
२१ वैशाख, पोखरा । संसदीय अभ्यासप्रति असहमति जनाउँदै माओवादीभित्र विद्रोह पक्षधरलाई साथ दिएर निस्किएका नेत्रविक्रम चन्द (विप्लव) प्रतिबन्धित हुँदै फेरि यही व्यवस्थामा फर्किएर समाजवादको आधार तयार पार्ने बताइरहेका छन् ।
संविधान सभाबाट संविधान र सेना समायोजन हुँदै शान्तिपूर्ण संसदीय प्रणाली भन्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीप्रति असहमति जनाउँदै ०६९ मा मोहन वैद्यले पार्टी फुटाउँदा चन्दले पनि साथ दिए र वैद्य नेतृत्वले ०७० को दोस्रो संविधान सभाको चुनाव बिथोल्ने प्रयास गर्दा विप्लव पनि साथमै थिए । २०७१ मा वैद्यलाई छोडेर नेकपा घोषणा गरेका विप्लवले जनक्रान्तिको घोषणा गरे । हिंसात्मक गतिविधिमा सक्रिय भएको भन्दै उनको पार्टीमाथि सरकारले प्रतिबन्ध लाग्यो । १५ जना विप्लव कार्यकर्ताले ज्यान नै गुमाए ।
२०७७ फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएका विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग लिएको छैन भने समाजवादी मोर्चा हुँदै अहिले माओवादी केन्द्रसँग एकताको प्रक्रिया अगाडि बढाइरहेको छ । विप्लवले २०८४ को चुनावमा भाग लिने स्पष्ट रुपमा बताइरहेका छन् । त्यसका निम्ति अहिले जनतामा उठेका असन्तुष्टिलाई संवोधन गर्दै समाजवादी मोर्चा, माओवादी एकताले सत्तामा पुग्ने एउटा गतिलो मौका २०८४ दिने विश्लेषण उनको छ ।
२०८४ अगाडि नै त्योभन्दा अगाडि नै प्रचण्ड फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सत्तामै जाने हो भने एकता सम्भव नहुने पनि विप्लवको भनाइ छ । प्रचण्डले हामीबाट गल्ती भएकै हो भन्ने आत्मसमीक्षा गर्दै एकताको प्रक्रिया अगाडि बढाएकाले उनी विश्वस्तसमेत देखिएका छन् ।
२०८४ ले मान्छेले सोचेभन्दा फरक नतिजा दिने र अहिलको असन्तुष्टिले उथलपुथल हुने विप्लवको भनाइ छ । अप्रत्यक्ष रुपमा उम्मेदवार उठाउने र अरु कुनै दललाई समर्थन गर्ने नीति लिएको नेकपा अब भने मैदानमै उत्रिने गरी देशदौडाहा गरिरहेको छ । देशका विभिन्न ठाउँमा कृषि, पशुपालन र साना उद्योगमा जोडिएको नेकपाले उत्पादनमार्फत समाजवादको यात्रा तय गर्ने बताइरहेको छ ।
प्रस्तुत छ, माओवादी केन्द्रसँगको एकता, समाजवादी मोर्चा, देशको अहिलेको परिस्थिति, अबको राजनीति र निकासबारे नेकपा महासचिव विप्लवसँग अनलाइनखबरका अमृत सुवेदीले गरेको कुराकानी :
तपाईंले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर फेरि सत्ताकै निम्ति हो भने प्रचण्ड र माओवादी केन्द्रसँग एकता हुँदैन । प्रचण्डसँग सती जान सकिँदैन भन्नुभाथ्यो, यो आशंका कि खबरदारी ?
यो कुरा सचेततापूर्वक भनेको हुँ । किनभने जनताले माओवादीलाई ताजा जनादेशका निम्ति मैदानमा आओस् भन्ने चाहना राख्छ । नेतृत्वको कुन बाध्यता हो, जसले गर्दा एक महिना पनि सत्ताबाहिर बस्न नसक्ने बनाइदिन्छ । त्यसमा हाम्रो सहमति छैन । माओवादीले यो विषय गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ । समाजवादी मोर्चालाई पनि सत्तामा पुग्ने पुच्छर बनाउन चाहेको हो भने त्यो सम्भव छैन ।
फेरि पनि ओली, देउवासँग मिलेर सत्ताकै लागि हो भने प्रचण्डसँग वा माओवादीसँग एकता हुँदैन । कुनै पनि शक्ति मिल्नुको अर्थ रहँदैन । अब पनि केपी ओलीलाई फेरेर देउवासँग सरकारमा जानकै लागि एकता भनिरहनुभएको हो भने तपाईं त डुब्नुहुन्छ, हामीलाई नडुबाउनुहोस् भन्ने हो । माओवादी डुब्ने नै हो भने सती जान सकिँदैन भनिरहेको छु ।
२०८४ को चुनावमा माओवादी घटक मिलेर जाऔं, एकता गरौं भन्नुभएको छ, संसदीय राजनीतिमै फर्किनुभएको तपाईंका निम्ति पनि यो उपयुक्त मौका लागेर हो ?
