+
+
Shares

प्रि–मनसुनमा सरदर वर्षा, असर गम्भीर

यस वर्षको प्रि–मनसुन अवधिमा भएको सरदर वर्षाले कतिपय स्थानमा बाढी, पहिरो र सडक अवरुद्ध जस्ता असर देखिन थालेका छन् । मनसुनमा सरदरभन्दा बढी वर्षाको सम्भावना भएकाले सतर्कता आवश्यक देखिन्छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८२ वैशाख २३ गते २१:०५
सोमबार राति उदयपुरको चौदण्डीगढी-५ सिवाई-बेल्हा गाउँ जोड्‍ने बीचमा रहेको त्रियुगा नदीको बाढीले बगाएको बस। बस जन्ती पुर्‍याएर बेल्टार फर्किदै थियो । तस्वीर : भाष्कर चौधरी

२३ वैशाख, काठमाडौं । यस वर्षको प्रि–मनसुन अवधिमा सरदर वर्षा भएको छ । यो वर्षाका कारण विभिन्न जिल्लामा बाढी र पहिरो गएका समाचारहरू सार्वजनिक भइरहेका छन् ।

प्रिमनसुन अवधि भन्नाले मार्च, अप्रिल र मे महिनालाई बुझाउँछ । नेपालमा प्रिमनसुन अवधिमा ९० देखि ११० मिलिमिटरसम्म वर्षा हुनुलाई सरदर मानिन्छ । तर आजसम्मको अवधिमा १०७.५ मिलिमिटरसम्म वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले अनलाइनखबरसँग भने, ‘प्रि–मनसुनको सिजनल हेर्दाखेरि १०७.५ प्रतिशत वर्षा भएको छ । यो भनेको सरदर वर्षा हो ।’

प्रि–मनसुन अवधिमा सरदर वर्षा हुने भनेर विभागले गरेको प्रक्षेपण अनुसार नै वर्षा भएको हुमागाईंको भनाइ छ । उनका अनुसार प्रिमनसुन अवधिका तीन महिनामध्ये मार्चमा खासै पानी नपरे पनि त्यसपछिका अप्रिल र मेमा राम्रो वर्षा भएको छ ।

कुन महिनामा कति वर्षा ?

अप्रिल महिनामा वर्षा सामान्य हुने अनुमान विभागले गरेको थियो । सो अनुमान मिल्ने गरी अप्रिलको दोस्रो सातामा धेरै पानी परेको रेकर्ड छ ।

पानी परेसँगै निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको दाउन्ने खण्डमा बाटो बिग्रिँदा घण्टौं जाममा फस्नु परेको छ ।

मौसमविद् हुमागाईं भन्छन्, ‘मार्चमा खासै पानी नपरे पनि अप्रिल महिनामा सरदर १२६ प्रतिशत वर्षा भएको छ । यो भनेको ७६.५ मिलिमिटर हो ।’

मंगलबारको वर्षपछि विष्णुमती करिडोर अन्तर्गत कन्केश्वर सडकमा पानी जम्दा सवारी साधन आउजाउमा समस्या भएको छ ।

यसैगरी मे महिनाको आजसम्मको अवधिमा पनि सरदरभन्दा बढी पानी परेको छ । ‘आज ६ तारिकसम्मको अवधिलाई हेर्दा मे महिनामा पर्ने पानीको जम्मा १८.७ प्रतिशत वर्षा भइसकेको छ,’ मौसमविद् हुमागाईंले भने, ‘यो हेर्दाखेरि सेम पिरियडको एभरेजसँग १२१ प्रतिशत भन्ने देखिन्छ ।’

विभिन्न स्थानमा बाढी

केही दिनयता बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु, पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावले पानी परिरहेको छ । पानीसँगै आएको बाढीले कतिपय जिल्लामा बाटो भत्काउँदा यातायात अवरुद्ध भएको छ ।

पानी परेसँगै निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने खण्डमा बाटो बिग्रिँदा घण्टौं जाममा फस्नु परेको छ ।

काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथमा पर्ने बागमती खोला । जहाँ सवारीसाधन आउजाउ गर्न ह्युमपाइप राखिएको थियो । बाढीले ह्युमपाइप बगाउँदा केही समय सडक अवरुद्ध भएको थियो ।

यही २१ वैशाखमा काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथमा पर्ने बागमती खोलामा बाढीले ह्युमपाइप बगाउँदा बाटो अवरुद्ध भएको थियो ।

उदयपुरमा सोमबार राति त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका ५ को सिवाई र बेल्हा गाउँ जोड्न ह्युमपाइप राखेर बनाइएको बाटो भत्किँदा बस नै बगाएको थियो ।

प्रि–मनसुनले के संकेत गर्छ ?

गत वर्ष भत्किएका सडक र पुल पुलेसाहरू पुनर्निर्माणको काम नसकिएको र प्रिमनसुन अवधिमा परेको पानीले बाटो भत्किन सुरु भइसकेकाले मनसुन अवधिमा झन् बढी प्राकृतिक प्रकोपको जोखिम हुने चिन्ता छ ।

दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले यस वर्षको मनसुन अवधिमा नेपालमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखाएको छ ।

तर मौसमविद् हुमागाईंका अनुसार प्रिमनसुनको वर्षा वा खडेरीले मनसुनमा गर्ने संकेतबारे नेपाल छुट्टै अध्ययन भएको छैन । त्यसैले अहिलेको प्रिमनसुनमा परेको पानीले मनसुन कस्तो होला भनेर भन्न नसकिने उनको भनाइ छ ।

नेपालमा मनसुनको सम्भावित अवस्थाबारे जल तथा मौसम विज्ञान विभागले हरेक वर्ष प्रक्षेपण सार्वजनिक गर्दछ । यस वर्ष जेठ पहिलो साता मनसुन प्रक्षेपण सार्वजनिक गर्ने तयारी छ ।

मनसुनमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण

दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) ले यस वर्षको मनसुन अवधिमा नेपालमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखाएको छ ।

सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर नेपालको जल तथा मौसम विज्ञान विभागले राष्ट्रियस्तरमा मनसुन प्रक्षेपण सार्वजनिक गर्दछ ।

विभागका महानिर्देशक कमलराज जोशीले नेपालको सन्दर्भमा मनसुन कस्तो हुन्छ भनेर जेठ पहिलो साता पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।

विभागले गरेको प्रक्षेपणको आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम  विश्लेषण गरी मनसुन प्रतिकार्य योजना सार्वजनिक गर्दछ ।

नारायणगढ-मुग्लिन सडक/फाइल तस्वीर

‘सास्कोफको प्रक्षेपण नेपालको सन्दर्भमा मोर अर लेस मिल्छ,’ उनले भने, ‘यद्यपि नेपालको कुन भागमा कस्तो असर पर्छ भन्नेबारे सगरमाथा सम्वाद पछाडि पत्रकार सम्मेलन गरी जानकारी दिन्छौं ।’

सास्कोफले तयार पारेको नक्सामा पूर्वमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै र सुदूरपश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । त्यसैले ती क्षेत्रलाई नीलो र गाढा नीलो रङले संकेत गरिएको छ ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरि हुने वर्षाको ७० देखि ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।

मनसुन र प्रिमनसुन अवधिमा वर्षा राम्रो हुँदा खेतीपाती सप्रिए पनि बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले त्यसबाट जोगिने तयारी र सतर्कता अपनाउनु आवश्यक रहेको विपदविज्ञ् डा. धर्मराज उप्रेती बताउँछन् ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?