+
+
Shares
नियात्रा :

हरिद्वार अब हरितद्वार बन्न सकोस्

मेरो धर्मप्रतिको आस्था हरिद्वार पुगेपछि झनै गिरेर गयो। म धार्मिक नभए पनि आध्यात्मिक मनुवा चाहिं हुँ। पर्यावरणलाई माया गर्ने व्यक्ति। यात्रामा अनुभव बटुलिन्छ, ज्ञान आर्जन गरिन्छ, नयाँ साथीहरू बनाइन्छ। म भने यस यात्राबाट एउटा नयाँ शब्द बनाएर फर्कें। त्यो थियो– ‘पर्याध्यात्मिक’।

विजय हितान विजय हितान
२०८२ वैशाख २० गते २१:३०

हामी हाम्रो धर्म तथा संस्कार पूर्णरूपमा पर्यावरणमैत्री छ भनी गर्व गर्छौं। मुक्कुमलुङ जस्तो डाँडा र खुवालुङ जस्तो ढुङ्गालाई पुज्छौँ। गाई, कुकुर, हात्ती, सर्प जस्ता जनावर; तुलसी, वरपीपल जस्ता वनस्पति; र बागमती, कालीगण्डकी, गङ्गा जस्ता नदीलाई पुज्छौँ। आस्थाको केन्द्र मानेर यस्ता स्थानको तीर्थयात्रामा निस्कन्छौँ।

गङ्गा नदी माता हुन्, गङ्गामा स्नान गर्नाले पाप हरण हुन्छ। यही विश्वासले मलाई पवित्र धाम हरिद्वार पुग्ने इच्छा जाग्यो।

सोअनुसार ६ नोभेम्बर २०२३ को दिन मेरा पैतालाले हरिद्वार टेके। हरिद्वार भारतको उत्तराखण्डमा अवस्थित छ। गङ्गोत्री हिमखण्डबाट निस्केको गङ्गा नदी यही धार्मिक नगरी हुँदै सागरतिरको यात्रामा लाग्छ। मचाहिं नेपालबाट निस्केर दिल्ली, धर्मशाला, चण्डिगढ, देहरादून हुँदै हरिद्वार पुगेको थिएँ। सोलो ट्राभलमा निस्केको म तीर्थयात्री। तर, त्यहाँ पुगेपछि मैले नचिताएको कुरा देख्नुपर्‍यो। त्यसले मलाई तीर्थयात्री मात्रै कहाँ ! पर्यातीर्थयात्री पनि बनाएर पठायो।

देहरादूनबाट चढेको थिएँ बस। भारतमा बसयात्रा गरेको त्यति धेरै अनुभव थिएन। रेलमा प्राय: ठेलमठेल हुन्छ। बसमा पनि त्यस्तै होला भन्ने मेरो पूर्वानुमान गलत सावित भयो। सबै यात्रु सिटमा बस्न पाएका थिए। एक महिला सहयात्रीसँग हल्काफुल्का गफ गरियो। तिनले ‘हरिद्वारमा फाइभ स्टारकै धर्मशाला पाइन्छ सस्तोमा, त्यहीँ बस्दा हुन्छ’, भनेर सल्लाह दिएकी थिइन्।

बसको झ्यालबाट देखिने पुलमुनिको नदी र बजार इलाकाले हरिद्वार आएको सङ्केत दियो। म पुलपारि उत्रेँ। पहिला दुईतीन वटा धर्मशाला चहारेँ। कोठा सस्तो तर स्तरीय थिएनन्। भनेजस्तो कोठा नपाएपछि रेलस्टेशन आडकै होटल ‘ले रोई’ मा एउटा कोठा बुक गरेँ। भुइँ थियो मार्वलको चिसो, कोठामा चप्पल थिएनन्। दुई जोडी चप्पल प्राय: सबै होटलमा हुन्छन् भनी रिसेप्सनमा इन्क्वारी गरेँ। गेस्टले चोरेर लग्दा रहेछन्। चिया–कफी बनाउने सामग्री पनि बाहिर करिडोरमा केन्द्रीकृत गरिएको पाएँ।

साँझ ६ बजे हरकी पौडीमा आरती हुने समय थियो, जो छुटाउनै नहुने मुख्य आकर्षणको कार्यक्रम रहेछ। गुगल म्यापले हरकी पौडी दुई किलोमिटर देखायो। होटल बाहिर निस्केपछि रिक्सा र अटोले भने, ‘कहाँ जाने ? आरती हेर्न ? आउनुस्, म लगिदिन्छु।’ हिंडेरै पुग्ने सोच बनाइसकेको थिएँ। उडेरभन्दा गुडेर, गुडेरभन्दा हिँडेर धेरै कुरा देख्न पाइन्छ भनी मेरा पाइला लम्किए।

बजारको बाटो काठमाडौँ दरबारमार्ग जत्तिकै फराकिलो हुँदो हो। रिक्सा, अटो, स्कुटी र मान्छेका ताँती देख्दा असनको गल्ली जस्तै साँघुरो लाग्थ्यो। र्‍यालीमा निस्केको एउटा भीड जस्तो हतारहतारमा सबैजना हरकी पौडीतिर हानिँदै थिए। यति ठूलो जनसागर पहिला कहिल्यै देखेको थिइनँ। दाहिने बायाँका दोकानतिर दृष्टिपात गर्दै मेरो दिमाग- म कति आध्यात्मिक, कति भौतिक भनी तुलना गर्नतिर व्यस्त थियो।

