
२३ वैशाख, काठमाडौं । आस्था र विचारले नेकपा एमालेको अनुशासनभित्र थिए, प्रदीप नेपाल । तर, उनको मन सधैं मुक्त आकाशको खोजीमा हुन्थ्यो ।
दिनहुँका औपचारिक तामझामबाट निवृत्त ७१ वर्षीय नेपाल एक दशकयता पार्किन्सन्ससँग जुधिरहेका थिए । उनी यसैका कारण मंगलबार राजधानीमा बित्दा धेरैले उनको मृत्युअघिको इच्छापत्र सम्झेका छन्, जहाँ उनले माला, झन्डा र सलामीको बिदाई छानेका थिएनन् । मृत्यु संस्कारमा समेत राजकीय अधिकार दाबी गर्ने आम नेतृत्वको प्रवृत्तिलाई नेपालले क्रमभंग गर्न चाहेका थिए ।
माथि उल्लेखित ‘मुक्त आकाशको खोजीमा’ शब्दसँग इतिहासको एउटा ठूलो घटना जोडिन्छ, जतिबेला नख्खु जेलब्रेक भएको थियो । जेलमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई, माले नेता सीपी मैनालीसहित नेपाल समेत थिए । नेपालसँगै गोपाल शाक्य, नारद वाग्ले, वीरबहादुर लामा, भीष्म धिमाल लगायत नेताहरूले ०३३ को एक राति जेलब्रेक गरे ।
धेरै रातहरू उनीहरूले सुरुङ खनेर बिताएका थिए । कांग्रेस नेता भट्टराईले भने आफू जेलब्रेक नगर्ने, राजबन्दीकै रुपमा भित्र बस्ने निर्णय गरेको, अनि वामपन्थीहरू जेलबाट मुक्त आकाशमा जाने निर्णय गरेको सन्दर्भ उनको किताबमा उल्लेख छ । १५ जेलब्रेककर्तामध्ये पाँच जनालाई पञ्चायती प्रशासनले फेरि समात्न सफल भएको थियो । नेपाल लगायत नेताहरू भने भूमिगत राजनीतिमा सक्रिय बने । कोअर्डिनेशन केन्द्र बनाएर उनीहरूले थालेको अभियान कालान्तरमा नेकपा माले हुँदै एमाले बन्यो ।
नेपालले आफ्नो साहित्यिक उपनाम सन्जय थापाको नामबाट लेखेको ‘मुक्त आकाशको खोजीमा’ संस्मरण–शृंखला आज पनि उत्तिकै पठनीय साहित्य मानिन्छ । १० वर्षका लागि कैद काटिरहेका नेपालहरूले गरेको विद्रोह इतिहासका विद्यार्थीहरूको लागि पठन सामग्री हो ।
तर नेपाल केवल वामपन्थी विचारका बन्दीमात्रै भने थिएनन् । उनी चर्का टिप्पणीहरू दिन डराउँदैनथे । एकपल्ट गिरिजाप्रसाद कोइरालाले अन्तवार्ताकै क्रममा काम गर्न अप्ठेरो लाग्ने पार्टीबाहिरका मन्त्रीमा नेपालको नामै लिएका थिए । त्यही अन्तवार्तामा कोइरालाले सजिला मन्त्रीमा केपी शर्मा ओलीको नाम लिएका थिए ।
नेपालले भने एउटा कुराकानीका क्रममा यो पंक्तिकारलाई आफ्नो बगावतका कारण पार्टीभित्र र बाहिर आफूलाई सहज रुपमा लिन नगरिएको प्रतिक्रिया दिएका थिए । उनले कोइराला लगायत स्वास्थ्य प्रतिकुलता रहेका नेताहरूले लामो समय सत्तामा बस्न नहुने तर्क समेत दिएका थिए ।
भिन्न मतहरूलाई टड्कारो स्वरमा दर्ज गर्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर मौलिकतासहितको खुलापनका पक्षपोषक बन्न पुगेका थिए । प्रजातन्त्रको बहसमा उनी अरुभन्दा अघि बढेर छलफल गर्थे । कम्युनिस्ट पार्टीभित्र गैरवामभन्दा बढ्ता प्रजातान्त्रिक बहस र अभ्यास हुन सकेको भए सोभियत संघ ढल्ने थिएन भनी उनी लेखिरहन्थे ।
एमालेले धर्मनिरपेक्षताको लाइन पास गर्दा नेपाल सर्वधर्म सापेक्ष राष्ट्रको वकालत गर्थे । उनी एमालेसमेतको समर्थनमा बनेको अन्तरिम संविधान–०६३ का अन्तर्वस्तुहरूमा आलोचनासहित लेखिरहेका थिए । खासगरी संघीय व्यवस्थामा देश गएकामा उनको चित्त खासै बुझेको थिएन ।
