+
+
Shares

एमाले बैठकमा ओली र शाक्यबीच सवालजवाफ

ओलीले भने- विद्या भट्टराई सांसद नै ठीक छ, मन्त्री चलाउन सकिनन्

शाक्यको स्टाटसलाई लिएर अध्यक्ष ओलीले सचिवालय बैठकमा आपत्ति जनाए । तर उपाध्यक्ष शााक्यले उल्टै प्रश्न गरिन् ।

सइन्द्र राई सइन्द्र राई
२०८२ वैशाख २१ गते २२:४०

२१ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको विषय नेकपा एमालेको सचिवालय बैठकमै उठेको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा आइतबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईले काम गर्न नसकेर मन्त्री पदबाट राजीनामा दिएको प्रसंग उठाएका हुन् । ‘काम गर्न नसकेर राजीनामा दिएको हो, तर त्यो कुरालाई लिएर मलाई अप्ठ्यारो पार्न खोजियो’, ओलीले भनेका थिए ।

मन्त्रालयको नेतृत्व गर्न नसकेर भट्टराईले राजीनामा दिएको विषयलाई पार्टीकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गलत व्याख्या गरेको ओलीले बैठकमा भनेका थिए । ‘स्टाटसमा लेख्नुभएको जस्तो कुरा होइन, क्षमता र योग्यता नभएर राजीनामा गर्नुभएको हो,’ उपाध्यक्ष शाक्यले लेखेको स्टाटसप्रति आपत्ति जनाएका थिए ।

शिक्षामन्त्रीबाट राजीनामा दिएकी भट्टराईलाई हौसला दिनेगरी र पार्टी नेतृत्वप्रति प्रश्न उठाउँदै उपाध्यक्ष शाक्यले गत ९ वैशाखमा एउटा स्टाटस लेखेकी थिइन् ।

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’, शाक्यको प्रश्न थियो ।

यही स्टाटसलाई लिएर प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा शाक्यप्रति आपत्ति जनाए । तर उपाध्यक्ष शााक्यले उल्टै प्रश्न गरिन् ।

‘मलाई लाग्यो, विद्या भट्टराई योग्य र क्षमता भएकी नेतृ हुन् । त्यसैले उनलाई हौसला दिनेगरी त्यो (स्टाटस) लेखेको थिएँ’, शाक्यको जवाफ थियो ।

बैठकका एक सहभागीका अनुसार उपाध्यक्ष शाक्यले उल्टै ओलीको शैलीप्रति प्रश्न गरिन् ।

‘ल मैले विद्या भट्टराई योग्य नेतृ भन्ने लागेर त्यस्तो लेखे । तर तपाईंले पनि आफ्नै कमिटीका नेता बारेमा बाहिर–बाहिर स्पष्टीकरण सोधिन्छ भन्दै बोल्दै किन हिँड्नु भएको ?,’ शाक्यको प्रश्न थियो ।

गत १३ वैशाखको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले शाक्यबारे बोलेका थिए । विद्या भट्टराईलाई हिरो बनाउनेगरी उपाध्यक्षले नै बोलेकाले स्पष्टीकरण सोधिन सक्ने ओलीले संकेत दिएका थिए ।

त्यही कुरालाई आजको सचिवालय बैठकमा शाक्यले उठाएकी थिइन् । तर प्रधानमन्त्री ओलीले आफ्नै कुरालाई बलियो बनाउने जवाफ दिए ।

‘विद्या भट्टराई एउटा सांसदको हैसियतकी मान्छे रहेछन्, मैले मन्त्री बनाएँ । मन्त्री चलाउने क्षमता नदेखाएकाले राजीनामा दिइन्’, ओलीले भनेका थिए ।

दिउँसो १ बजे बोलाइए पनि दुई घण्टा ढिलोगरी बैठकमा आएका ओलीले पार्टीको आन्तरिक जीवनबारे थप कुरा पछि हुने भनेर टुंग्याए । यद्यपि सरकारको नीति तथा कार्यक्रम, सत्ता समीकरण, विद्या भट्टराईको राजीनामा र निलम्बनमा परेका नेताहरूबारे समेत बैठकमा कुरा उठ्यो ।

‘अध्यक्षले बैठक सुरु गर्दै कुरा राख्दा नै नीति तथा कार्यक्रम, सत्ता समीकरण र भट्टराईको राजीनामाबारे कुरा गर्नुभयो,’ अर्का एक सहभागीका भन्छन्, ‘निलम्बनमा परेका विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको विषय अरु नेताहरूले उठाउनुभएको थियो ।’ उनका अनुसार ६ महिने निलम्बनमा परेकी नेतृहरूबारे अर्को बैठकमा निर्णय हुने ओलीले जवाफ दिए ।

‘तीन दलको बैठक भनेर अध्यक्षले बैठक छिटो सक्नुपर्ने भनेपछि अरु नेताहरूले आफ्नो कुरा राख्ने अवसर पनि पाउनु भएन’, ती नेता भन्छन् ।

बैठकमा ओली बाहेक उपाध्यक्ष्यहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले आफ्नो कुरा राखेका थिए । उपाध्यक्ष पाण्डेले नीति तथा कार्यक्रमबारे आफ्नो कुरा राखिरहँदा ओलीले बालुवाटार फर्कन ढिला भएको भन्दै बैठक टुंग्याएका थिए ।

संकट टरेको संकेत

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा समस्या नरहेको पनि बताए । कांग्रेसभित्र केही नेताले असन्तुष्टि जनाए पनि सत्ता समीकरणमा कुनै असर नपर्ने ओलीले बताएका थिए ।

‘कांग्रेसभित्र केही नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । विरोधीहरू पनि सरकार बदल्न सकिन्छ कि भनेर लागेका छन्,’ ओलीको ब्रिफिङ थियो, ‘तर यसले समीकरणलाई केही असर गर्दैन ।’

बैठकमा सहभागी नेताहरूका अनुसार ओलीले सत्ता संकट हल भएको संकेत ओलीले दिएका छन् । ‘सत्ता सहयात्रामा समस्या आउला कि जस्तो देखिएको थियो । तर त्यस्तो समस्या टरेको संकेत प्रधानमन्त्रीको बोलीबाट बुझिन्थ्यो’, एक पदाधिकारी भन्छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?