लेखनमा लागेर हो या लामो समयदेखि पश्चिमेली परिवेशमा हुर्केर, मेरो धार्मिक विश्वास र आध्यात्मिकताको स्तर गङ्गामा पानीको सतह घट्न थालेको जस्तै, घटे जस्तै लाग्छ। युवा छँदा बुटवल नजिकै सत्यवती ताल पुगेको थिएँ। ‘लाहुरे हुन पाम्’ भनी फलाक्दै तालको चक्कर मारेर भाकल गरेको हिजो जस्तै लाग्छ। त्यही साल हो म भर्ती भएर लाहुर पुगेको।

पछि छुट्टीमा जाँदा एउटा पाठो चढाएको थिएँ। स्कुले विद्यार्थीकालमा बिहान–बेलुका पूजापाठ गर्थें। भगवानप्रति गहिरो आस्था थियो। शिवको भक्त थिएँ। भजनकीर्तन, शङ्ख, घण्टको गुञ्जन प्यारो लाग्थ्यो। सैनिक भएपछि यी कानमा राइफल, तोप, बारुद, गोलीका ध्वनि गुञ्जिन थाले।

निवृत्त भएपछि विज्ञानको विद्यार्थी भएँ। एडल्ट स्टुडेन्टको रूपमा युनिभर्सिटी छिरेपछि केमेस्ट्री र फिजिक्सका सूत्रले सानो छँदाको भजनकीर्तनको छापलाई छायाँमा पार्न थाल्यो। त्यसपछि हो, मेरो मनमा आध्यात्मवादभन्दा भौतिकवादको गङ्गा बग्न सुरु गरेको।

हरकी पौडी पुग्दा ६ बज्नै लागेको थियो। यति धेरै तीर्थालु मैले कहिल्यै देखेको थिइनँ। तिनका हातहातमा पूजा सामग्री र प्रज्वलित दीपले भरिएका टपरी, प्लास्टिक तथा कागजका प्लेट थिए। भीडलाई छिचोल्दै म पुलमा पुगेँ। पुलमुनि गङ्गाको पानीको सतह कम थियो। मत्थर वेगमा मानौँ, गङ्गा आफ्नो गन्तव्यतिर घस्रिरहेको छ।

दुवै साइडको कङ्क्रिटको बाक्लो तटबन्धनले नदीलाई साँघुर्‍याएको थियो। शान्तसँग बग्दै गरेको गङ्गाको धारलाई हेरेर हजारौँ हजार भक्तजनहरू कुरिबसेका थिए। म पारि तरेँ र भीड अलि कम भएको स्थानबाट मूल मन्दिरतिर फर्केर उभिएँ। मन्दिरको प्राङ्गणमा लहरै उभिएका पुजारीहरु देख्न सकिन्थ्यो। तिनले हातमा ह्वारह्वार्ती बल्दै गरेको दीपलाई घुमाउन थाले। मेरो वरिपरिका तीर्थालुहरूको हातमा उचालिएको दीपलाई पनि त्यसैगरी घुमाउन थालियो। अनि गाउन थालियो भजन–

ओम जय गङ्गे माता, श्री जय गङ्गे माता

जो नर तुमको ध्याता मनवान्छित फल पाता…

मैले पनि भजनलाई पछ्याउँदै गाएँ। दशौँ हजार मानिसको स्वर, शङ्ख र घन्टहरूको ध्वनिले गुञ्जायमान बन्यो परिवेश। त्यो गुञ्जनले शरीरमा एककिसिमको कम्पन पैदा गरिदियो। धुपबत्तीले सुगन्धित बनायो वातावरणलाई। भावविभोर भएछु म त रसाउने गरायो आँखालाई। सुषुप्त अवस्थामा रहेको मभित्रको आध्यात्मिकता पुनर्स्थापना भएको अनुभूति गरेँ। स्वर्गानुभूति भयो एकैछिन।

एक पण्डितले मेरो अगाडि आरती ल्याए। दक्षिणा चढाएर हातले आरती तापेँ।

अनि, धमाधम आरती गङ्गामा सेलाउन थालियो। कतिले छिर्लिङ छिर्लिङ गर्दै पैसा फाले। पानीमा ढलप ढलप बग्दै गरेका दीपहरू आकाशका तारासरी देखिए। साँच्चै त्यो दृश्य साँझपख जूनकिरी चम्के जस्तो लाग्यो। राति हवाईजहाज अवतरण गर्दा झ्यालबाट तल सडकमा देखिने ट्राफिकबाट सिर्जित बग्दै गरेको लाइट जस्तै देखेँ। धपधप बलेका दीपलाई बोकेर तैरिँदै गरेका आरतीका टपरी र प्लेटलाई मेरा आँखाले तलसम्म पछ्याउँदै गए। विस्तारै ती कति डुबे, कति स्वत: निभे। त्यो आकृति क्रमश: मधुरो बन्दै गयो र अन्त्यमा अँध्यारोमा विलीन भयो। गङ्गा माताको छाती कति पोल्यो होला भनी सम्झेर मेरो छाती पनि चसक्क चस्कियो।

