नुपर्छ ।
–कसैले मलाई नराम्रो भन्छ कि भनेर डराउनु हुँदैन । निसास्सिएर जीवन बिताउनु भन्दा, एक पटक खराब बनेर शान्तिपूर्वक जीवन बिताउनु राम्रो हुन्छ ।
प्रतिक्रिया 4