
२२ वैशाख, काठमाडौं । नीति तथा कार्यक्रम सहित समसामयिक राजनीतिक एजेण्डामाथि छलफल गर्ने भनेर आइतबार बोलाइएको सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक निर्धारित समय भन्दा ढिलो सुरु भएर हतारमै सकिएको थियो ।
दिउँसो २ बजेका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय व्यस्तताका कारण भनेर एक घण्टापछि धकेलिएको थियो, अनि फेरि बालुवाटारमा तीन दलको बैठक बस्न ढिलो भयो भन्दै बोल्न चाहेका नेताहरूको समेत कुरै नसुनी बैठक टुंग्याइएको थियो ।
तर, हतारमै बैठक सकिए पनि प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम, सत्ता समीकरणदेखि पार्टीको आन्तरिक विषयमा समेत बोले । बैठकको विषय प्रवेशका रुपमा प्रधानमन्त्री ओलीले राखेका यी विषयहरूमध्ये सत्ता समीकरणबारे सुनाइएको निष्कर्ष अर्थपूर्ण थियो ।
‘नेपाली कांग्रेसका केही नेताहरूले सार्वजनिक रुपमा असन्तुष्टि राखिरहे पनि सत्ता सहयात्रामा संकट छैन भन्ने कुरा प्रधानमन्त्रीले बैठकमा राख्नुभएको थियो,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘सत्ता समीकरण सुरक्षित छ भन्दा प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो, त्यसले सत्ता संकट टरेको अनुमान लगाउन सकिन्थ्यो ।’
एमालेका ती पदाधिकारीको विश्लेषणलाई बल पुग्नेगरी अरू राजनीतिक घटनाक्रम पनि विकसित भइरहेको देखिन्छ । वर्तमान सत्ताको संकट टरेकै अनुमानलाई बल पुग्ने बलियो उदाहरण त नेकपा माओवादी केन्द्रको निर्णय र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सार्वजनिक अभिव्यक्ति नै हो ।
सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै प्रचण्डले सत्ता बनाउनेतिर आफ्नो ध्यान नरहेको सार्वजनिक प्रतिक्रिया दिएका छन् । ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ,’ प्रचण्डले भनेका छन्, ‘मध्य पहाडी लोकमार्ग अभियानमा जाँदैछौं । जादु चलाउन चाहे चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौं ।’
प्रमुख विपक्षी माओवादीले आइतबार मात्रै (२१ वैशाखमा) पदाधिकारी बैठक राखेर मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो । जबकि राष्ट्रिय राजनीतिक परिस्थितिकै कारण भन्दै माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान पटकपटक स्थगित गरेको थियो । र, प्रचण्डले कांग्रेस–एमालेको सत्ता समीकरण संकटमा परिसकेको सार्वजनिक अभिव्यक्ति दिइरहन्थे ।
यस्तैमा कांग्रेस सभापति शेरबहादुर देउवा गत ७ वैशाखमा स्वास्थ्य उपचारको फलोअप गर्न भनेर बैंकक उडे । यही मौका पारेर प्रचण्डले बैंककबाट देउवा फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने अभिव्यक्ति दिँदा राष्ट्रिय राजनीति तरंगित बन्न पुगेको थियो ।
तर १२ वैशाखमा स्वदेश फर्कंदै देउवाले शंका मेट्नेगरी बोले । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै देउवाले सत्ता समीकरण तलमाथि नहुने विश्वास दिलाएका थिए । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन । सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, थाहा छैन मलाई’, देउवाको संक्षिप्त जवाफ थियो ।
यसपछि लगातारजसो ओली–देउवाबीच सम्वाद भयो । जसको परिणाम सत्ता संकट तत्काललाई टरेको संकेतहरू देखिन थालेको कांग्रेसका एक शीर्ष नेता बताउँछन् ।
‘सरकारले जनताको चाहना बमोजिम र संविधानलाई बलियो बनाउनेगरी गर्नुपर्ने थुप्रै कामहरू छन् । तर यो सहकार्य र सत्ताले निरन्तरता पाउँछ’, ती नेता भन्छन् ।
वर्तमान सत्ता समीकरणका सुत्राधार समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा पनि सत्ता सहकार्यमा कुनै समस्या नरहेको बताउँछिन् । सभापति देउवाको बैंकक भ्रमणकै बेला सत्ता समीकरणबारे गरिएको शंकाको उनले खण्डन नै गरेकी छन् ।
‘हामी स्वतन्त्र देश, कुनै सत्ता परिवर्तन गर्नुपर्ने भए देशभित्रै हुने हो’, अनलाइनखबरसँग उनले भनेकी छन्, ‘कुनै कुरा नमिलेमा वा अप्ठेरो परेमा यहीँ बसेर छलफल गर्न सक्छन् यहाँका नेताहरूले । एउटा कोही मान्छे भेट्ने बित्तिकै परिवर्तन भयो भन्नु परिपक्व विश्लेषण होइन ।’