माग्ने वृद्ध, बालबालिका, अपाङ्ग र जोगीहरूको धुइरोलाई छिचोल्दै पुल तरेर म वारि आएँ। बजार इलाका आइपुग्दा तरकारी पुरीको मिठो गन्ध नाकभित्र प्रवेश गर्‍यो। त्यसले पेटमा कर्र भोक जगाइदियो। एउटा रेस्टुरेन्टमा छिर्न पुगेछु। दाल, तरकारी र तन्दुरी अर्डर गरेँ। अर्डर कुर्दै गर्दा एउटा बोर्डमा नजर पुग्यो। त्यो रेस्टुरेन्ट सय वर्ष पुरानो रहेछ।

यात्रामा पखाला लाग्यो भने बर्वाद भइन्छ ! यति लामो विरासत बोकेको रेस्टुरेन्टमा स्वच्छ खाना पाइने भयो भनेर ढुक्क बनेँ। रेस्टुरेन्टको बाहिर दशबाह्र जनाको लाइन विकसित हुँदै थियो। तिनीहरू म जस्तै ग्राहक होलान् भन्ने लाग्यो। तिनको हाउभाउ भने ग्राहकको जस्तो देखिन्नथ्यो। ठिक त्यति नै बेला मेरो दृष्टि भित्ताको एउटा अर्को नोटमा पर्‍यो। लेखिएको थियो, ‘यदि भिखारीलाई खाना खुलाउन चाहनुहुन्छ भने छाकको २०० रूपैयाँ।’

परोपकार गर्ने यो नौलो विधिलाई मनमनै सराहना गरेँ। यतिञ्जेलमा मैले अर्डर गरेको खाना वेटरले ल्याइपुर्‍याए। मेरो तर्फबाट दुई जनालाई खाना खुवाइदिन आग्रह गरेँ वेटरलाई। माग्नेलाई खाना खुवाउने चलन प्रायः सबै रेस्टुरेन्टमा हुँदोरहेछ। पारिका अन्य रेस्टुरेन्टमा पनि यस्तै लाइन लम्बिँदै थियो। एकैछिनमा दुई प्लास्टिक प्लेटमा मेरो जस्तै खाना ल्याएर वेटर आए। मलाई देखाउँदै ‘तपाईंले प्रायोजन गरेको खाना ती अगाडिका दुई जनालाई दिँदैछु’ भनेर बाहिर आँगनमा निस्के।

भित्र बेञ्चमा बसेर म सिल्टीको थालीमा खाँदै थिएँ। तिनीहरू विचरा बाहिर भुइँमा बसेर प्लास्टिकको प्लेटमा खाँदै। ती दुवै भिकारी मेरो सामुन्ने आएर बेञ्चमा बसेका, सहयात्री जस्तै कुराकानी गर्दै सँगै खाएको कल्पनामा मैले मेरो प्लेट रित्याएछु। त्यति शुभचिन्तनले पनि मलाई आनन्द महसुस भयो। तिनीहरू त्यो अवस्थामा र म यो अवस्थामा।

हामीलाई पूर्वजन्मको कर्मले हो कि यही जन्मको कर्मले पुर्‍याएको? प्रश्न मनमा खेलाउँदै खानाको पैसा तिरेर निस्किएँ। र, गंगामा सहायक नदीहरु मिसिएसरी म सडकमा अन्य यात्रीको हुलमा मिसिएँ। त्यहाँ पनि ठाउँठाउँमा माग्नेहरूको धुइरो भेटिन्थ्यो। त्यो देखेर हरिद्वार आएका तीर्थयात्री मध्ये एक तिहाइ भिखारी हुँदा हुन् भन्ने अनुमान लगाएँ। शान्ति प्राप्त गर्न हरिद्वार पुगेको, तर यस्ता रोगी, अपाङ्ग, अशक्त, वृद्ध भिकारीहरूको सामना गर्नुपर्दा उदास मन लिएर होटल फर्कनु पर्‍यो।

अर्को दिनको छकालै गङ्गास्नान लिने भनी होटलबाट निस्केँ। पाटनको जस्तो स–साना गल्लीहरूलाई छिचोल्दै एकैछिनमा नदी किनार पुगेँ। बिहानीले हल्का हुस्सुको चुनरी पहिरिएको थियो। दायाँ–बायाँ फराकिलो बगरे किनारालाई तेर्साउँदै बीचमा गङ्गा चुपचाप बग्दै थियो। बग्दाबग्दै थकित जस्तो लाग्थ्यो। दौडदादौडदै थाकेर एक बूढो धावकले मुखबाट पातलो वाफ फेरे जस्तै देखिन्थ्यो।

माथि कतै नदीको धारलाई नहरतिर मोडिएको थियो क्यारे। नत्र गङ्गा यति सानो नहुनुपर्ने हो। बगरबाट दुई मिटरजतिको उचाइमा उठाइएको कङ्क्रिटको फराकिलो पेटी रहेछ, माथि हरकी पौडीसम्म फैलेको। मोटामोटा फलामको रेलिङको बार तेर्साइएको थियो। रेलिङबाट तीनचार मिटर लामा साङ्लाहरू बगरतिर तन्किएका थिए। पानीको सतह माथिसम्म हुँदा ती साङ्लालाई समातेर भक्तजनहरूले स्नान गरुन् भनेर होला।

पेटीपेटी हिँड्दै अलि माथि पुगेँ। कपडा फुकालेर स्नानका लागि बगरमा झरेँ। त्यहाँ जुन दृश्य देखेँ, त्यसले हरिद्वारप्रतिको मेरो आस्था र विश्वासले भरिएको घडा झरामझुरुम फुट्यो।