हामी देशभरि गएका छौं । पोखराको सभामा पनि निकै उत्साह देखियो । २०८४ सम्म मिलेर जाऔं भन्नुको तात्पर्य हाम्रो कुरामात्रै होइन । विकास हुँदै गरेको नयाँ पुस्ता र विभिन्न क्षेत्रमा अनुभव गरिरहेको मध्यम वर्ग नेपालको राजनीतिमा मुख्य प्रभावकारी वर्ग हो । यो वर्गमा के देखिन्छ भने बिगतका कुनै पनि आग्रह, पूर्वाग्रह, घेराभित्र बसेर सोच्ने ठाउँमा छैन । झापादेखि कञ्चनपुरसम्म, कर्णालीका पहाडदेखि मधेशसम्म पुग्दा के देखिन्छ भने आउँदै गरेको नयाँ पुस्ता र मध्यम वर्गको शक्ति छ, त्यो खुला ढंगले सोच्न तयार छ । २०८४ मान्छेले आँकलन गरेकोभन्दा धेरै उथलपुथल हुन्छ ।
तपाईंहरुको माओवादीसँग एकताको बहस चलेको लामै समय भइसक्यो । माओवादीको दैलो बाहिरै रहेर साथ दिने, समर्थन गरिरहने क्रम कहिलेसम्म चल्छ ?
माओवादीसँग एकदमै खुला बहस चलिरहेको छ । उहाँहरुको एउटा राम्रो कुरा के हो भने २०६४ साल पछाडि नेतृत्व तहबाट त्रुटि भयो भन्ने सार्वजनिक मञ्चहरुबाटै व्यक्त भइरहेको छ । माओवादी केन्द्र अध्यक्ष प्रचण्डले नै बोलिरहनुभएको छ । त्यो महसुस सकारात्मक छ । अब नेपाललाई कसरी सञ्चालन र निकास दिने भन्ने रुपान्तरणसहित नयाँ धारणा जरुरी छ । नयाँ धारणा र आधारमा एकता र सहकार्य गर्ने विषय हो, जुन सकारात्मक हिसाबले अगाडि बढिरहेको छ ।
प्रचण्ड सत्तामै हुँदा २०८० असारमा घोषणा भएको समाजवादी मोर्चा बीचमा निस्क्रियजस्तो पनि बन्यो, प्रचण्ड प्रतिपक्षमा पुगेपछि फेरि अहिले मोर्चा सक्रिय भएको, सहकार्य र एकताको प्रक्रिया अगाडि बढेको हो ?
सत्तामा हुँदा बिर्सने, बाहिरिएपछि फेरि वोध गर्ने यो राजनीतिको परम्परागत आंशिक कमजोरी हो । त्यसलाई सच्याउनुपर्छ भनेर हामीले पटक–पटक भन्यौं, भनिरहेकै छौं । यो विषय बैठकहरुमा पनि छलफल भइरहन्छ । कमिकमजोरीबाट सिकेर अगाडि बढ्ने हो भन्ने महसुस अहिले सबैलाई भएको छ । समाजवादी मोर्चा तत्काल संसदीय अभ्यासमा चल्ने संघर्ष, सत्ता परिवर्तनसँग सम्बन्धित छैन ।
जब सत्ता संकटमा पर्छ तब माओवादी घटकको एकताको विषय उठ्ने र पछि सेलाउने भइरह्यो, यसपटक प्रचण्डले आत्मसमीक्षा गरेरै एकता प्रक्रिया अगाडि बढ्यो भन्दा विश्वस्त हुनुहुन्छ ?
राजनीतिमा कस्तो हुन्छ भने अनुमानित विषय त्यति महत्वपूर्ण हुँदैनन् । व्यवहार र वर्तमानमा जे कार्य हुन्छ, त्यसलाई हेर्नुपर्छ । कार्यात्मक ढंगले हेर्दा माओवादी केही सच्चिएजस्तो देखिन्छ । तर, कहिलेकसो आशंका गर्ने ठाउँ पनि देखिन्छ । झापामा २०८४ सम्मै सरकारमा नजाने कुरा गर्ने, चितवनमा चाहिँ शेरबहादुरसँग मिलेर गइहाल्छौंजस्तो कुरा गर्दा माओवादी केन्द्रको विश्वसनीयतामाथि जनताले प्रश्न उठाइरहेको देखिन्छ । तर, त्यो कुरा पनि भेटेर भनिसकेका छौं ।
वाम वा समाजवादी एकताको कुरा परिस्थितिअनुसार, नेताको स्वार्थकेन्द्रितजस्तो पनि देखिन्छ, त्यसैले एकता टुंगो नलागेको त होइन ?
