
काठमाडौं । गायक प्रमोद खरेल सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए । तर, छैटौं सिजनमा उनी देखिएनन् । त्यतिबेला उनले अनलाइनखबरसँग एक सिजनलाई विश्राम लिएको बताएका थिए ।
कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भैरह्यो । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन यसैसाता सकिएको छ र निर्माता ‘किड्स संस्करण’ ल्याउने तयारीमा छन् ।
मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा छ । यो बीचमा दर्शकलाई खुसीको खबर छ । ‘भ्वाइस किड्स’मा प्रमोद कोचको रुपमा देखिनेछन् ।
शो निर्देशक लक्ष्मण पौड्यालले कोचको रुपमा प्रमोदले निरन्तरता दिने बताए । ‘अहिलेसम्म उहाँ कोचमा पक्कापक्की नै हो’ निर्देशक पौड्यालले भने ।
उनका अनुसार मेलिना राई र खेम सेन्चुरी पनि कोचको रुपमा देखिनेछन् । यद्यपि, यी कोचबारे औपचारिक घोषणा हुन बाँकी छ । अर्का एक कोच तय हुन बाँकी रहेको जनाइएको छ ।
‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएको निर्देशक पौड्यालले बताए । ब्लाइन्ड अडिसनमा एकजना कोचको समूहमा १२ जना प्रतिस्पर्धी हुनेछन् ।
प्रतिक्रिया 4