नदीभरि फोहोरका थुप्रासित आमनेसामने हुनुपर्‍यो। राता, खैरा, काला रङका कपडा साङ्ला र रेलिङभरि अल्झेको पाएँ। पशुको छाला काढेर सुकाइएका जस्ता। बगरका ढुङ्गाका च्यापमा पनि अड्केका कति। कति बालुवामा अर्ध पुरिएको अवस्थामा। कङ्क्रिट, प्लास्टर, माटो, काठ र धातुद्वारा निर्मित शिव, गणेश, दुर्गा, लक्ष्मीका मूर्तिहरू लाससरी उत्तानो परेका थिए। भुइँचालोले बङ्गाइएका घर जस्ता यत्रतत्र पल्टिएका शिवलिङ्गहरू पनि देख्न सकिन्थे।

पातका टपरी, दुना, फूलका माला, प्लास्टिकका झोला, प्लेट, बोतल त बगरैभरि कति हो कति ! फलफूल, चामल, दूध जस्ता अछेतापातीले होला कुहेको जाँड जस्तो दुर्गन्ध उत्सर्जित भइरहेको थियो। गङ्गाको त्यो छाती त्यतिबेला रणमैदान जस्तै लाग्यो। इजरायली क्षेप्यास्त्र प्रहार पश्चातको गाजा जस्तै। रसियन ड्रोन हमलापछिको किभ शहर जस्तै। र, त्यहाँ आरती गर्ने र नुहाउने भक्तजनहरू सबै क्षेप्यास्त्र प्रक्षेपकका साधन जस्तै लाग्थे।

प्रचुर मात्रामा पानीको बहाव भए पो ती कचाडालाई बगाएर लग्छ ! यस्तो घिनलाग्दो दृश्यले मलाई पर्याकवि कृष्ण बाउसेको ‘फूलको प्रश्न’ भन्ने कविताको याद दिलायो–

अत्तर बनाएको भए

सुगन्ध छरिरहेको हुन्थेँ।

 

माटोमा झर्न पाएको भए

नयाँ बिरुवा बनेर

फेरि फुलिरहेको हुन्थेँ।

 

भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै

टिपेर मन्दिरमा पुर्‍यायौ

, हुर्यायौ मूर्तिको पाउमा मलाई,

कसैका देवता खुसी हुन्छन् भने ठिकै छ’

भनेँ र सहिदिएँ।

 

माला बनाउने भन्दै

धागोसहितको तिखो सियोले मुटुमै घोच्यौ

, बन्दी बनायौ मलाई,

कसैको खुसीका लागि पीडा सहनु पनि धर्मै हो’

भनेँ र सहिदिएँ।

 

तर,

हदै पार गरेर

सेलाएको भन्दै

फेरि किन मिल्कायौ मलाई नदीकिनारमा लगेर ?

, त्यसपछि

किन आफैँ थुक्न थाल्यौ मलाई

दुर्गन्धित फोहोर’को विशेषणले आभूषित गरेर ?

 

मैले त

आफूसँग भएभरको सौन्दर्य

तिम्रै आँखामा पोतिदिएकै थिएँ त !

मैले त

आफूसँग भएभरको सुबासलाई

तिम्रै नाकमा घसिदिएकै थिएँ त !

तर, त्यसको बदलामा

गर्नै नहुने कृत्य गर्दै

आफैँले समेत पिउने

, आफ्नै शिरमा चढाउने पानीलाई नै प्रदूषित पार्दै

तिमीले नै

पुर्‍यायौ मलाई दुर्गतिको यो खाडलमा।

 

जवाफ देऊ

ए कृतघ्न मान्छे !

दिएका हौ तिमीले मलाई

मेरो

कुन अपराधको सजाय ?

हरिद्वारमा यस्तो हरिबिजोग देखेपछि मेरो दिमागबाट अध्यात्मकताको ज्ञान चुहिएर इकोलोजीको ज्ञान प्रस्फुटन हुन थाल्यो।

एउटा सुन्दर कल्पनामा म आफैँलाई डुबाउँदै गएँ। नदीको वारपार स्वच्छ पानी बगिरहनुपर्ने, ताकि किङफिसर र बकुल्ला डुबुल्की मार्न सकून्। रहु, कातला र ट्राउट माछाहरू पौडी खेल्नुपर्ने। नदीको पिँध हरियो लेउसितका बाटुला गिट्टी र ढुङ्गाले भरिनुपर्ने, ताकि माछाले फुल कोरल्न सकून् र जन्मिन सकून् भुराहरू। सुनौलो बालुवाले टम्म भरिएको हुनुपर्ने किनार, ताकि पार ताप्न सकून् हाँस र ओटरहरू।

त्यस्तो सन्तुलित पारिस्थितिकीय परिदृश्य म केही देख्न सकिरहेको थिइनँ। बरु पानीमा सस्पेन्डेड सोलिड, अमोनिया र ब्याक्टेरियाको मात्रा कति उच्च होला; डिजल्भ अक्सिजन कति कम होला भन्ने पीडाले छटपटिन थाल्यो मेरो मन।