कार्यकर्ता र जनतामा जाँदाखेरि भावनात्मक, व्यवहारिक र संघर्षका पाटाहरु हुन्छन् । यसमा जनताले चाहना र सुझाव राख्ने कुरा एकदमै ठिक छ । तर, नेतृत्व तहमा आउँदा त्यही विषय किन जटिल र पेचेलो बन्छ भने त्यसका दृष्टिकोण र विचारको कुरा हुन्छ । लक्ष्य र गन्तव्यका कुरा हुन्छन् । त्यसको तादम्यता मिलेन भने जनता वा कार्यकर्ता र नेतृत्वमा नमिलेजस्तो देखिन्छ । कार्यकर्ताले जसरी तीव्र गतिमा एका वा ध्रुवीकरण खोजिरहेका छन्, त्यही गतिमा नेतृत्व तहमा अगाडि बढ्न केही संवेदनशीलताहरु छन् ।
माओवादी घटक आज छिन्नभिन्न छ, ती सबै एकताको प्रक्रिया अगाडि बढेको हो कि तपाईंहरु र माओवादी केन्द्रको मात्रै हो ?
सबै माओवादीसँग हाम्रो कुरा भइरहेको छ । पार्टीको प्रस्ताव नै छ, सबैसँग छलफल गर्ने भनेर । डा. बाबुराम कमरेडसँग पनि मेरो छलफल भएको छ । किरण वैद्यसँग विरामी हुँदा भेट्न गएको थिएँ, उहाँहरुसँग पनि कुरा भइरहेको छ । बादलजी त एमालेमा हुनुहुन्छ तर पनि प्रस्ताव गरेका छौं । अलि बढी छलफल प्रचण्डसँगै हुन्छ । नेपालको राजनीतिले माओवादीहरुलाई त एक ठाउँ आउने परिस्थिति बनाउँछ होला, समाजवादी, कम्युनिष्ट, देशभक्तहरुलाई पनि देशको निकासका लागि सँगै अगाडि बढ्ने आधार बनाउँछ भन्ने लाग्छ ।
समाजवादी मोर्चा बनाउनुपर्छ भनिरहने डा. बाबुराम चाहिँ किन अटाएनन्, प्रचण्डकै कारण हो ?
सत्ता र उहाँहरुकै आपसी असमझदारीका कारण हो । समाजवादी मोर्चाबारे हाम्रो दृष्टिकोण पनि थियो । उहाँहरु र हाम्रो बीचमा केही भिन्नता थिए । तर, सरकारकै नेतृत्व गरिरहेको माओवादी र सत्तामा सहकार्य गरिरहेको हिसाबले एउटा प्रस्तावक बाबुरामजी पनि हो । पछि छलफल हुँदै जाँदा छुट्नुभयो । त्यसका केही आत्मिक त केही भावनात्मक पक्ष छन्, केही तत्कालीन राजनीतिक घटनाक्रम छन् ।
अहिले नेपाली कम्युनिष्ट आन्दोलन कुन मोडमा आइपुगेको छ, यो मोडले एकताको माग गर्छ कि आत्मसमीक्षाको ?
नेपाली कम्युनिष्ट आन्दोलन संक्रमणकालबाट ध्रुवीकरणको मोडमा प्रदेश गरेको चरण हो, यो । सबैलाई आत्मसमीक्षा गर्ने मोडमा पनि ल्याइपुर्याएको छ र नयाँ प्रस्तावका निम्ति तयार पनि गर्दैछ ।
शान्ति प्रक्रिया हुँदै सत्ताबाट फेरि जनक्रान्ति भनेर हिँड्नुभयो, तपाईं आफैंले चाहिँ कस्तो आत्मसमीक्षा गर्नुभएको छ ?
जनताले हामीले उठाएको विषयलाई बुझ्ने ठाउँमा आइपुग्यौं भन्ने लाग्छ । नेपालको राजनीतिक संकटले १२ वर्ष अगाडि गणतन्त्रको जुन बहस चलाएको थियो, त्यसलाई वोध गर्ने ठाउँमा आइपुगेको महसुस हुन्छ । नेपालका सबैतिर जाँदा हाम्रो पार्टीको धारणा अनुभूत गरेको ठाउँमा पाउँछौं । क्रान्ति फेरि जनयुद्ध लड्दा जसरी सोंच्थ्यौं, त्योभन्दा धेरै बाहिर निस्किसकेको छ । त्यसरी पनि समीक्षा गर्ने ठाउँमा छौं ।
नेपालका कम्युनिष्ट पार्टीमा नेतृत्वको प्रतिस्पर्धा र गुट, टुटफुटको शृंखला चल्दै आयो, त्यसले पनि एकतालाई अप्ठेरो पारेको हो ?