शंकाको उत्कर्ष
कांग्रेस सभापति देउवा बैंककबाट फर्किएपछि सत्ता समीकरणबारे उत्पन्न शंका मेट्नेगरी घटनाक्रम विकसित गरिए पनि त्यसअघिका दृष्य फरक अवस्थामा पुगिसकेको थियो । सभापति देउवा र पत्नी आरजु त्यो बेला बैंकक पुगेका थिए, जुन बेला सरकारको कार्यसम्पादनलाई लिएर कांग्रेसभित्रै चर्को आवाज उठिरहेको थियो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका कांग्रेस महामन्त्री गगन थापा बैठकमै जान छोडेका थिए । एउटा बैठकमा त उपभासपति पूर्णबहादुर खड्का पनि अनुस्थित रहे ।
यद्यपि खड्काले स्वास्थ्य समस्या भनेका थिए ।
तर सरकारको कार्यसम्पादनप्रति खड्काले पनि गगनकै भाषामा असन्तुष्टि जनाएका थिए । ‘सभापति फर्केपछि अर्को तरिकाले अघि बढ्नेछौं’, खड्काले भनेका थिए ।
महामन्त्री थापाले त ‘आवश्यक परे सरकारबाट बाहिरिन तयार हुनुपर्ने’सम्म भनेका थिए । ‘बिँड तातेर केही नहुँदो रहेछ, ताप्के नै तात्नुपर्छ’ भन्ने थापाको अभिव्यक्ति सामान्यजस्तै थियो ।
प्रचण्डले पनि यस्तै बेला देउवा बैंककबाट फर्किएपछि सत्ता समीकरण तलमाथि हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिए । त्यही बेला अनेक माग राखेर राजनीतिक एवं सामाजिक आन्दोलनहरूले राजधानीको सडक अस्तव्यस्त थियो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बर्खास्ती, शिक्षकहरूको मागप्रति प्रधानमन्त्री ओलीको तदारुकता कम हुनु, नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समयमा नहुनु लगायत विषयहरूमा कांग्रेस र एमालेबीच कुरा मिलिरहेको थिएन ।
सोही बेला पत्नी आरजुसहित देउवा बैंकक जाँदा राजनीतिक वृत्त तरंगित बन्न पुगेको थियो । (यद्यपि परराष्ट्रमन्त्री रहेकी आरजु राणा संयुक्त राष्ट्र संघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१औँ सत्रमा भाग लिन बैंकक गएकी थिइन् ।) बैंककमै समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेर फर्किएका प्रधानमन्त्री ओलीको भारत भ्रमण अझै हुन नसक्दा पनि सरकार फेरिन सक्ने शंकालाई बल पुगेको थियो ।
तर कांग्रेस उच्च स्रोतले भने बीचमा केही समस्या देखिए पनि ओली र देउवाले कुरा मिलाइसकेको दाबी गरेको छ । शिक्षक, चिकित्सक लगायत आन्दोलन स्थगित हुनु र गभर्नर कांग्रेसको कोटाबाट नियुक्त गर्ने सहमतिले समस्या तत्काललाई हल भएको संकेत मान्नुपर्ने स्रोतको भनाइ छ ।
सत्ता समीकरणमा शंका गरिएको संकट मोचक परिस्थिति निर्माण भने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको काठमाडौं भ्रमणसँग पनि जोडेर कतिपयले हेरेका छन् ।
तीन दिने काठमाडौं भ्रमणका क्रममा चौथावाइवालेले सबैजसो दलका प्रमुखसहित प्रभावशाली नेताहरूसँग भेटवार्ता गरेका थिए । देउवा, आरजु, डा.शेखर कोइराला, महामन्त्री गगन थापा सहित ८ जना त कांग्रेस नेतालाई भेटेका चौथाइवालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि जनमत पार्टीका अध्यक्ष सिके राउतसम्मलाई भेटे । प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई उनले प्राथमिकता दिएरै भेटवार्ता गरेका थिए ।
चौथाइवालेको यो भ्रमण काश्मिरमा एक नेपाली सहित २७ पर्यटकको हत्या गर्ने आतंकवादी गतिविधि विरुद्धको समर्थन खोज्न र नेपालमा चलेको राजावादी गतिविधिमा समर्थन नरहेको सन्देश दिन भएको भनिएको थियो । तर स्रोतका अनुसार यी दुई उद्देश्य बाहेक चोथाइवालेले गरेको भ्रमणको उद्देश्य वर्तमान सत्ता समीकरणप्रति सकारात्मक सन्देश दिनु पनि रह्यो । जसकारण तत्काललाई सत्ता संकट टरेको विश्लेषण गरिएको छ ।
कांग्रेस नेता एनपी साउद नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप नगर्ने प्रतिक्रिया चौथाइवालेले दिएको बताउँछन् । ‘उहाँले यसो गर्नुस् र नगर्नुस् भन्न आएजस्तो मलाई लाग्दैन’, साउद भन्छन् ।
प्रतिक्रिया 4