हिमाल पहाडको विशेष जिओलोजिकल क्षेत्र भएर बग्ने हुनाले गङ्गा जलमा स्वास्थ्यमैत्री खनिज र लवण अत्यधिक मात्रामा पाइन्छन्। यसको पानीमा अक्सिजनको घुलनशीलता उच्च छ। गङ्गाको पानीमा ब्याक्टेरियोफेज नामक एक किसिमको भाइरस पाइन्छ, जसले ब्याक्टेरियालाई मार्छ। यसैले गङ्गाको पानीमा जैविक प्रदूषण बढ्न गयो भने स्वत: शुद्ध हुने खास गुण छ। गङ्गा अन्य नदीको तुलनामा बढी शुद्ध छ भन्नुको यही हो वैज्ञानिक कारण। त्यसैले गङ्गामा रोग निवारण गर्ने क्षमता छ भनेर विश्वास गरिएको छ। तर, हरिद्वार खण्डको गङ्गा नदी यति प्रदूषित देखेँ कि यसले शुद्ध हुने क्षमता गुमाइसकेको हुनसक्थ्यो।

बगरमा यति धेरै कचरा डम्प गरेको देखेपछि म स्नान नगरी पेटीमा निस्केँ। एक सन्त मतिर आउँदै थिए देब्रे हातमा टीका र आरतीको ढाकर झुन्डाएर। माझी औँला मेरो निधारतिर ठड्याउँदै भने, ‘गङ्गाको उच्चारण मात्रले सबै पाप नाश हुन्छ, बच्चे। दर्शन मात्रै गर्नाले गङ्गा कल्याण गर्छिन्। स्नान गर्नेको सात पिँढीलाई गङ्गा पवित्र पार्छिन्। तिमी त स्नान नलिई निस्कियौ त। ल, टीका थाप्नू र आरती लिनू।’

मलाई भने हरिद्वार पुगेर पाप पखालिने त हैन, यी आँखामा अझ धेरै पापको बोझ बोकेर फर्कने भइयो भनी मनमा निराशा छायो। कपडा लगाउँदै भनेँ, ‘सात पिँढीलाई त हैन महात्माजी, मै पिँढीलाई गङ्गाको पानीले अपवित्र पार्ने भयो !’

‘त्यस्तो अपवित्र वचन लगाउन कसरी सकेको ? पाप लाग्छ, बच्चे, पाप !’ यसो भन्दै ती साधु मलाई पछ्याउन थाले।

‘पवित्र नदीहरूमा स्नान लिन चाहनेहरूको मन, वचन र कर्म समेत पवित्र हुनुपर्छ। स्नान गर्दा अज्ञानता र अञ्जानमा भएका पाप कर्महरू मात्र नाश हुने हो, जानीजानी गरिएका पाप र अपराधहरू नाश हुँदैनन्। सबैले आआफ्नो कर्मको फल भोग्नैपर्छ।’ उनले उपदेशका शब्द वर्षाउन छोडेनन्। म कपडा लगाएर उँभोतिर लागेँ।

डम्पिङसाइड जस्तो देखिने दुर्गन्धित बगरतिर देखाउँदै, ‘ऊ उता हेर्नुस् बाबा, पानी बगेको देख्नुहुन्छ कि फोहोर ? त्यस्तो धमिलो पानीले शरीरमा चर्मरोग पैदा गरिदिन्छ। पानीमा ब्याक्टेरिया हुन सक्छन्, पिइयो भने पखाला चल्छ, पखाला।’ हरिद्वारमा फोहोर पानीको ढल प्रशोधन विनै सिधै गङ्गामा मिलाइन्छ भन्ने कुरा पेपरमा पढेको सम्झना गर्दै मैले उनलाई भनेँ।

सूर्यतिर पानी चढाउँदै र मुख आँ.. गरी छर्किंदै गरेका तीर्थालुतिर देखाउँदै ती सन्त बोल्न छोडेनन्। भने, ‘त्यसो हुँदो हो त हजारौँ मान्छेहरू दिनदिनै आएर किन नुहाउँथे ? सबैभन्दा ठूलो आस्था हो, बच्चे ! गङ्गालाई माता मानेर विश्वास गर।’

पुनः बाबाको यो भनाइप्रति मेरो इकोलोजिकल माइन्डसेटले सहमति जनाउनै सकेन। नदीको माथिल्लो तटमा निर्माणकार्य र गिट्टी–बालुवा उत्खननले हुन सक्थ्यो नदीको पानी धमिलो देखिन्थ्यो। ढल मिसावटले हुन सक्थ्यो स्नान गर्ने स्थानमा फोहोर पानी बग्दै थियो। त्यसैमा, एकै अवधिमा हजारौँ भक्तजन डुबुल्की मार्दा नदीको पानी फोहोर नहुने कुरै भएन। जसरी भैँसीहरू पसे भने सम्पूर्ण तलाउ नै हिलाम्मे पार्छन्, त्यस्तै।

‘त्यसो हो भने माताको शरीरलाई खुट्टाले कुल्चिँदै चिथोर्ने र लुछ्ने किन त ?’ बगरैभरि पैसा खोस्रिँदै गरेका मानिसप्रति लक्षित गर्दै सन्तलाई प्रश्न राखेँ। नदीको गर्भबाट एस्काभेटरले गिट्टी, बालुवा उत्खनन गरेको भन्दा कम थिएन त्यो दृश्य। उनीहरू मेफ्लाई, क्याडिसफ्लाई, स्टोनफ्लाई, वाटरबिटल जस्ता जलचर लार्भाका वासस्थान विनाश गर्दै थिए।

