+
+
Shares

भारत-पाकिस्तान तनावमा नेपालको धारणा के ?

बढ्दो भारत–पाक तनावबीच अमेरिकासहितका मुलुकहरुले परिस्थिति थप विग्रिनसक्नेमा चिन्ता व्यक्त गरिरहेका छन् । चीनले भारतीय कदमको आलोचना गर्दै पाकिस्तानलाई साथ दिएको छ तर, नजिकको छिमेकी नेपालले मुख खोलिसकेको छैन ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ वैशाख २४ गते २१:५१
श्रीनगर नजिक वुयानमा तैनाथ भारतीय सुरक्षा अधिकारीहरु । तस्वीरः तौसरिफ मुस्ताफा, एएफपी

२४ वैशाख, काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेपछि परिस्थिति थप बिग्रिन सक्नेमा अमेरिकासहितका मुलुकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भनेका छन् । आफैं युद्धमा रहेको इजरायलले भारतलाई समर्थन गर्दै बुधबार मध्यराति भएको हवाई हमलालाई आतंककारीविरुद्धको कारबाही भनेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले चाहिँ दुवै पक्षलाई संयम अपनाउन र राजनीतिक संवादमार्फत विवाद समाधान गर्न भनेको छ । तर, भारतको नजिकको छिमेकी नेपालले भने हालसम्म यो विषयमा मुख खोलेको छैन ।

बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत थिए ।

यो बैठकमा पहलगाम आक्रमण र भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको हवाई कारबाहीबारे छलफल भएको स्रोतको भनाइ छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरु भने यस विषयमा हालसम्म धारणा बनाइनसकिएको बताउँछन् । मन्त्रालय स्रोतका अनुसार, सुरक्षा परिषद्को बैठक सकिएसँगै यस विषयमा कुनै वक्तव्य आउनसक्छ ।

एक साताअघि भारतीय विदेशमन्त्री एस जयंशरको विशेषदूतका रुपमा काठमाडौं आएका सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली नेताहरुसँग भेट गर्दै आतंकवादविरुद्ध नेपालको साथ आफूहरुलाई आवश्यक पर्ने बताएका थिए । उनले यस्तै परिस्थितिमा नेपालले आफूलाई साथ देओस् भन्ने अपेक्षा राखेको उनीसँग भेट गरेका नेताहरु बताउँछन् ।

दक्षिण एसियामा शान्ति भएन भने त्यसले हामीलाई पनि प्रत्यक्ष असर गर्छ । आतंकवाद फैलिनु नेपालले पनि दुःख पाउनु भएकाले हाम्रो पोजिसन क्लीयर गर्नुपर्छ – निलम्बर आचार्य, भारतका लागि पूर्वराजदूत

भारत प्रशासित कश्मिरको वैशरण उपत्यकामा पर्ने पहलगाममा १० वैशाखमा नेपाली नागरिक २७ वर्षीय सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए । त्यो घटनाको जिम्मेवारी धार्मिक कट्टरपन्थी समूह द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ) ले लिएको थियो, जसको पाकिस्तानमा आधारित इस्लामिक आतंकवादी समूह ‘लस्कर–ए–तोइबा’सँग सम्बन्ध रहेको भनिन्छ ।

लस्कर ए तोइबालाई पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) को सहयोग रहेको आरोप लाग्ने गर्छ । नयाँ दिल्लीले त ‘लस्कर ए तोइबा’लाई भारतविरुद्ध लड्न पाकिस्तानले बनाएको ‘प्रोक्सी आतंकवादी संगठन’को आरोप लगाउने गरेको छ ।

यस्तोमा पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको आतंकवादीहरुको ९ अड्डामा हवाई कारबाही गरेर पहलगाम घटनामा संलग्नलाई ‘न्याय दिइएको’ भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले बताएका छन् ।

एक साताअघि भएको चौथाइवालेको भ्रमणमार्फत भारतीय विदेश मन्त्रालयले यस्तो अवस्थामा नेपालको स्पष्ट साथ खोजेको भए पनि परिस्थितिलाई थप विग्रिन नदिन नेपालले भूमिका खेल्नुपर्ने कुटनीतिक मामलाका जानकारहरु बताउँछन् ।

नेपाल अहिलेसम्म मौन बसिरहेको छ, जसलाई कुटनीतिक दृष्टिकोणले सही ठहर्‍याउँदैनन् भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्य ।