राजनीतिक संक्रमणले सबैलाई तरंगित गर्छ । त्यसले कोही सफल भएजस्तो, कोही अप्ठेरोमा परेजस्तो महसुस गर्छ । देश संक्रमणकालमा परिरहँदा सचेत मान्छेले आफैंभित्र पनि सन्तुष्टि पाउँदैन । जब अग्रगमनतर्फ बढ्छ तब विशाल ध्रुवीकरण सुरु हुन्छ । सानातिना असन्तुष्टि, गुनासाहरु मूल प्रवाहमा समाहित हुन्छन् । नेपालको राजनीति पनि त्यस्तै हो ।
२०३६ सालदेखि २०४६ सालसम्मको चित्र एउटा छ । २०५२ सालदेखि ०६१ सालसम्मको चित्र हेर्ने हो भने एकखाले छ । जब अग्रगमनको बहस सुरु हुन्छ, निकास र विकासको बहस अगाडि आउँछ, त्यसले फेरि शक्तिहरुलाई केन्द्रित गर्छ ।
नेपालको राजनीतिमा अहिले पूर्वराजावादीहरु सक्रिय भएपछि गणतन्त्रवादीहरु सक्रिय भएको पनि देखियो नि । यहाँनेर गुट, पार्टीको कुरा हुँदैन, प्रवृत्तिको कुरा हुन्छ । मलाई लाग्छ कि समाजवादको यात्राको विषयमा छलफल चल्यो भने विशाल ध्रुवीकरणको प्रक्रिया अगाडि आउँछ ।
राजावादी हुन् वा गणतन्त्रवादी अहिले कुनै न कुनै एजेण्डा लिएर जनताले असन्तुष्टि पोखिरहेका छन्, सडकमै निस्किएका छन्, किन होला ? यो केको संकेत हो ?
नेपालमा सामन्तवादको अन्त्य भयो । सामन्तवादी उत्पादन सम्बन्धमा पनि बस्न चाहेन, त्यो भत्कियो । औद्योगिक तथा प्रगतिशील उत्पादन सम्बन्ध निर्माण हुन सकेन । त्यसले दलालहरु पनि जन्माएको छ । युवालाई पलायन बनाएको छ । असन्तुष्टि र विरोध पनि जन्माएको छ । संक्रमणले सिंगो देशलाई नै छोप्छ, त्यसको नियम नै त्यही हो ।
अहिले सबै नागरिकमा देखापरेको गुनासो, असन्तुष्टि र आवाजहरुले केही नयाँ खोजिरहेको छ तर पाइराखेको छैन । जबरजस्ती यही ठिक हो भन्दा पनि मानिरहेको छैन । बाबु एकातिर, छोरो अर्कोतिर लागिरहेको छ । शहीद परिवार, अपांग, बेपत्ताको परिवारलाई पनि देशमा के भयो, के भयो भन्ने भइरहेको छ । यो संक्रमणकालको अभिव्यक्ति हो ।
दोस्रो कुरा, देशले निकास खोजिरहेको छ । त्यो दिशातिर जाने प्रयत्न भइरहेका छन् तर गति हाँसिल भइसकेको छैन । अब जाने गरी सोच्नुपर्छ ।
अहिलेको अवस्था समाधान गर्ने ३ कुरा त हुन् । यसैमा बसिरहने, योभन्दा पछाडि फर्किने र योभन्दा अगाडि जाने । हाम्रो प्रस्ताव के हो भने समाजवादमा जनता जान चाहन्छन् । यी सबै गुनासाहरु समाजवादबाट पाउने गरी जनताले खाजिरहेको छ । निम्न वर्गले शिक्षा, रोजगारी खोजिरहेको छ । मध्यम वर्गले सुरक्षा खोजिरहेको छ ।
राष्ट्रिय व्यवसायीले अवसर खोजिरहेछन्, वैज्ञानिकहरुले आफ्नो ठाउँ खोजिरहेका छन् । यी सबै कुरा समाजवादबाट सम्भव हुने कुरा हो । केही मान्छेले सत्ता कब्जा गर्ने, केही मान्छेले अवसर कब्जा गर्ने, धन कब्जा गर्ने भइरहँदा नेपालले अग्रगमनको माग गरिरहेको छ । २०८४ ले धेरै कुरामा परिवर्तन ल्याउने संकेत गरेको छ ।
जनक्रान्ति भन्दै फेरि संसदीय व्यवस्थामै फर्किनुभएको छ, माओवादी केन्द्रसँग एकता गर्दा जनगणतन्त्र वा लोकतान्त्रिक गणतन्त्र हुन्छ कि अरु केही हुन्छ ? सैद्धान्तिक मिलन कहाँ हुन्छ ?