‘उनीहरू मजस्तै दुःखी गरिब हुन्’, सेतो दाह्रीलाई मसार्दै सन्तले सटिक जवाफ दिए।

यतिखेर वैजनी रङमा विभिन्न आकारका प्लास्टिक टुम्लेटहरु बेच्ने स्टल अगाडि आइपुगेछौँ। केही मान्छेहरू टुम्लेट किन्न मोलतोल गर्दै थिए पसलेसँग। कोही लगाएको कपडैसँग डुबुल्की मार्दै थिए नदीमा। कोही कपडा खोलेर बगाउँदै थिए नदीमा। प्रष्ट देख्न सकिने थिएन सूर्यलाई, तुँवालोभित्र लुकेको थियो। त्यही पनि कोही अञ्जुलीले जल छर्कंदै थिए फर्केर आकाशतिर। कोही किनारमा घोप्टो परी–परी पानी उघाउँदै थिए टुम्लेटमा।

‘यो पानी लगेर पछि के गरिन्छ ?’ भनी सोधेँ सन्तलाई।

‘घर पुगेर परिवार र छिमेकीजनलाई पिउन दिइन्छ। अमृतसरहको गङ्गाजल पिएपछि मोक्ष प्राप्त हुन्छ’, सन्तको उत्तर थियो।

यहाँ उनको अध्यात्मवाद र मेरो भौतिकवादको घमासान वाक्युद्ध चल्दैथियो।

‘त्यस्तो फोहोर पानी पिएर मोक्ष प्राप्त होइन, मान्छे बिमार हुन्छ, बाबा’ मैले भनेँ, ‘यस्तो चेतना दिलाउन स्थानीय सरकारले वातावरण विज्ञान अध्ययन गरेका विद्यार्थीलाई स्वयम्सेवीको रूपमा यहाँ खटाउनुपर्छ।’

मैले अगाडि थपेँ, ‘ल्याबमा पानीको नमुना परीक्षण गरेर त्यसको नतिजा सर्वसाधारणलाई जानकारी दिनुपर्छ। अनि मात्र मान्छेले यो पानी खान हुने नहुने, यसमा नुहाउन हुने नहुने भनेर जान्दछन्।’

आस्थाको नाममा यति सरल स्वास्थ्य जोखिम आजका उत्तरआधुनिक युगका तीर्थालुहरूले पहिचान गर्न नसकेको देख्दा म दु:खित बनें।

उनलाई फेरि सोधेँ, ‘स्नान गरेपश्चात् शरीरको कपडा किन पानीमा बगाएका ?’

‘त्यो पनि पाप नै पखालेको हो।’ अहिले पनि उनको छोटो जवाफ आयो। उनलाई सम्भवत: मेरो विचार नवीन र तर्कपूर्ण लाग्न सुरु गरेको आभास पाएँ।

के पहिलेका पुर्खाले पनि लगाएको कपडा यसरी नै खोलेर पानीमा बगाए होलान् त ? मलाई जहाँसम्म लाग्छ यसरी बगाइएन। उतिबेला वस्त्र उत्पादन कम हुन्थे। गरिबीको कारणले गर्दा मान्छेले किन्न पनि सक्ने थिएनन्। सानो छँदा दशैँमा घरमै आई दमाइ दाइले सिलाइदिएर लगाएको नयाँ चाचा सम्झेँ। अहिले प्रविधिले गर्दा वस्त्र सर्वत्र उत्पादन गरिन्छ। सुपथ मूल्यमा पाइन्छ पनि।

पैसा गङ्गामा चढाउने कुरा पनि त्यही हुनपर्ने। पहिलाका मान्छे गरिब थिए, यसरी पैसा छर्दै हिँड्ने थिएनन्। केही साहुजी र राजा, महाराजाले चाहिँ गरे होलान् त्यस्तो।

त्यसैगरी हाम्रा पुर्खाको युगमा गङ्गाको पानीको बहाव धेरै थियो, तीर्थालु कम थिए। त्यतिबेला तीर्थयात्रीका गतिविधिले यो स्तरको पानी प्रदूषण अवश्यै सिर्जित गर्ने थिएन। अहिले जनसङ्ख्या बढ्यो। जलवायु परिवर्तनको कारणले पनि पानीको प्रवाहमा कमी आएको छ। अनि, हजारौँ हजार मानिसले एकैचोटि नुहाउँदा प्रदूषण बढ्ने नै भयो। पहिले पहिले फूलको माला मात्रै लगाइन्थ्यो। अहिले खादा, ब्याज, रुद्राक्षको माला, टोपी, फेटा, सल सबै पहिरिइन्छ। त्यसैगरी पहिले पहिले एउटा फूलको थुङ्गा र दुनामा तेलबत्तीको दीप जलाएर नदीमा विसर्जन गरिन्थ्यो। अहिले मैनबत्ती, धुप, प्लाष्टिकको प्लेटभरि पूजासामग्री, खपटा या सिल्टीको डिब्बाको दियो; सिमेन्ट, प्लास्टर, माटाले बनेका मूर्तिहरू सेलाइन्छ।

अहिलेका यी सबै समृद्धिले निम्त्याएका विकृति हुन्। यस्ता विकृतिले पानीको स्वच्छन्दता नाश गरेको छ। धार्मिक संस्कारले वातावरणलाई कसरी असर पारिरहेको छ भन्ने प्रमाण दुर्भाग्यवश हरिद्वारमा देख्नुपर्‍यो मलाई।

