
२४ वैशाख, काठमाडौं । यतिबेला पाकिस्तान अशान्त छ । बुधबार भारतले पाकिस्तानको कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ । भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि नयाँ दिल्लीले उक्त हमला गरेसँगै पाकिस्तान अशान्त छ ।
पाकिस्तान अशान्त बनिरहँदा नेपाल र पकिस्तानबीचको व्यापारिक सम्बन्धमा असर पर्न सक्ने खतरा बढेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८१/८२ साउनदेखि चैत मसान्तसम्मको तथ्यांकले दुई देशबीचको व्यापारिक सम्बन्ध उच्च देखिन्छ । खासगरी पाकिस्तानबाट नेपालमा मसला, स्याम्पुदेखि औषधिसम्म आयात भएको देखिन्छ ।
तथ्यांक अनुसार चैतसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ बराबर वस्तु आयात गरेको देखिन्छ भने ६ करोड २२ लाख बराबरको निर्यात गरेको छ । यसले १९ करोड २४ लाख बराबरको व्यापार घाटा देखाउँछ ।
नेपालले पाकिस्तानबाट मसला, औषधीय जडीबुटी, औषधि, सौन्दर्य प्रशाधन र रासायनिक पदार्थजस्ता विविध वस्तु आयात गर्छ । सबैभन्दा धेरै आयात हुने वस्तुमा मसला हो ।
नेपालले ५ करोड ३८ लाख बराबरको मसला यो अवधिमा आयात गरेको छ । त्यस्तै औषधिजन्य जडीबुटी २ करोड ४६ लाख, फेस क्रिम १ करोड ४० लाखको नेपालले पाकिस्तानबाट आयात गरेको देखिन्छ ।
औषधिमा एन्टिबायोटिक र हर्मोनका औषधि र रासायनिक वस्तुमा सोडियम बाइकार्बोनेट पनि पाकिस्तानबाट नेपालमा उल्लेख्य मात्रामा आयात हुन्छन् । कालो नुन, चुरोट, साबुन र प्लास्टिकका सामानजस्ता वस्तु पनि आयातको सूचीमा छन् ।
लामो समयसम्म युद्ध चर्किंदै गए पाकिस्तानबाट समान नआउँदा यी वस्तु अभाव हुने देखिन्छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार लाहोर र कराचीजस्ता ठूला सहरका हवाई क्षेत्र बन्द गरिएको छ ।
यस क्षेत्रमा ठूला विमानस्थलहरू छन् जसमा इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्दछ । ती क्षेत्रमा हवाई उडानमा ठूलो असर परिसकेको छ र उडान निगरानी राख्ने वेबसाइट फ्लाइट राडार २४ का अनुसार कतिपय जहाज पाकिस्तानबाट ‘डाइभर्ट’ भएका छन् ।
सामाजिक सञ्जालमा राखेको विवरणमा उक्त वेबसाइटले फिनएयर, इमिरेट्स, टर्किस कार्गो र साउदी एयरलाइन्सका जहाज अन्यत्र मोडिएको जनाइएको छ ।
एक वक्तव्य जारी गर्दै एयर फ्रान्सले अर्को सूचना नभएसम्म पाकिस्तान माथिका उडान रद्द गरिएको जनाएको छ ।
प्रतिक्रिया 4