राज्य प्रणाली र व्यवस्थाका हिसाबले समाजवादी गणतन्त्र भनेका छौं । समाजवादी संघीयता भनेका छौं । ५ वर्ष चल्ने खालको शासकीय स्वरुपमा जानुपर्छ भन्ने पनि स्पष्ट छ । आर्थिक तथा उत्पादनका कार्यक्रमहरु छन् । पहिलो फेज के भनेका छौं भने आत्मनिर्भरताको सिद्धान्तलाई समाउनुपर्छ । पहिले कृषि क्षेत्रलाई खान पुग्ने बनाउने अनि औद्योगिक क्षेत्रमा अगाडि बढ्ने । कृषि र औद्योगिक अर्थतन्त्र नेपालजस्तो देशमा सँगसँगै लैजानुपर्छ ।
तपाईंले गरेको केही मानवीय तथा भौतिक क्षति पनि भए । घुमीफिरी रुम्जाटार भनेझैं आउने संसदीय व्यवस्थामै हो भन्ने देखियो, बीचको समय खेरै गयो है ?
समाजवादी गणतनत्रको बहस यसैले अगाडि सार्यो नि । एमसीसी, अपर कर्णाली, एनसेलको करछलीजस्ता विषय जनताको हितमा छैनन् भन्ने धेरैले बुझे । मिटरब्याजी, विभिन्न तस्कर जनताकाबीच बदनाम भए । यी घटनाक्रममा कुनै न कुनै हिसाबले हाम्रो संघर्षले काम गरेको छ । पछिल्लो समय ध्रुवीकरणको बहस उठिरहेको छ, यसमा पनि हाम्रो योगदान छ । संसदीय व्यवस्थामै भुल्न, रमाउन आएको होइन । क्रान्तिका धेरै मोर्चाहरु छन् । यीमध्ये जनताबाट निर्वाचित हुने कुरा पनि संघर्ष गर्नुपर्ने क्षेत्र हो । त्यसअर्थमा हेरेका छौं ।
कांग्रेस–एमालेले गठबन्धनको प्रमुख कारण नै संविधान संशोधन भनिरहेका छन्, प्रचण्डले पनि संशोधनको कुरा गरिरहेका छन्, तपाईंको चाहिँ संविधान र संशोधनप्रतिको बुझाइ के हो ?
एमाले महासचिव शंकर पोखरेलले भन्नुभएको थियो नि दुई पार्टी सिस्टमको कुरा, त्यो छनक संविधान संशोधनको विषयमा देखिन्छ विधेयकमा । यो आफ्नो असफलतालाई कानुनद्वारा बचाउ गर्ने क्षणिक बुद्धि हो । कुरा के हो भने यहाँ स्थिर सरकार नभएरमात्रै होइन, स्थिर दृष्टिकोण नहुँदा पनि देशले गति नलिएको हो ।
नेताहरुमा दलाली बढ्यो, भ्रष्टीकरण भए । त्यसलाई २ पार्टी सिस्टमले हल गर्छ भनेर बचाउ गर्न खोजेको त देखिन्छ, विधेयकमा पनि । त्यही हतियार कांग्रेस–एमालेलाई सिध्याउने हतियार पनि हुन सक्छ । संशोधन विधेयकमा जे कुरा ल्याउन खोजिएको छ नि त्यसले दुई पार्टी प्रणालीलाई सघाउ पुर्याउँछ, त्यो घातक छ ।
उहाँहरुलाई भ्रम के छ भने जनताको भोट यथावतै रहन्छ, कांग्रेस–एमाले ठूलो नै हुन्छ । राजनीतिक लहर सुरु भयो भने ती सब कुरा कता पुग्छन्, कता । हिजो पञ्चायतले निर्दलीय भनेजस्तै हो । निर्दलीय व्यवस्था राख्यो भने सबैलाई अटाउन सकिन्छ या नियन्त्रण गर्न सकिन्छ भन्ने भ्रम हिजो पञ्चायतमा पनि थियो । ती सबै भ्रम हुन् । उहाँहरुले घुमाइफिराइ ठूला पार्टीलाई रक्षा गर्ने भन्नुभएको छ, त्यसको औचित्य छैन ।
२०८४ को चुनावमा धेरै उथलपुथल हुन्छ भनिरहनुभएको छ, त्यो कसरी होला ? के देखेर, के आधारले भनिरहनुभएको हो ?