हिँडदा हिँडदै कुरा गर्दा गर्दै हामी पुलनेर आइपुगेछौँ। त्यहीँबाट हिजोसाँझ स्वर्गको अनुभूति गर्दै आरती उतारेको हेरेको थिएँ। आज भने गङ्गा नदीको तट प्रदूषित देख्दा नर्कको अनुभूति गरेर फर्किंदैछु।

पेटले जनाउ दिइहाल्यो, मेरो ब्रेकफास्ट खाने समय भएछ। एकचोटि साधुको मुखतिर राम्ररी हेरेँ। तिनलाई पनि भोक लागेको जस्तो लाग्यो। तिनको पेट पूजा गरिदिएर धर्म कमाऊँ भन्ने लागेर सोधेँ, ‘मसँग पारि चिया पिउन जाने हो ?’ उनले मेरो प्रस्तावलाई स्वीकार्दै मुन्टो हल्लाए।

पुल तर्दैगर्दा मन्दिर व्यवस्थापकलाई भेटेर त्यहाँको फोहोर व्यवस्थापनबारे बुझ्ने र जानेको सल्लाह दिने सोच जन्म्यो। व्यवस्थापक अफिसको साइनबोर्ड कतै भेटिएन। मूल मन्दिरमा गएर पुजारीलाई भन्छु भनेँ। तर, गेटमा जुत्ता खोलेर भित्र पस्नुपर्ने नियम रहेछ। होटलको चप्पल हराए झैँ कतै मेरो एडिडास जुत्ता हराउँछ कि भनी चिन्ता लाग्यो। बरु पछि गुगल गर्छु र सम्बन्धित निकायलाई मेरो सिकायत इमेलद्वारा पठाउँछु भनेर सरासर अगाडि लागेँ।

ब्रेकफास्टका लागि हिजोकै तन्दुरी पसलमा जान मन लाग्यो। पसलको नाम सम्झिन सकिनँ। सामुन्ने पुगेपछि बोर्डमा लेखिएको नामबाट थाहा भयो, ‘राजाजी चाय बगिया’ रहेछ। खाजा पसलको अगाडि एउटा गाई फोहोर प्लास्टिक, टपरी र खानाको थुप्रोमा चर्दै गरेको देख्नु पर्दा यो मन्न खिन्न भयो।

बाबाजी र म टेबलमा आमने–सामने बस्यौँ। आलुमटर, पुरी, जिलेबी र चिया मगाएँ। खाना खाँदै गर्दा- उनी कहाँ बस्छन्, दिन कसरी बिताउँदै छन्, बाँकी जीवन कसरी बिताउने सोचमा छन् ? जीवन दर्शन सम्बन्धी यस्ता जिज्ञासा राखेँ।

उनी भक्तालुलाई आरती उतारिदिएर र कहिलेकसो धार्मिक प्रवचन दिएर प्राप्त दानबाट जीविकोपार्जन गर्दा रहेछन्। लामो समयदेखि अलि माथि चण्डीघाट भन्ने ठाउँमा बस्दै आएका रहेछन्। चण्डीघाटमा साधुसन्तको शरीरलाई जलसमाधि दिने लामो प्रथा रहेछ। जल समाधिको बेला व्यक्ति अक्सर गङ्गा नदीमा प्रवेश गर्छ। अनि, विस्तारै शरीरलाई जलमा समर्पित गरिदिन्छ।

यस विधिलाई साधना या आत्मसंवेदनको एक अन्तिम अवस्था मानिँदो रहेछ, जसमा व्यक्ति भौतिक शरीरलाई छोडेर दिव्य रूपमा विलीन हुनजान्छ। वर्तमानमा उनी जीवनको जुन कालखण्डबाट गुज्रँदै थिए, त्यसबाट सन्तुष्ट रहेनछन् र अब छिट्टै आफूले पनि जिउँदै जलसमाधि लिने कुरा बताए।

बाबाजीले यसो भनिरहँदा तिनी अध्यात्मवादी भन्दा त मै भौतिकवादी पो सुखी रहेछु। म मेरो जीवनको एकएक पल मज्जाले बाँचिरहेको थिएँ। यति चाँडै म मर्न चाहन्नथेँ।

मैले त भनिदिएँ, ‘तिमीहरूले लिने जलसमाधि आत्महत्याको एक स्वरूप हो।’

उनले चिया सुरूप्प पार्दै मन्टो हल्लाए मात्र।

उनका अनुसार चण्डीघाटमा अन्य सर्वसाधारणका शव बेवारिसे अवस्थामा भेटिँदा रहेछन्। कुनै साधुसन्त हरिद्वारमा मृत फेला पर्‍यो भने चण्डीघाट ल्याएर जलसमाधि दिइने रहेछ। अनि, ती लास गङ्गामा बग्दैबग्दै तल जाँदा रहेछन्।

हिन्दू धर्मका अनुसार लासलाई जलाएर नदीमा बगाइदिने संस्कार जलसमाधिसित जोडिएको रहेछ भन्ने कुराको बोध भयो मलाई। यो चाहिँ मेरा लागि एक दिव्य ज्ञान थियो।

‘तिमीहरू जस्तो धर्मगुरुले- यस्तो फोहोर पानीमा स्नान गरेर र पानी पिएर स्वर्ग गइन्न। पाप हरण हुँदैन। मोक्ष प्राप्त गर्न सकिन्न। उल्टै शरीरमा रोग लाग्न सक्छ’ भनेर प्रवचन दिनू भन्ने सल्लाह दिँदै म ती बाबाबाट बिदा भएँ।

शायद मसँगको भेटले ती जोगीलाई जलसमाधि लिने थप उत्प्रेरणा जगाइदियो कि भन्ने लाग्यो। होटल पुगेर तात्तातो पानीमा मज्जाले नुहाएँ। बिहानभरिको हिँडाइले शरीरमा जमेको मयल मज्जाले पखालियो। पाप त मैले गरे पो पखालिनु !