साहित्यमा पनि नेपालका मापदण्ड केही फरक नै हुने गर्थे । बुर्जुवा लेखक भनी लेबल हानिएका कतिपय गैरवाम लेखकलाई सिर्जना सामर्थ्यका आधारमा उनी खुला तारिफ गर्थे । कृष्ण धरावासी तिनैमध्ये थिए, जसले लेखेको झोला कथा लगायत केही कृतिलाई नेपालले अत्यन्तै उच्च कलात्मक लेखन भनी अखबारमा लेखेरै प्रशंसा गरेका थिए ।
माओत्सेतुङका विचारलाई सदर नगर्ने साहित्य के साहित्य भन्दै पढ्न लेख्न थालेका प्रदीप नेपालले आफ्नो उपनाम सन्जय थापा राखेरै ५१ वटा कृति लेखे । उनले हामीसँग भनेका थिए, ‘म मूलभूत रुपमा लेखक सन्जय थापा नै हुँ । प्रदीप नेपाल नामले मेरो सिर्जनशीलता र गरिमालाई पूर्ण रुपमा बोक्न सक्दैन । राजनीति गर्दागर्दै मन्त्री हुनु मेरा लागि केवल संयोग थियो ।’
२०१० मा भोजपुरमा जन्मेका नेपालले आफ्ना सहोदर दाइ रहेका कवि मन्जुलको प्रेरणाले किशोरकालदेखि नै निरन्तर लेखिरहे । थापाको नामबाट देउमाईको किनारमा, पूर्वतिर, पार्टीकी आमा, एक्काइसौं शताब्दीकी सुम्निमा, आकाशगंगाको तीरैतीर, खुइते कडेरिया जस्ता ५१ किताब लेखेका छन्, उनले । वामपन्थी नेता तथा साथी रत्नकुमार बान्तवाबारे देउमाईको किनारमा लेखेका उनको उपन्यासमा प्रेम शेर्मा माङ्जाबुङेले सिनेमा पनि बनाएका छन् । नेपालले माओ विचारधारा अन्तर्गत लेखिएका साहित्यभन्दा बाहिर धेरै ठूलो सिर्जनशील संसार रहेछ भनी केही पछि मात्रै अनुभूत गर्न पाएको स्वीकारोक्ति गरेका थिए ।
एमाले स्थायी कमिटीका पूर्व सदस्य नेपालले आफ्नो पार्टी ०५३ सालमा राप्रपासँग मिलेर सरकार बनाउन गएको घटनापछि आफ्नो विरक्ति निरन्तर पोख्न थालेका थिए । उनी प्रविधि चलाउन, नयाँ कुरा सिक्न उत्सुक थिए, जबकि एमाले नेतृत्व त्यसबेला नयाँपनप्रति उदार बनिहाल्ने खालको थिएन । कुनै बेला आफूले मोबाइल फोन बोकेको विषय समेत पार्टीभित्र खोजबिनको विषय बनेका प्रति उनले आपत्ति जनाएका थिए ।
अहिले पार्टी अध्यक्ष रहेका केपी शर्मा ओली, त्यस बेलाका महासचिव माधव नेपालहरूलाई नेपालले वैचारिक आलोचना खुलेर गर्थे । मनमोहन अधिकारी नेतृत्वको ९ महिले कम्युनिस्ट सरकारमा उनले सूचना तथा सञ्चारमन्त्री भएर काम गरेका थिए । पछिल्ला वर्षहरूमा भने आफ्नो बिमारका कारण उनी पार्टी राजनीतिमा निष्क्रिय थिए ।
माओवादी युद्धका बेला नेपालले थुप्रै वैचारिक असहमति राख्दै किताबहरू लेखेका थिए । एमाले महासचिव पदमा ०६५ सालमा ओलीको टिमबाट प्रतिस्पर्धा गरेर पराजित नेपाल विस्तारै स्वास्थ्य असहजताका कारण घरैमा बस्न थालेका थिए । केही अखबारमा नियमित स्तम्भ लेख्ने क्रम भने चलाइरहे । पछिल्लो समय एमाले र नेकपा एकीकृत समाजवादीबीचको विवादमा माधव नेपाल निकट देखिए पनि उनले जनताको बहुदलीय जनवाद नै मूल नीति हुनुपर्ने भन्दै आफू एमालेकै विचारमा रहिरहने तर्क राखेका थिए ।
प्रदीप नेपालले सात वर्षअघि अनलाइनखबरसँग भनेका थिए, ‘साहित्यमा चाहिँ जति पाको भयो, उति मानिस चिन्तनशील हुन्छ । मेरा लागि यो गम्भीर साहित्य लेख्ने ठीक समय हो ।’
यद्यपि नेपालले छान्न चाहेको ठीक समयमा उनलाई स्वास्थ्यले साथ दिएन । पार्किन्सन्स लगायत अरु समस्यासँग एकैसाथ जुध्नुपर्दा उनको सिर्जनशीलताले अरु फुल्ने जग्गा पाएन । प्रदीप नेपालका रुपमा आफ्नो गरिमा रहोस् भनेर खासै वास्ता नगरेका उनले आफ्ना सार्वजनिक जिम्मेवारीहरूलाई आधारभूत रुपमा स्पष्टतासाथ नै बहन गरे । अब सन्जय थापाको साहित्य भने नेपाली वाङ्मयमा खोजी भइरहनेछ ।
प्रतिक्रिया 4