नेपाली जनताले नयाँ खोजिरहेको छ । कांग्रेस, एमाले वा कुनै पनि पुराना पार्टीले जनताको आकांक्षालाई थेग्न सकिरहेको छैन । पैसा दिएर भोट नै प्रभावित गर्ने पनि छ, सत्तालाई प्रयोग गर्ने पनि छ तर त्यो सधैं रहँदैन । २०४६ सालमा बहुदल र पञ्चायत दुवै पक्षको कार्यक्रम थियो । बहुदलवादी सुन्धारामा र पञ्चहरु रंगशालामा थिए । रंगशालामा पञ्चहरु भरिएर पनि बाहिर थिए तर बहुदलवादी एक ढिक्का भएर निस्केपछि पञ्चहरु कता भागे कता । परिवर्तनतर्फ युवा लम्किए । त्यसैले संख्या हेरेर, भोट हेरेर नरमाए हुन्छ । २०८४ ले एउटा निकासको बाटो चाहिँ निकाल्छ, उथपपुथल गराउँछ होला भन्ने लाग्छ ।
बहुदलयता पटक–पटक सत्तामा गएका, पटक–पटक–मन्त्री र प्रधानमन्त्री भएका अहिले पनि आलोपालो सत्ताको नेतृत्वमै छन् । प्रचण्ड पनि लामो समय सत्तामै रहे, नेतृत्वमा उनै छन्, २०८४ ले शासन गर्ने, पार्टी नेतृत्व गर्ने फरक अनुहार देखिने सम्भावना देख्नुहुन्छ ?
देउवा, ओली, प्रचण्डहरुलाई तितो लाग्ला तर सत्य कुरा के हो भने अब उहाँहरुले गर्न सक्ने कुरा नै केही छैन । किनकि मौका पनि पाइसक्नुभयो, गर्ने जति पनि गरिसक्नुभयो । परिवर्तनको नेतृत्व उहाँहरुले गरेकै हो, त्यसको सम्मान गरौं, ठिकै छ । बाँकी अहिलेको विकृति, विसंगति, भ्रष्टाचार, दलाली पनि उहाँहरुकै वरिपरि घुमिरहेको छ नि । यो कुरा नयाँ पुस्ताले बुझ्दै गएको देख्छु । उहाँहरुले तितो नमानिकन अब चाहिँ संरक्षकको भूमिकामा बस्नु राम्रो हो ।
कुनै–कुनै नेताहरु त ५० वर्षदेखि नेतृत्व र पदाधिकारीमा छन् । एउटै राजाले पनि ३०/४० वर्ष शासन कसैले गरेको छैन होला । हुन त यो बहुदल नै हो तर बहुदलभित्र राम्रो गरे पनि उही नराम्रो गरे पनि उही, यसले असन्तुष्टि नजन्माएर के जन्माउँछ त ? नेपालीको यो कस्तो विवशता हो ? अर्को खोजौं भने पनि छैन, नबोकी पनि भएको छैन तर बोक्न मन पनि छैन । नेपाली केबल यो भोग्न अभिशप्त छन् । तत्काल असम्भवजस्तो देखिए पनि यो सधैं रहनेवाला छैन ।
अब पुराना दलको विकल्प हामी हौं भनेर भन्न खोज्नुभएको हो ?
आफूलाई विकल्पका रुपमा नउभ्याउने हो भने त राजनीति नै गरिन्नँ नि । राजनीति पनि सामान्य होइन नि हाम्रो उथलपुथल गरेर आएको हो । हामीले प्रतिबन्ध पनि झेल्यौं, अब खुला ठाउँमा पनि आएका छौं । देशलाई आवश्यक पर्यो भने जुनसुकै चुनौति मोल्न पनि तयार छौं । गरिरहेका पनि छौं । आफ्नै श्रम शक्तिमा टिकेको पार्टी भनेको नेकपामात्रै हो । परनिर्भरबाट बच्न उत्पादनसँग जोडेर गइरहेका छौं । पार्टीलाई मात्रै होइन, हामी देशकै नेतृत्व गर्न चाहन्छौं । हामीले भनेका पनि छौं, धेरै होइन पाँच वर्षमात्र दिएर हेर्नुहोस् । एउटा बाटो देखाउन सकिएनछ भने राजनीति नै छोड्ने तर एकपटक गर्ने मन छ ।
पार्टी र युवालाई रमाएर काम गर्ने बनाउन सकिन्छ भने जनतालाई किन सकिँदैन ? राज्यको स्रोत र साधन खतमै पनि त होइन । ठिक ढंगले प्रयोगमात्रै गर्यो भने पनि देश अर्कै ठाउँमा पुग्छ । माओवादीसँग पैसाको अभाव थिएन, खायो उडायो । यहीँ पोखरामै करोडौंको गण्डकी मिडिया हाउस थियो, खै त कहिले ? यहाँ हाम्रो दृष्टिकोण, व्यवस्थापनमा समस्या छ । हामी विकल्प हौं, मौका दिनुस् र हामी देखाउँछौं समाजवादको बाटो कस्तो हुन्छ भनेर ।
माओवादी एकताको कुरा गरिरहनुभएको छ तर गति लिएन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई के सन्देश दिनुहुन्छ ?