‘दक्षिण एसियामा शान्ति भएन भने त्यसले हामीलाई पनि प्रत्यक्ष असर गर्छ, यो क्षेत्रमा आतंकवाद फैलिनु भनेको नेपालले पनि दुःख पाउनु हो’, उनले भने, ‘त्यसैले यो नेपालका लागि पनि सरोकारको विषय हो र यसमा हाम्रो पोजिसन क्लीयर गर्नुपर्छ ।’

ट्रकहरूले लाहोरबाट करिब ३० किलोमिटर टाढा रहेको मुरिद्केमा सडक हुँदै सेनाका ट्याङ्कहरू ढुवानी गरिरहेका छन्। तस्वीरः मुर्तज अली, एएफपी

भारत–पाक तनाव कहाँसम्म पुग्ला ?

नजिकको छिमेक र सार्क अध्यक्ष भएकाले पनि नेपालले आतंकवादलाई नसहने तर, क्षेत्रीय शान्तिका लागि परिस्थिति थप अप्रिय नहोस् भन्ने हिसाबले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्छ – विनोज बस्न्यात, पूर्वउपरथी, नेपाली सेना

भारतले गएरातिको घटनालाई आतंकवादीलाई परिचालन र निर्देशन दिएको अड्डाविरुद्धको कारबाहीको रुपमा प्रस्तुत गर्न खोजेको छ । उसले ती क्षेत्रमा आतंकवादी संगठनका सदस्यहरु रहेको भनेको छ । भलै आक्रमणका क्रममा एकजना नाबालकको पनि मृत्यु भएको विवरणहरु आएका छन् ।

पाकिस्तानले चाहिँ यसलाई ‘युद्धजन्य कार्य’ भन्दै यसको कडा जवाफ दिने भनेको छ । ‘पाकिस्तानी जनता र पाकिस्तानको सशस्त्र बललाई शत्रुसँग कसरी जुध्ने भन्ने राम्रोसँग थाहा छ, हामी कहिल्यै पनि शत्रुलाई आफ्ना दुष्ट उद्देश्यहरुमा सफल हुन दिने छैनौं’, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भनेका छन्, ‘भारतद्वारा थोपरिएको यो युद्धकार्यको प्रतिकार गर्न पाकिस्तानलाई पूर्ण अधिकार छ ।’

प्रधानमन्त्री शरीफको यो अभिव्यक्तिपछि तनाव थप बढ्ने हो कि भन्ने शंका गरिएको छ । यस्तोमा तनाव बढेर युद्धमा परिणत नहोस् भन्ने उद्देश्यले ‘दुवै देशलाई आफ्नो लक्ष्मण रेखाभित्र बस्न’ भन्दै नेपालले विज्ञप्ति जारी गर्नुपर्ने भारतका लागि पूर्वराजदूत आचार्य बताउँछन् ।

‘भारत र पाकिस्तानबीच तनाव चर्किएर युद्धको स्थितिमा पुग्यो भने हाम्रो व्यापार, विकास सम्बन्धलाई पनि असर गर्छ, त्यसमा पनि भारत खुला सीमाना भएको हाम्रो अत्यन्त निकट छिमेकी हो’, उनले अनलाइनखबरसँग भने, ‘यो स्थितिमा नेपाल केही नबोल्ने भन्ने हुँदैन, विवादलाई वार्तामार्फत समाधान गर्न भनेर स्पष्ट सन्देश दिनुपर्छ ।’

नेपाल क्षेत्रीय सहयोग र सहकार्यका लागि भन्दै सन् १९८५ मा स्थापना भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को समेत अध्यक्ष राष्ट्र भएकाले भारत–पाकिस्तान तनावमा स्पष्ट धारणा राख्नुपर्ने जानकारहरु बताउँछन् ।

नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यात भारतले जुन तरिकाले गएराति हवाई आक्रमण गर्‍यो, त्यसलाई ‘स्मार्ट एट्याक’ (सबैले आतंकवादी भनेको समूहलाई लक्षित गरिएको कारबाही) भन्छन् ।