गंगाको स्वास्थ्यमा कहिले सुधार आउला भन्ने चिन्ताले मेरो मन रुझाउँदै होटलबाट चेक आउट भएँ त्यो दिउँसो।

शान्ति प्राप्त गर्न पुगेको म, तर हरिद्वारको प्रदूषित वातावरण देखेर अशान्त मन लिई नेपाल फर्कनु परेको थियो। खै, अन्य तीर्थालु मेरो जस्तो संवेदनाले विचलित भए कि नाई ? म परेँ पर्यातीर्थयात्री, तिनीहरू परे खाँटी तीर्थयात्री। तिनीहरु मेरो जस्तै स्वच्छ सोच लिएर आएका भए ‘राम तेरी गङ्गा मैली’ मैले देख्नैपर्ने थिएन।

मेरो धर्मप्रतिको आस्था हरिद्वार पुगेपछि झनै गिरेर गयो। म धार्मिक नभए पनि आध्यात्मिक मनुवा चाहिँ हुँ। पर्यावरणलाई माया गर्ने व्यक्ति पनि। यात्रामा अनुभव बटुलिन्छ। ज्ञान आर्जन गरिन्छ। नयाँ साथीहरू बनाइन्छ। म भने यस यात्राबाट एउटा नयाँ शब्द बनाएर फर्कें। त्यो थियो– ‘पर्याध्यात्मिक’। पर्यावरण र आध्यात्मिकलाई जोडेर ‘पर्याध्यात्मिक’ शब्द जन्मिएको।

म त्यो हिसाबले पर्याध्यात्मिक पनि हुँ। पर्याध्यात्मिकतालाई म इको स्पिरिचुआलिटी या डिप इकोलोजीसँग समीप पाउँछु। पर्याध्यात्मिकता धर्मसँग पनि निकट हुन्छ। अर्थात्, धर्मले पृथ्वीको वातावरण संरक्षणमा उल्लेखनीय भूमिका खेलेको हुन्छ। विशेषतः यो अत्याधुनिक मानव जीवनलाई भौतिकवाद र उपभोक्तावादबाट मुक्त पार्नतिर लाग्नु पर्याध्यात्मिकता भनेर बुझ्नुपर्छ भन्ने मेरो धारणा रहेको छ।

तीर्थयात्रीहरू गङ्गामा स्नान गरी पाप पखाली पवित्र बनेर आउँछन्। म पर्यातीर्थयात्री गङ्गामा स्नान नगरी यस्तो नवज्ञानको ज्योति बालेर फर्केको थिएँ। अब यो ज्ञानको ज्योति मन्दिर मन्दिरका संगोष्ठीमा पुर्‍याउनु छ। त्यहाँ पुगेर भन्नु छ कि- अबदेखि हाम्रा धार्मिक क्रियाकलापले जल, जमिन र वायुलाई प्रदूषित पार्ने काम रोकौं। योगी, सन्त, पण्डित, पुजारी, धर्मगुरु, माता, देवी सबैमा वातावरण संरक्षणका ज्ञानको ज्योति बलोस् र आआफ्ना अनुयायीहरूमाझ यी कुराको चेतना फैलाउने कार्य होस्।

अन्त्यमा, गङ्गालाई गङ्गाकै प्राकृतिक अनि स्वच्छ स्वरूपमा राख्ने नमुना शहरको रूपमा हरिद्वार विकसित होओस्। हिन्दू धर्मावलम्वीहरूका लागि मनको एक पवित्र धाम र वातावरणको एक पवित्र ठामको रूपमा हरिद्वार आफूलाई स्थापित गर्न सकोस्। उत्तराखण्ड राज्य सरकारले हरिद्वारमा गङ्गा नदी संरक्षणार्थ यस्तो हरित नीति अवलम्बन गरोस् कि भविष्यमा हरिद्वार सम्पूर्ण भारतवर्षमा हरितद्वारको नामले चिनियोस्। ताकि, यसको नमुना अनुसरण गर्दै केदारनाथ, बद्रीनाथ, प्रयागराज, काशी जस्ता अन्य धार्मिक स्थलमा हुने क्रियाकलाप वातावरणमैत्री बन्न सकून्।

(नोटः उत्तराखण्ड प्रदूषण नियन्त्रण बोर्डले डिसेम्बर २०२४ मा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार हरिद्वारको हरकी पौडीमा गङ्गाजल पिउन योग्य छैन। गङ्गा नदीमा फिकल कोलीफर्मको मात्रा अधिक पाइएको छ। तर, स्नानका लागि त्यहाँको पानी अहिलेसम्म उपयुक्त नै छ। मार्च २०२५, फोक्सटन, युके।)

लेखक
विजय हितान

बेलायतको वातावरण संस्थानमा कार्यरत हितान वातावरण विज्ञ हुन् । उनी वातावरणीय सवाल र पर्या-साहित्यमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?