रुपान्तरित माओवादी आन्दोलन, नयाँ परिस्थितिको नयाँ प्रस्ताव, त्यो प्रस्तावअनुसारको सहकार्य गरौं । यो सम्भव छ, हामी मिलेर गरौं भन्ने सन्देश छ ।
अहिलेको सरकार र सत्ता साझेदार दललाई कसरी हेर्नुभएको छ ?
दलाल पुँजीवादभित्र हुने नै यस्तो हो, ओली, देउवा वा अरु कोही भए पनि । काठमाडौंमा चर्चा पनि छ, रिजल्ट पहिल्यै थाहा छ रे । ओलीपछि अब आउने को हो र हुने के हो रिजल्ट भन्ने पनि पहिल्यै थाहा छ ।
हिजो माओवादीले उत्पादन ब्रिगेडको कुरा गर्थ्यो तर माटोसँग नजोडिइकन सकियो, आज तपाईंहरु कृषि, पशुपालनलगायत उत्पादनमा जोडिनुभाछ, जहाँ अर्थ जोडिन्छ, त्यहाँ स्वार्थ पनि जोडिन्छ भन्ने गरिन्छ, उत्पादनको यो यात्रा कहाँसम्मको हो ?
हामीले जुन उत्पादन सुरु गरेका छौं, यो बिगतका धरै सफलता र असफलताका समीक्षासहित, केही नयाँ अवधारणासहित सुरु गरेका छौं । खनजोत गर्ने, बाली लगाउने उत्पादन गर्नेमात्रै कुरा होइन, यहाँ हाम्रो समाजवाद निर्माण गर्ने एउटा दृष्टिकोण छ । सोभियत संघ, पूर्वी युरोप किन असफल भयो ? माओवादी आन्दोलनमा या विचलन किन आयो ? यी सबैको समीक्षा गरेर हामीले उत्पादन थालेका छौं ।
पार्टीलाई समृद्ध र आत्मनिर्भर बनाउने, समाजलाई नयाँ आर्थिक आधारमा रुपान्तरण गर्ने र सिंगै देशलाई उत्पादनमा लिएर जाने दृष्टिकोणसँग यो सम्बन्धित छ । देशभरै उत्पादनमा श्रम गर्ने कमरेडहरुले निश्चित रकम पाउनुहुन्छ, त्यसलाई हामीले सामूहिक उत्पादन–एकीकृत स्वामित्व र व्यक्तिगत उत्तरदायित्व भनेका छौं ।
विगतका कम्युनिष्टहरु सामूहिक भन्ने तर त्यसप्रति उत्तरदायी नहुने हुँदा निश्चित समयपछि ध्वस्त हुने भयो । निजीमा के भो ? उत्पादन सामूहिक गर्ने तर मुनाफा २/४ जनाको पकेटमा जाने भयो । यी सबैको समीक्षा गरेर उत्पादनमा जोडिएका कारण हामीले असफलता बेहोर्नु पर्दैन ।
डेढ वर्षमै पार्टीका कमरेडहरुलाई खान र बस्न पुग्ने भइसकेका छौं । अबको डेढ वर्षमै पार्टीलाई चन्दाबाट मुक्त गर्ने चाहना छ । त्यहाँसम्म पुग्दा थोरै उद्योग र व्यापारमा पनि प्रवेश गर्दैछौं । अहिले पनि डेढ/दुई सय बिघामा कमरेडहरुले उत्पादन गरिरहनुभएको छ ।
उत्पादनलाई काठमाडौंमा आउटलेट वा व्यापार केन्द्रबाट भइरहेको रफ्तारले यो चाँडै ढल्दैन भन्ने निश्चित देखिन्छ । यो माओवादीले गण्डकी मिडिया हाउस खालेकोजस्तो होइन । (माओवादीको सामूहिक लगानी र सहकारीमार्फत करोडौं लगानी भएको गण्डकी मिडिया हाउस कमजोर व्यवस्थापन र नेताका स्वार्थले पछि ध्वस्त भएर बन्द भएको थियो ।)
हामीले उत्पादनको मुनाफा जसरी वितरण गर्छौं नि, त्यसले काम गर्ने कार्यकर्तालाई सन्तुष्टि दिइराखेको हुन्छ । एउटा निश्चित समयपछि विदेशमा कमाउने पैसा यहीँ कमाउन सकिन्छ भनेर युवाहरुलाई जोड्दै छौं । यो रुपान्तरणको अभियानमा जोडिन्छ ।
उत्पादनमा पनि जोडिनुभएको र विप्लव समूहले चन्दा पनि असुल गरिरहेको गुनासो पनि आइरहन्छ नि !