‘उसले हमला गरेको ९ क्षेत्रमा आतंकवादीको उपस्थिति थियो भनेको छ, पहलगाममा ज्यान गुमाउनेहरुलाई न्याय दिइएको भनेको छ’, उनले अनलाइनखबरसँग भने, ‘भारतले यसलाई थप बढाउने उद्देश्य नभई आतंकवादविरुद्ध कारबाही गरेको सन्देश दिन खोजेको छ, यो भारत पाकिस्तान युद्धको स्थितिसम्म जाँदैनन् भन्ने संकेत हो ।’

तर, भारतले पाकिस्तानले कुनै पनि गतिविधि गरे त्यसको प्रतिवादी गरिने भनेको छ । यस्तोमा नेपालले आतंकवादलाई नसहने तर, क्षेत्रीय शान्तिका लागि परिस्थिति थप अप्रिय नहोस् भन्ने हिसाबले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने बस्न्यात बताउँछन् ।

‘सार्क अध्यक्षको हिसाबले कुनै देशलाई आरोप नलगाई परिस्थितिलाई विग्रिन नदिन एउटा सन्देश दिनुपर्छ भन्ने मलाई लाग्छ’, उनले थपे, ‘त्यसले नेपाल आतंकवादको विरुद्धमा सधैँ खरो उत्रिन्छ भन्न सन्देश पनि जान्छ ।’

पहलगाममा दुई साताअघि भएको आक्रमणलाई नेपालले आतंकवाद भन्दै त्यस्तो गतिविधिको विपक्षमा रहेको सन्देश दिएको थियो ।

भारतको हवाई आक्रमणपछि जम्मु कश्मिरको एक जिल्ला पुंछमा देखिएको दृश्य । तस्वीरः पुनित परांजपे, एएफपी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन समेत गर्दै घटनाको भत्र्सना गरेका थिए । तर, पछिल्लो समय दुई छिमेकबीच विग्रिँदो परिस्थितिका बीच नेपालले सार्कलाई समेत अघि सानुपर्ने जानकारहरु बताउँछन् ।

भारतको अरुचिका बाबजुद नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंकाको अग्रसतामा यो क्षेत्रीय संगठन बनेको थियो । मालदिभ्स, भुटान र पछिल्लोपल्ट अफगानिस्तान समेत यसमा जोडिएका थिए । सन् २०१४ देखि नेपाल यसको अध्यक्ष रहँदै आएको छ । भारत–पाकिस्तान द्वन्द्वका कारण सार्क निष्क्रिय जस्तै रहँदै आएको छ ।

भारतीय संस्थापन निकट विज्ञहरु व्यावहारिक रुपमा सार्क मृतप्रायः भइसकेको तर्कसमेत गर्न थालेका छन् । विकल्पमा बिमस्टेक, बिबिआइएन जस्ता संस्थाहरुको वकालत भारतले गर्ने गर्छ, जहाँ पाकिस्तान सहभागी छैन ।

सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा हुने भनिको सार्क सम्मेलन समेत भारत–पाकिस्तानको तनावका कारण रोकिएको छ । यस्तोमा सार्कको नेतृत्वकर्ताको हिसाबले समेत उपस्थिति देखाउनुपर्ने जानकारहरु बताउँछन् ।

‘पहिलो कुरा सार्कको अध्यक्ष दोस्रो कुरा नजिकको छिमेकी भएकाले पनि यसमा मौन रहनु हुँदैन’, पूर्वराजदूत आचार्य थप्छन्, ‘स्पष्ट रुपमा बोल्नुपर्छ ।’

विगतमा अमेरिकाले प्रतिआतंकवाद प्रतिवेदनमा नेपाललाई ‘इण्डियन मुजाहिद्दीनसहितका आतंकवादीको हब’का रुपमा उल्लेख गरेको थियो ।

केही वर्षयता अमेरिकी प्रतिवेदनमा नेपालको प्रसंग नै समावेश नगरिए पनि यस्ता परिस्थितिमा नेपालले स्पष्ट अडान राखेर आतंकवादविरुद्ध रहेको सन्देश दिनुपर्ने प्रतिआतंकवाद मामलाका जानकार टेकप्रसाद राई बताउँछन् ।

उनी भन्छन्, ‘आतंकवादीहरुले नेपाली भूमिलाई प्रयोग गरिरहेको आरोप विभिन्न समयमा लाग्ने गरेको छ, यस्तो स्थितिमा भनेको नेपाल सधैँ आतंकवादविरुद्ध छ भन्ने विश्वलाई सन्देश दिने अवसर पनि हो ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?