हामीले चन्दा उठाउँदैनौं । अहिले पनि कसैले चन्दा उठाइरहेको छ भने हामीलाई भन्नुस्, हामी कारबाही गर्छौं । कम्युनिष्ट आन्दोलनमा तीन वटा प्रवृत्ति देखापरेको छ । एउटा आवारा कम्युनिष्ट भन्ने गरेको छु । न परिवार सम्हाल्ने, न आफू व्यवस्थित हुने, एउटा झोला बोक्ने कम्युनिष्ट भन्ने हिँड्ने, हावादारी गफ लगाउने तर आफूले श्रम नगर्ने । दोस्रो आदर्शवादी कम्युनिष्ट प्रवृत्ति छ । कुनै दिन हुन्छ, हामी पर्खेर बस्ने हो भनेर एउटा अव्यवहारिक, काल्पनिक कम्युनिष्ट छन् । तेस्रो अराजकतावादी कम्युनिष्ट छन् । पूरै भद्रगोल गर्ने, एउटा पुँजीपतिले जसो गर्छ, उसै गर्ने । हामीले कम्युनिष्ट भनेको श्रमसँग जोडिनुपर्छ भनेका छौं । आफूसँग भएको श्रमलाई प्रयोग गर्ने कुरा हो हाम्रो ।
निराशा हुने होइन, केही नयाँ अनुसन्धान र बाटो कोर्न सकिन्छ भन्ने हो । हामीले पार्टीले चन्दा मुक्तमात्रै होइन, पार्टीले नै आर्थिक उत्पादन प्रणालीको नेतृत्व गर्छ । जसले जनतालाई पनि जोड्छ । जहाँजहाँ ठूला उत्पादन भइरहेका छन्, त्यहाँ जनता पनि सँगै आउँदैछन्
अहिले हामीले आलुमा जनतासँगै उत्पादनमा जोडियौं । दुई सय टन आलु त हामीले विनोद चौधरीलाई मात्रै बेचेका छौं । दुई लाख किलो आलु एकपटक फलायौं, यो त्यसै सम्भव हुन्छ ? अब अकबरे त्योभन्दा माथि उत्पादन हुँदैछ । चोकमा उभिएर गफ चुट्नु र परिणाम निकाल्नु फरक कुरा हो । हामी सबै जिल्लामा जाँदैछौं । चाइनाको ५० वर्ष अगाडिको इतिहास हेर्नुस्, सिक्नुपर्यो नि युवाले । आज चाइना कहाँ पुग्यो ? त्यो नयाँ पुस्ताले गर्दा सम्भव भएको हो । युवाले विदेशमा गुलामी गर्न राजी हुने तर देशमै श्रम गर्न नखोज्ने प्रवत्तिलाई निरुत्साहित गर्नुपर्छ । देशमा उत्पादनमा रमाउने गराउनुपर्छ ।
अन्त्यमा, अहिले राजावादीहरु फेरि राजा चाहिन्छ भनेर चिच्याइरहेका छन्, गणतन्त्रवादीहरु चिन्तित त सुनिन्छन् तर प्नि सुध्रिएको देखिँदैन, यो परिस्थितिलाई कसरी हेर्नुभएको छ ?
फेरि राजा चाहिन्छ भन्नु पराजितहरुको पीडा हो । लामो समय नेपालमा राजतन्त्र थियो, त्यो पछारिँदाको पीडा हो । त्यो सम्भवै छैन । राजावादीलाई आधार दिने काम दलाल पुँजीवादले त गर्यो, संसदवादीहरुको भ्रष्टाचार, अनियमितता, तस्करी पनि गर्यो ।
तर, अब पनि पछाडि फर्किने कुरा त विलापमात्र हो मार्क्सले कम्युनिष्ट घोषणापत्रमा लेख्नुभएको छ, समाजवादको कुरा त हारेकाहरुले पनि गर्छन् । राजाको माग गर्न त पाइयो कि तर त्यो मनको आनन्द, विलापमात्र हो । मान्छेहरु सती पनि जान्थे क्या !
अहिले साँचो कुरा के हो भने संसदवादीहरुको असफलताले मान्छेहरुलाई त्यतातिर फर्किँदा ठिक हुन्छ कि भन्ने ठाउँमा पुर्याएको हो । हामीले अगाडिको ढोका खोल्यौं भने मानिस उज्यालोतिरै जान्छ नि !
प्रतिक्रिया 4